मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय

सन् २०२१ : डेल्टासँग संघर्षपूर्ण लडाइँको वर्ष !

आइतबार, १८ पुस २०७८, १७ : १३
आइतबार, १८ पुस २०७८

‘डा.साब ! कोरोना भाइरस पुष्टि भएको रहेछ तर अहिले श्वास–प्रश्वासमा केही असहजता देखिएर आउनु भएको छ,’ एक स्वास्थ समकक्षीले सो संक्रमित युवाप्रति देखाउँदै भने । विभिन्न परीक्षणसँगै छातीको एक्सरे गर्ने ठाउँतिर जाँदै गर्दा उहाँ एक्कासी बेहोस हुनु भयो । केही छिन अगाडिमात्र आफै आफ्नै मोटरसाइकल चलाएर आउनु भएका संक्रमित मेरै अगाडि बेहोस भएको देख्दा सहजै विश्वास गर्न सक्ने अवस्था थिएन । यसले चीनको वुहानमा देखाएको घटनाको झ–झल्को दिइरहेको थियो ।

कोरोना व्यापक हुँदै जाँदा त्यहाँ मानिसहरु हिँड्दा हिँड्दै लडेका सामाजिक सञ्जालहरुमा देखिन्थे । त्यस्ता देखिएका श्रव्य दृश्यहरु प्रति तत्काल विश्वास गर्न भने मलाई गाह्रो भएको थियो । तर नेपालमा डेल्टाले धावा बोल्दै उत्कर्षमा पुग्दै गरेको अवस्थामा आफ्नै अगाडि त्यसरी संक्रमित ढल्दा भने कोरोनाको क्षमता मापन गर्दै थिएँ । अर्थात् चीनको वुहानमा देखिएका घटनाहरु सत्य रहेछ भन्ने लाग्यो ।

एम्बुलेन्सको प्रत्येक मिनेटमा सुनिने साइरनले अस्पताल युद्ध भूमिमा परिणत भइसकेको अनुभूति हुन्थ्यो । हाम्रो दुश्मन अदृश्य भाइरस डेल्टा भेरियन्ट थियो भने हामी आपतकालीन कक्ष (इमर्जेन्सी कक्ष) का स्टाफहरु लडाइँका सिपाही बनेका थियौं । सो समयमा अक्सिजनको अभाव हुँदा धेरै अस्पताल बिरामीको उपचार गर्न सक्ने अवस्थामा थिएनन् र अन्ततः टेकु अस्पताल पठाउने गर्दथे । फलस्वरूप, एम्बुलेन्समा ल्याउँदा ल्याउँदै मृत्यु हुने संक्रमितहरुको संख्या पनि धेरै देखिन्थे ।

‘इन्डियन कोरोना’ र पछि गएर ‘डेल्टा’ नाम दिएको भेरियन्टको पहिचान पहिलो पटक सन् २०२० को अक्टोबरतिर भारतको महाराष्ट्रमा भइसकेको थियो । तर नेपाल आइपुग्दा वा फैलँदा भने सन् २०२१ लागिसकेको थियो । डेल्टा खासगरी नेपालगञ्जमा स्ट्राइक गर्दै नेपाल भित्रिएको देखिन्छ । त्योभन्दा अगाडिको पहिलो लहरमा बिरगंजलाई विशेष प्रभावित पारेको थियो । तर यसपटक भने डेल्टाले फरक भित्रिने बिन्दु रोज्दै नेपालविरुद्ध दोश्रो लहरको घोषणा गरेको थियो ।

यसको तीव्रता र घातकता देखेर म अचम्मित परेको थिएँ र नयाँ भेरियन्टको प्रादुर्भाव भएको आशंका गरेको थिएँ । त्यो बेला नेपाल–भारतमा नभई कुनै विकसित देशमा फैलिएको भए यसको द्रुत पहिचान र हर्कतको अनुसन्धान गरी ती देशले आवश्यक कदम चाल्थे होला । हाल ओमिक्रोन देखिने बित्तिकै यसबारे व्यापक खोजी तथा अनुसन्धानहरूले व्यापकता पायो जसले गर्दा नयाँनयाँ तथ्यहरु आयो÷बाहिरियो र अहिले पनि आउने क्रम जारी छन् ।

ओमिक्रोनविरुद्ध लगाएका निषेधाज्ञा दक्षिण अफ्रिकाले हालै हटाएको घोषणा गरेको छ । यो अघिल्लो लहरहरु भन्दा छोटो अवधिमात्र स्थिर रहेको देखियो भने संक्रमितको संख्या पनि ओरालो लाग्ने क्रम जारी छ । तुलनात्मक रुपमा डेल्टाले भन्दा कम अस्पताल भर्ना गराउने वा मानवीय क्षति गरेको तथ्याङ्क देखिन्छ ।

दक्षिण अफ्रिका र विश्वमा ओमिक्रोनबारे भएका अनुसन्धान/गतिविधिहरूको आधारमा विभिन्न निर्देशिकाहरु फेरबदल वा अध्यावधिक गर्न वा राष्ट्रिय नीतिगत निर्णय गर्न सहज भइरहेको छ । यहाँनिर मैले जोड्न खोजेको भनेको नेपाल–भारतमा पनि डेल्टा भेरियन्ट देखिने बित्तिकै अध्ययन अनुसन्धानहरूलाई प्राथमिकता दिएको भए धेरै हदसम्म मानवीय क्षति कम गर्न सकिन्थ्यो होला ।

काठमाडौंमा डेल्टाले उत्कर्ष चुमेपछि मात्र दोश्रो लहरको कारक यो भेरियन्ट रहेछ भनेर पत्ता लागेको थियो । ओमिक्रोनको जस्तै त्यो बेला यसको तीव्रता र घातकताको बारेमा छिटो जानकारी÷मापन गर्न सकेको भए पहिचान/परीक्षण, उपचार व्यवस्थापन, बच्ने उपायप्रति सबै गम्भीर हुन्थे होला ।

यसको लागि फेरि पनि अनुसन्धानलाई उच्च प्राथमिकतामा राख्नु पर्दछ भन्ने हो । सन् २०१९ बाट आजको मितिसम्म आइपुग्दा कोरोनाको नयाँनयाँ भेरियन्ट र त्यसले देखाउने नयाँनयाँ हर्कतले गर्दा   अनुसन्धानको आवश्यकता निरन्तर पर्ने रहेछ भन्ने देखाउँछ ।

दोश्रो लहर देखिनुभन्दा पहिला विशेष गरेर ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई कोरोनाको उच्च जोखिम देखिएको थियो र त्यसै अनुसार हामीले (विश्वले) खोपको प्राथमिकतामा उनीहरुलाई राखेर दिने क्रम सुरु भयो । तर डेल्टा भेरियन्टको उदयसँगै विशेष गरेर युवाहरु यसको चपेटामा नराम्ररी प्रभावित भए ।

म आपतकालीन कक्ष (इमरजेन्सी कक्ष) मा हरेक बिरामीसँग भेट्दै गर्दा युवा उमेरका कै बाहुल्यता रहेको पाएँ । ज्येष्ठ नागरिकहरूमा विशेषतः विभिन्न कारणले खोप नलगाएकाहरु नै थिए । त्यो बेला ज्येष्ठ नागरिकहरुले कोभिशिल्ड खोपको एक मात्रा लगाइसकेका थिए भने भेरोसेलको खोप सुरु हुँदै थियो ।

डेल्टा भेरियन्ट संक्रमितलाई अक्सिजनको आवश्यकता अत्यधिक हुँदा र त्यसको अभाव हुँदा मृत्यु हुनेहरुको संख्या पनि बढेको देखिन्थ्यो । भारत र नेपालमा अक्सिजन अभावको घटनाले डेल्टा भेरियन्ट ‘अक्सिजन पिपासु’ रहेछ भन्ने थाहा हुन्थ्यो तर काठमाडौंले भने त्यसको व्यवस्थापन गर्नबाट चुकेको प्रष्ट देखिन्थ्यो । अस्पतालमा अक्सिजनको हाहाकारले पनि यस्तो अवस्था जनाउँछ । हाल अस्पतालहरुले आफ्नै अक्सिजन प्लान्ट राख्दै गरेको देखिन्छ, जुन स्वागतयोग्य मान्न सकिन्छ ।

मेरो स्वास्थ सेवामा व्यतित गरेको झन्डै २० वर्ष हुँदै गर्दा विभिन्न कालखण्डमा विभिन्न सरुवा रोगको महामारीलाई नजिकबाट नियाल्ने मौका पनि पाएँ तर कोरोनाको (सार्स–कोभ–२) जस्तो उथल पुथललाई निरन्तरता दिन सक्ने संक्रमण भने देखेको थिइनँ । त्यसमा पनि भर्खरै बिदाई गरेको सन् २०२१ मा देखिएको डेल्टा भेरियन्टले गरेको मानवीय क्षति अप्रत्याशित, हृदय विदारक र बिर्सन नसकिने थियो/छ ।

हरेक समस्याले केही न केही पाठ सिकाउँछ वा सिक्नु पर्दछ । यो महामारी अन्तिम भने हुने छैन । तसर्थ आगामी वर्षहरुमा तीव्र तथा घातक सरुवा रोगको अप्रत्याशित उत्पति र फैलावटलाई ध्यानमा राखेर अनुसन्धानमा आधारित स्वास्थ संस्था÷केन्द्र वा अस्पतालहरू बनाउन जरुरी छ । किनभने बिना अनुसन्धान संक्रमणको पहिचान, परीक्षण, उपचार, खोप र बच्ने उपाय थाहा पाउन असम्भव प्रायः छ ।                                                                        

(लेखक डा. पुन शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक हुन् ।) 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. शेरबहादुर पुन
डा. शेरबहादुर पुन

पुन शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा क्लिनिकल रिसर्च युनिटका संयोजक हुन्

लेखकबाट थप