भैरहवा सेज चलायमान बन्दै, उत्पादन र निर्यात बढ्दो

बुटवल । रुपन्देहीको भैरहवामा रहेको विशेष आर्थिक क्षेत्र (सेज)मा रहेका उद्योगहरूले उत्पादनसँगै निर्यातसमेत वृद्धि गरेका छन् । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा चालु आर्थिक वर्षको चैत मसान्तसम्मको अवधिमा उत्पादन र निर्यात वृद्धि भएको पाइएको हो ।
सेजमा आर्थिक वर्ष २०८०/०८१ मा ९१ करोड ६० लाख रुपैयाँ बराबरको उत्पादन भएको थियो । जसमा कुल उत्पादनको ६० प्रतिशत अर्थात् ६० करोड ३६ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ३३ करोड रुपैयाँको वस्तु उत्पादन भएको छ भने निर्यात ७६ करोड ८४ लाख रुपैयाँ बराबरको भएको छ ।
सेज परिसरमा हाल सञ्चालित १० उद्योगको उत्पादन र निर्यात दर हेर्दा गत आर्थिक वर्षको तुलनामा राम्रो रहेको भैरहवा सेजका प्रमुख इन्जिनियर सुमित डुम्रेले रातोपाटीलाई बताए ।
भैरहवा सेजमा ५२ बिघा जग्गामा ६८ वटा प्लट छन् । २०७३ सालदेखि उद्योग निर्माण भएको सेजमा २०७६ देखि शक्ति मिनिरल्स प्रालिले आफ्नो उत्पादन बाहिर लैजान थालेको हो । अन्य उद्योगले त्यसपछि उत्पादन सुरु भएका हुन् ।
भैरहवा सेजमा जयबुद्ध मेटल क्राफ्ट, पञ्चकन्या स्टिल ट्याङ्क, शक्ति मिनरल्स, भीस्टार ग्लोबल प्रालि, एस पोलिमर्श, तिरुपती मेटल क्राफ्ट, ब्रिलेन्ट लाइटिङ आरसी इन्डस्ट्री प्रालि, हिमालय ग्रेनाइट, ईको नेपाल इनर्जी, हिमालय ईकोप्रालि लगायतका उद्योग छन् । सेजमा स्वस्तिक उद्योग, स्पट इलेक्ट्रिक लगायत नयाँ ४ उद्योग निर्माणको क्रममा छन् ।
- कुन उद्योगको अवस्था कस्तो छ ?
सेजमा २०७६ सालमा स्थापना भएको शक्ति मिनिरल्स प्रालिले चालु आर्थिक वर्षको चैत मसान्तसम्म ११ करोड रुपैयाँ बराबरको वस्तु उत्पादन गरेको छ । उक्त कम्पनीले क्रसरजन्य वस्तुहरू उत्पादन गर्छ ।
यस्तै, पाल्पाबाट चुनढुङ्गा लिएर प्रशोधन गरेर सिमेन्ट उद्योगलाई कच्चा पदार्थको रूपमा विक्री गर्दछ । कुखुराका दाना उद्योगको लागि क्याल्सियम बनाउन आवश्यक कच्चा पदार्थ पनि उत्पादन गर्दछ ।
यसको अधिकांश बजार भारतीय दाना उद्योगमा केन्द्रित छ । यो उद्योगले चालु आर्थिक वर्षमा कुल उत्पादनको ४९ प्रतिशत निर्यात गरेको सेज भैरहवा प्रशासनले जनाएको छ ।
सेजमा २०७७ सालमा स्थापना भएको भीस्टार ग्लोबल प्रालिले स्टिलका भाँडा बनाउने गर्दछ । यसले चालु आर्थिक वर्षमा ७२ करोड रुपैयाँ बराबरको उत्पादन गरेको छ भने उत्पादनको ८८ प्रतिशत वस्तु निर्यात गरेको छ । उत्पादन रकमको हिसाबले यो सबैभन्दा धेरै गरेको सेज प्रमुख डुम्रेले बताए ।
सेजमा रहेको ब्रिलेन्ट लाइटिङले एलइटी लाइट उत्पादन गर्छ । यसले कुल उत्पादनको ३४ प्रतिशत निर्यात गरेको छ । सेजमा स्थापना उद्योगहरूले पछिल्ला नियम अनुसार उद्योग स्थापना भएको तीन वर्षपछि उत्पादित वस्तुको कम्तीमा ३० प्रतिशत निर्यात गर्नुपर्ने व्यवस्था छ ।
सेजमा रहेको तिरुपति मेटल क्राफ्टले कुल उत्पादनको १६ प्रतिशत वस्तु निर्यात गरेको छ । यो उद्योगले ब्याट्रीको लिड उत्पादन गर्छ ।
पञ्चकन्या स्टिल ट्याङ्कले अहिले प्राविधिक कारण देखाउँदै उत्पादन रोकेको छ तर, यहाँ उत्पादन भएको स्टक समान ९२ प्रतिशत निर्यात भएको छ ।
यस्तै जयबुद्ध मेटल क्राफ्ट सेजको पुरानो उद्योग भए पनि अहिले यो बन्द छ । सुरुमा केही महिना सञ्चालन भएपछि यसले उत्पादन बन्द गरेको हो ।
सेजमा स्थापना भएको आरसी इन्डस्ट्री नयाँ उद्योग हो । आरसीले पुरानो ब्याट्रीको लिड प्रशोधन गरी नयाँ लिड उत्पादन गर्छ । यसले कुल उत्पादनको १४ प्रतिशत निर्यात गरेको छ ।
इको नेपाल इनर्जी प्रालि, हिमालयन ग्रेनाइट प्रालि, एसपोली ग्राम, हिमालयन इको इनर्जीले भने अहिलेसम्म आफ्ना उत्पादन निर्यात गरेका छैनन् ।
सेजमा जग्गा भाडादर बढी, कुल उत्पादन भएको वस्तुको निर्यात प्रतिशत पनि उच्च हुँदा सुरुमा उद्योगीले सम्झौता गर्न नमानेको बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले रातोपाटीलाई बताए ।
उनले भने, ‘अहिले बिस्तारै राम्रो वातावरण बनेपछि उद्योग विस्तार र उत्पादन वृद्धि हुन थालेको छ । यो राम्रो पक्ष हो । अझै सेजभित्रका समस्या हल गर्दै थप चलायमान बनाउनुपर्छ ।’
सेजमा सुरु हुँदा भाडा प्रतिवर्गमिटर १५० रुपैयाँ रहेकोमा अहिले घटाएर २० रुपैयाँ बनाइएको छ । उत्पादित वस्तु निर्यातमा ७५ प्रतिशतबाट घटाएर ३० प्रतिशतमा झारिएको छ भने सेजका उद्योगीहरूले पाउने अन्य सुविधा विस्तार गरेपछि उद्योग स्थापना गर्न उद्योगीले चासो दिएका हुन् ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका संयोजक हुमराज भुसालले भैरहवा सेजमा पछिल्लो समय उद्योग थपिनु र उत्पादन वृद्धि गर्नुमा सरकारले केही नीतिगत सहजीकरणको मुख्य भूमिका रहेको बताए । उनले कोभिडपछि अप्ठ्यारोमा परेको अर्थतन्त्र हाल सुधार हुँदै आएको प्रस्ट पारे ।
सेजमा विशेषगरी वातावरणलाई असर नगर्ने खाद्य उद्योग तथा कृषिजन्य उद्योग, हर्बल प्रोडक्ट, छालाका वस्तु, तयारी पोसाक, गलैँचा तथा उनको सामान, पस्मिना तथा रेसम, हाते कागजका वस्तु गरी १७ किसिमका उद्योग रहने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गभर्नरको रेसमा रहेका श्रेष्ठले राष्ट्र बैंकबाट पाए अवकाश, राजीनामाबारे यस्तो प्रस्टोक्ति
-
दुई दशकदेखि सफल हुन नसकेको पेट्रोलमा इथानोल मिसाउने योजना चालु वर्ष भित्रै कार्यान्वयनमा ल्याइँदै
-
एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
कर्णाली प्रदेश सरकारले पठाएको राहत हुम्ला पुग्यो
-
तनहुँको मादी पुलबाट जिप खस्दा तीन जनाको मृत्यु