शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

जब साना दलका नेताहरु निर्वाचन आयोगका पदाधिकारीमाथि जाइलागे (भिडियो)

मङ्गलबार, २२ चैत २०७८, १६ : ४०
मङ्गलबार, २२ चैत २०७८

निर्वाचन आयोगको सभाकक्षमा मंगलबार बिहान ११ बजे राजनीतिक दलका प्रतिनिधिहरु पुगिसकेका थिए । मंगलबार आयोगले उनीहरुलाई निर्वाचन आचारसंहिता प्रतिबद्धता पत्रमा ‘हामी आचारसंहिता पालन गर्छौँ’ भन्ने प्रतिबद्धता जनाउँदै हस्ताक्षर गर्न बोलाएको थियो । 

बैठकमा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आचारसंहिताको महत्त्व बताउँदै निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई बोल्न लगाए । आयुक्त भण्डारीले मिडियामा केही कुरा गलत आएको र आयोगले भन्न खोजेको कुरा के हो भन्नेबारेमा खुलाउने प्रयास गरे । 

उनले निर्वाचनसम्बन्धी १० वटा ऐन र ८ नियमावलीबाट सार खिचेर आयोगले निर्वाचन आचारसंहिता बनाएको स्पष्ट पारे ।  भण्डारीले उम्मेदवार हुन चाहने जनप्रतिनिधिले राजीनामा दिनुपर्ने कुरा आयोगले गरेको व्यवस्था नभइ ऐनमा भएको व्यवस्था रहेको उल्लेख गरे । कुनै सरकारी पद धारण गरेको व्यक्तिले राजीनामा नदिई उम्मेदवारी दिन नपाउने व्यवस्था ऐनमा रहेको र सोही अनुसार भोलि उम्मेदवारी दिएका जनप्रतिनिधिमाथि कानुनी समस्या नहोस् भनेर सो कुरा राखिएको प्रष्ट पारे । 

यस्तै ठेकेदार चुनावमा उठ्न नपाउने व्यवस्थाबारे पनि मिडियामा गलत सूचना प्रवाह भएको भन्दै जुन स्थानीय तहमा निर्माण व्यवसायीले काम गरिरहेको छ, जहाँ उनीहरुको बेरुजु रहेको छ सो स्थानीय तहमा उठ्न नपाउनेबारे उनले सुनाए ।  

आफ्ना कुरा राखेपछि उनले बैठक हलमा उपस्थित राजनीतिक दलका प्रतिनिधिहरूलाई आचारसंहिता पालना प्रतिज्ञापत्रमा हस्ताक्षर गरेर जान भने । त्यसपछि साना दलका नेताहरुले आफ्ना भनाइ पनि आयोगले सुन्नुपर्ने बताए । आचारसंहिता पालना साना दलका लागि मात्र कि ठूला दलका लागि पनि भन्ने उनीहरुको प्रश्न थियो । 

​उनीहरुले आयोगले ठुला ७ दलको कुरा मात्र सुन्ने हाम्रो कुरा सुन्नुपर्दैन भन्दै आयोगतिर औँला सोझ्याए । साना दलका प्रतिनिधिले कम्तिमा ५ मिनेट बोल्न दिनुपर्ने माग गरे । तर आयोगले बोल्न समय दिन नसक्ने बतायो । एक आयुक्तले मन लाग्ने जतिले हस्ताक्षर गर्नुस् मन नलाग्ने बाहिर जानुस् भनेपछि स्थिति थप तनावग्रस्त बन्यो । 

उनीहरुले यस्तो हो भने निर्वाचन आयोगले कसरी निष्पक्ष ढंगले चुनाव गर्छ भन्दै होहल्ला गर्न थाले । ठूला राजनीतिक दलको कुरा सुन्ने, उनीहरुसँग छलफल गर्ने हाम्रो कुरा नसुन्ने भन्दै साना दलका नेताहरु आयोग पदाधिकारीमाथि जाइलागे । 

आयोगका पदाधिकारीले उनीहरुलाई शान्त पार्न प्रयास गरेपनि झन्डै आधा घण्टा बैठक कक्षको अवस्था तनावपूर्ण बन्यो । जव आयोग पदाधिकारी र दलका प्रतिनिधिबीच विवाद सुरु भयो तब आयोगले सुरक्षाकर्मी परिचालन गरेर समाचार संकलन गरिरहेका पत्रकारहरुलाई बाहिर निकाल्यो । बैठक कक्ष तथा आयोग परिसरमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरियो । पहिलो तलाको बैठक कक्षमा विवाद भइरहेका बेला भुँइतलाको भ-याङ्छेउ लाठी र रक्षाकवच बोकेका दंगा प्रहरीको एक समूह प्रतिरोधका लागि तयारी अवस्थामा बसेको थियो । 

अन्ततः आक्रोशमा आएका साना दलका नेतालाई सम्झाउन प्रमुख निर्वाचन आयुक्त थपलियाले गरेको मिहिनेत सफल भयो । उनले साना दलसँग आयोगले अर्को बैठकमा छलफल गर्ने र बोल्नका लागि समय दिने बताएपछि उनीहरु शान्त भएका थिए । 

एमाले बाहेक अरु दलले गरे हस्ताक्षर 
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने निर्वाचन आचार संहिता प्रतिज्ञापत्रमा हस्ताक्षर नगरी आयोगबाट फर्कियो । कार्यक्रममा होहल्ला भएको भन्दै हस्ताक्षर गर्ने वातावरण नभएकोले हस्ताक्षर गर्न नसकेको एमाले निर्वाचन विभाग उपप्रमुख निरज आर्चायले रातोपाटीलाई जानकारी दिए । 

विवाद शान्त भएपछि दलका अन्य प्रतिनिधिले भने स्थानीय तह निर्वाचनमा आचारसंहितालाई पालना गर्न प्रतिवद्धता जनाउँदै हस्ताक्षर गरेर फर्किएका छन् । राजनीतिक दलका प्रतिनिधिहरुले निर्वाचन आचारसंहितालाई प्रभावकारी कार्यान्वयन गर्नका लागि पालना गर्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । 

सो आचारसंहिता आयोगले राजनीतिक दलहरूबाट प्राप्त सल्लाह, सुझावलाई समेत समेट्दै ऐन, कानून र संविधान अनुरुप बनाएर राजपत्रमा समेत प्रकाशित भइसकेको उल्लेख गर्दै सोही आचारसंहितामा दलहरूलाई हस्ताक्षर गराइएको उनले जानकारी दिए । 
 
छलफल पछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता पालना गर्न नेपाली काँग्रेस पूर्ण रुपमा प्रतिवद्ध रहेको बताए । 

उनले भने, ‘आज राजनीतिक दलहरूको तर्फबाट निर्वाचन आयोगले जारी गरेको, निर्णय गरेर राजपत्रमा प्रकाशित गरेको आचारसंहितामा दलका अध्यक्ष वा प्रतिनिधि पदाधिकारीको तर्फबाट त्यो आचारसंहितामा प्रतिवद्धता जनाउनका लागि बोलाएको कार्यक्रम हो । त्यति प्रयोजनका लागि बोलाएको कार्यक्रम भएको हुनाले त्यो भन्दा अन्य छलफल अन्य परामर्शहरू कुनैपनि भएको छैन । त्यसमा नेपाली काँग्रेसको तर्फबाट प्रतिवद्धता जनाएर म निर्वाचन आयोगसँग बिदा भएर हिँडेको छु । त्यहाँ केही राजनीतिक दलका साथीहरुले केही कुरा बुझ्न खोज्नुभयो । निर्वाचन आयोगका प्रमुखले, निर्वाचन आयोगका आयुक्तहरुले उहाँहरुले उठाउनु भएका कुरामा प्रष्ट पार्नुभयो । सबैको चित्त बुझ्यो ।’

नेकपा (एकीकृत समाजवादी)का महासचिव बेदुराम भुसालले आफ्नो पार्टी निर्वाचन आचारसंहिताको पूर्ण रुपमा पालना गर्न तयार रहेको बताए । उनले पूर्ण रुपमा आचारसंहिता पालना गर्ने प्रतिवद्धतासहित हस्ताक्षर गरिएको बताए । नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवालले निर्वाचन आयोगले दलहरुले दिएको सुझावलाई आचारसंहितामा नसमेटेकाले छलफलका क्रममा दलहरुले गुनासो राखेको बताए । 

निर्वाचनको समयमा गाडी, मोटरसाइकल ¥याली गर्ने तथा हेलिकप्टरमा चढेर चुनावी प्रचार प्रसार गर्न आचारसंहिताले नदिने भएपनि आचारसंहिता विपरित दलहरुले त्यसो गर्ने गरेकाले आयोगले आचारसंहिता पालना गराउन ध्यान दिनुपर्ने कुरा उठेको उनले बताए । 

सुवालले दलहरूका बिचमा चुनावी गठबन्धन हुनु सिद्धान्तविपरित र मतदाताको खरिदबिक्री जस्तो भएको टिप्पणी पनि गरे । यस्तै नेपाल समावेशी पार्टीका अध्यक्ष मोतिलाल भारतीले निर्वाचन आयोगले साना दलहरूलाई हेपाहा प्रवृत्ति देखाएको टिप्पणी गरे । 

आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका पूर्व सन्ध्यामा आयोगले विभिन्न कामहरु गरिरहेको छ । यही चैत १७ गतेदेखि आयोगले मतपत्र छपाइको काम समेत गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप