काँग्रेस नेता नवराज गुरुङद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
नेपाली काँग्रेसका प्रभावशाली नेता नवराज गुरुङले आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नेता गुरुङले काँग्रेसको १४औँ महाधिवेशनमा (आदिवासी÷जनजाति) तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।
नेता गुरुङले आदिवासी जनजातिहरू तथा अन्य समावेशीका जातिहरू सन्तुष्ट नभएको भन्दै पिछडिएका जातिहरूलाई नेपाली काँग्रेसको मूलधारमा ल्याई उनीहरूको बृहत्तर हितमा काम गर्नको लागि उम्मेदवारी दिन लागेको बताए . उम्मेदवारी घोषणा गर्दै नेता गुरुङले भने,‘महामन्त्रीमा लड्नुपर्ने तपाई पुरानो नेता किन सदस्यमा भनेर साथीहरूले नै भन्ने गरेको छन् । पटक–पटक चुनावमा हार बेहोर्न परेको पीडा मसँग छ ।’
२०३२ सालदेखि विद्यार्थी आन्दोलनमा सक्रिय भूमिका निभाएका र ३३ सालमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलापको नीतिमा समेत साथ दिएका गुरुङले आफू पुराना नेता भए पनि विविध कारणले विगतमा उम्मेदवार बन्ने परिस्थिति नमिलेर आफू पछाडि परेको बताए ।