शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

२४ कलाकारले एकै थलोमा सिके दर्जन बढी नृत्य

आइतबार, ०९ माघ २०७८, ११ : ३४
आइतबार, ०९ माघ २०७८

देशको पाँच प्रदेशका २४ कलाकारले एकै थलोमा करिब एक दर्जन बढी नृत्य सिकेका छन् । रुपन्देहीको बुटवलस्थित शंकर नगरमा आयोजित नृत्य निर्देशक कार्यशाला ती कलाकारका लागि यो अवसर मिलेको हो । कार्यशालामा शनिबार सकिएको छ । 

हरेक नृत्यको कार्यपत्र प्रस्तुतिसहित प्रयोगात्मक रुपमा सिकाइएको नृत्य सम्बन्धित नृत्य निर्देशकले कलाकारले कार्यक्रममा प्रस्तुत समेत गरिएको कार्यक्रमका सहजकर्ता एवम् सांस्कृतिक संस्थानका पूर्व महाप्रबन्धक राजेश थापाले बताए ।

पाँच दिनको कार्यशालामा एक दर्जन नृत्यको कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यशालामा गत मंगलबार सुरु भएको कार्यशालामा प्रदेश १ बाट नृत्य निर्देशक नगेन्द्र राईले साकेला नृत्यको कार्यपत्र प्रस्तुतसँगै सो नृत्य सबैलाई सिकाएका थिए । 

यस्तै कार्यशालामा बुधबार नृत्य निर्देशक ओम प्रकाश बस्नेतले प्रदेश १ को राजबंशी समुदायको हुदुर दुरा नृत्य सिकाए । सो नृत्यको उनले कार्यपत्र पनि प्रस्तुत गरेका थिए । उनले सोही दिन कार्यपत्र प्रस्तुत गर्दै मधेश प्रदेशको सामा चखेबा नृत्यको नृत्य पनि सिकाए । कार्यशालमा सहभागी बाँकी २३ जनाले नै उनको यी दुबै नृत्य सामुहिक रुपमा प्रस्तुत गरेर देखाए । 

कार्यशालामा बिहीबार प्रदेश ३ बाट ललितपुरका सुरेन्द्र देशारले अष्ट मातृका नाच, र बागमती प्रदेशबाट नृत्य निर्देशक मोहन तौजले काभ्रेमा प्रचलिन राजारानी नाचको कार्यपत्र प्रस्तुत सहित सिकाए । बागमती प्रदेशबाटै मेहेन्दो मायाँ नाच निर्देशक रोचक थापाले सबैलाई सिकाए । 

यस्तै बिहिबार नृत्य निर्देशक गोरे गुरुङले गण्डकी प्रदेशबाट घाटु नाचको कार्यपत्र प्रस्तुत गरे । यो नाच पनि उनले केही घन्टा सिएका । यो नाच सिकेर सहभागी मध्य असु कुँवर, सारदा थापा र समीक्षा धेँगाले नाचेरै देखाए ।
कार्यशालामा शुक्रबार चार ओटा नाचको कार्यपत्र प्रस्तुतिसँगै नाच सिक्ने र नाचेर देखाउने कार्य भयो ।

शुक्रबार गण्डकी प्रदेशबाट बमबहादुर गुरुङले कृष्ण चरित्र नाच र गुरुङ समुदायको मृत्यु संस्कारमा नाचिने छ्याडु (सेर्गा) नाचको कार्यपत्र प्रस्तुत गर्नुका साथै यी सबै नाच सिकाए । जसमध्ये कृष्ण चरित्र नाच सिकेर परम्परागत पोशाकमा युवराज जर्घामगर, हिमाल थापा, रविन थापा, युवराज गुरुङ, नविन गुरुङ, रोशन गुरुङ, मुकेश गुरुङ र ओसिन सारुमगरले नाचेर देखाए । यस्तै छ्याडु नाच सो कार्यशालामा सबैले सामूहिक नाचेर देखाए ।

शुक्रबार नै लुम्बिनी प्रदेशबाट थारु समुदायको नृत्यहरु पनि कार्यपत्र प्रस्तुति सहित सिकाइयो । मुकेश गुरुङले रुपन्देहीको थारु समुदायको झर्रा नृत्य, अनु रचकले रुपन्देहीकै थारु समुदायको बड्की नाच र पुनम थापाले पनि त्यहीँका थारु समुहकै झुमडा नाच सिकाए । यी सबै नाच सिकेर सहभागीले नाचेर देखाए । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका नृत्य निर्देशकहरु कोरोना संक्रमणबाट ग्रसित भएका कारण कार्यशालामा सहभागी हुन नसेको कार्यक्रम जानकारी दिइयो । 

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा रहेको कार्यक्रम समापनमा बोल्दै प्रतिष्ठानकी परिषद सदस्य एवम नृत्य विभाग प्रमुख नमुना शर्माले सोचेभन्दा राम्रो कार्यशाला भएको बताइन् । सिक्ने अवसर पाएको यस्तो कार्यशालालाई आउँदा दिनमा अझ बृहत गर्ने उनले प्रतिबद्धता जनाइन् ।

कार्यक्रममा नृत्य निर्देशक रोचक थापालाई १५ हजार रुपैयाँ सहित नृत्य संगीत प्रज्ञा प्रतिष्ठानका तर्फबाट शनिबार सम्मान पनि गरियो ।  कार्यक्रमका प्रमुख अतिथि एवम् नृत्य निर्देशक कमल राईले यस्तो मौलिक नृत्य प्रशिक्षणले लोक नेपाली नाचको प्रवर्द्धनमा मद्दत पुग्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप