ad
x
अन्तरवार्ता

‘तामाङ राष्ट्रिय पुस्तकालय सबैका लागि खुला रहने छ’

अमृत योञ्जन तामाङ, अध्यक्ष

person explore access_timeमाघ १५, २०७८ chat_bubble_outline0

काठमाडौंको बौद्धमा यही पुसको अन्तिम साता तामाङ राष्ट्रिय पुस्तकालयको स्थापना भएको छ । यो पुस्तकालयले तामाङसँग सम्बन्धित अभिलेख, अनुसन्धान, पुस्तक तथा पत्रपत्रिका लगायतका सामग्रीहरूको सङ्कलन र संरक्षण गर्ने योजना लिएको छ । तामाङ राष्ट्रिय पुस्तकालयको अध्यक्षको रुपमा अमृत योञ्जन तामाङ अहिले संकलित पुस्तकको व्यवस्थापन र क्याटलगमा दिनरात खटिएका छन् ।


अब सामाजिक रुपमा कुनै संस्थामा आबद्ध नहुने, बरु यही पुस्तकालयकै व्यवस्थापनमा आजीवन लाग्ने सोच बनाएका छन् योञ्जनले । उनका अनुसार अबको एक वर्ष भित्रमा अनलाइन सुविधा पनि दिने योजना पुस्तकालयले राखेको छ । प्रस्तुत छ, पुस्तकालय स्थापनाको उद्देश्य, पुस्तक तथा पाठ्यसामग्री सङ्कलन र व्यवस्थापन लगायतका विषयमा अमृत योञ्जन तामाङसँग रातोपाटीका लागि शिखर मोहनले गरेको कुराकानी : 





–तामाङ राष्ट्रिय पुस्तकालयको स्थापना गर्ने योजना कसरी बन्यो ? 



तामाङ संस्कृतिका धेरै मानिस काठमाडौंमा बसोबास गर्छन् । तिनीहरूमध्ये धेरैलाई तामाङ केन्द्रीत पुस्तकालय आवश्यकताको महसुस भएको थियो । तामाङबारे अध्ययन, अनुसन्धान गर्ने साथीहरूले हरेक वर्ष ८ देखि १० जनाले फोन गर्ने गर्थे । अनुसन्धान गर्न चाहनेहरूले अरूतिर सामग्री नपुगेर मेरो घरमा आइरहन्थे । त्यो देखेर छरिएर रहेका तामाङसम्बन्धी अभिलेख, लेख, पत्रपत्रिका, पुस्तक, अनुसन्धानात्मक कृतिहरूलाई एकत्रित गर्नुपर्छ भन्ने लाग्यो । अर्को कुरा मसँग भएका सामग्री पनि मेरै कोठामा मात्र सीमित भए । सबैको पहुँचका लागि मेरो पुस्तकालय सम्भव पनि भएन । 



तामाङबारे अनुसन्धान गर्ने व्यक्तिले भनेजस्तो सामग्री नपाइरहेको अवस्थामा एउटा पुस्तकालय सबैको आवश्यकता बनेको थियो । कतिपयले पुस्तकालय खोल्ने उद्देश्य पनि राखेका थिए, ती सबैलाई बोलायौँ । नेपाल तामाङ घेदुङ, तामाङ डाजाङ लगायतका संस्थालाई बोलाएर हामीले एउटा टिम बनायौँ । त्यही टिम परिचालित भयो ।



पुस्तकालयको व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ ? 



पुस्तकालयका लागि बौद्ध तामाङ कल्याण गुठीले कोठा उपलब्ध गराएको छ । यो पुर्खौदेखि बौद्ध वरपर बस्ने ६० घरधुरीका तामाङहरूको गुठी हो । कोठामा कार्पेटिङ गर्ने, सरसफाई गर्ने लगायतका काम गुठी आफै सदस्य भएको हुँदा उसैले गरेको छ । मित्र दावाजीले ८० हजारको र्‍याक बनाइदिनुभयो र किताब राख्ने काम सुरु गर्यौँ । म आफै अध्यक्ष रहेको तिल्पुङ–काठमाडौं तामाङ समाजले एउटा अर्को ठूलो र्याक बनाइदियो । अर्को चाहिँ बौद्ध तामाङ गुठीले बनाइदिने भएको छ । पुस्तकालयका लागि पुस्तक दान गर्नेहरूलाई आह्वान गर्यौँ । देशविदेशबाट विभिन्न व्यक्ति तथा संस्थाहरूले किताब उपहार दिन थालेका छन् । यसरी व्यक्तिगत र संस्थागत प्रयासबाट पुस्तकालयको व्यवस्थापन हुँदैछ ।



नेपालमा थुप्रै पुस्तकालयहरू छन् तर तामाङ समुदाय विशेषका सबै सामग्री त्यहाँ नपाइन सक्छ । तामाङबारे अध्ययन गरिने सबै सामग्री यस पुस्तकालयमा उपलब्ध हुनेछन् । जोसुकैले पनि यसको प्रयोग गर्न सक्छ । 

अर्को कुरा, यहाँ तामाङ गुठीको ७ आना जग्गा रहेछ । त्यो ठाउँमा तामाङ सांस्कृतिक म्युजियम बनाउने योजनामा छौँ । बौद्ध र पशुपति दुईवटा विश्व सांस्कृतिक सम्पदा हुन्, त्यसको बीचमा पर्ने गरी यो म्युजियम बनाउँछौँ । 

यस पुस्तकालयमा पुस्तक म्युजियम पनि बनाउने सोच छ । त्यसले अवलोकनकर्तालाई पुस्तकको सामान्य परिचय गराउँछ । त्यसैले हामीले किताबको बारेमा, लेखकको बारेमा कर्नर बनाउँदै कमसे कम युवाहरूले आएर किताब हेर्ने बित्तिकै किताबमा के के छ भन्ने जानकारी पाउन सकून् । 

हामीसँग बुद्धिष्ट स्टडिजको बारेमा कन्सेप्ट छ, तामाङहरूका लागि ३ वटा ठूला ठाउँ छन्, बौद्ध, स्वयम्भू र नमोबुद्ध । यी चाहिँ तामाङको सांस्कृतिक केन्द्र रहेछन्  । बौद्धसम्बन्धी छापिएका सबै पुस्तक बौद्ध तामाङ गुठी भन्ने संस्थाले बेहोर्ने भनेपछि उनीहरू ती पुस्तकहरू खोज्नतिर लागेका छन् । लक्ष्मी रुम्बा यहाँको सचिव हुनुहुन्छ, उहाँलाई तामाङ महिला अध्ययनबारेका सामग्री खोज्ने भनेर दिएका छौँ । 

यो पुस्तकालय समुदायको प्रयास हो । तामाङ समुदाय मिलेर सुरु गरेकाले तामाङ नाम पनि आयो । यसका प्रायः सबै काम आफैँ गर्नुपर्छ । हाम्रो अवधारणा के छ भने देश अब सङ्घीयता आइसकेको छ । स्थानीयले आफैँ गर्नुपर्छ भनेर सरकारको मुख ताकेका छैनौँ । सरकार यसमा पसेपछि राजनीतिकरण हुन सक्छ ।

–कर्मचारीको व्यवस्थापन चाहिँ कसरी गर्दै हुनुहुन्छ ? 

भित्री मनदेखि सञ्चालन गर्ने मान्छे भइ दिएन भने पुस्तकालय दीर्घकालसम्म रहन सक्दैन । यहाँ २, ३ जना स्वयम्सेवक चौबीसै घन्टै उपलब्ध हुन्छन् । उनीहरूलाई यही तामाङ गुठीले व्यवस्थापन गरेको हो । तलबमा कर्मचारी राख्नेबित्तिकै १० देखि ५ को भइदिन्छन् । त्यसैले समुदाय आफैँ सक्रिय भएर यसमा मेरो लगानी छ भन्ने भएपछि यसले स्थायित्व पाउँछ । 

लाइब्रेरी व्यवस्थापनका लागि नम्बरिकल सिस्टम जानेका दक्ष जनशक्ति आवश्यक हुन्छ । त्यसको व्यवस्थापन गर्दै जानेछौं । लाइब्रेरी साइन्स पढेका केही कर्मचारी व्यवस्थापन त गर्नैपर्छ, त्यो गर्छौं । कतिपय साथीहरूले यहीँका कर्मचारीलाई तालिम पनि दिन्छौँ भन्नुभएको छ । 

–यसको भित्री उद्देश्य त आफ्नो मातृभाषा, संस्कृतिको संरक्षणका लागि होइन र ?

पुस्तकालय भन्नेबित्तिकै ‘नलेज डकुमेन्टेसन’ भन्ने हुन्छ । विशेष गरी डकुमेन्टेसनकै कुरा हो । यसमा हामीले तीनवटा क्षेत्रका अध्ययन सामग्री सङ्कलन गर्दैछौँ– तामाङ भाषामा लेखिएका (इन तामाङ), तामाङका बारेमा लेखिएका (अन तामाङ), तामाङद्वारा लेखिएका (बाई तामाङ) । यी तीन प्रकारका सामग्री सङ्कलनलाई फोकस गरेका छौँ । तर चौथो चाहिँ तामाङ महिलाका बारेमा भएका अनुसन्धानका सामग्री पनि सङ्कलन गर्छौं । 

हाम्रो उद्देश्य छरिएर रहेका तामाङ सामग्रीको सङ्कलन पनि हो । यसै सन्दर्भमा दुई वर्षअघि म युरोप पुगेको थिएँ । त्यहाँ तामाङ भाषामै १९७१ मै विद्यावारिधि गरेर, १९७३ मा त पुस्तक नै निस्किएको रहेछ । ती फ्रान्सका विद्वान् अझै पनि हुनुहुन्छ । उहाँले तामाङ–नेपाली–फ्रेन्च–अङ्ग्रेजी चार भाषाको शब्दकोश ४० वर्षदेखि निर्माण गर्दै हुनुहुँदो रहेछ । वर्षमा एक पटक नेपाल आउनुहुन्छ । 

बोयद मिकालोभ्स्कीले चाहिँ हायु भाषामा विद्यावारिधि गर्नुभएको रहेछ । उहाँले चाहिँ प्रकाशित अप्रकाशित सामग्री मलाई दिन्छु भन्नुभएको छ । तर त्यसमा प्रकाशकको कपिराइटको कुराले केही अल्झाएको छ । उहाँकी श्रीमती मार्टिन मजाउँदोले तामाङ टोनमा विद्यावारिधि गर्नुभएको छ । टोनमा चाहिँ उच्चारण तलमाथि हुनेवित्तिकै अर्थ फरक हुन्छ । जस्तै– एउटै ‘कु’ शब्दले फरक फरक अर्थ दिन्छ– छाती, नाउ, काठ, मर्ने आदि । उहाँका करिब ४५ वटा अनुसन्धानात्मक लेख छन् । ती सबै मलाई किताबका रूपमा छाप्न दिने भन्नुभएको छ । यस्तै डेबिड होल्म्बर्गले तामाङ मानवशास्त्रमा पीएचडी गर्नुभएको छ । उहाँले पनि आफूसँग भएका सबै अनुसन्धनात्मक लेख दिन्छु भन्नुभएको छ । 

होल्म्बर्गले तामाङका बारेमा विद्यावारिधि गर्दा सङ्कलन गरेको ९ बोरा पुस्तक रहेछन्, नेपालबाट सङ्कलन गरेर लगेका । अब उहाँलाई कहाँ राख्ने भन्ने चिन्ता रहेछ । उहाँले न्यूयोर्कमा तामाङहरूको नर्थ अमेरिका तामाङ सोसाइटी भन्ने एउटा संस्थाको सम्मेलनमा ती सबै पुस्तक दिन्छु भनेर घोषणा गर्नुभएको छ । 

पुस्तक त दिने तर त्यसको सुरक्षा कसरी हुन सक्छ भन्ने चिन्ता उहाँले व्यक्त गर्नुभएको छ । किनभने आजभन्दा ७०, ८० वर्ष पहिले न्यूजप्रिन्टमा छापिएका पुस्तक निश्चित तापक्रममा राखिएन भने सबै धुजा धुजा हुन्छ । पाठकले प्रथम पुस्तक नै हेर्न चाहन्छ नि । हामीलाई थाहै छ, १९५० को नेपाल–भारत सन्धिको ओरिजनल प्रति नै उपलब्ध छैन, फोटोकपी मात्र छ । कस्तो कागजमा छापेको थियो, साइन कस्तो थियो भनेर हेर्न डकुमेन्ट  छैन । त्यसैले हामीले ती सामग्रीलाई कसरी सुरक्षित राख्न सक्छौँ भनेर आवश्यक तयारी पनि गर्दैछौँ । 

म केही देशमा पुगेँ । तामाङबारे अध्ययन, अनुसन्धान गर्नेहरू त्यहाँका विद्वान्हरूले आफूसँग भएका सामग्री दिन तयार हुनुभएको छ । किनभने बुढेसकाल लागेपछि मेरो सामग्री कसरी सुरक्षित होला भन्ने चिन्ता उहाँहरू सबैलाई लागेको छ । उहाँहरूलाई मात्र होइन, मलाई पनि त्यो चिन्ता छ । मसँग करिब १० हजार पुस्तक छन् । मलाई चाहिने तामाङ विषयका सबै पुस्तक छन् । तर अब मलाई चिन्ता के भने मेरा छोराछोरीले त्यो सबै किताब पढ्छन्, सुरक्षित गरेर राख्छन् भन्ने छैन । 

त्यस्तै घटना नेपाली साहित्यमा पनि भएको रहेछ– एक जना विद्वान्को निजी पुस्तकालय उनको देहान्तपछि छोरीले पाँच लाख रुपियाँमा बेचेको घटना । उहाँले सबै नेपाली पत्रिका सुरुदेखि नै जम्मा गर्नुभएको रहेछ । ती पुस्तक र पत्रपत्रिका मार्टिन चौतारीले किनेको रहेछ । त्यस्तै घटना दोहोरिन सक्छ । त्यसैले यो तामाङ राष्ट्रिय पुस्तकालयले सम्पूर्ण सामग्री सुरक्षित राख्न सक्छ भनेर नै आफ्ना सामग्री दिइराख्नुभएको छ । हामी सुरक्षित राख्छौँ भन्ने विश्वास दिलाउँछौँ । 

–पुस्तकालय त स्थापना गर्नुभयो तर यहाँ पाठक चाहिँ कति आउलान् ? 

पुस्तकालयमा सङ्कलन मात्र हुन्छ । आफैँ यसले बोल्दैन, अध्ययन गर्दैन तर त्यसलाई बोलाउनका लागि अनुसन्धानमा आधारित हुन सक्यौँ भने मान्छेहरू आउने, अध्ययन गर्ने लगायतका क्रियाकलापमा वृद्धि हुन्छ । यो पुस्तकालय तामाङभाषी मात्र होइन, जोसुकैले पनि प्रयोग गर्न सक्छन् ।

कसैलाई तामाङ मिडियाबारे अनुसन्धान गर्न मन लाग्यो भने यो पुस्तकालयको उपयोग गर्न सक्छ । तामाङ जातिको अध्ययन गर्न चाहने जोसुकैका लागि यो खुला र उपयोगी हुनेछ ।  

–यसमा तामाङ भाषाका पुस्तक मात्र सङ्कलन गर्नुहुँदैछ कि अरू भाषाभाषिकाका पनि ?

यो पुस्तकालयको नाम नै तामाङ राष्ट्रिय पुस्तकालय भएकाले त्यसमै बढी केन्द्रीत हुन्छ नै । तामाङ भाषामा लेखेका सामग्री जे लेखिए पनि जम्मा गर्छौं, त्यसलाईं संरक्षण गर्छौं । तामाङका बारेमा जसले जे जे लेखे, त्यो राख्छौँ । तामाङले के के लेखे भन्ने बारेमा पनि चाहिने हुँदा त्यो पनि सङ्कलन गर्दैछौँ ।  चौथो चाहिँ अनुसन्धानलाई उपयुक्त हुने राखिन्छ । उदाहरणका लागि तामाङ बालबालिका पनि छन्, बालबालिकाका बारेमा तामाङले मात्र अध्ययन गरेकाले पुग्दैन । चाइल्ड साइक्लोलोजीसम्बन्धी हरेक सामग्री सङ्कलन गर्न सक्यौँ भने तामाङ चाइल्ड साइक्लोजीका बारेमा अध्ययन गर्न सहज हुन्छ । त्यसैले, हामी सबै खालका सामग्री सङ्कलन गर्दैछौँ । 

–यसमा सरकारले पनि केही सहयोग गरेको छ कि ?

यो पुस्तकालय त समुदायको प्रयास हो । किनकि तामाङ समुदाय मिलेर सुरु गरेकाले तामाङ नाम पनि आयो । यसका प्रायः सबै काम आफैँ गर्नुपर्छ । हाम्रो अवधारणा के छ भने देश अब सङ्घीयता आइसकेको छ । स्थानीयले आफैँ गर्नुपर्छ भनेर सरकारको मुख ताकेका छैनौँ । सरकार यसमा पसेपछि राजनीतिकरण हुन सक्छ । त्यसैले हामी सामाजिक अभियन्ताहरूले आफैँ प्रयास गर्नुपर्छ । तर भोलि गएर सरकारी सहयोग आउँछ भने नलिने कुरा भएन । अहिले पनि आएका छन् । जस्तै बौद्ध क्षेत्रका तामाङ सांसद् पुस्तकालयमै आएर शिक्षा कोषबाट १० लाख रुपियाँ उपलब्ध गराउँछु भन्नु भएको छ । 

–अहिलेसम्म कति लगानी भयो, कि सबै दान, उपहारबाटै सङ्कलन गर्दै हुनुहुन्छ ?

त्यस्तो लगानी नै छैन नि । तामाङ राष्ट्रिय पुस्तकालयकै सदस्य र यसबारे चासो राख्ने साथीहरूले नै कसैले टेबल, कसैले कुर्सी, कसैले र्याक बनाइदिनु भएको छ । लन्डनमा बस्नु हुने एक जना महिलाले तामाङकै संस्कृति झल्किने आर्ट पठाइ दिनुभएको छ । अनि १६ जना तामाङ प्रतिभाको तस्बिर ग्याल्पो योन्जोन तामाङले उपलब्ध गराएका हुन् । 

यस पुस्तकालयमा दानका लागि हामीले एउटा नियम बनाएका छौँ । व्यक्तिगत रूपमा १० हजार रुपियाँ दिने र संस्थागत रूपमा एक लाख रुपियाँ दिनेको नाम दाताका रूपमा लेखेर भित्तामा राख्ने भनेको छौँ । अहिले दिने मानिस धेरै छन् । प्रकाशकहरूले पनि पुस्तक दिएका छन् । फिनिक्स प्रकाशनले लगभग ६५ हजारको पुस्तक दिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान, नाट्यकला तथा सांस्कृतिक प्रतिष्ठनले पनि सामग्री उपलब्ध गराउने भनेका छन् । कतिपयले चाहिँ अनलाइन सामग्री उपलब्ध गराउने भनेका छन् । अब एक वर्षभित्रमा अनलाइन सुविधा पनि दिने योजनामा छौँ । त्यो हुँदा  सबैको हात हातमा पुस्तकालय पुग्छ, त्यो लक्ष्य लिएका छौँ । 

–तपाईं भाषाविद् पनि, भाषा विकासका लागि पनि यस पुस्तकालयमार्फत् केही गर्दै हुनुहुन्छ कि ?

त्यस्तो केही छैन । हाम्रो काम चाहिँ अध्ययनका सामग्री जम्मा मात्र गर्ने हो । विभिन्न पुस्तकहरू खोज्ने हो, अभिलेख पनि पाएसम्म जम्मा गर्दैछौँ । यहाँ पाँचौँ र छैठौँ तलामा रिडिङ रुमको व्यवस्था गर्दैछौँ । 

–नेपालका धेरै भाषा संस्कृति लोप हुँदैछन्, ती भाषिक समुदायलाई भाषा  जगेर्नाका के भन्न चाहनु हुन्छ ?

लिम्बूलगायत अन्य जातिका जातीय संस्थाका सभाहलभित्र आफ्नै जातजातिका केही सामग्री सङ्कलन गरेको मैले देखेको छु । तर छुट्टै पुस्तकालयको कल्पना भएको रहेनछ । हामीले त्यो काम मौकावश गरेका छौँ । अरु जातिलाई पनि जातीय पुस्तकालय स्थापनाको लागि सुझाव दिन चाहन्छु । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।