शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय
कोशी एमालेभित्र विवाद

१० बुँदे पक्षधर बलबहादुर साम्सोहाङ र मणिशंकर पोमु निलम्बित

बुधबार, २४ वैशाख २०८२, १७ : ०१
बुधबार, २४ वैशाख २०८२

विराटनगर । नेकपा एमाले कोशी प्रदेश समितिको बैठकले ताप्लेजुङका एमाले नेता बलबहादुर साम्सोहाङ र मणिशंकर पोमुलाई निलम्बन गरेको छ । गत वैशाख १८ गते राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको जिल्ला अधिवेशनबाट संस्थापन पक्षले एकलौटी कमिटी गठन गरेको विरोधमा साम्सोहाङ र पोमुलगायतले पत्रकार सम्मेलन गरेरै विरोध गरेका थिए ।

एमालेको प्रदेश समितिको मङ्गलवार सम्पन्न भएको बैठकले यस्तो निर्णय गरेको हो । ‘ताप्लेजुङ कमिटीले दिएको राय सुझावको आधारमा दुई जनाले बढ्तै गरे भनेर हामीले निलम्बन गरेका छौँ । थप बुझ्न समिति बनाएका छौँ,’ एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले भने, ‘जसमा पूर्व जिल्ला अध्यक्ष तथा पूर्व प्रदेश सांसद समेत रहेका एमालेका प्रदेश सल्लाहकार बलबहादुर साम्सोहाङ र प्रदेशको पर्यटन विभागको सचिव मणिशंकर पोमुख रहनुभएको छ ।’

उता कारबाहीमा परेका नेता बलबहादुर साम्सोहाङले आफूले पनि सो निर्णयबारे जानकारी पाएको बताए । युवा सङ्घको जिल्ला अधिवेशनमा एकलौटी घोषणाको विरोध गरेको कारण आफूलाई कारबाही गरेको जानकारीमा आएको उनले बताए । ‘एमालेभित्र पनि टिम टिम छ । टिमहरू मिलाएर लानुपर्छ भनेका थियौँ,’ साम्सोहाङले भने, ‘त्यसपछि हामीले अलिक विरोध गर्‍यौँ । त्यही कारण कारबाही भएको होला ।’ 

पार्टीले गरेको कारबाहीको विषयमा अब के गर्ने भनेर आफूले केही नसोचेको पनि उनले बताए । ‘अहिले खासै केही योजना बनाएको छैन,’ साम्सोहाङले भने, ‘अब हेर्दै जाऔँ के हुन्छ ।’

युवा सङ्घको जिल्ला अधिवेशनबाट भने संस्थापन पक्षले मानिक तुम्बाहाम्फेलाई अध्यक्षमा घोषणा गरेर अगाडि बढेको थियो । केन्द्रीय अध्यक्ष क्षितिज थेबेको प्रमुख आतिथ्यतामा गत बिहीबार उद्घाटन सत्र सकिएपछि राति नै बन्द सत्र सुरु भएको थियो ।

सङ्घको बन्द सत्र सुरु भएपछि प्रतिनिधिहरूबाट नयाँ कमिटीका लागि नाम सूची तयार गरेर अध्यक्ष मण्डलको तर्फबाट एकलौटी कमिटी घोषणा गर्न खोज्दा भने विवाद भएको थियो । अधिवेशन भने ताप्लेजुङ एमालेको पार्टी कार्यालय फुङलिङमै भएको थियो । विवाद भएपछि अधिवेशनस्थलमा टेबल, कुर्सी र माइकमा पनि तोडफोड भएको थियो । 

साम्सोहाङ पक्षधरले भने सहमतिमा कमिटी चयन गर्दा आफूहरूले सचिव पाउनुपर्ने माग गरेका थिए । तर, अध्यक्ष मण्डलले मानिकको नेतृत्वमा एकपक्षीय नाम घोषणा गरेको थियो । त्यसपछि त्यहाँ कुटाकुटसमेत भएको बताइन्छ । ताप्लेजुङ एमाले सचिव योगेश भट्टराईको गृह जिल्ला हो । तर उनी पनि युवा सङ्घको अधिवेशनमा सहभागी भएका थिएनन् ।

उता, एमाले प्रदेश समितिले इटहरीमा भएको सभा, दमकमा भएको सभा, काठमाडौँमा भएको कार्यक्रम सफल भएको निष्कर्ष निकालेको छ । यस्तै प्रदेश सरकारले पर्यटन वर्ष घोषणा गरेकोप्रति शुभकामना र धन्यवाद दिएको र लगानी सम्मेलनबाट डेढ खर्बभन्दा बढी लगानी गर्ने वातावरण बनाएको भन्दै प्रदेश सरकारलाई धन्यवाद दिने निर्णय भएको खतिवडाले जानकारी दिए । 

बैठकमा एमालेले चलाएको जरा केन्द्रित कार्यक्रमको समीक्षा गरेको उनले बताए । यस्तै समृद्धि चित्र तय गर्ने निर्णय गरेको र प्रदेश र स्थानीय सरकारलाई जनमुखी कार्यक्रम बनाउन निर्देशन दिएको समेत उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप