शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

‘उत्पादन तथा उपभोग अभिवृद्धि’ दशक घोषणा

मङ्गलबार, १० जेठ २०७९, १७ : ३३
मङ्गलबार, १० जेठ २०७९

सरकारले स्वदेशी उद्योगको संरक्षण तथा प्रोत्साहन गर्न उत्पादन तथा उपभोग अभिवृद्धि दशक घोषणा गरेको छ । आज विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै उत्पादन तथा उपभोग अभिवृद्धि दशक घोषणा गरेकी हुन् ।

यसका लागि सरकारले दुईवटा नारा समेत तयार पारेको छ । सरकारले ‘नेपाली उद्योग, नेपालमै रोजगार’ र ‘आफ्नो उत्पादन, आफ्नै व्यापार’ भन्ने नारासहित उत्पादन र उपभोग दशक घोषणा गरेको हो । यसले नेपालको औद्योगिक उत्पादनमा सुधार ल्याउने र उपभोग क्षमतामा समेत सुधार आउने सरकारी आकलन छ ।

यस्तै, आगामी आर्थिक वर्षमा उद्योग मैत्री वातावरण निर्माण र आधारभूत पूर्वाधारमा सरकारी लगानी बढाएर निजी क्षेत्रलाई उत्पादनमूलक उद्योग स्थापना र सञ्चालन गर्न प्रोत्साहित गरिनेछ । उद्योगको अग्र, पृष्ट र समानान्तर सम्बन्ध भएका क्षेत्रमा थप आयआर्जन र रोजगारीका अवसर वृद्धि गरिने छ । कृषि, वन तथा खानी क्षेत्रका उत्पादनलाई औद्योगिक प्रशोधन शृङ्खलामा जोड्न आवश्यक काम गरिने छ ।

आन्तरिक उत्पादन र उत्पादकत्व वृद्धिका विशेष कार्यक्रम ल्याउँदै अघि बढ्ने नीति सरकारले लिने बताइएको छ । ऊर्जा दक्षता र नवीकरणीय ऊर्जाको उपयोगद्वार हरित अर्थतन्त्रको विकास गर्ने गरी औद्योगिक प्रबद्र्धन गरिने, औद्योगिक व्यवसायीक दक्षता विकास गर्न औद्योगिक पूर्वाधार र वातावरणसम्बन्धी मापदण्ड लागू गरिने बताइएको छ ।

यस कार्यक्रमका लागि कर तथा भन्सार महसुल छुट र निर्यात अनुदानमार्फत समयबद्ध रणनीतिक प्रवर्धन गर्नुका साथै, प्रतिस्पर्धी सिप विकास, भौतिक पूर्वाधार निर्माण, नविन प्रविधिमा पहुँच र आन्तरिकीकरण तथा प्रक्रियागत सरलीकरणलाई निरन्तरता दिइने राष्ट्रपति भण्डारीले बताइन् ।

स्वदेशी उत्पादनलाई प्रवर्धन र विस्तार गर्न निजी क्षेत्रबाट सञ्चालित मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग गरिनेछ । सार्वजनिक निकायको खरिदमा स्वदेशी वस्तुको हिस्सा बढाउँदै लगिने छ । नेपाल गुणस्तर मापदण्ड अनिवार्य गरिएका वस्तुको सघन नियमन गर्ने सरकारी योजना छ ।

नेपाली उत्पादनलाई राष्ट्रिय, स्थानीय र अन्तर्राष्ट्रिय मूल्य शृङ्खलामा जोड्न सरकारले नै सहयोग गर्ने नीति बजेटमार्फत लिइने राष्ट्रपति भण्डारीले बताइन् । विदेशी लगानी आकर्षण गर्न लगानी वातावरण सहजीकरण गर्ने नीति समेत बजेटमार्फत लिइनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप