शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

माधव नेपाल हराएर चर्चामा आएका झक्कुको यो पटक कस्तो आउला नतिजा ?

शुक्रबार, १५ मङ्सिर २०७४, ११ : ४६
शुक्रबार, १५ मङ्सिर २०७४

काठमाडौं–काठमाडौँ क्षेत्र नम्बर ६ मा उम्मेदवारको चर्चामा थिए– हिमाल शर्मा तर टिकट झक्कुप्रसाद सुवेदीले हात पारे । सुवेदी तिनै उम्मेदवार हुन्, जसले ०६४ मा काठमाडौँ २ बाट पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई हराएर सनसनी मच्चाएका थिए । उम्मेदवारका आकाङ्क्षी शर्मालाई नै चुनावी प्रचार प्रसार संयोजक बनाएर सुवेदी आफ्नो साख फर्काउने तरखरमा छन् । 

०६४ मा माओवादी केन्द्रले विजयी भएको यस क्षेत्रमा ०७० मा भने नेपाली काङ्ग्रेसले जित हात पारेको थियो । माओवादी केन्द्र तेस्रो स्थानमा खुम्चिएको थियो । स्थानीय तहमा एमालेको पहिलो दल हुनु तथा वाम गठबन्धन निर्माणले सुवेदीको प्रचार टोली उच्च मनोबलका साथ चुनाव प्रचारमा जुटेको छ । 

गत सोमबार काठमाडौँ क्षेत्र नम्बर–६ को चुनावी प्रचारको घरदैलोमा पुग्दा सुवेदीले जित निकालेको छनक दिने गरी चुनाव प्रचारमा देखिए । रिङरोडको बालाजु बाइसधारा हुँदै नेपालटारको भित्री सडक शान्ति टोलमा पुग्दा सुवेदीको जोडतोलले चुनावी प्रचार थिए । वाम गठबन्धन पक्षमा जित निकाल्न एमाले र माओवादी केन्द्रका कार्यकर्ता उत्साहका साथ प्रचारमा जुटेका थिए । 

शान्तिटोलबाट समावेशी टोलतिर पस्नै लाग्दा सुवेदीलाई  मोटरसाइकलमा आएका एक युवाले जिज्ञासा राखे । ‘तपाईंले जित्नुभयो भने हाम्रो लागि के के गर्नुहुन्छ ?  सुवेदीले आफ्नो प्रतिबद्धता पत्र थमाउँदै भने– ‘जित हार जे पनि हुन सक्छ । अहिले यो–यो गर्छु भन्दै आश्वासनभन्दा पनि वाम गठबन्धनको घोषणापत्रअनुसार काम गर्छु ।’ 

शान्तिटोलबाट पूर्वतिर लागेको प्रचार टोलीको भेट एक वृद्धसँग भयो । वृद्धलाई एक प्रचार सदस्यलाई सुवेदीका विषयमा जानकारी गराए । प्रदेश सभाका प्रत्यासी योगेन्द्र सङ्ग्रौलाले आफ्नोबारे बताए । वृद्धले मतको आश्वासन देखाए । प्रचार टोलीका एक सदस्य भूपू आर्मी रहेछन् । फुर्तिलो स्वरमा ती सहभागीले स्थानीयसँग मत माग्दै हिँडेका थिए । 

प्रचारका क्रममा टोली गैरीगाउँ पुग्यो । सहर बन्नका लागि अभ्यासरत उक्त स्थानमा तीव्र गतिमा घरहरू निर्माण भइरहेका छन् । गाईपालन, खेतीकिसानीको कार्य केही अंश गैरीगाउँमा जारी छ । 

घर निर्माणमा खटिरहेका मजदुरहरू खाना खाई सुस्ताइरहेको स्थानमा प्रचार टोली पुग्यो । प्रचार टोलीका एक सदस्यले मजदुरतर्फ फर्कंदै भने ‘मजदुर साथीहरू, क्रान्तिकारी अभिवादनसहित लाल सलाम’ भन्दा मजदुरहरूले पनि लालसलाम फर्काए । 

तारकेश्वर नगरपालिकाको ८ नम्बर वडाको घरदैलो प्रचार एक दिनमै सक्ने गरी निस्केको टोलीमा पुरुषभन्दा महिला सङ्ख्या बढी थियो । महिलाहरू वामपन्थीका पक्षमा बजाइएको गीतमा बेला बेला कम्मर मर्काउँथे । चुनाव प्रचारका लागि बनाइएका गीतहरू वाम गठबन्धनका गुणगानले भरिएका थिए ।  गीतको बोल थियो– ‘वाम एकै ठाम, काङ्ग्रेसलाई भाछ कता जाम’ । 

स्थानीय कार्यकर्ताको बाक्लो उपस्थिति रहेको प्रचार टोली निमार्णाधीन घर भएको स्थानमा पुग्यो । घरधनीले सुवेदीलाई आफ्नो घरमा १८ मत रहेको जानकारी गराउँदै मत तपाईं नै भन्दै ढुक्क बनाए । गैरीगाउँको घरदैलो सक्ने क्रममा रहेको टोली एक वृद्ध महिला भएको घरमा पुग्यो । भाडा माझ्दै गरेकी वृद्धसँग एक सदस्यले मत माग्दै भने ‘आमा अब वृद्ध भत्ता पाँच हजार पुर्याउने हो । भत्ता त पाउनुभएको छ नि ? वृद्धाले पाइरहेको जनाउ दिइन् । 

सुवेदीको प्रचार टोलीका सदस्यहरू बढी सक्रिय थिए । प्रदेश सभाका प्रत्यासी सङ्ग्रौला  मतदातासँग परिचय गर्न अघि बढिहाल्थे । प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुवेदी मतदातासँग कम बोले । सुवेदीले नमस्ते गर्दै मत माग्दा उनकोे परिचय भने प्रचार सदस्यले गराएका थिए ।

 बिहानी सत्रको प्रचार सकेर टोली खानाका लागि अघि बढ्यो । सुवेदीका प्रचारप्रचार संयोजक हिमाल शर्मा भने प्रचारको व्यवस्थापनमा लागिरहेका थिए । 

शुभेच्छुकको सहयोगले प्रचार खर्च चलेको छ– सुवेदी (अन्तर्वार्ता)
 

घरदैलो प्रचारमा व्यस्त हुनुहुन्छ । तपाईंको आफ्नो पुरानो साख फर्कने अवस्था आयो ?
घरदैलोमा जाँदा मतदाताले एकदम स्वागत गरिरहनुभएको छ । दुवै पार्टीका नेता, कार्यकर्ता र शुभेच्छुकहरू उत्साहपूर्वक घरदैलोमा हुनुहुन्छ । यसबाट के स्पष्ट हुन्छ भने जनताले वाम गठबन्धनलाई मन पराइरहेका छन् । निकट भविष्यमा पार्टी एकता हुने गरी जुन गठबन्धन बनेको छ यसलाई जनताले स्वागत गरेका छन् । सुरुका दिनमा ३० वटा कोण सभा गरेँ । हालका दिनहरूमा बिहानदेखि साँझसम्म घरदैलोमा छु । भेटघाट पनि गरिरहेको छु । म त जनताहरूबाट बडो उत्साहपूर्ण अवस्था देख्छु । 

वाम गठबन्धनले गर्दा तपाईंको पक्षमा नतिजा आउने आँकलन गर्नुभएको हो ? 
एमालेले स्थानीय निर्वाचनमा सवैभन्दा बढी स्थान जितेको सत्य त हो नि । माओवादी केन्द्रले पनि राम्रो नतिजा ल्याएको हो । यहाँका केही स्थानलाई हेर्दा पनि हारेको अवस्थामा एमालेको मतान्तर कम छ । माओवादीको मत पनि यस क्षेत्रमा तुलनात्मक राम्रो छ । यसबाट बुझ्न सकिने के भने दुई दल मिलेपछि पहिलो दल बन्छ । यस क्षेत्रमा परेका अधिकांश वडामा दुई दलको अवस्था बलियो छ ।

२०७० को मतको विश्लेषणभन्दा पनि दुई दल एक ठाउँमा आइसकेपछि मतदातामा मनोवैज्ञानिक असर अर्कै परेको छ । हिजोको समयका मतभन्दा पनि बढी मत आउँछ । 

दैनिक रूपमा मतदातासँग प्रत्यक्ष भेटमा हुनुहुन्छ । मतदाताका समस्या वा गुनासा केके रहेछन् ? 
यहाँ समस्याहरू धेरै छन् । जनताका केही गम्भीर समस्याहरू छन् । २०७२ वैशाखमा भूकम्पले विनास गर्यौ । जनताको अवस्था अझै दयनीय छ । सरकारले बजेट दिने भनेर घोषणा गर्छ अनि योजना बनाइन्छ तर हामीले पाइराखेका छैनौँ भन्ने छ । किस्ताबन्दीमा भूकम्प पीडितलाई रकम दिएर हुँदैन भनी माग गरेका छ । सरकारले दिने तीन लाख एकमुष्ट रूपमा पाउनुपर्ने माग छ । थप तीन लाख राज्यले विना धितो दिनुपर्छ भनिराखेका छन् । मुख्य समस्या पुनर्निर्माणको रहेको  छ । 

रिङरोडबाहिर मुख्य समस्या खाने पानीको छ । रिङरोडभित्र पनि समस्या नभएको होइन । त्यहाँ मेलम्ची विकल्प छ ।  जनता आशावादी छन् । बाहिरलाई अहिलेसम्म योजना बनेको छैन । शिवपुरीमा पानी छ । ल्याउनपर्छ भनिरहनुभएको छ । पानीको व्यवस्थापन नहँुदा पानीको अभाव भएको छ । बाटोको विषय त सबैलाई जानकारी भएको विषय हो । ढल, खेलकुद मैदानको समस्या पनि छ । कर्मचारीका लागि बिदामा भेट हुने मिलन केन्द्रको कुरा उठेको छ । ज्येष्ठ नागरिकहरू राज्यका तर्फबाट स्याहार केन्द्रको कुरा गर्नुभएको छ ।

पर्यटन विकासका लागि ध्यान दिनुपर्ने विषयहरू छन् । नेवार समुदायका मतदाताका पुग्दा पहिचानसहितको सङ्घीयतामा जोडदिनु भन्ने छ । 

तपाईंले जित्नुभयो भने यहाँका जनताका लागि गर्ने कार्यहरू के–के छन् ? 
पहिलो कुरा वाम गठबन्धनका दुई शीर्ष नेताले जनतामा अपिल गर्नुभएको छ । बहुमतको सरकारका लागि मत दिनुस् भन्दै अपिल गर्नुभएको छ । सबैभन्दा ठूलो समस्या गरिबी र बेरोजगारी हो । स्थिर सरकारको बन्ने अवस्था आयो भने गरिबी उन्मूलन गर्ने प्रतिबद्धता गर्नुभएको छ । प्रतिव्यक्ति आय बढाउने कुरा छ । 
सडक, खाने पानीको व्यवस्था, शिक्षा, स्वास्थ्य तथा रोजगारीको ग्यारेन्टी नगरेसम्म देश समाजवाद उन्मुख हुन सक्दैन । अब पुरानो तरिकाले सोचेर हुँदैन । दुनियाँमा असम्भव केही छैन । वामपन्थी र देशभक्तहरूको सरकार बन्यो भने धेरै समस्या निराकरण हुन्छन् ।

राजधानीमै तीन पटक उम्मेदवार बन्नुभयो, २०६४ को तुलनामा ०७४ मा चुनावी खर्च अवश्य बढेको होला । कसरी व्यवस्थापन गर्नुभएको छ ? 

खर्च बढेको छ तर मैले यहाँ ६ नम्बर क्षेत्रमा खट्ने नेता, कार्यकर्तालाई मसँग पैसा छैन भन्दै आएको छु । यो उदाहरण पनि हो– मकहाँ ५ जना भेट्न आउँछन् । कसैले २० हजार, कसैले ३० हजार गरी सहयोग गर्छन् । कार्यकर्ता र शुभेच्छुकको सहयोगबाट खर्च चलाएको छु । मैले कसैसँग पैसा मागेको पनि छैन । म आफैँ पैसा नभएको व्यक्तिसँग अरूले पैसा माग्ने अवस्था छैन । सामान्य खाना खाएर प्रचारमा जुटेका छौं । 

स्थानीय तहको अङ्कगणित 
काठामाडौँ क्षेत्र नम्बर ६ मा काठमाडौँ महानगरपालिका, टोखा र तारेकेश्वर नगरपालिकाका वडाहरू छुट्याएर बनाइएको छ । काठमाडौँ महानगरपालिकाको २६, २७ र २८ यस क्षेत्रमा पर्छन् । टोखा नगरपालिकाका १, ८, ९, १० र ११ वडाहरू परेका छन् । त्यस्तै तारेकेश्वर नगरपालिकाका १, २, ६, ७, ८, ९, १० र ११ नम्बर वडाहरू पनि यसै क्षेत्रमा राखिएको छ । महानगर र दुई नगरपालिकाका गरी १६ वडाहरू यस क्षेत्रमा मिलाइएको छ । १६ वडामा मध्य ११ वडमा एमालेका वडा अध्यक्ष विजयी भएका छन् भने  पाँच वडामा काङ्ग्रेसले जित निकालेको छ । 

स्थानीय तहको निर्वाचनको आधारमा एमाले काठमाडौँ ६ मा पहिलो दल बनेको छ । एमालेले गत स्थानीय तहको निर्वाचनमा १४ हजार ३०७ मत ल्याएर पहिलो शक्ति बनेको छ भने काङ्ग्रेसले १२ हजार ६३३ मत प्राप्त गरेको थियो । माओवादी केन्द्रले प्राप्त गरेको ४ हजार ३६६ सहित वाम गठबन्धनको पक्षमा १८ हजार ६७३ मत हुन्छ । स्थानीय तहको मत परिणामअनुसार  नेपाली काङ्ग्रेस वाम गठबन्धन भन्दा ६ हजार ४० मतले पछि परेको छ । 

बहालबाला रक्षामन्त्रीसमेत रहेका नेपाली काङ्ग्रेसका  भीमसेनदास प्रधानले गत निर्वाचनमा यस क्षेत्रबाट जित निकालेका थिए । प्रधान यसपटक पनि सोही स्थानका प्रतिस्पर्धी बनेका छन् । दोस्रो संविधान सभाको समय प्रधानले एमाले नेता योगेश भट्टराईलाई हराएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप