बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

कमल थापाको गृहनगरमा काँग्रेस ढुक्क, एमालेलाई चिन्ता

मङ्गलबार, १० फागुन २०७८, १५ : ०२
मङ्गलबार, १० फागुन २०७८

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनबाट हेटौँडा उपमहानगरपालिकाको नेतृत्व नेकपा एमालेको हातमा पुगेको थियो । उपमहानगरको प्रमुख र उपप्रमुख दुवैमा जित निकालेको थियो । उपमहानगरपालिका प्रमुखमा हरिबहादुर महत र उपप्रमुखमा मीना लामा विजयी भएकी थिइन् ।

सो निर्वाचनमा एमालेविरुद्ध काँग्रेस र माओवादी केन्द्र गठबन्धनमा आबद्ध भएका थिए । काँग्रेस माओवादी केन्द्रको गठबन्धनका बाबजुद पनि एमालेका उम्मेदवारले निर्वाचनमा जित हात पारेका थियो ।

२०७४ मा चुनावी तालमेल गरेका काँग्रेस र माओवादी केन्द्रविरुद्ध एमाले बलियो साबित भयो । उपमहानगरपालिका प्रमुखमा एमालेका हरिबहादुर महतले २३ हजार १२४ मत ल्याउँदै जित हात पारेका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५०९ मत पाए ।

हेटौँडा उपमहानगरपालिका प्रमुखमा काँग्रेस र एमालेसहित १५ जनाले उम्मेदवारी दर्ता गराएका थिए । तीमध्ये केहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए तर, उनीहरूले एक सय मत पनि कटाउन सकेनन् ।

हेटौँडा राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृहनगर पनि हो । स्थानीय तहको निर्वाचनमा थापा राप्रपाका अध्यक्ष थिए । तर निर्वाचनमा भने राप्रपाले सोचे अनुरुप नतिजा हात पार्न सकेन । राप्रपाले उपमहानगरपालिकाको नेतृत्वको लागि मधुकर प्रसाद अधिकारीलाई उम्मेदवार बनाएको थियो । अधिकारीले ६ हजार ८५७ मत प्राप्त गरे । थापाको गृह नगरमा पनि राप्रपा तेस्रो स्थानमा सीमित भयो ।

त्यस्तै, हेटौँडा उपमहानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरमका शुभरत्न गोलेले १ हजार १०६ मत, राष्ट्रिय जनमुक्ति पार्टीका सोमबहादुर थिङले ४१४ मत, मालेका भिमसेन महतले ३२५ मत पाए भने जनमोर्चाका अरविन्द लुईटेलले ३४ मत, मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक)की उषा कुमारी पौडेलले २९ मत ल्याए ।

त्यस्तै स्वतन्त्र उम्मेदवार कृष्णदेव भण्डारीले ५३ मत ल्याए भने संतार अन्सारी, दिपेन्द्र श्रेष्ठ, अजित विडारी, राकेश कुमार शर्मा, देव नारायण लामिछाने लगायतले २० मत कटाउन सकेन्न् ।

त्यस्तै हेटौँडा उपमहानगरपालिकाको उपप्रमुखमा एमालेकी मिनाकुमार लामाले चुनाव जितेकी थिइन् । लामाले माओवादी केन्द्रका बलराम बललाई हराउँदै उपप्रमुख पदमा जित हात पारेकी थिइन् । लामाले २३ हजार ४३७ मत ल्याउँदा बलले १७ हजार ११ मत हासिल गरेका थिए ।

यता राप्रपाकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत पाएर तेस्रो बनिन् ।  नयाँ शक्ति पार्टीका उम्मेदवारले १ हजार १५३ मत ल्याउँदा अन्य उम्मेदवारले भने ५ सय मत कटाउनसमेत सकेनन् ।

हेटौँडा उपमहानगरपालिकाको उपप्रमुख पदका लागि ११ जनाले उम्मेदवारी दिएका थिए । उपप्रमुख पदका लागि जनमुक्ति पार्टीकी दिपा घलान, नेकपा मालेकी रमा कुमारी खड्का, जनजागरण पार्टीकी निम टोल्मा लगायतले उम्मेदवारी दिएका थिए । उनीहरूले निर्वाचनमा ३ सय मतसमेत ल्याउन सकेनन् । त्यस्तै उपप्रमुख पदका लागि ४ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका थिए । स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्नेमा मधुसुदन रेग्मी, सृजना के.सी., साधना राना मगर र देव आनन्द रेग्मी रहेका थिए । उनीहरूले निर्वाचनमा ५० मत पनि कटाउन सकेनन् ।

यस्तो छ वडा अध्यक्षको निर्वाचन नतिजा

हेटौँडा उपमहानगरपालिकाको १९ वटा वडामध्ये २०७४ को निर्वाचनमा एमालेले १२ वटा वडामा जित हात पारेको थियो । त्यस्तै काँग्रेसले ५ वटा वडामा र माओवादी केन्द्रले २ वटा वडामा जितेको थियो ।

एमालेले हेटौँडाको वडा नम्बर २, ३, ४, ७, ८, ९, १०, ११, १३, १७, १८, १९ मा जितेको थियो भने काँग्रेसले वडा नम्बर १, ५, ६, १५ र १६ मा जितेको थियो । माओवादी केन्द्रले वडा नम्बर १२ र १४ मा जितेको थियो । त्यसो त हाल १४ नम्बरका वडा अध्यक्ष माओवादी केन्द्र त्यागेर नेकपा एमालेमा आबद्ध भएका छन् ।

हेटौँडा उपमहानगरपालिकाका वडा अध्यक्षको निर्वाचनमा एमाले पहिलो स्थानमा छ भने काँग्रेस दोस्रो, माओवादी तेस्रो स्थानमा छ । तर, अधिकांश वडाको नतिजा हेर्दा २ वटा वडा जिते पनि माओवादी केन्द्र भन्दा राप्रपाका उम्मेदवार अघि छन् ।

वडा अध्यक्षको निर्वाचन नतिजाः

वडा नम्बर १ – सविन न्यौपाने (काँग्रेस) – ११४५

–     उत्तम प्रसाद शर्मा (एमाले) – १०३६

वडा नम्बर २ – हरि बहादुर राउत (एमाले) – १०९७

–     दिनेश उपाध्याय (काँग्रेस) – १०२१

वडा नम्बर ३ – राम कुमार पुडासैनी (एमाले) – ८२४

–     ढलक बहादुर थापा (काँग्रेस) –७३९

वडा नम्बर ४ – नवीन सिग्देल (एमाले) – १९८७

–     हरि प्रसाद पौडेल (काँग्रेस) – ११९९

वडा नम्बर ५ – राजेश बानियाँ (काँग्रेस) – १८४८

–     ईश्वर ढुङ्गाना (एमाले) – १७४४

वडा नम्बर ६ – अर्जुन प्रसाद चौलागाई – ९७५

–     गणेश बहादुर दुलाल (एमाले) – ८६९

वडा नम्बर ७ – राजन थापा (एमाले) – ८८८

–     दामोदर गौतम (काँग्रेस) – ६२५

वडा नम्बर ८ – गोपाल बहादुर श्रेष्ठ (एमाले) – १५९७

–     हरि प्रसाद वाग्ले (काँग्रेस) – ७९०

वडा नम्बर ९ – लक्ष्मण प्रसाद भण्डारी (एमाले) – १६७०

–     विश्वराज नेपाल (काँग्रेस) – ७९१

वडा नम्बर १० – किताप सिं लामा (एमाले) – ८५६

–     कालु घलान (काँग्रेस) – ४८०  

वडा नम्बर ११ – गोकर्ण पराजुली (एमाले) – १४९३

–     अर्जुन शर्मा कंडेल (काँग्रेस) – १२२५

वडा नम्बर १२ – ललित घलान (माओवादी केन्द्र) – ११०३

–     अर्जुन तिवारी (काँग्रेस) – ९९३

वडा नम्बर १३ – मनोज कुमार वाइवा (एमाले) – ८५५

–     कृष्ण बहादुर थिङ (काँग्रेस) – ८४७

वडा नम्बर १४ – दिपक खड्का (माओवादी केन्द्र) – १२०३

–     सानु थिङ लामा (एमाले) – ६४१

वडा नम्बर १५ – महारत्न लामा (काँग्रेस) – १३४३

–     सुनिल मोक्तान (एमाले) – १२८८

वडा नम्बर १६ – रामकृष्ण कोइराला (काँग्रेस) – ८४७

–     गोविन्द दहाल (एमाले) – ८१९

वडा नम्बर १७ – भैरव बहादुर राई (एमाले) – ११८१

–     दामोदर सुवेदी (काँग्रेस) – ९१६

वडा नम्बर १८ – अनिल कुमार बानियाँ (एमाले) – १०५९

–     दिल बहादुर सुवेदी (काँग्रेस) – १०३६

वडा नम्बर १९ – नरनाथ सुवेदी (एमाले) – ८३६

–     राजकुमार भेटवाल (नयाँ शक्ति नेपाल) – ७६०

एमालेलाई जोखिम

आगामी वैशाख ३० गते दशैभर एकै चरणमा स्थानीय तहको निर्वाचन हुँदै छ । निर्वाचनको मिति तोकिए लगत्तै हेटौँडा उपमहानगरपालिकामा पनि चुनावी चहलपहल बढेको छ । दलहरु आन्तरिक छलफलमा जुटेका छन् भने कार्यकर्ताहरुलाई चुनावको तयरीमा जुट्न जिल्ला तहका नेताहरुले निर्देशन पनि दिइसकेका छन् ।

निर्वाचनको मिति तोकिए लगत्तै सबैको चासो हेटौँडा नगरमा केन्द्रित देखिन्छ । बागमती प्रदेशको राजधानी एवं प्रदेशकै एकमात्र उपमहानगरपालिका भएकाले पनि हेटौँडा उपमहानगरपालिका सबैको चासोको केन्द्र बनेको हो ।

आगामी निर्वाचनमा हेटौँडा उपमहानगरपालिकामा आफ्नो वर्चश्व जोगाउन एमालेलाई सकस पर्ने देखिएको छ । एमाले विभाजनको असर हेटौंडामा पनि राम्रै परेको छ । एमाले विभाजनका कारण हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामा नेकपा एकीकृत समाजवादी पार्टीमा आबद्ध भएकी छन् । उनीसँगै कयौं कार्यकर्ता पनि एमाले छोडेर एकीकृत समाजवादीमा सामेल भएका छन् । जसका कारण एमालेलाई आगामी निर्वाचनमा जोखिम देखिन्छ ।

२०७४ को निर्वाचनमा हेटौँडा उपमहानगरपालिका प्रमुख पदका लागि नेपाली काँग्रेसका तत्कालीन उम्मेदवार आनन्दराम पराजुली थोरै मतान्तरले पराजित भएका थिए । एमालेका हरिबहादुर महत विजयी भए पनि उनले सार्वजनिक कार्यक्रममै प्राविधिक कारणले आफू विजयी भए पनि मत भने पराजुलीले धेरै प्राप्त गरेको बताउँदै आएका छन् ।

उक्त समयमा काँग्रेसले प्राप्त गरेका करिव सात हजार मत बदर भएको थियो । धेरै मत बदर हुँदा एमालेका उम्मेदवार महत करिब ६ सय मतान्तरले विजयी भएका थिए । एकातिर धेरै काँग्रेसको धेरै मत बदर हुनु र अर्कोतिर अहिले एमाले पनि विभाजित भइसकेका कारण पनि हेटौँडा उपमहानगरपालिकामा एमालेलाई नेतृत्व जोगाउन चुनौती बढ्ने देखिन्छ ।

कसले मार्ला बाजी

आगामी निर्वाचनमा काँग्रेसका उम्मेदवार पराजुली नै हुने बताइएको छ । जिल्लासँगै हेटौँडा उपमहानगरपालिकामा पनि काँग्रेसको प्रभाव बढेको समीक्षकहरू बताउँछन् । पराजुली नै काँग्रेसको उम्मेदवार भएको खण्डमा एमालेलाई निर्वाचन जित्न समस्या पर्ने उनीहरुको भनाइ छ भने काँग्रेस एक्लैले निर्वाचन जित्नेमा ढुक्क छ ।

पराजुली आफै पनि काँग्रेसको लोकप्रिय उम्मेदवार हुन् । पार्टी संगठन निर्माण तथा जिल्ला नेतृत्वमा उनको प्रभाव रहेको बताइएको छ । आम कार्यकर्ताहरु बीच पनि पराजुली लोकप्रिय मानिन्छन् ।

विभाजनका कारण संकटमा रहेको एमालेले आगामी निर्वाचनमा कसलाई उम्मेदवार बनाउने भन्ने अन्यौल कायमै छ । एमालेबाट पुनः मेयर महत नै उम्मेदवार हुने बताइएको भए पनि पार्टीभित्रै उनको विरोध पनि भएको छ । विगतमा पनि उनको व्यक्तिगत स्वभावका कारण मेयरमा निर्वाचित गराएर गल्ती गरेको भन्दै एमालेका नेताहरु बताउने गर्दथे ।

हेटौँडा उपमहानगरमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको प्रभाव काँग्रेस र एमालेको तुलनामा कम छ । यी दलले निर्वाचनमा सफल हुन लोकप्रिय उम्मेदवार तयार पारेर अन्य दलहरूसँग गठबन्धन गर्नै पर्ने हुन्छ । यद्यपि दुवै दल हेटौँडा उपमहानगरपालिकाको नेतृत्वका लागि कसलाई उम्मेदवार बनाउने भन्नेबारे अहिलेसम्म मौन देखिन्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश दुलाल
गणेश दुलाल
लेखकबाट थप