शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

समस्या देखाउने होइन, समाधान निकाल्ने सांसद चाहिएको छः गगन

सोमबार, १८ मङ्सिर २०७४, १५ : १४
सोमबार, १८ मङ्सिर २०७४

काठमाडौं–गगन थापाप्रति धेरैको यसपटक जिज्ञासा छ –विगतका निर्वाचनहरुमा देशभर सम्वोधनका लागि निस्केका थापा यसपटक किन आफ्नो क्षेत्रमा बढि खटे ? थापाका विपक्षीबाट बलियो उम्मेदवार हुनु र उनले शुरु गरेका विकास आयोजनाले अन्तिम परिणाम निकाल्न नसक्नु नै उनी आफ्नै क्षेत्रमा बढी केन्द्रित हुनुपर्ने कारण बनेको छ  । 

काठमाडौं क्षेत्र नम्बर ४ मा ०७० मा भारी मतान्तरले जित निकालेका थापाको लागि यसपटक सहज अवस्था नरहेको उनको खटाईले जनाउँछ । थापाले आफ्नो क्षेत्रमा शुरु गरेको सडक निर्माणले अन्तिम रुप पाउन सकेन । त्यसकै जगमा टेकेर विपक्षले उनको विरुद्धमा प्रचार अभियान तिव्र पारे । 

विगतको निर्वाचनमा देशव्यापी रुपमा चुनावी सभाका वक्ता बनेका थापाले यसपटक उपत्यका वाहिर चार जिल्लामा मात्रै सम्वोधन गरे । थापाले डा. बाबुराम भट्टराईलाई सहयोग गर्न गोरखाका चुनावी सभामा सम्वोधन गरेका थिए ।  गोरखा र नुवाकोटका दुई ÷दुई क्षेत्रमा थापाले सम्बोधन गरेका थिए । बागलुङ र भोजपुरका चुनावी सभामा पनि उनि सहभागी भए । 

उपत्यकामा भने थापाले काठमाडौं  १ का उम्मेदवार प्रकाशमान सिंहको चुनावी सभालाई सम्वोधन गरेका थिए । 

चुनावी प्रचारको अन्तिम दिन सोमबार  उनले काठमार्डौ ३ र ६ मा नेपाली कांग्रेसले आयोजना गर्ने सभालाई सम्वोधन गर्ने बताइएको थियो  । थापाले आफ्नो चुनावी सभाको अन्त्य सिफलमा सोमबार अपरान्ह गरिने सभा मार्फत हुने उनका सहयोगी सबिन मुडभरीले बताएका थिए  । 

थापाले आइतबार कपनमा आयोजित चुनावी सभामा मतदातालाइ सम्वोधन गरेका थिए । 

थापाले विगत एक महिनाको चुनावी प्रचार प्रसारमा केहि मिठो ,केहि तिता अनुभव संगालेको बताए । विगत एक महिनामा काठमाडौं ४ का ९० प्रतिशत मतदाताको घरमा पुगेको उनले बताए ।

 बामगठबन्धन र नेपाली कांग्रेस विच तिव्र प्रतिस्पर्धा हुने आंकलन गरिएको यस क्षेत्रमा थापाले पुरानो साख कायम राख्न हरदम प्रयास गरेका छन् । आइतबार कपनमा गरिएको चुनावी सभामा उनले राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपति शमशेर राणालाई पनि निम्त्याएका थिए । 

घरदैलोको समिक्षा गर्ने क्रममा थापाले मतदाताहरुले न्यानो माया दिएको बताए । कतिपय स्थानमा दुखेसो व्यक्त गरेको तथा माग राखेको बताए । 
अधिकतम समय घरदैलोमा निस्केका थापाले मतदाताहरुको गुनासोलाई सम्मान गरे । उनले भने ‘गुनासो र घृणा फरक हो । गुनासो गर्नुभएको छ । घृणा होइन ।’ 
चुनावी घरदैलोमा उनले देखेका, सुनेका केहि अनुभुति पनि शेयर गरे । एक जना आमाको बोली उधृत गर्दै भने ‘आउन त आईस छोरा चार वर्ष पछि ।’ भेट भए पनि नभएपनि तपाईले दिएको जिम्मेवारी पुरा गरि आएको जवाफ दिएको उनले सुनाए । अर्को अनुभव सुनाए –‘एक जना दिदीले राम्रो कुरा लेखेर आएको छस् ,मैले दिएको यो पेनले फेरि पनि राम्रो लेखेस्’ । दिदीलाई गगनको उत्तर थियो –‘बम्ह्रले सत्य देखेको मात्रै लेख्छु । मसी सकियो भने रगतले लेख्छु तर गलत लेख्दिन ।’

घरदैलोमा मतदाताहरुले संसद र मन्त्री हुँदा गरेको कार्यको प्रशंसा गरेको बताए । तर बाटो , धुलो ,पानी र ढलको समस्याहरुमा मतदाताको गुनासो रहेको उनले सुनाए । 

युवापुस्ताले बागडोर खोसेर लिनुपर्ने अवस्था आएको उनले बताए । विगतमा राजनिती जितेको भन्दै संविधान बनाउन मत मागिएको तर यसपटक देशलाई जिताउन मत मागेको उनले सुनाए । ‘बलियो जग बनेको छ हामी अब तला थप्नका लागि मत मागिरहेका छौं ।’

आफ्नो नियन्त्रण वा वश भन्दा बाहिरका विषयले चाहेजति विकास गर्न नसकिएको उनले बताए । अबको संसदमा समस्या देखाउने होइन ,समाधान निकाल्ने सांसद पाउनुहुनेछ भन्दै मतदातालाई आश्वस्त पारे । विपक्षीको प्रतिवाद गर्दै थापाले ‘सडक गगनले बनाएन’ भन्नेले किन सडकमा पानी हालेनन् भन्दै जवाफ मागे । 

विदेशमा उपचार गर्न जाने नेताहरुले सरकारी ढुकुटीको दोहन गरेको प्रति उनले कडा आपत्ति जनाए । 

स्वास्थ्यमन्त्री हुँदा सर्वसाधारण विरामीको विलौनाका घटना पनि उनले सम्झिए ।  स्वास्थ्य र शिक्षाको जिम्मेवारी सरकारले लिनुपर्ने उनले जिकीर गरे  । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप