शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

मैनालीको ‘घाउ आफैंलाई दुख्छ’ विमोचन

शनिबार, १७ पुस २०७८, १८ : ४८
शनिबार, १७ पुस २०७८

निबन्धकार गोपी मैनालीद्वारा लिखित ‘घाउ आफैंलाई दुख्छ’ निबन्ध सङ्ग्रहको विमोचन गरिएको छ । सुरभि साहित्य प्रतिष्ठानद्वारा मध्य बानेश्वरस्थित म्याक्डोनल ब्याङ्क्वेटमा आयोजित उक्त कार्यक्रमा सो निबन्ध सङ्ग्रहको विमोचन गरिएको हो । उक्त कृति कार्यक्रमका प्रमुख अतिथि दिनेशराज पन्त, विशिष्ट अतिथि पूर्व मुख्यसचिव विमलप्रसाद कोइराला, समालोचक लीला लुइँटेल, प्राडा खगेन्द्रप्रसाद लुइँटेल, विजय चालिसे, कुलप्रसाद कोइराला, गोपीनाथ मैनाली लगायतले संयुक्त रूपमा विमोचन गरिएको हो । सङ्ग्रहमा ३० वटा निबन्ध सङ्ग्रहित छन् । 

पुस्तक बारे चर्चा गर्दै प्राज्ञ दिनेशराज पन्तले भने, “यो पुस्तक भोलिको नेपालको शैक्षिक इतिहासको लागि, प्रशासनिक इतिहासका लागि र सामान्य जनजीवनको लागि दस्तावेजका रूपमा आएको छ ।”  यसैगरी प्राडा.खगेन्द्र लुइटेलले मैनालीले आफ्नो लेखन शैलीमार्फत् आफ्नो पहिचान बनाउन सफल भएको बताए । उनले भने, “अहिलेका लेखका कृतिहरूमा नाम छोप्यो भने कसको हो जसको पनि हो भन्नेसक्ने स्थिति छ । तर मैनालीको लेखनमा नाम छोप्दा पनि यो उनकै लेखन हो भनेर स्पष्ट पहिचान बनाइसकेको शैली छ । यो नै लेखकको महत्वपूर्ण पहिचान हो ।” 

उक्त पुस्तकको समीक्षा गर्दैै साहित्यकार विजय चालिसेले सामान्यतया साहित्यकारहरू प्रशासक भएर गएपछि साहित्य र साहित्यकारलाई बिर्सिएर प्रशासक नै हुने हावी हुने प्रवृत्ति देखिएको बताए । उनले भने, “तर गोपी मैनाली योभन्दा भिन्न भएर साहित्यमा लाग्नुभएको छ । यसले सबैलाई प्रभावित पारेको छ ।”

यसैगरी समालोचक लीला लुइटेलले यो निबन्ध पढ्दा मैनालीलाई एकदमै चिन्तनशील व्यक्तिको रुपमा पाएको बताए । उनले भने, “वैयक्तिक भावनालाई विचारमा मिसाएर सफलतापूर्वक अभिव्यक्त गर्नु नै यो निबन्ध सङ्ग्रहको पहिचान हो । भाषा शैलीका दृष्टिले यस सङ्ग्रहका निबन्धका प्रत्येक वाक्य सूक्तिमय छन् ।” 

निबन्धकार मैनालीले यो निबन्ध सङ्ग्रहमा मानव जातिका विभिन्न ३० वटा कोणबाट टिपेर सिर्जना गरेको बताए । उनले भने, “अब २२ औँ शताब्दीमा हाम्रा अभिव्यक्ति कस्ता होलान् भनेर २ शताब्दी पछिको कुरा पनि अलिकति उठाएको छु । अब यो कृति पाठकहरूको हो र यसलाई माया गर्ने, हेला गर्ने यहाँहरुको हो, यहाँहरूकै सम्पत्ति हो ।’’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप