शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

कांग्रेस महामन्त्रीलाई पराजुलीको कडा चुनौति

मङ्गलबार, १२ मङ्सिर २०७४, ११ : ०६
मङ्गलबार, १२ मङ्सिर २०७४

संघियता कार्यान्वयनका क्रममा नवलपरासी जिल्लालाई टुक्राएर दुईटा प्रदेशमा विभाजन गरिएको थियो । ४ नम्बर प्रदेश अन्तर्गत विभाजन गरिएका नवलपरासीको दुई क्षेत्रमा  १ नम्वर  क्षेत्रले रोचक नतिजा ल्याउने अड्कलवाजी शुरु भएको छ । प्रतिनिधी सभा सदस्यका लागि मंसीर २१ मा निर्वाचन हुने पुर्वी नवलपरासीको १ नम्वर क्षेत्रले धेरैको ध्यान खिचेको छ । 
 नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शशांक कोइरालासँग वामगठबन्धनले माओवादी केन्द्रका भूमिश्वर पराजुलीलाई अघि सारेको छ । नेपाली कांग्रेसका उच्च तहका नेता कोइरालाको  निरन्तरतालाई रोक्न बामगठबन्धनले भरमग्दुर प्रयास गरिरहेको छ । कोइरालाको सुरक्षित क्षेत्र भत्काउने बामगठबन्धनको तिव्र तयारी छ । 
पुर्वी नवलपरासीको १ नम्वर क्षेत्रमा  कावासोती नगरपालीकाका  १,२,५,६,७,८,९,१०,११,१२ र १३ वडाहरु रहेका छन् ।  गैडांकोट ,देवचुली र बुलिङटार गरि तिन नगरपालिकालाई पनि यसै निर्वाचन क्षेत्रमा समेटिएको छ । स्थानीय तहको निर्वाचनमा  देवचुली र बुलिङटार नगरपालिकामा कांग्रेस विजयी भएको थियो भने गैडाकोटमा एमालेले झिनो मतले कांग्रेसलाई हराएको थियो  । क्षेत्र नम्वर एक अन्तर्गत परेका कावासोतीका ११ वडाहरुमा कांगे्रसले छ वडामा जित निकालेको थियो । 
स्थानीय तह  निर्वाचनमा कांग्रेसले ३१ हजार ९२४ मत ल्याएको थियो भने एमालेले २९ हजार ६१८ मत ल्याएको थियो । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रले चार हजार ५२१ मत ल्याएको थियो । स्थानीय तहमा बाम गठबन्धनको पक्षमा ३४ हजार १३९ मत थियो । स्थानीय तहको मतलाई आधार मान्दा दुई हजार २१५ मतले नेपाली कांग्रेस पछि परेको छ । 
नवलपुर १ का प्रत्यासी कोइरालाले २०४६ पछि राजनितीमा इच्छा देखाएका हुन् । विपी पुत्र कोइराला आँखा विशेषज्ञ पनि हुन् । ६० वर्षिय कोइरालाले यस अघिका दुई निर्वाचनमा सोहि स्थानबाट जित हासिल गरेका थिए । विराटनगरमा जन्मेका कोइराला नवलपरासीबाट चुनाव लड्दै आएका छन् । नेपाली कांग्रेसको पकड क्षेत्र मानिएको नवलपरासीमा कोइरालाको सुरक्षित स्थानको रुपमा लिइन्छ । 
२०७० को निर्वाचनमा कोइरालाले नवलपरासीको १ नम्वर क्षेत्रबाट १८ हजार २२८ मत ल्याइ विजयी भएका थिए । कोइरालाले प्रतिस्पर्धी रहेका एमालेका दिपक अधिकारी क्षेत्रीले १२ हजार ११० मत मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका धन प्रसाद सापकोटाले चार हजार ३१७ मत ल्याई तेश्रो स्थानमा थिए । 
वामगठबन्धनका उम्मेदवार पराजुली भष्ट्रचार विरोधी राष्ट्रिय अभियानका केन्द्रिय अध्यक्ष हुन् । घरदैलो चुनावी कार्यक्रमलाई तिव्रता दिएका पराजुलीले १२ देखि १३ हजारको मतले कांग्रेस भन्दा बामगठबन्धन अगाडी रहेको ठोकुवा गरे । मतदाताले स्थानीय उम्मेदवार खोजेको बताउदै पराजुलीले  ५ पटक जितेको नेपाली कांग्रेसले जनताका समस्याहरु सम्वोधनमा ध्यान आरोप  लगाए । पराजुलीले स्थानीय उम्मेदवारलाई मतदाताले प्राथमिकता दिने आशा व्यक्त गरे । 
सुकुम्वासी समस्या,नारायणी नदिले पुृर्याएको क्षति ,पानी र बाटोका समस्यामा नेपाली कांग्रेसका जनप्रतिनिधीले वेवास्ता गरेको पराजुलीको आरोप छ । 
पुर्वी नवलपरासीमा औद्योगिक ग्राम सञ्चालन गरिरहेका अर्वपति बिनोद चौधरीले कोइरालका चुनावी सभालाई सघाइरहेका छन् । कोईरालाको चुनावी सभामा चौधरी सक्रियताका साथ लागि रहेका छन् । चौधरीको चुनावी दौडधुप र  व्यक्तिगत प्रभावले पनि कोइरालालाई अनुकुल भएको वताइएको छ । वाम गठबन्धनको जोडबल र चौधरीको व्यस्तताले कोइराला र पराजुलीको चुनावी भिडन्त थप कौतुहल बनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप