आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

राहत बाँड्ने मुख्यमन्त्रीदेखि बालेनबारे बोल्ने स्थापितसम्मलाई स्पष्टीकरण माग

बिहीबार, २२ वैशाख २०७९, २२ : ०१
बिहीबार, २२ वैशाख २०७९

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई निर्वाचन आयोगले लिखित जवाफ पेस गर्न आदेश दिएको छ । मुख्यमन्त्री भट्टले कैलाली जिल्लाको कैलारी गाउँपालिका वडा नम्बर ७ विपद्पुरका अग्नि पीडित मुक्त कमैया बस्तीको स्थलगत निरीक्षणका क्रममा पीडित परिवारलाई तत्कालका लागि प्रति परिवार ५० हजार रुपैयाँका दरले राहत दिने प्रक्रिया अगाडि बढेको भन्ने अभिव्यक्ति दिएकाले निर्वाचन आचारसंहिता २०७८ को व्यवस्था बमोजिम २४ घण्टाभित्र लिखित जवाफ पेस गर्न अनुरोध गरेको हो । 

त्यस्तै अन्य विभिन्न पार्टीका नेता तथा स्थानीय तह सदस्यका उम्मेदवारहरूलाई आचारसंहिता उल्लङ्घन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण दिन आदेश दिएको छ । निर्वाचन पर्यवेक्षण समिति नेपालका अध्यक्ष प्रदीप पोखरेललाई निर्वाचन आचारसंहिता २०७८ प्रतिकूल हुने गरी अभिव्यक्ति दिएकोले २४ घण्टाभित्र लिखित स्पष्टीकरण दिन आयोगले निर्देशन दिएको छ । पोखरेलले निर्वाचन आयोग, माननीय आयुक्तहरू, आयोगबाट जारी भएका निर्वाचन आचारसंहिता २०७८ र म्यादी प्रहरीलाई लाञ्छना लगाउने अभिव्यक्ति दिएका थिए ।

रौतहट जिल्ला दुर्गा भगवती गाउँ पालिका वडा नम्बर ५ का अध्यक्ष धर्मानन्द चौधरीले निर्वाचन आचारसंहिता २०७८ विपरित मतदातालाई प्रभाव पार्ने गरी गतिविधि गरेकोले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनिएको छ । उम्मेदवार चौधरीले एक महिलालाई २ हजार नगद दिएको तथा अर्को मानिसलाई पाइप दिएकोसमेत ब्यहोराको निवेदन आयोगलाई वैशाख २० गते प्राप्त भएको थियो ।

नेपाल कम्युनिस्ट पार्टी एकीकृत मार्क्सवाद, लेनिनवादको तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुख पदको उम्मेदवार केशव स्थापितले सोही महानगरमा प्रतिस्पर्धी उम्मेदवार रहेको बालेन साहको विषयमा दिएको अभिव्यक्ति निर्वाचन आचारसंहिता २०७८ अनुकूल नभएकोले सो विषयमा आधार कारणसहित २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देशन दिएको छ ।

यता, सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष पदमा उम्मेदवार अमृत खनालले मतदाताको पाउमा हजार रुपैयाँको नोट राखेर भोट माग्दै गरेको तस्बिर सामाजिक सञ्जाल, विभिन्न सञ्चारमाध्यममा समाचार आएकोले निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारबाही नगर्ने हो ? २४ घण्टाभित्र आधार प्रमाणसहित पेस गर्न आयोगले निर्देशन जारी गरेको छ ।

बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी मोक्तान स्थानीय तह निर्वाचनमा उम्मेदवारको प्रचारप्रसारमा निरन्तर खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारीमा आएकोले सो कार्य निर्वाचन आचारसंहिता २०७८ विपरीत भएको देखिएकोले २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न आयोगले आदेश दिएको छ ।

त्यस्तै रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका नगरप्रमुख वासुदेव घिमिरेले नेपाल कम्युनिस्ट पार्टी एमालेको उम्मेदवारको प्रचारप्रसारमा खटिएको भन्ने फोटोसहितको समाचार विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालबाट जानकारी हुन आएकोले आयोगले निर्वाचन आचारसंहिता २०७८ विपरीत कार्य के कति कारणले गर्नुभएको हो भनी २४ घण्टाभित्र आधार प्रमाणसहित स्पष्टीकरण दिन भनेको छ ।
निर्वाचन आयोगबाट हालसम्म निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने ३७ व्यक्ति तथा राजनीतिक दलहरूलाई स्पष्टीकरण सोधेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप