बजेट अभावले अर्घाखाँचीको विमानस्थल निर्माण अधुरो
बुटवल । अर्घाखाँचीको सदरमुकाम नजिक निर्माणाधीन अर्घा भगवती विमानस्थल बजेट अभावका कारणले अलपत्र परेको छ ।
सन्धिखर्क नगरपालिका– १०, शिखरबार्नीमा २०७३ असार १३ गते शिलान्यास गरिएको विमानस्थल निर्माणका लागि बजेट नपरेका कारण अलपत्र भएको हो ।
निर्माणाधीन विमानस्थल क्षेत्र अहिले क्रिकेट खेल्ने र ‘मर्निङ वाक’ गर्ने स्थलका रूपमा परिणत भएको स्थानीय बताउँछन् । विमानस्थल निर्माणका लागि अहिलेसम्म भएको लगानी ‘बालुवामा पानी’ जस्तै हुने देखिएको वडा अध्यक्ष मोहन सिंह ठकुरीले रातोपाटीलाई बताए ।
उनले विमानस्थल आवश्यक भए पनि माथिल्लो निकायबाट पहल नहुँदा निर्माण कार्य अगाडि बढ्न नसकेको गुनासो गरे ।
हाल आठ सय मिटर लम्बाइको धावनमार्ग, विमानस्थलका लागि आवश्यक पर्ने जग्गा कटिङको काम सम्पन्न भएको छ । अब भवन निर्माण, पार्किङ, नाली, पिच(कालोपत्रे) को काम भने बाँकी छ । विमानस्थल निर्माणमा हालसम्म करिब २१ करोड रुपैयाँ खर्च भएको छ ।
पहिलो टेन्डरमा पाँच करोड ५० लाख, दोस्रो टेन्डरमा चार करोड, तेस्रोमा ६ करोड ५० लाख र चौथो टेन्डरमा चार करोड ८० लाख रुपैयाँमा काम सम्पन्न भएको छ । निर्माण व्यवसायी कविराम खनालले चालु आर्थिक वर्ष यो विमानस्थल निर्माणका लागि बजेट नपरेका कारण सरकारले नयाँ ठेक्का नलगाएको बताए ।

सानो खालको विमान उडान र अवतरण गर्न मिल्ने गरी अर्घा भगवती विमानस्थल निर्माण गर्न लागिएको हो । प्राविधिकहरूका अनुसार यहाँ गुुल्मीको रेसुङ्गा विमानस्थल जस्तै टुइनेटर विमानमात्र चल्ने हो । त्यसैले पनि थप लगानी गर्ने कि यसलाई विस्तार गर्ने भन्नेमा नेपाल नागरिक उड्डयन प्राधिकरण अन्योलमा रहेको बताइन्छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले एकातिर बजेट अभाव र अर्कोतिर सानो विमान सञ्चालन गर्दा व्यावसायिक हिसाबले कति सफल हुन्छ भन्नेजस्ता कारणले दुविधा भइरहेको खुलाए ।
राष्ट्रिय वनको जग्गामा निर्माण भइरहेको विमानस्थल सम्पन्न गर्न थप ३५ करोड रुपैयाँ लाग्ने प्राविधिकहरूको अनुमान छ ।
२०७३ सालमा तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीले शिलान्यास गरे पनि २०७६ सालदेखि विमानस्थल निर्माणको काम सुरु भएको थियो । वातावरणीय प्रभाव मूल्याङ्कन तथा विमानस्थलको प्रभावकारिताका विषयलाई लिएर मुद्दा परेका कारण केही अन्योल भए पनि उक्त मुद्दा छिनोफानो भइसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

अर्घाखाँची सदरमुकाम सन्धिखर्कलाई कालोपत्रे सडकले जोडेको छ । अर्घाखाँचीका सबै ठाउँका सडक कालोपत्रे हुने अवस्थामा पनि छन् । कुनै आपत्कालीन समयमा हवाई मार्गबाट काठमाडौँ पुग्न परेमा अर्घाखाँचीबासीलाई सन्धिखर्कबाट ४ घण्टा लगाएर रुपन्देहीको भैरहवा विमानस्थलसम्म पुग्नुपर्ने बाध्यता रहेको अर्घाखाँचीको मालारानी गाउँपालिका– १ का शोभाखर बन्जाडेले बताए ।
धार्मिक पर्यटनका हिसाबले पनि अर्घाखाँची आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएकाले विमानस्थल आवश्यक भएको लुम्बिनी पर्यटन परिषदका निर्देशक रामु जोशीले बताए । उनले आर्घखाँचीको सुपा मन्दिर, अर्घालगायत धार्मिक स्थललाई धार्मिक पर्यटकीय हब बनाएर पर्यटक आउन सक्ने भएकाले विमानस्थल आवश्यक रहेको तर्क गरे ।
यो विमानस्थल निर्माण भएका अर्घाखाँची, प्युठान र गुल्मी जिल्लाका स्थानीयलाई लाभ हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण