बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
भारत-पाकिस्तान तनाव

भारतले पाकिस्तानमाथि आक्रमण गर्नुको कारण के हो ?

बुधबार, २४ वैशाख २०८२, ०३ : ३४
बुधबार, २४ वैशाख २०८२

काठमाडौँ । भारतले पाकिस्तानमाथि बुधबार राति गरेको आक्रमण अप्रिल २२ मा भारत प्रशासित कश्मीरको पहलगाममा भएको आतंकवादी हमलाको बदलास्वरूप भएको बताइएको छ। उक्त आक्रमणमा कम्तीमा २६ जनाको ज्यान गएको थियो, जसमा अधिकांश पर्यटक रहेका थिए।

आतंककारीहरूले पहलगामबाट करिब पाँच किलोमिटर टाढा रहेको बैसरन नामक हरियाली पहाडी क्षेत्रमा घुम्न गएका मानिसहरूलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार गरेका थिए। आक्रमणबाट बाँचेका केही प्रत्यक्षदर्शीहरूका अनुसार बन्दुकधारीहरूले विशेष गरी हिन्दू पुरुषहरूलाई लक्षित गरेका थिए।

भारतीय सुरक्षास्रोतका अनुसार आक्रमणमा संलग्न भएको आशंका गरिएका चार आतंककारीमध्ये दुई जना पाकिस्तानी नागरिक भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। यद्यपि पाकिस्तानले आक्रमणमा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ। घटनापछिको सुरक्षाकर्मीहरूको खोजी अभियान अझै जारी छ।

भारत र पाकिस्तानबीच यस घटनापछि सम्बन्ध थप चिसिएको छ। दुबै पक्षले एकअर्काविरुद्ध कडा कदम चाल्ने चेतावनी दिँदै सीमा बन्द गर्ने, नदी पानी बाँडफाँडसम्बन्धी सन्धिहरू निलम्बन गर्ने जस्ता विकल्पहरू सार्वजनिक गरेका छन्। यस्तै, दुबै देशका सेनाबीच साना हतियारबाट सीमावर्ती क्षेत्रमा गोलीबारी भएको रिपोर्टहरू पनि आएका छन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसअघि नै देशमा भएको यस्ता आक्रमणको दोषीलाई "पृथ्वीको जुनसुकै कुनामा पुगे पनि" कारवाही गर्ने घोषणा गरेका थिए।
यसअनुसार बुधबार राति भारतीय सेनाले 'अपरेशन सिन्दूर' अन्तर्गत पाकिस्तान र पाकिस्तान अधिनस्थ जम्मू कश्मीरमा रहेका 'आतंकवादी' शिविरहरूमा एयर स्ट्राइक गरेको हो ।

भारतीय सेनाले कुल ९ स्थानहरूलाई लक्षित गरिएको भारतीय सञ्चारमाध्यम दैनिक भास्करले उल्लेख गरेको छ। यद्यपि, पाकिस्तानी सैन्य प्रतिष्ठानहरूलाई भने लक्षित नगरिएको भारतीय सेनालाई उदृत गर्दै समाचारमा उल्लेख छ । 


यसैबीच पाकिस्तानी सञ्‍चार सेवाका महानिर्देशक लेफ्टिनेन्ट जनरल अहमद शरीफ चौधरीले भारतले कोटली, बहावलपुर र मुजफ्फराबादमा भारतले मिसाइल आक्रमण गरेको बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप