शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

डाइनिङ इन द डार्कः निस्पट्ट अँध्यारोमा दृष्टिविहीन वेटरहरूले पस्कन्छन् खाना

सुगन्धले वा जिब्रोको स्वादले खानाको अनुमान
शनिबार, ०३ पुस २०७८, १७ : ००
शनिबार, ०३ पुस २०७८

एकैछिनका लागि भए नि कल्पना गर्नुहोस् त, मानौं तपाईंको आँखाको ज्योति गुम्यो रे, तपाईं दृष्टिविहीन हुनुभयो । अनि त्यसपछिका आफ्ना गतिविधि कस्ता होलान् ? तपाईं आफू कसरी हिँड्न सक्नु होला, कसरी खानु होला ? सोच्नुहोस् त ! एउटा फरक अनि काल्पनिक संसारमा पक्कै पुग्नु भयो होला ।

यस्तै अनुभूत गराउन ललितपुरको पुलचोकमा सुरु भएको छ ‘डाइनिङ इन द डार्क’ अर्थात् अन्धकार कोठाभित्र भोजन । ‘एएफडी’ अर्थात् ‘अ फाइन डाइनिङ रेष्टुरेन्ट’को एउटा पाटो हो, ‘डाइनिङ इन द डार्क’ ।

एयर होस्टेसको जस्तो स्वागत शैली

‘सर नमस्कार, म भावना गुरुङ ‘डाइनिङ इन द डार्क’को एक सदस्य । तपाईंहरूलाई हाम्रो रेष्टुरेन्टमा स्वागत छ । म ‘डाइनिङ इन द डार्क’ को बारेमा सामान्य जानकरी गराउन चाहन्छु...भोजनका लागि अँध्यारो कोठाभित्र पस्नुअघिको तपाईंका लागि एयर होस्टेसको जस्तो स्वागत शैली हो यो । 

यही क्रममा तपाईंलाई जानकारी हुनेछ कि, अँध्यारो कोठाभित्र पस्नुअघि तपाईंको मोवाइल, घडी वा अरू केही प्रकाशजन्य सामग्री बन्देज गरिएका छन् । अँध्यारोमा डराउनेहरूको सहायताका लागि कोठा भित्रका चारै कुनामा सीसी क्यामेरा जडान गरिएका छन् । कुनै पाहुनालाई असहज भएमा सीसी टिभीको सहारामा सहजै बाहिर निकालिने लगायतको सूचना प्राप्त हुन्छ । 

डाइनिङ क्याविन, जहाँ निस्पट्ट अँध्यारो मात्र छ, त्यहाँ टेवल देखिन्न, कुर्ची देखिन्न अथवा तपाईंको मस्तिष्कले ठोस बस्तुको कल्पना गर्न त सक्छ तर आँखाको ज्योतिले कुनै बस्तु ठम्याउन सक्दैन । त्यही निस्पट्ट अँध्यारोमा सुरु हुन्छ, तपाईंको नौलो भोजन अनूभुति ‘डार्क डाइनिङ’।

अब दृष्टिविहीनहरूकै कुममा हात राखेर सुरु हुन्छ तपाईंको एक घण्टा लामो दृष्टिविहीन यात्रा र भोजन समय । प्लेटमा आएका खानाका परिकार निस्पट्ट अँध्यारोमा ।

सुँघेर भोजनको स्वाद

तपाईंका लागि रेष्टुरेन्टका सेफहरूद्वारा चार चरणमा भोजनको व्यवस्था गरिएको हुनेछ । जसमा सुप, सलाद, मेन कोर्ष र डेजर्ट आइटम । पहिलो, दोस्रो र तेस्रो कोर्ष एक क्याविनका पाहुनालाई उस्तै–उस्तै खुवाउने गरिएपनि मेन कोर्षमा तीन वटा आइटम राखिएको छः ‘रेड’, ‘ब्लु’ र ‘ग्रिन’ अर्थात्, भेज, चिकेन र फिस आइटम । अब बिल्कुल अँध्यारो कोठामा दृष्टिविहीन वेटरहरूले पाहुनाहरूलाई यी थरिथरिका भोजनको स्वाद चखाउने छन् । आफ्नो जस्तै संसारको अनुभूत गराउने छन् ।  

डाइनिङ क्याविन, जहाँ निस्पट्ट अँध्यारो मात्र छ, त्यहाँ टेवल देखिन्न, कुर्ची देखिन्न अथवा तपाईंको मस्तिष्कले ठोस बस्तुको कल्पना गर्न त सक्छ तर आँखाको ज्योतिले कुनै बस्तु ठम्याउन सक्दैन । त्यही निस्पट्ट अँध्यारोमा सुरु हुन्छ, तपाईंको नौलो भोजन अनूभुति ‘डार्क डाइनिङ’।

पेरिसबाट सुरु भयो ‘डार्क डाइनिङ’

सन् १९९७ मा फ्रान्सको पेरिसबाट सुरु भएको ‘डार्क डाइनिङ’को अवधारणाले सन् १९९९ मा जर्मनबाट मूर्तरुप पाएको थियो, जतिबेला दृष्टिविहिन जर्ज स्पाइलम्यानले आममानिसलाई दृष्टिविहीन हुनुको अनुभूति गराउन रेष्टुरेन्ट खोलेका थिए । 

त्यही अवधारणामा नेपालका युवा उद्यमीहरू सुरेश महर्जन, समिर महर्जन, अरिन बानियाँ र रतिस बस्न्यातले सुरु गरेका हुन् ‘डाइनिङ इन द डार्क’ रेष्टुरेन्ट । कोरोनाको दोस्रो लहर पछिको अवस्था सामान्य बन्दै जाँदा स्वदेशमै उद्यमशिलताको नयाँ प्रयोगस्वरुप सुरु भएको हो, यो रेष्टुरेन्ट । विदेशमा रहेको एकजना साथीले यस्तो पनि रेष्टुरेन्ट हुने रहेछ है भनेर सुझाएपछि भने सुरेशसहितको टिमले यसलाई नेपालमा मूर्त रुप दिएका हुन् । 

यस रेष्टुरेन्टको अर्को पाटो हो समावेशी समाजको परिकल्पना । फरक क्षमता भएका ५ जना दृष्टिविहीन ‘वेटर’हरु यहाँ सेवामा हरदम तम्तयार रहन्छन् । दृष्टिविहीनहरूले पनि होटेल÷रेष्टुरेन्ट क्षेत्रमा सेवा गर्न सक्छन् है भन्ने सन्देश दिन पनि यो रेष्टुरेन्टको सुरुवात गरिएको बताउँछन् सञ्चालक सुरेश महर्जन । 

‘२०१२ मा इजरायली राजदुतावासले दृष्टिविहीनहरूले पनि यो क्षत्रमा काम गर्न सक्छन् भनेर एउटा इभेन्टको आयोजना गरेर ‘डार्क डाइनिङ’को कन्सेप्ट नेपालमा प्रयोग गरेको थियो तर, त्यो समय कसैले खास चासो राखेनन्,’ सञ्चालका सुरेश भन्छन्, ‘अहिले साथीले सुझाएपछि हामीले २२ औं ‘डार्क डाइनिङ’ रेष्टुरेन्ट सञ्चालनमा ल्याएका हौं।’ कोरोना प्रभाव र लकडाउनका कारण धेरै दृष्टिविहीनहरू बेरोजगार बनिरहेका बेला यो क्षेत्र रोजगारीको विकल्प हुन सक्ने भएकाले पनि नयाँ प्रयासको सुरुवात गरेको उनको भनाइ छ । 

व्यवहारमा उतार्न सक्ने क्षमता

सुरुवाती समयमा दृष्टिविहीनहरूलाई होटेल तथा रेष्टुरेन्टका लागि वेटरको तालिम दिन निकै कठिन भएको बताउँछन् रेष्टुरेन्ट व्यवस्थापक सुदन महर्जन । व्यवस्थापक सुदनका अनुसार प्लेटिङको कुरा, स्वागत सत्कार र सेवा प्रवाह गर्ने कुरा सँगै अँध्यारो कोठामा पाहुना व्यवस्थापनको कुरा अलि जटिल थियो । यद्यपि आफूहरु त्यो चरण पार गरेर आइसकेको तथा सिकाइ क्षमता र सिकेको कुरा सहजै व्यवहारमा उतार्न सक्ने दृष्टिविहीनहरूको क्षमताका कारण पनि कठिन विषय सहज बनेको सञ्चालकहरूको भनाई छ । 

दंग दृष्टिविहीन 

यता, सवल समाजले दृष्टिविहीन भनेर बेवास्ता गरिरहेका बेला फरक शैलीमा आफू रोजगार बन्न पाउँदा रेष्टुरेन्टमा रोजगारी पाएका दृष्टिविहीनहरू पनि दंग छन् । ‘समाजमा हामी दृष्टिविहीनहरू पनि यस्तो काम गरिरहेका छौं भनेर भन्न पाउँदा एकदमै खुसी छु, गर्वानुभूति भइरहेको छ, रेष्टुरेन्ट सञ्चालकहरूप्रति पनि आभारी छौं’, दृष्टिविहीन वेटर भावना गुरुङ बताउँछिन् । 

उनीहरू कामबाट पनि सन्तुष्ट छन् । गुरुङ भन्छिन्, ‘हामीले सोचेका थिएनौं कि यस्तो काम गने अवसर्र पाउँछौं भनेर । अब, सेवा सुविधा र तलबको कुरा चाँहि रेष्टुरेन्ट स्थापित हुँदै जाँदा पक्कै राम्रो होला नि !’ 

‘हामी यस रेष्टुरेन्टमा काम गर्न पाउँदा निकै खुसी छौं । दृष्टि भएका व्यक्तिहरूलाई एक घण्टा भएपनि हाम्रो संसारको अनुभूत गराउन पाउँदा, उहाँहरूलाई सेवा गर्न पाउँदा हामी धेरै नै खुसी छौं’, अर्का दृष्टिविहिन वेटर दीर्घ खड्का भन्छन्, ‘यस्ता कार्यले नेपाली समाज अपाङ्गता भएका व्यक्तिहरूप्रति समावेशी हुनेछ, परिवर्तन हुनेछ भन्ने आशा पनि छ ।’

०००

रेष्टुरेन्टको अर्को नौलो पाटो पाहुनाले आफ्नो जिउले नसहने खानेकुराको अवगत गराइदिए पुग्छ । बाँकी सेफ आफैले थरिथरिका खानाको स्वाद चखाउने छन् । वेटरहरूले परिकारको अनुमान गराउनेछन् । तर, हेर्न भने खाइसकेपछि बाहिर निस्किएर मात्र पाइनेछ । 

यसरी ग्राहकले सुगन्धले वा जिब्रोको स्वादले खानाको अनुमान लगाउन पाउँदा पाककलायुक्त सेफहरू आनन्दित छन् । रेष्टुरेन्टका चीफ सेफ मिलन कपाली भन्छन्, ‘नेपाली अनेकन अर्गानिक खाना र विदेशी खानाको मिश्रण गरी त्यसको स्वाद चखाउन पाउँदा हामी खुसी छौं, त्यसमा पनि पहिले खाने अनि पछि हेर्ने र प्रतिक्रिया पाउँदा त्यसको मज्जा नै भिन्न हुन्छ ।’ 

यस्तै अर्का चिफ सेफ टेकनाथ नेपाल भन्छन्, ‘थुप्रै वर्ष राष्ट्रिय अन्तर्राष्ट्रिय होटेलमा काम गरियो । तर, यहाँ नौलो अनुभूत भइरहेको छ । अरुतिर पाहुनाहरू खाना हेरेर त्यसको स्वाद लिन्थे । तर, यहाँ स्वाद लिइसकेर पछि हेर्छन् र प्रतिक्रिया दिन्छन् । यसले खुसी पनि छौं, अर्कातर्फ दृष्टिविहीनले सर्भ गर्छन्, सहजीकरण गर्छन् । त्यसले झन नयाँपन दिएको छ ।’

‘एएफडी, अ फाइन डाइनिङ रेष्टुरेन्ट’ले डार्क डाइनिङका लागि मात्र नभएर अन्य सेवा पनि दिइरहेको छ । अन्य रेष्टुरेन्टझै बार, क्याफे, लाइभ म्यूजिकजस्ता थुप्रै सेवा दिइरहेको यो रेष्टुरेन्ट डेढ करोड लगानीमा सुरु गरिएको लगानीकर्तामध्ये एक समिर महर्जन बताउँछन् । यहाँ एकै पटक ४० जना पाहुनाले डार्क डाइनिङको सेवा लिन सक्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज न्यौपाने
मनोज न्यौपाने
लेखकबाट थप