शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

पुस्तक चर्चा : गहन लघुकथाको सँगालो ‘छोइछिटो’

शनिबार, १९ चैत २०७८, ०९ : ३८
शनिबार, १९ चैत २०७८

दीपक मङ्ग्राती खोटाङमा जन्मी, हुर्की धरानमा शिक्षादीक्षा प्राप्त गरे । पढाइका क्रममा धरान इन्जिनियरिङ क्याम्पसमा निबन्ध लेखन प्रतियोगितामा उनी पुरस्कृत भएका थिए । ‘आमाको चिठी परदेशी छोरालाई’ शीर्षकमा लेखेको उनको निबन्ध पुरस्कृत भएपछि उनमा साहित्यप्रति रुचि बढ्दै गयो । 

जीवन सङ्घर्षका क्रममा मङ्ग्राती हङ्कङ हानिए । त्यहाँ उनले नेपाली साहित्य प्रतिष्ठानको सदस्य भएर ‘अबिराम’ पत्रिका सम्पादनको जिम्मेवारी पाए, जसमा ‘अन्तिम पत्र’, ‘प्रायश्चित्तको फूल’ ‘अबिराम’ लगायतका लघुकथा प्रकाशन गरे । पत्रिकाको स्तम्भ ‘लघुकथाको कुनो’मा नियमित लघुकथा प्रकाशन भएपछि यस विधामा निरन्तर केन्द्रीत भए, तिनै लघुकथाहरूको सङ्ग्रह हो ‘छोइछिटो’ । 

यस सङ्ग्रहमा अछुत, भाडाको लोग्ने, अग्र्यानिक, सीमारेखा, सौतेलो बाउ, प्रबोधन, मनको बाघ, मैले नबुझको ह्रस्वदीर्घ, कथा एउटा चेलीको, लोग्नेस्वास्नी, रक्तिम भेरी, हामी नेपाली, तीजको व्रत, तार्किब, सोच, सङ्कीर्णता, सम्पत्ति, सद्भाव, प्रतिविम्ब, पोइला जान पाऊँ, पीडा, परिवेश, पैसा लगायत ५७ वटा लघुकथा समेटिएका छन् । 

सङ्ग्रहित लघुकथाहरूमा उनले जीवनका भोगाइहरूलाई सजीव रूपमा उतारेका छन् । नेपाली समाजमा रहेको सामाजिक विभेद, पारिवारिक जालझेल, परदेशिँदाका पीडा तथा यौनविकृति जस्ता पक्षमाथि उनले गहन रूपमा उजागर गरेका छन् । समाजमा रहेको वर्गीय विभेद, असमानात, अन्याय, जालझेल, उच्छृङ्खलता, बेरोजगारी नातावाद, कृपावादका साथै पारिवारिक समस्याहरूलाई उनले लघुकथाको विषयवस्तु बनाएका छन् । 

नेपाली समाजको वर्गीय स्वरूप आर्थिक विषमता मात्र होइन, यहाँ  राजनीतिक विभेद पनि त्यतिकै छ । यसै गरी सामाजिक, सांस्कृतिक, भौगोलिक, लैङ्गिक र शैक्षिक विविधताहरू नेपाली समाजका विशेषता हुन् । तर यही विविधता विभेदका कारण बनेका आधारहरू उनका लघुकथामा पाइन्छ । 

छुवाछूत ग्रामीण नेपाली समाजको सबैभन्दा ठूलो समस्या हो । बेलाबेला यो समस्या सहरहरुमा पनि देखिने गरेको छ । त्यस्ता विभेदमाथि उनको अछुत कथाले निर्मम प्रहार गरेको छ । मिजार जातिको आमा र छोरा आँधी आएको बेलामा मन्दिरमा ओत लाग्ने प्रयास गर्छन् तर त्यहाँका पूजारीले तल्लो जातको मानिस भित्र पस्नु हुँदैन भनेपछि त्यहाँबाट हिँड्छन् । तर एउटा लुते कुकुर त्यही मन्दिरभित्रै सुतिरहेको हुन्छ । यसले कथित तल्लो जातलाई कुकुर जति पनि नठान्ने माथिल्लो जाति माथिको मानवीय चेतमाथि निर्मम प्रहार गरेको छ । 

यस्तै भाडाको लोग्ने कथाले नेपाली समाजमा बढ्दै गएको यौनविकृतिमाथि व्यङ्ग्य गरेको छ । यौन आशक्तिका कारण एक महिला कलिली छोरीलाई छाडेर परपुरुषसँग जान्छे । तर त्यो पुरुष जँड्याहा र झगडालु हुन्छ । उसले त्यो महिलालाई यौनव्यापारमा लगाउँछ । यी र यस्तै कथावस्तुहरु समेटेर लेखेका लघुकथाले पाठकको मन जित्ने खालका छन् । 

हङकङ बसेर साहित्य सिर्जनामा लागेका मङ्ग्रातीको स्थायी ठेगाना मोरङ, बेलबारी हो । बेलबारी साहित्य विकास समिति मोरङले प्रकाशनमा ल्याएको यो कृति लघुकथामा रुचि राख्नेहरुका लागि सङ्ग्रहणीय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिखर मोहन
शिखर मोहन
लेखकबाट थप