शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं ३ः यस्तो छ अम्बिकाको प्रचारशैली (अन्तर्वार्तासहित)

सोमबार, १८ मङ्सिर २०७४, १० : ५०
सोमबार, १८ मङ्सिर २०७४

काठमाडौं क्षेत्र नम्बर ३ , आसन्न प्रतिनिधी सभा सदस्यको निर्वाचनमा दुई विषयले चर्चामा छ । पहिलो – नेपाली कांग्रेसका तर्फबाट महिला उम्मेदवार अम्बिका बस्नेत प्रत्यासी । दोश्रो –नेकपा एमालेलाई स्थानीय चुनावमा काठमाडौं जिल्लामा पहिलो दल बनाएका कृष्ण राई त्यसै क्षेत्रका प्रतिस्पर्धी ।

 बौद्ध स्तुपाबाट दक्षिणतिर  ५ मिनेट हिडेपछि अरुणीमा स्कुलमा पुगिन्छ । गत बुधबार १० बजे स्कुल क्षेत्रमा पुग्दा स्कुलको ठिक पश्चिममा विवेकशील साझाको चुनावी प्रचारको ठुलो साईजको होर्डिङ बोर्ड देखियो । विबेकशील साझाको बोर्डको ठीक मुनि नेपाली कांग्रेसको झण्डा बोकेर  प्रचारमा निस्केको  टोली छरिएर रहेका थिए । 

तितरवितर रहेका नेपाली कांग्रेसका प्रचारकहरु पुर्व लागेपछि चोकमा एकत्रित भए । प्रचारका लागि दलबल सहित जुटेकी काठमाडौं ३ की उम्मेदवार अम्विका वस्नेतले प्रचार टोलीको नेतृत्व गर्दै भित्री सडकमा छिरिन् । अलिकति भित्री बाटो छिचोलेपछि एक प्रचारकले भनिन् ‘ गायिका कुन्ति मोक्तानको घरमा पसौं ।’ सयौंको संख्यामा रहेको प्रचार टोलीले उनको कुरा सुनेको नसुन्यै गरि अघि बढ्यो । 

बस्नेतको प्रचार टोली विजयी भावमा थियो । पञ्चेवाजाको साथमा प्रचारमा निस्केकी बस्नेतलाई ६ बाद्यबादकको सहयोग थियो । पञ्चेबाजाका लागि खटिएका १२ बर्षे एक बालकले दैनिक एक हजार पारिश्रमिक पाउने गरि पाँच दिनको लागि आएको बताए । ‘ठुलाहरुलाई बढी होला । मलाई एक हजार हो ’ उनले भने । पञ्चेबाजाको साथमा बढेको टोली भर्खर कालोपत्रे सकिएको  पाटीटार क्षेत्रमा पुग्यो । 

शारीरिक मोटाइका कारण बस्नेतलाई घरदैलोमा निस्कन असहज भएको सहजै अनुमान गर्ने अवस्था थियो । अलिकति हिडेपछि कहिं कुर्चि देखे उनि थ्याच्च बस्ने बानी थियो । प्रचार टोली अधिकांश मतदाताका घरमा प्रवेश नगरि बाटो छोट्याउने प्रयत्नमा थियो । पाटीटारमा भित्री सडकमा हिडिरहँदा माथिल्लो तलामा देखिएका मतदातालाई बस्नेतले ‘हामी भोट माग्न आयौं है ’ भन्दै अघि बढिन् । पाटिटारमा प्रचारकै क्रममा एक मतदाताले तिन तलाबाट ओर्लिन र भनिन् ‘ सबै नेपालीको लागि विकास चाहियो । एक दुई जना मात्रै मोटाए । ’ बस्नेत मुस्कुराउँदै हस भन्दै निस्किन् ।

लाउडस्पिकरमा ‘कम्युनिष्ट सर्वसत्ताका विरुद्धमा’ नेपाली कांग्रेसकी नेतृलाई मत दिऔं भन्दै आवाज घन्काइएको थियो । प्रचारित नारा अधिकांश बामगठबन्धनका विरुद्धमा थियो । राणा शासन, पञ्चायती व्यवस्था र राजतन्त्रको अन्त्य नेपाली कांग्रेस मार्फत मात्रै सम्भव भएको एक्लो जस लिने प्रचार सामग्रीको प्रयत्न थियो । दलबल सहितको प्रचार टोली पाटीटारको स्थानीय चोकमा पुग्यो ।

चोकमा रहेको मार्टमा उम्मेदवारलाई जुस खुवाइयो भने प्रचार टोलीलाई पानीको व्यवस्था गरियो । त्यहाँ केहि समय प्रचार टोलीले शक्ति प्रर्दशन गरे । प्रचारमा क्रममा मतदाताहरुसँग दोहोरो संवाद विरलै भएको थियो । नेपाली कांग्रेसमा कटिवद्ध कार्यकर्ता हुलबाट अघि बढि आफ्नो घरमा उम्मेदवारलाई स्वागतको चाजोपाजो मिलाँउथे । माला खादाको साथमा फलफूलले उम्मेदवारलाई स्वागत गरिएको थियो । प्रचार टोलीबाट अघि बढेका एक नेपाली कांग्रेसका शुभेच्छुकले रुद्राक्षको माला लगाईदिए । कतिपय मतदाताले अबिर,मालाको साथमा दहिले स्वागत गरेका थिए  ।

प्रदेश सभा ‘क’ का उम्मेदवार छिरिङ दोर्जे लामासँगै प्रचारमा जोडतोडले लागेकी बस्नेतलाई भगवान भरोसा पनि रहेछ । प्रचार गर्दैगर्दा स्थानीय रुद्रश्वर महादेवको मन्दिर प्रवेश गरिन् । मन्दिरको दाहिने परिक्रमा पछि महादेवलाई ढोगिन् ।

पाटिटार नयाँबस्तीबाट प्रचार टोली उत्तरतिर लाग्यो । रुद्रश्वर मन्दिरबाट केहि उत्तरमा एक जना नेपाली कांग्रेसकी कटिवद्ध वृद्धा रहिछन् । उम्मेदवारलाई फूललमाला लगाइदिईन । प्रचार टोलीलाई मकै,स्याउ र केरा खुवाइन् । ति वृद्धाले केहिबेर भाषण गरिन् । ‘कम्युनिष्ट हामीहरुलाई मन पर्दैन । पहिले पनि कांग्रेसलाई भोट दिएको हो । अब पनि कांग्रेसलाई दिने हो । हामीलाई कांग्रेस नै चाहिन्छ ।’ सहभागीहरुले ताली बजाए । 

विहानी प्रचार सक्ने तरखरमा रहेको प्रचार टोली अलि अघि बढेको थियो । बोरा बोकेर काममा लागिरहेका एक वृद्धाले भनिन् ‘ अहिले भन्न त भन्छन् । पछि केहि गर्ने होइन । ’ स्कुटीमा प्रचारमा निस्केका एक युवाले भने ‘आमा अब नेपाली कांग्रेसले विकास गर्छ । मुटु र मृगौलाको निशुल्क उपचार हुन्छ ।’ त्यति नै बेला अर्का युवाले बामगठबन्धन प्रति व्यङ्य गर्दै भने ‘कपाल फुलेको देख्यो कि वृद्ध भत्ता पाँच हजार भन्दै मत मागेका छन् ।’

तिन सयको हारहारीमा रहेका प्रचार टोलीमा खाने समयमामा अरु पनि थपिए । प्रचारको समयमा नदेखिएका केहि नयाँ अनुहार खाने समयमा आइपुगेका थिए । बौद्धको नाम चलेका व्याङ्केटहरु मध्य रहेको सुविधायुक्त एक व्याङ्केटमा खानाको व्यवस्था गरिएको थियो ।

हामीले जित्ने सुनिश्चित छ – अम्बिका बस्नेत (अन्तर्वार्ता)
काठमाडौं ३ नम्बर क्षेत्रमा स्थानीय तहको मत हेर्दा नेपाली कांग्रेस पहिलो स्थानमा रहेछ । तपाई अहिले घरदैलो प्रचारमा व्यस्त हुनुहुन्छ । तपाईको अवस्था कस्तो पाउनु भयो? 

–एकदम राम्रो । यत्रो वेभ आइहेको छ । यतिका साथीहरु खटिरहनुभएको छ । मतदाताहरु उत्साहित हुनुहुन्छ । राम्रो संकेत छ ।

चुनावी प्रचारमा भेटिएका उम्मेदवारहरुले जित्छु भन्ने धेरै हुन्छन् । जित्नलाई आधार हुनुपर्यो । तपाइले जित्ने आधारहरु के के हुन्?
–जनताले भोट दिनुहुन्छ मैले जित्छु । मलाई किन भोट दिनुपर्छ भन्दा नेपाली कांग्रेस लोकतन्त्रको लागि सधैं लडेको पार्टी हो । लोकतन्त्रलाई अझ सम्वद्र्धन गर्न ,देशलाई स्थायीत्व दिन,लोकतन्त्रलाई अझ मजवुत बनाउनका लागि नेपाली कांग्रेसको आवश्यकता छ ।

संविधान कार्यान्वयन गर्नका लागि नेपाली कांग्रेसलाई अत्यधिक बहुमतले विजयी बनाउनुपर्छ । अर्को कुरा नेपाली कांग्रेसको बहुमत आएपछि मात्रै संविधान कार्यान्वयन हुन्छ । संविधान कार्यान्वयन भईसकेपछि महिला,दलित,आदिवासी सबैका हकअधिकार सुनिश्चीत हुन्छन् ।संविधानमा लिपीबद्ध गरिएका विषयहरुलाई कार्यान्वयन गर्नका लागि नेपाली कांग्रेसले अत्यधिक बहुमत ल्याउनुपर्दछ । यो कुरा जनताले राम्रोसँग बुझेको छ ।

अबको चरण भनेको आर्थिक समृद्धिको बाटोमा जाने बेला हो । जब यहाँ लोकतन्त्र संस्थागत हुन्छ ,लोकतन्त्रमा स्थायीत्व आउँछ तब मात्र आर्थीक समृद्धिको बाटोमा अघि बढ्न सकिन्छ । युबाहरु विदेश पलायन अहिलेको मुख्य समस्या छ । रोजगारी सिर्जना गर्नु छ । 

चुनावी प्रचारमा जोडतोडले लाग्नुभएको छ । जनतासँग प्रत्यक्ष भेट्दा गुनासाहरु सुनिन्छन् । जनताका समस्या के के रहेछन् ?
बाटोको समस्या मुख्य रहेको छ । बाटोको दुरावस्था छ । खानेपानी,फोहोर मैला, रोजगारी र ढलको समस्या छ । यो  क्षेत्र पर्यटकीय रुपमा विकास गर्न प्रचुर सम्भावना रहेको क्षेत्र पनि हो । त्यसले हाम्रो रोजगारी पनि सिर्जना गर्छ । बौद्धनाथ यसै क्षेत्रमा रहेको तथा विश्व सम्पदा सुचीमा परेको ठाँउ पनि हो । यसलाई सुधारहरु गर्नुपर्ने छ । 

जनप्रतिनिधीसँग आम मतदाताको आशा धेरै हुन्छ । तपाई जितेर जानुभयो भने यस क्षेत्रका मतदाताले तपाईसँग के के अपेक्षा गर्ने ?
– मतदाताहरु धेरै बुभm्ने हुनुभएको छ । हिजोको जस्तो मतदाताहरु आज हुनुहुन्न । एकदम चेतनशील हुनुहुन्छ । के कुरा कतिबेला सम्भव हुन्छ ? के कुरा तत्काल गर्न सकिन्छ ? मतदाताले राम्रोसँग बुभm्नुभएको छ ।
अहिले छिटो गर्नुपर्ने बाटो हो । सडकको दुरावस्था छ ।
 

तपाईका प्रतिस्पर्धी एमालेका काठमाडौं जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँले एमालेलाई काठमाडौंमा पहिलो पार्टी बनाउनुभयो । प्रतिस्पर्धीलाई कुन रुपमा लिनुहुन्छ ?
उहाँको बारेमा कुनै कमेन्ट गर्न चाहन्न । हाम्रो क्षेत्रमा हामीले जितेका छौं । यहाँ लोकतन्त्रवादीको बाहुल्यता छ । लोकतन्त्रलाई विकास र स्थायीत्व गर्नुपर्छ । यी कुरा यो क्षेत्रका जनताले राम्रोसँग बुझ्नुभएको छ । स्थानीय चुनावमा जिताउनुभएको पनि छ । अहिले जनताका विचमा जादा अत्यन्तै राम्रो रेष्पोन्स गर्नुभएको छ । उत्साह देखिएको छ । हामीले जित्ने सुनिश्चित छ । आशांका गर्नुपर्ने अवस्था छैन ।

समयको गतिसँगै उम्मेदवारको चुनावी खर्च बढेको छ । कतिपय उम्मेदवारले चुनावी खर्च अस्वभाविक भएको कुरा पनि उठाँउनुहुन्छ । तपाईको चुनावी खर्च बारे के धारणा छ ? 
जति खर्च गरे त्यति खर्चिलो हुने हो । हामीले खर्चिलो गरेका छैनौं । हामीले तडकभडक गरेका छैनौं । मैले त त्यस्तो खर्चिलो देखेको छैन । निर्वाचन आयोगले तोके अनुसारको मापदण्डमा रहेर मेरो खर्चले भ्याँउछ । खर्च आफुमा भरपर्ने विषय हो ।

स्थानीय तहमा को बलियो?
स्थानीय तहको निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेस बलियो अवस्थामा थियो । काठमाडौं महानगरपालिकाको ६ नम्बर वडा, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाका १,२ र ३ नम्बर वडाहरु यस क्षेत्रमा परेका छन् । स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिकाको ६ नम्वर वडा ,गोकर्णेश्वर नगरपालिका र कागेश्वरी नगरपालिकाको २ नम्वर वडामा नेपाली कांग्रेस विजयी भएको थियो । 

स्थानीय तहको निर्वाचनमा यस क्षेत्रमा नेपाली कांग्रेसले १५ हजार १०७ मत ल्याएको थियो भने एमालेले १२ हजार ७७७ मत प्राप्त गरि दोश्रो स्थानमा थियो । तेश्रो स्थानमा रहेको माओवादी केन्द्रको तिन हजार ६३७ सहित वामगठबन्धनको पक्षमा १६ हजार ४१४ रहेको छ । स्थानीय तहको मतलाई आधार मानि विश्लेषण गर्दा नेपाली कांग्रेस बामगठबन्धन भन्दा एक हजार ३०७ मतले पछि परेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप