‘ओमिक्रोन’का सन्दर्भमा यस्तो छ बेलायतमा रहेका नेपाली स्वास्थ्यकर्मीको सुझाव
बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरोधी खोपमै केन्द्रित हुनुपर्ने धारणा राखेका छन् । ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न सक्ने जोखिम देखिएको भन्दै उनीहरुले नेपाल सरकारलाई खोप वितरणमै थप ध्यान दिन सल्लाह दिएका छन् ।
नेपाल पत्रकार महासंघ बेलायत शाखाले सञ्चालन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा आइतबार कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा सुधिर लोहनीले नयाँ भेरियन्टको केसमा समेत खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको बताए ।
बेलायतको केन्टस्थित ड्यारेन भ्याली अस्पतालमा कार्यरत डा लोहनीले ओमिक्रन भेरियन्ट तुलनात्मक रुपमा कम घातक तर बढी संक्रामक रहेको जनाए । ‘यसको संक्रमणले फोक्सोमा भन्दा पनि बढी घाँटीमा असर गर्ने भएकाले कम घातक छ । तर संक्रमण दर बढी रहेका कारण स्वास्थ्य सेवाहरुले थेग्नै नसक्ने तहको भार सिर्जना हुने खतरा देखिएको छ’, उनले भने ।
संक्रमण भइहालेको अवस्थामा आफूलाई सक्रिय राख्न निकै महत्वपूर्ण रहने डा लोहनीको सुझाव छ । शरीर निष्क्रिय रहँदा फोक्सोले कम काम गर्ने र संक्रमण जटिल हुने भएकाले सक्रिय भइराख्नु महत्वपूर्ण हुन्छ’, उनले भने ।
नेप्लिज डक्टर्स् एशोसिएसन यूकेका अध्यक्ष एवम् कन्सल्टेन्ट सर्जन डा कमल अर्यालले ओमिक्रोन बढी संक्रामक रहेका कारण थप सजगता जरूरी रहेको बताए । सुरक्षाका लागि बुस्टर खोप लिन सल्लाह दिँदै उनले भिडभाडमा नजाने, नियमित रुपमा हात धुने, सुरक्षित दूरी कायम गर्ने र मास्क लगाउने जस्ता सतर्कता पनि अपनाउन सुझाव दिए । नेपाल सरकारले अहिले खोप वितरणमै बढी ध्यान दिनुपर्ने उनको भनाइ छ ।
बेलायतमै कार्यरत सिनियर नर्स सुनिता गौतम थापाले ओमिक्रोनको कारण बेलायतका अस्पतालहरुमा समेत अहिले चाप निकै बढेको बताइन् । तीव्र फैलिरहेको संक्रमणले अस्पताल भर्ना हुने तथा आइसियूमा जाने बिरामी बढेको र धेरै स्वास्थ्यकर्मी नै संक्रमित बनेकाले समस्या भएको उनले सुनाइन् ।
कार्यक्रमका वक्ताहरुले स्वास्थ्यकर्मीहरुले आफूहरुले अहिले व्यक्तिगत वा संस्थागत रुपमा नेपालमा विभिन्न सहयोग गर्ने प्रयास गरिरहेको बताए । नेपाल सरकारले चाहेर उपयुक्त वातावरण बनाउन सके विदेशस्थित सयौं नेपाली स्वास्थ्यकर्मीबाट धेरै लाभ लिन सक्ने उनीहरुको भनाइ छ ।
कोरोना महामारीको बेला आवश्यक स्वास्थ्य सूचना, जानकारी र परामर्श उपलब्ध गराउने उद्देश्यसहित नेपाल पत्रकार महासंघ बेलायत शाखाले सचेतना कार्यक्रम सुरु गरेको हो । नेप्लिज डक्टर्स एशोसिएसन यूके र नेप्लिज नर्सिङ एशोशिएशन यूके समेतको सहकार्य रहने कार्यक्रम पाक्षिक रुपमा सञ्चालन गरिने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रसारणको लाइनको तार परिवर्तन गर्दै विद्युत् प्राधिकरण, काठमाडौँका यी स्थानमा आपूर्ति बन्द हुने
-
डढेलो नियन्त्रणमा सरकार संवेदनशील देखिएन: नेता कोइराला
-
डिएभी विद्यालयमा राग र ताल मिश्रित सांस्कृतिक कार्यक्रम ‘तरङ्ग’ भव्य रूपमा सम्पन्न
-
मेचीनगरमा तीन खानेपानी आयोजना सम्पन्न
-
एकल, दलित र विपन्न महिलालाई आत्मनिर्भर बनाउन सवारी चालक तालिम
-
ब्राइटनविरुद्ध म्यानचेस्टर सिटीलाई ४–० को जित, उपाधि होड थप रोमाञ्चक