आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेपछि के–के गरे मन्त्री श्रेष्ठले ?

सोमबार, १४ चैत २०७८, १५ : २०
सोमबार, १४ चैत २०७८

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि वैदेशिक रोजागरी क्षेत्रका धेरै समस्या समाधान गरिसकेको दाबी गरेका छन् । उनले आज मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै जिम्मेवारी सम्हालेपछि वैदेशिक रोजागरी यात्रालाई सहज र सरल बनाएको बताएका हुन् ।

उनले शेरबहादुर देउवा नेतृत्वको सरकार बनेपछि यही वर्ष २०७८ असोज २२ गते मन्त्री पद सम्हालेका थिए । त्यसयता उनले मन्त्रालयमा १७२ दिन बिताएका छन् । मन्त्री श्रेष्ठले भर्खरै संयुक्त अरब इमिरेट्स (यूएई), कतार र सिसेल्सको भ्रमण सकेर समेत सम्पन्न गरेका छन् ।

‘मैले पद समालेपछि श्रम स्वीकृतिलाई फेसलेस, पेपरलेस र क्यासलेस प्रकृयाबाट अघि बढाइएको छ,’ उनले भने, ‘अहिलेको सूचना प्रविधिको युगलाई अधिकतम प्रयोग गरेर अनलाइन प्रणालीबाट मात्रै पुनः श्रम स्वीकृती दिन थालिएपछि श्रम स्वीकृती व्यवस्थित बनेको छ ।’ यसअघि श्रम स्वीकृती लिन दिनभर लाइन बस्दा समेत कठिन हुन्थ्यो ।

लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएसँगै घरमै बसेर दैनिक १ हजार जनाले पुनः श्रम स्वीकृति लिन थालेको मन्त्री श्रेष्ठको भनाइ छ । अनलाइनबाट श्रम स्वीकृति दिन थालेसँगै वैदेशिक रोजगारीमा जाने श्रमिक तथा कामदारलाई विना झन्झट सहज र सरल तरिकाबाट सेवा प्रदान हुन थालेको छ  ।

यस्तै, मन्त्री श्रेष्ठले गुनासो सम्बोधन गर्ने व्यवस्था मिलाएको र वैदेशिक रोजगारी सम्बन्धी समस्या हेर्नेगरी छुट्टै प्रहरी इकाई गठन गर्ने तयारी भइरहेको बताए । हाललाई प्रहरी नायव उपरीक्षकको नेतृत्वमा वैदेशिक रोजगार विभागमा प्रहरी युनिट स्थापना गरिएको छ ।

‘मन्त्रालयको नेतृत्व लिइसकेपछि बेलायत, माल्दिभ्स, सिसेल्स र इजरायल निर्माणमा सर्भिङका लागि नयाँ सम्झौताको वार्ता अघि बढेको छ,’ उनले भने, ‘अहिले १७८ मुलुकमा नेपालीहरू व्यक्तीगत श्रम स्वीकृती लिएर जान पाउँछन् भने ११० मुलुकमा संस्थागतरूपमा श्रम स्वीकृत लिएर जान पाइने व्यवस्था छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप