शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतको काउन्टी काउन्सिलमा शर्मा पहिलो नेपाली उम्मेदवार

सोमबार, ०३ माघ २०७८, ०७ : १६
सोमबार, ०३ माघ २०७८

लन्डन । नेपालीहरूको ठूलो जनघनत्व रहेको बेलायतका नेपालीहरू स्थानीय राजनीतिमा पनि उत्तिकै सक्रिय रहँदै आएका छन् । हालसम्म बरो काउन्सिलसम्म नेपालीहरूको पहुँच भए पनि नेपालीमूलका एकजना स्थानीय नेता डा. जगन्नाथ शर्मा काउन्टी काउन्सिलमा काउन्सिलर उम्मेदवार छनोट भएका छन् । इंग्ल्याण्डकै ठूलो काउन्टी रूपमा मानिने नर्थ योर्कसायर काउन्टी काउन्सिलमा ९५ प्रतिशत कन्जरभेटिभ सदस्यहरूले मत प्राप्त गर्दै  उनी काउन्सिलर पदको लागि  उम्मेदवार छनोट भएका हुन् । उनले सार्वजनिक यातायात सेवामा सुधार, काउन्सिल ट्याक्स घटाउने, नयाँ जागिर र व्यवसाय सृजना, स्वास्थ्य सेवा सुधार, भूतपूर्व गोर्खाको समान पेन्सन मुद्दामा सहयोग, बेलायत र नेपाल सरकार तथा जनता जनताबीच सुमधुर सम्बन्ध विस्तार, सुरक्षित सडक, कन्जरभेटिभ पार्टीको नीति तथा विचार प्रवर्धन एवं बहुसांस्कृतिक काउन्टी बनाउने प्रतिबद्धता तथा प्राथमिकता प्रस्तुत गरेका थिए । उनी बेलायतस्थित कोर्लबर्न टाउनको डेपुटी मेयर र मेयर समेत  भइसकेका छन् ।

आफू उम्मेदवार छनोट भएपछि शनिबार आयोजित कन्जरभेटिभ पार्टीबाट छनोट भएका उम्मेदवारहरूको भेलामा मन्तव्य दिँदै शर्माले मे ५ मा हुने आफ्नो चुनावी अभियान तीव्र बनाएका छन् । उनको आफ्नै क्षेत्रका सांसद बेलायती अर्थमन्त्री ऋषि सुनाकसमेत सो भेलामा उपस्थित भएका थिए । शर्मा बेलायती अर्थमन्त्री सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा कन्जरभेटिभ पार्टीको उपाध्यक्ष हुन् ।

भेलामा बेलायती अर्थमन्त्री सुनाकले शर्मासहित अन्य उम्मेदवारहरूलाई निर्देशन र शुभकामना दिएका छन् । सुनाकले स्थानीयको मन मष्तिस्कमा रहेर सकारात्मक चुनावी नतिजा ल्याउन सुझाएका थिए । सुनाकले उक्त क्षेत्रको विकासका लागि आफ्नो तर्फबाट सक्दो सहयोग हुने पनि बताएका छन् ।

अर्थमन्त्री सुनाकले ब्रिटिस आर्मीमा जागिरे समेत रहेका डा. शर्मालाई ब्रिटिस आर्मीले देशको रक्षा र मानवीय सहायतामा ठूलो भूमिका निर्वाह गरेको जनाउँदै शर्माको चुनावी अभियानमा आफू समेत 
संलग्न हुने आश्वासन दिएका छन् ।

उम्मेदवार शर्माले आफ्नो मन्तव्यका क्रममा अर्थमन्त्रीसमक्ष उक्त क्षेत्रमा रेलवे कनेक्सन, युरोपमै सबैभन्दा ठूलो आर्मी प्रशिक्षण केन्द्र र बटालियन रहेको क्याट्रिक ग्यारिजन आर्मीलाई कोषवृद्धि, विकास निर्माण, ब्रेन ड्रेन रोक्न युवालाई हाइटेक जब अफर, वहु सांस्कृतिक पक्षको प्रवर्धन जस्ता मुद्दामा सहयोग गर्न माग गरेका थिए ।

को हुन् डा. जगन्नाथ शर्मा  ?

नेपालको पर्वत जिल्ला बिहादी रानीपानी निवासी शर्मा दुई दशकअघि बेलायत आएका हुन् । स्पोर्टस् मेडिसिनमा विद्यावारिधि गरेका डा. शर्मा जनस्वास्थ्य तथा सङ्क्रामक रोग विशेषज्ञ पनि हुन् । उनका स्वास्थ्यसम्बन्धी कैयौँ जर्नल प्रकाशित छन् । सन् २००१ मा बेलायत आएका शर्माले करिब दुई वर्ष नेशनल हेल्थ सर्भिस् (एनएचएस) मा काम गरे ।  सन् २००३ देखि बेलायती रक्षा मन्त्रालयको जागिरमा प्रवेश गरेका शर्मा बेलायती रक्षा मन्त्रालयअन्तर्गत क्याट्रिक ग्यारिसनको डिपार्टमेन्ट प्रमुख सुपरिटेन्डेन्ट पनि हुन्  । शर्मा बेलायतभित्र तथा बाहिरी मुलुकमा आपत्कालीन स्वास्थ्य सम्बन्धि सहायता तथा तालिम प्रदान गर्ने इमर्जेन्सी हयूमेनिटेरियन मेडिकल टिममा पनि सदस्य छन् । उनी यूके तथा अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूमा विद्यावारिधि (पिएचडी) विद्यार्थीको वाह्य परीक्षक पनि हुन् ।

बेलायती अर्थमन्त्री सुनाकको निर्वाचन क्षेत्र रिचमण्डसायरमा कन्जरभेटिभ पार्टीको उपाध्यक्ष रहेका छन् । सन् २०१२ देखि काउन्सिलर रहेका शर्मा कोर्लबर्न टाउनको डेपुटी मेयर र मेयर समेत भइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्र बस्नेत
नरेन्द्र बस्नेत
लेखकबाट थप