शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अझै पाँच पालिकाको नतिजा आउन बाँकी

बुधबार, ११ जेठ २०७९, १९ : ००
बुधबार, ११ जेठ २०७९

स्थानीय तह सदस्य निर्वाचन सम्पन्न भएको १२ दिन पुगे पनि अझै ५ पालिकाको अन्तिम नतिजा सार्वजनिक हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिका, रौटहटको गरुडा र फतुवा विजयपुर नगरपालिका र उदयपुरको त्रियुगा नगरपालिकाको मतगणना भइरहेको छ । 

बाजुराको बूढीगङ्गा नगरपालिकामा अझै मतगणना सुरु हुन सकेको छैन । निर्वाचन आयोगका अनुसार काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह ४८ हजार ४३२ मतसहित अग्रस्थानमा रहेका छन् । उनको प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सिर्जना श्रेष्ठले ३० हजार ३९७ मत प्राप्त गरेका छन् ।

यस्तै उपप्रमुखमा नेकपा (एमाले) का सुनिता डङ्गोलले ५३ हजार ६४२ मत प्राप्त गर्दा नेकपा (एकीकृत समाजवादी) का रामेश्वर श्रेष्ठले १७ हजार ७५६ मत प्राप्त गरेका छन् । उदयपुरको त्रियुगा नगरपालिकाको प्रमुखमा एकीकृत समाजवादीका बलदेव चौधरी ७४४ मतसहित अग्रस्थानमा रहेका छन् ।

प्रतिद्वन्द्वी काँग्रेसका वसन्तकुमार बस्नेतले ३४४ मत प्राप्त गरेका छन् । उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) का गीता खड्का कार्कीले ८१८ मत प्राप्त गरेकी छन् भने प्रतिद्वन्द्वी काँग्रेसका सरिता राईले ३२० मत प्राप्त गरेका छन् ।

रौतहटको गरुडा नगरपालिकाको प्रमुखमा एमालेका कन्थमनी प्रसाद कलवार तीन हजार ८०७ मतका साथ अगाडि रहेका छन् । उनलाई एकीकृत समाजवादीका वृजकिशोर प्रसाद यादवले तीन हजार ४१८ मतका साथ पछ्याइरहेका छन् ।

उपप्रमुखमा काँग्रेसका पुनमकुमारी चौधरीले पाँच हजार १४८ मत प्राप्त गर्दा जनता समाजवादी पार्टी नेपालका विन्दुकुमारी देवीले तीन हजार १६४ मत प्राप्त गरेका छन् । रौतहटकै फतुवा विजयपुर नगरपालिकाको प्रमुखमा काँग्रेसका गोपाल राय यादवले चार हजार ११७ मत प्राप्त गरी अग्रता लिइरहेका छन् । एमालेका विजय यादव दुई हजार ९२२ मतका साथ पछि रहेका छन् । उपप्रमुखमा काँग्रेसका अमवेया खातुनले चार हजार २५१ मत र एमालेका कान्ती देवीले तीन हजार २७० मत प्राप्त गरेका छन् ।

सार्वजनिक भएको मत परिणामअनुसार नेपाली काँग्रेस १३८ नगरपालिका र १८८ अध्यक्षसहित ३२६ स्थानमा विजयी भएको छ । जारी मतगणनामा काँग्रेस दुई स्थानमा अगाडि छ । एमाले ८१ नगरपालिका र १२३ गाउँपालिकासहित २०४ स्थानमा विजयी भएको छ । माओवादी केन्द्र २५ नगरपालिका र ९६ गाउँपालिका गरी १२१ स्थानीय तहमा विजयी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप