बिहीबार, २० मङ्सिर २०८१
ताजा लोकप्रिय
कलाकार

चुनौतीका बिच पूर्वराजा शाहको क्यारिकेचर गरेका थिए प्रेमले

शनिबार, ०५ जेठ २०८१, १२ : २३
शनिबार, ०५ जेठ २०८१

 काठमाडौँ । मिडिया होस् या सामाजिक सञ्जाल, यतिबेला चर्चा प्रेम विश्वकर्माकै छ । कमेडी रियलिटी शो ‘कमेडी च्याम्पियन–३’ मा पूर्वराजा ज्ञानेन्द्र शाहको भूमिका निर्वाह गरेको उनको प्रस्तुति सामाजिक सञ्जालमा भाइरल छ ।

यो प्रस्तुति हेर्ने धेरैले उनलाई ठ्याक्कै पूर्वराजा ज्ञानेन्द्र शाह भनेका छन् भने कतिपयले पूर्वराजाको प्रस्तुति किन भन्दै प्रश्नसमेत गरेका छन् ।

यस अघि कमेडियन भरतमणि पौडेलले पूर्वयुवराज पारस शाहको क्यारिकेचर गर्दा पारसबाटै प्रतिक्रिया पाएका थिए । तर विश्वकर्माले पूर्वराजाको प्रस्तुतिमा भने अहिलेसम्म पूर्वराजपरिवार वा उनका आफन्त कसैबाट पनि केही प्रतिक्रिया पाएका छैनन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहकै क्यारिकेचर किन त भन्ने प्रश्नमा विश्वकर्माले कसैलाई सपोर्ट गर्ने वा कसैप्रति व्यङ्ग्य गर्नेभन्दा पनि दर्शकमा आफ्नो राम्रो छाप छोड्न पृथक विषयवस्तु छान्ने क्रममा पूर्वराजाको भूमिकालाई नक्कल गरिएको प्रस्ट पारे ।

‘सुपर–३० को प्रस्तुतिमा मैले नेताहरू प्रचण्ड, शेरबहादुर देउवादेखि पूर्वराजा शाहको समेत स–सानो क्यारेक्टर गरेको थिएँ’, विश्वकर्माले प्रस्तुतिको रहस्य खोले, ‘त्यो समय सबैभन्दा बढी पूर्वराजा शाहको चरित्र रुचाइयो ।’

सानो क्यारेक्टर रुचाइएपछि म गर्न सक्छु भनेर पूरै क्यारेक्टर गरेको उनले खुलाए । उनले भने, ‘अहिले विभिन्न क्रियाकलापबाट पूर्वराजा शाहको चर्चा र चहलपहल भइरहेको छ । यो समय त्यो क्यारेक्टर सान्दर्भिक पनि देखेँ ।’

पूर्वराजाको क्यारेक्टर गर्दै गर्दा उनको मनमा उक्त भूमिकालाई जीवन्त बनाउन सक्छु कि सक्दिनँ भन्ने चुनौती थियो । ‘गाली खाइने पो हो कि भन्ने त्रास पनि रहेको उनले सुनाए । गाली त उनले सानो भूमिका निर्वाह गर्दा पनि खाएका थिए । उनले भने, ‘पूरै प्रस्तुति कस्तो हुने भन्नेमा डर थियो । तर प्रस्तुति सबैले रुचाए ।’

  • कन्टेन्टमा मेहनत

पूर्वराजाको क्यारेक्टर हल्काफुल्का गर्न नहुने उनको बुझाइ थियो । त्यसैले उनले कन्टेन्टका लागि धेरै मेहनत गरे । जसका लागि उनले केही इतिहास पढे, पूर्वराजा शाह सम्बन्धी थुप्रै भिडियो हेरे । पूर्वराजा ज्ञानेन्द्र शाह २००७ सालमा पहिलो पटक राजा भएकोदेखि २०६३ को जनआन्दोलनपछि उनी फालिएकोसम्म रिसर्च गरे । त्यसपछिका क्रियाकलाप पनि नियाले ।

1

‘अहिले कतिपयले राजा चाहियो भनेका छन् । राजालाई लागेको कुरो के छ भन्नेबारे कन्टेन्ट राम्रो हुने देखेर त्यही कोणबाट कमेडी बनाएँ’, विश्वकर्माले भने, ‘पूर्वराजाको हुलिया र संवादबाट शोका निर्णायकदेखि नेतासम्मलाई व्यङ्ग्य गरेँ ।’ आफूले धेरै मेहनत गरेको कन्टेन्टमध्येमा पूर्वराजा शाहको क्यारिकेचर एक रहेको उनले बताए ।

पूर्वराजाको क्यारिकेचरबारेको प्रस्तुति प्रसारण भएपछि सबैतिरबाट तारिफ पाउन थालेको उनले सुनाए । उनले भने, ‘अहिले मिडिया र सामाजिक सञ्जालमा छाइरहेको छु । यो चर्चालाई अब कसरी ब्यालेन्स गर्ने भन्नेमा अब चिन्ता लाग्न थालेको छ ।’

  • ‘वाइल्ड कार्ड इन्ट्री’

धादिङ ज्वालामुखी गाउँपालिका–२, काफलपानीमा जन्मिएका विश्वकर्मा सानैदेखि क्यारिकेचर लगायतका कमेडी गर्दै हुर्किएका हुन् । टेलिभिजनबाट प्रसारण हुने कमेडी सिरियल ‘मेरी बास्सै’ र ‘हरिबहादुर मदनबहादुर’ हेर्दै कमेडी सिकेका उनी स्कुलमा, गाउँघरमा विभिन्न क्यारिकेचर गरेर सबैलाई हँसाउँथे । सो क्रममा उनका कमेडीले प्रशंसा पाउँथ्यो । कतिपयले उनलाई कमेडी गर्न हौस्याउने गर्दथे ।

प्रतियोगितामा टप–१६ बाट आउट भएकालाई च्यालेन्जरको माध्यमबाट अर्को अवसर दिने नियम थियो । त्यसको आधारमा उनी उत्कृष्ट ८ को प्रस्तुतिमा च्यालेन्जरको रुपमा भित्रिए ।

सबैको हौसलाले उनी आफूभित्रको प्रतिभा बाहिर ल्याउने माध्यमको खोजीमा थिए । त्यसका लागि उनले कमेडी च्याम्पियनलाई उपयुक्त माध्यम ठाने । कमेडी च्याम्पियनको पहिलो सिजन प्रसारणमा आएपछि उनले यो मञ्चका बारेमा थाहा पाए । दोस्रो सिजनमा अडिसन कसरी दिने भन्ने नै आफूले थाहा पाउन नसकेको उनले सुनाए ।

दोस्रो सिजनको फाइनलमै तेस्रो सिजनको अडिसनका लागि सूचना दिइएपछि उनले बल्ल सबै मेसो थाहा पाए । अडिसनका लागि आफैँले सेल्फी भिडियो पठाएपछि सेलेक्ट भएको उनले सुनाए ।

भिडियो पठाएको ९ महिनापछि उनले फिजिकल अडिसनका लागि निम्तो पाए । त्यसपछि उनले उत्कृष्ट ३० मा बालबालिकाको लोकप्रिय कार्टुन मोटु पत्लुको क्यारिकेचर गरे । टप–१६ मा ‘भुलबहादुर भुलक्कड’को क्यारेक्टर उनको प्रस्तुतिको ठुलो गल्ती भयो । उनले भने, ‘यो प्रस्तुतिका कारण टप– १६ बाटै आउट भएँ ।’

प्रतियोगितामा टप–१६ बाट आउट भएकालाई च्यालेन्जरको माध्यमबाट अर्को अवसर दिने नियम थियो । त्यसको आधारमा उनी उत्कृष्ट ८ को प्रस्तुतिमा च्यालेन्जरको रुपमा भित्रिए । अहिले चर्चामा रहेको पूर्वराजा शाहको प्रस्तुति उनले यही सिलसिलामा दिएका थिए । जसले उनलाई ‘पर्फमर अफ द विक’ बनाउँदै टप–६ मा उभ्यायो । अहिले उनी टप–६ बाट बाहिरिएका छन् । टप–६ मा उनले दिएको घरज्वाइँको प्रस्तुतिले भोट पाएन ।

‘प्रतियोगिताको नियम अनुसार उनले अर्को एक अवसर ‘वाइल्ड कार्ड इन्ट्री’ पाउँदैछन् । जसको तयारी उनले गरिरहेका छन् । ‘यो अवसरको फाइदा उठाउँदै उपाधि जित्छु,’ उनले लक्ष्य राखे ।

  • कमेडी गाह्रो छ

हाल चितवनको वीरेन्द्र मल्टिपल क्याम्पसमा बीए तेस्रो वर्षमा अध्ययनरत उनी ‘कमेडी च्याम्पियन सिजन ३’को उपाधि आफ्नो हातमा परे पनि, नपरे पनि कमेडी यात्रा भने निरन्तर अगाडि बढाउने सोचमा छन् ।

‘अहिले एक किसिमको चर्चा छ । त्यसलाई थप उचाइ दिने भनेकै निरन्तरताले हो’, विश्वकर्माले भने, ‘अबको दिनमा कमेडी सिरियल, फिल्म र स्टेज कार्यक्रम सबै गर्छु ।’

कमेडीमा आउने अधिकांशले कमेडी सजिलो विषय नभएको बताउँदै आएका छन् । उनी पनि सोही कुरा दोहोर्‍याउँछन् । ‘कलाकारितामा कमेडी सबैभन्दा गाह्रो विषय रहेछ’, उनले भने, ‘एउटा गीत बनायो भने गायक गायिकाले ३÷४ वर्ष त्यसैले धान्न सक्छन्, कमेडी एक ठाउँमा गरेपछि अर्को ठाउँमा पुरानो हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप