बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

आजबाट काँग्रेसको १४औँ महाधिवेशन : ओली, प्रचण्ड र माधवले एउटै मञ्च सेयर गर्लान् ?

शुक्रबार, २४ मङ्सिर २०७८, ०७ : २८
शुक्रबार, २४ मङ्सिर २०७८

सत्तासीन नेपाली काँग्रेसको १४औँ महाधिवेशन आज शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु हुँदैछ। दिउँसो १ बजे प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले  महाधिवेशनको उद्घाटन गर्नेछन् । महाधिवेशनमा ४ हजार ७ सयमध्ये अधिकांश महाधिवेशन प्रतिनिधि काठमाडौं आइपुगेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । उद्घाटनका लागि भृकुटीमण्डपमा १ सय ५० जनाभन्दा बढी क्षमताको मुख्य मञ्च तयार गरिएको छ । उद्घाटनमा भारतको भारतीय जनता पार्टी र कंग्रेस आईका प्रतिनिधिसमेत काठमाडौं आइसकेका छन् ।

महाधिवेशनमा सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत नेताहरु सहभागी हुनेछन् । तर, नेकपा एमाले अध्यक्ष केपी ओली भने अस्वस्थ भएका छन् । यद्यपि उनले आफू महाधिवेशनमा आउने बाचा यसअघि काँग्रेस  नेता प्रकाशशरण महतलाई दिइसकेका छन् ।

तत्कालीन नेकपाको किचलो र त्यसपछिको विभाजनपछि ओली, प्रचण्ड र नेपाल एउटै मञ्चमा देखिएका छैनन् । यदि ओली आज भृकुटीमण्डप पुगेमा प्रचण्डसँग एक वर्षपछि र नेपालसँग पाँच महिनापछि मञ्च सेयर हुनेछन् ।

महाधिवेशन उद्घाटन हेर्न मञ्च बाहिर ठूला पाँच डिस्प्ले राखिएको छ । सञ्चारमाध्यमका लागि रिर्पोटिङ गर्न मञ्च नजिकै छुट्टै स्टेज बनाइएको छ । उक्त स्टेजमा ६० भिडियो क्यामेरासहित सञ्चारकर्मी रहने क्षमता छ ।

शुक्रबार उद्घाटन समारोह सकिएपछि शनिबारदेखि निर्वाचन प्रक्रिया सुरु हुनेछ । महाधिवेशनले एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री गरी १३ पदाधिकारीसहित १३४ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । कोषाध्यक्ष भने केन्द्रीय सदस्यहरूले चयन गर्ने व्यवस्था छ ।

महाधिवेशन प्रतिनिधिको नामावली प्रकाशन आज बिहान १० बजे हुनेछ । उम्मेदवार मनोनयन दर्ता भोलि बिहान १० देखि साँझ ५ बजेसम्म, उम्मेदवारी मनोनयन दर्ता उपर दाबी विरोध र जाँचबुझ पनि भोलि साँझ ५ देखि ७ बजेसम्म हुनेछ ।  दाबी विरोध उपर निर्णय पनि  भोलि साँझ ७ देखि ९ बजेसम्म हुने समितिले जनाएको छ ।

उम्मेदवारको पहिलो नामावली प्रकाशन भोलि २५ गते राति ९ देखि १२ बजेसम्म, मनोनयन पत्र फिर्ता लिइसक्नुपर्ने समय  २६ गते बिहान ११ बजेसम्म, उम्मेदवारको अन्तिम नामावली प्रकाशन २६ गते दिउँसो १२ः१५ बजे र मतदान २७ गते बिहान ८ बजेदेखि हुने कार्यतालिका छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप