सरकारसँग किन रिसायो कांग्रेस ?

विराटनगर । एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको कोशी प्रदेश सरकारबारे सरकारकै मुख्य घटक नेपाली कांग्रेसमा असन्तुष्टि चुलिएको छ । सरकारको कार्यशैली एमालेमुखी मात्रै भएको र कांग्रेससँग सल्लाह नगरी सरकार अगाडि बढिरहेको भन्दै असन्तुष्टि चुलिएको हो ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले त मंगलबार सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी गर्दै यस्तो सरकारमा सहभागी हुनुभन्दा प्रतिपक्षी हुनुमै गर्व गर्ने बताएका छन् । ‘कोशी प्रदेश सरकारको एकलौटी रवैयाप्रति घोर विमति छ,’ उनले लेखेका छन्, ‘यस्तो सरकारमा रहनुभन्दा प्रतिपक्षी हुनुमा गर्व गर्छु ।’
यद्यपि उनले यो आफ्नो व्यक्तिगत विचार भएको टिप्पणी गरेका छन् । उनको स्टाटसको कमेन्ट बक्समा थरिथरिका सुझाव आएका छन् । धेरैले कांग्रेस एमालेको पिछलग्गु बनेको बताएका छन् ।
सांसद् तामाङले कांग्रेस संसदीय दलका नेता उद्धव थापा, कांग्रेस झापा सभापति देउमान थेबेसपहितका नेताहरूलाई ट्याग गरेर सरकारप्रति आक्रोश व्यक्त गरेका हुन् । कोशी प्रदेशमा नेपाली कांग्रेस र एमालेका बिचमा सत्ता गठबन्धन छ । कांग्रेसका तर्फबाट तीन जना मन्त्री सरकारमा छन् ।
एमाले नेता कार्की नेतृत्वको सरकारमा कांग्रेसबाट भौतिक पूर्वाधार विकास र स्वास्थ्य मन्त्रालयमा भुपेन्द्र राई, उद्योग, कृषि तथा सहकारी मन्त्रालयमा खगेनसिं हाङ्गाम र पर्यटन, वन तथा वातावरण मन्त्रालयमा सदानन्द मण्डल मन्त्री बनेका छन् ।
यसअघि सरकार सञ्चालनको प्रक्रिया र उसका गतिविधिबारे नेपाली कांग्रेस कोशी संसदीय दलमा समेत छलफल भएको थियो । दुई हप्ता अगाडि प्रदेश सभा सचिवालयमा बसेको दलको बैठकमा पदाधिकारी तथा कांग्रेस सांसदले सरकारका गतिविधिमा कांग्रेसका सांसदहरूलाई सहभागी नगराइएको विषयमा प्रश्न उठेको थियो ।
‘सरकार सञ्चालनमा सहयोग गर्न हाम्रो दलका नेतासमेत रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रसमेत छ तर, सांसदहरू नै सरकारका गतिविधिबारे अनभिज्ञ हुनुहुन्छ,’ तामाङले भने, ‘यसबारे समेत सांसदहरूले ध्यानाकर्षण गराउनुभएको छ ।’
तेह्रथुममा भएको पर्यटन वर्ष उदघाटन कार्यक्रममा कांग्रेसको सहभागिता र शैलजा आचार्य हृदय रोग केन्द्र सञ्चालनमा उदासीनता देखाइएको, प्रदेश लगानी सम्मेलनमा एमालेकरण गरेको भन्दै कांग्रेस नेताहरूले असन्तुष्टि जनाएका छन् । कांग्रेसले सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न प्रमुख सचेतक तामाङको संयोजकत्वमा पूर्वमन्त्रीद्वय शम्शेर राई र प्रदीप सुनुवार, सांसद शोभा चेम्जोङ र योजना आयोगका सदस्य नारायण कोइराला सदस्य रहेको समिति गठन गरेको छ ।
कांग्रेस र एमालेले सरकार सञ्चालनमा सहजीकरण गर्न भन्दै यसअघि दुई दलीय संयन्त्र बनाएका थिए । संयन्त्रमा एमालेका तर्फबाट एमाले कोशीका इन्चार्ज शेरधन राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र प्रदेश अध्यक्ष घनश्याम खतिवडा छन् भने कांग्रेबाट प्रदेश सभापति तथा दलका नेता उद्धव थापा, प्रदेश महामन्त्रीद्वय भुपेन्द्र राई र उमेश थापा सदस्य छन् । उक्त संयन्त्रले चालु आर्थिक वर्षको बजेट पुनरवलोकन, संशोधन गर्ने लगायतका विषयमा सरकारलाई गत मंसिरमै निर्देशन दिएको थियो तर, उक्त निर्देशन पालना नभएपछि भने संयन्त्रको बैठक बस्न सकेको छैन ।
कांग्रेसका प्रमुख सचेतक तामाङले सामाजिक सञ्जालमा व्यक्त गरेको धारणा व्यक्तिगत भएको र दुई दलबिचमा अविश्वास नरहेको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी बताउँछन् । ‘त्यो धारणा उहाँको व्यक्तिगत होला । के–केमा चित्त बुझेन होला । रिसको बेलामा लेख्नुभयो होला,’ भण्डारीले भने, ‘बसेर छलफल गरेर त्यो विषय हल हुन्छ । यो ठुलो विषय होइन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आतंकवादविरुद्ध मधेशवादी दलले जनाए ऐक्यबद्धता
-
रेशम चौधरी पक्राउबारे गृहमन्त्री : पक्राउको पत्र ‘फेक’ भएपछि रिहा गर्ने वातावरण बन्यो
-
लेखकहरू विचार उत्पादनका केन्द्र हुन् : राष्ट्रपति पौडेल
-
एसियाली युथ बक्सिङमा नेपालका सात खेलाडी सहभागी हुने
-
पाकिस्तानले देला भारतीय हवाई आक्रमणको जवाफ ?
-
भारतविरुद्ध सैन्य कारबाही भए कडा जवाफ दिन्छौँ : एस जयशंकर