बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ : लिम्बुवानको प्रभाव कति ?

संघीय लोकतान्त्रिक मञ्चले कहाँ–कहाँ दिँदैछ उम्मेदवारी ?
बुधबार, ०७ वैशाख २०७९, ०६ : ५०
बुधबार, ०७ वैशाख २०७९

विराटनगर । सत्तारुढ गठबन्धन दलमा आवद्ध दलहरुबीच स्थानीय तहको निर्वाचनका लागि भागबण्डा टुङ्ग्याउने तयारी गरिरहँदा प्रदेश १ मा लिम्बुवान पहिचानसहितको पार्टी संघीय लोकतान्त्रिक मञ्चले पनि ८ जिल्लामा ५१ वडा जित्ने दाबी गरेको छ । सो दलले २०७४ सालको स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा ४०८ उम्मेदवार खडा गरेको थियो । तीमध्ये १ वडाध्यक्ष र ५ जना वडा सदस्यले मात्र चुनाव जितेका थिए ।

प्रदेशसभा निर्वाचनमा सो पार्टीले समानुपातिकतर्फ २६ हजार १२३ मत प्राप्त गर्दै एक सदस्यमा जित हात पारेको थियो । सो पार्टीकी एकमात्र प्रदेशसभा सदस्य विष्णुमाया तुम्बाहाम्फे हाल प्रदेश १ मा सामाजिक विकास राज्यमन्त्रीका रुपमा बहाल छिन् । मन्त्री तुम्बाहाम्फेको जिल्ला ताप्लेजुङ हो ।

सो पार्टीबाट इलामको चुलाचुली–१ मा वडाध्यक्षसहित ५ जना विजयी भएका थिए भने ताप्लेजुङको सिरिजंगा गाउँपालिका–६ को एउटा वडा सदस्यमा पनि सोही पार्टीका उम्मेदवार विजयी भएका थिए । सो पार्टीले गत निर्वाचनमा मोरङबाट ६०, झापाबाट ९९, पाँचथरबाट ४३, सुनसरीबाट ३३, धनकुटाबाट १४, तेह्रथुमबाट ४३, ताप्जेलुङबाट ७० र इलामबाट ४६ जना उम्मेदवार खडा गरेको थियो ।

अहिले सो पार्टीले ८ जिल्लामा ५१ वडा जित्ने दाबी गरेको छ । ‘हामीले गरेको सर्वेक्षण अनुसार ५१ वटा वडामा जित्ने हाम्रो दावी छ,’ लोकतान्त्रिक राष्ट्रिय मञ्चकी नेतृ तथा प्रदेशकी राज्यमन्त्री विष्णुमाया तुम्बाहाम्फेले भनिन्, ‘अहिले हामी पनि प्रदेशका हरेक पालिकामा उम्मेदवारी दिने गरी तयारी गरिरहेका छौं ।’

उनका अनुसार ताप्लेजुङका ८ गाउँपालिका र एक नगरपालिकामा संघीय लोकतान्त्रिक मञ्चले उम्मेदवार खडा गर्दैछ । ‘ताप्लेजुङका ८ वटा गाउँपालिका र एउटा नगरपालिकामा हाम्रो दाबी छ, मेयर र अन्य पदमा पनि हाम्रो दाबी छ,’ उनले भनिन्, ‘फुङ्लिङ नगरपालिकामा त उम्मेदवार घोषणा गरेर भोट माग्न गइसक्यौँ ।’

उनले अरुणपूर्व ९ जिल्लामा मात्रै नभएर तमुवान, मगरात, दलित, खसानमा पनि उम्मेदवारी दिने तयारी गरिरहेको बताइन् । प्रदेश १ को सत्तारुढ गठबन्धनमा समेत रहेको संघीय लोकतान्त्रिक मञ्चले गठबन्धन घटकको प्रदेशस्तरीय छलफलमा आफ्ना माग राखिसकेको तुम्बाहाम्फेले बताइन् । उनले १÷२ दिनमा कति लिने र कति छोड्ने भन्ने विषयको टुङ्गो लाग्ने जानकारी दिइन् ।

उनले आफ्नो पार्टी ताप्लेजुङमा ६ वटा वडा, पाँचथरमा १४ वडा, इलाममा ३ वडा, झापामा १० वडा, मोरङमा ९ वटा, सुनसरीमा ४ वडा, धनकुटामा ३ वडा र तेह्रथुममा २ वटा वडामा विजयी हुने अनुमान गरेको बताइन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले किरात खम्बुवान, तामसालिङ, शेर्पा, नेवा, मगरात, तमुवान, खसान, थरूहट, मधेस र शिल्पी (दलित) प्रान्त (१० प्लस १) को माग गर्दै आएको छ ।

संघीय लोकतान्त्रिक मञ्चको प्रभाव भएका स्थानीय तह

ताप्लेजुङ (६ वटा वडा)

फुङ्लिङ नगरपालिका ११

पाथिभरा गाउँपालिकाको वडा नम्बर ५

श्रीजङ्गा गाउँपालिका वडा नम्बर ४

शिदिङ्वा  गाउँपालिका वडा नम्बर २

आठराइ त्रिवेणी गाउँपालिका वडा नम्बर ४

मेरिङ्देन गाउँपालिका वडा नम्बर १

पाँचथरका (१४  वटा वडा)

याङ्वरक गाउँपालिका वडा नम्बर ४ र ५

हिलिहाङ गाउँपालिका वडा नम्बर ३, ४ र ६

फालेलुङ गाउँपालिका वडा नम्बर ७, १, ३ र ८

फाल्गुनन्द नगरपालिका ५

मिक्लाजुङ्ग गाउँपालिका १, २ र ३

तुम्देवा गाउँपालिका १

इलाम (३ वटा वडा)

चुलाचुली गाउँपालिका १ र २

फाक्फोक थुम गाउँपालिका वडा नम्बर ४

झापा (१० वटा वडा)

बुद्धशान्ति नगरपालिका ४

मेचीनगर नगरपालिका १२

शिवसताशी १, ८, ९, १० र ११

कमल गाउँपालिका वडा नम्बर ३ र ४

दमक नगरपालिका ५

मोरङ (९ वटा वडा)

उर्लाबारी नगरपालिका वडा नम्बर ९

मिक्लाजुङ वडा नम्बर ३ र ४

लेटाङ नगरपालिका १ र ६

केराबारी गाउँपालिका वडा नम्बर २

पथरीशनिश्चरे नगरपालिका २, ३ र १०

सुनसरी (४ वटा वडा)

कोशी गाउँपालिका ४

इटहरी उपमहानगरपालिका वडा नम्बर ५ र १०

धरान उपमहानगरपालिका ११

धनकुटा (३ वटा वडा)

चौबीसे गाउँपालिका वडा नम्बर १

साँगुरीगढी गाउँपालिका ३

छथर जोरपाटी गाउँपालिका वडा नम्बर ३

तेह्रथुम (२ वटा वडा)

छथर गाउँपालिका वडा नम्बर २

म्याङ्लुङ नगरपालिका वडा नम्बर ८

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप