सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

पल शाहमाथि दुई छुट्टाछुट्टै अदालतबाट कारवाही हुने जिकिर, ५ दिन म्याद थप्ने तयारी

तनहुँको थुनछेक आदेशपछि पुनः नवलपुर पठाइने
शुक्रबार, ०४ चैत २०७८, १३ : ०६
शुक्रबार, ०४ चैत २०७८

बालिका बलात्कार कसुरमा अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका अभिनेता पल शाहमाथि दोस्रोपटक लिइएको १२ दिनको समय शुक्रबार सकिँदै छ । तनहुँ जिल्ला अदालतले दोस्रोपटक फागुन २२ गते १२ दिनको समय दिएर शाहमाथि अनुसन्धानको समय दिएको थियो । तर यही बीचमा नवलपुरमा दर्ता भएको जबरजस्ती करणीको मुद्दामा अनुसन्धानका लागि फागुन २४ गते पल शाहलाई नवलपुर लगिएपछि तनहुँ प्रहरीले अनुसन्धानको बाँकी काम गर्न सकेको छैन । जसकारण पल शाहमाथिको अनुसन्धान अझै नसकिएको जिल्ला प्रहरी कार्यालय तनहुँ स्रोतले बताए छ ।

अनुसन्धानको समय नसकिएको भन्दै जिल्ला प्रहरी कार्यालय तनहुँ सरकारी वकिलमार्फत अनुसन्धानको लाथि थप समय माग्ने तयारीमा रहेको बुझिएको छ । तनहुँ जिल्ला सरकारी वकिल कार्यालय स्रोतका अनुसार हालसम्म अनुसन्धानको लागि १९ दिनको समय लिइसकेको कारण अझै ६ दिन अनुसन्धानका लागि न्यायिक हिरासतमा राख्न पाइन्छ । यद्यपि जिल्ला सरकारी वकिल कार्यालयले भने थप अनुसन्धानका लागि ५ दिनको समय माग गर्न लागिएको बताएको छ । यदि अदालतले ५ दिनको समय दिएको अवस्थामा यो नै अन्तिमपटक म्याद थप हुनेछ । त्यसपछि अदालतमा अभियोग दर्ता भई थुनछेक बहस हुने जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

नवलपुरको अनुसन्धान सकियो, तनहुँको थुनछेकपछि फेरि गैँडाकोट लगिने

जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वका सहायक जिल्ला न्यायाधिवक्ता डाल बहादुर नेपालीका अनुसार थप समय राखेर अनुसन्धान गर्दा तनहुँमा दर्ता भएको पलविरुद्धको मुद्दा प्रभावित हुने भएकाले तत्कालका लागि आवश्यक अनुसन्धान सकेर तनहुँ पठाइएको छ । यद्यपि तनहुँको पनि अनुसन्धान सकिएर थुनछेक बहस भइसकेपछि पललाई अदालतसमक्ष बयानका लागि उपस्थित गराइने छ । सूचना अधिकारीसमेत रहेका सहायक जिल्ला न्यायाधिवक्ता नेपालीले भने, ‘हामीले अभियोग पत्रमै तनहुँको बयान र थुनछेक आदेशपछि उपस्थित गराउने भनी अभियोग पत्र दर्ता गराएका छौँ । अब तनहुँको प्रक्रिया पूरा भएपछि पुनः एकपटक यहाँ ल्याइन्छ र बयान गराइन्छ । त्यसपछि के हुन्छ भन्ने कुराचाहिँ अदालतको आदेश आदिमा भर पर्छ ।’

अभियोग पुष्टि हुने आधार धेरै छन् : सहायक न्यायाधिवक्ता डालबहादुर नेपाली

जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वका सहायक जिल्ला न्यायाधिवक्ता डाल बहादुर नेपालीका अनुसार जिल्ला अदालतमा दर्ता भएको अभियोग पत्रमा प्रतिवादीले अपराध गरेको पुष्टि हुने यथेष्ट प्रमाणहरु पेश गरिएका छन् । नेपालीका अनुसार पीडित बालिका र प्रतिवादी घटना भएको समयमा एउटै होटलमा बसेको पुष्टी भएको छ । नेपालीका अनुसार गैंडाकोटस्थित एक रिसोर्टमा सुटिङका क्रममा सुटिङ युनिटले ६ वटा कोठा बुक गरेको र प्रतिवादी १०१ नम्बर तथा पीडित बालिका १०२ नम्बरको कोठामा बसेको पाइएको छ । सोही समयमा मध्यरातमा प्रतिवादी पीडित बालिकाको कोठामा गई सोही रात दुईपटक जवरजस्ती करणी गरेको पीडितको बयानलाई आधार मान्दै अभियोग पत्र दायर गरिएको छ । 

नवलपरासी बर्दघाट सुस्ता पूर्वमा २०७७ चैत ७ गते वारदात भएको कारण हदम्यादका दृष्टिकोणले चैत ७ गतेभित्र नै मुद्दा दर्ता गरिसक्नुपर्ने भएकाले हतारहतार मुद्दा दर्ता गरिएको छ । यद्यपि मुद्दामा आवश्यक तथ्य र प्रमाण पुगेको, पीडितका साक्षी, रिसोर्टकी सञ्चालिका, सञ्चालिकाकी छोरी वेटर लगायतले दिएको बयानमा पनि पीडित बालिका र प्रतिवादी सँगै बसेको पुष्टी भएको बताइएको छ । त्यसबाहेक बालिकाको स्वास्थ्य परीक्षणबाट पनि करणी पुष्टी हुने आधार भेटिएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ ।

अभियुक्तले अडियो आफ्नै भएको स्वीकार गरे

जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वका अनुसार अभियुक्तले बाहिर आएको अडियो आफ्नै भएको बयान दिएका छन् । सरकारी वकिलले अडियोलाई पनि प्रमाणका रुपमा पेस गरेको छ । यद्यपि अभियुक्तले भने आफू रातको समयमा बालिकाको कोठामा गएको भएपनि करणी नगरेको बयान दिएका छन् ।

चैत १ गते नै आरोपी पल शाहलाई गैंडाकोटबाट तनहुँ लगिएको भएपनि उनीमाथिको अनुसन्धान अझै सकिएको छैन । त्यसकारण उनीमाथि अझै ५ दिन म्याद थप गरी अनुसन्धान गर्न म्याद लिने तयारी भएको छ ।

दुवै जिल्ला अदालतको क्षेत्राधिकार हुने, सजाय ठहर भएमा बढी सजाय मान्य हुने

यतिबेला अभिनेता पल शाहविरुद्ध नवलपरासी बर्दघाट सुस्ता पूर्व जिल्ला अदालतमा जवरजस्ती करणीको मुद्दा दर्ता भइसकेको छ भने तनहुँमा मुद्दा दर्ताको प्रक्रियामा रहेको छ । मुलुकी फौजदारी कार्यवधि संहितामा कुनै कसुरसम्बन्धी मुद्दा एकभन्दा बढी अदालतको क्षेत्राधिकार भित्र पर्ने भई एकभन्दा बढी अदालतमा मुद्दा दायर भएको अवस्थामा पहिलो मुद्दा दर्ता भएको अदालतले हेर्ने कुरा उल्लेख छ । संहिताको दफा ४८ मा यसबारे उल्लेख गरिएको छ । यदि एकै दिन दुईवटै अदालतमा मुद्दा दायर भएको हो भने एकै पुनरावेदन सुन्ने अदालतको क्षेत्राधिकार भए पुनरावेदन सुन्ने उच्च अदालतले तोकेको अदालत र फरकफरक उच्च अदालत मातहत पर्ने भएमा सर्वोच्च अदालतले तोकेको अदालतले सुनुवाई गर्ने कुरा उल्लेख छ ।

तर सोही संहिताको दफा ४८ को उपदफा ३ मा भिन्नभिन्न प्रकारका अदालत वा न्यायिक निकायको अधिकाक्षेत्र अन्तर्गत पर्ने मुद्दा रहेछ भने कानून बमोजिम अधिकार प्राप्त तत् तत् अदालत वा निकायबाट कारवाही र किनारा गर्ने कुरा उल्लेख छ । यही दफालाई टेकेर जिल्ला सरकारी वकिल कार्यालय, नवलपरासी बर्दघाट सुस्ता पूर्वले उक्त मुद्दाको सुनुवाई आफ्नै जिल्लामा हुनुपर्ने जिकिर गरेको छ ।

यस मुद्दाको क्षेत्राधिकार दुईवटै अदालतलाई दिएको अवस्थामा पनि यदि प्रतिवादीमाथि लागेको अभियोग पुष्टी भएको अवस्थामा भने जुन अदालतले बढी सजाय निर्धारण गरेको छ, सोही अदालतको सजाय निर्धारणलाई आधार लिइने छ । यदि अभियोग पुष्टी भएर एक अदालतले १२ वर्षको कैद र अर्को अदालतले १० वर्षको कैद सजाय निर्धारण गरेको रहेछ भने १२ वर्षको कैद सजायलाई गणना गरिने छ । यद्यपि १० वर्ष पुगेपछि १० वर्षको सजाय सुनाउने अदालतले थुनामुक्त गर्न आदेश दिनेछ । तर अर्को अदालतबाट भएको फैसला अनुसार सजाय काट्न बाँकी भएमा बाँकी सजाय भने कटाउनुपर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप