ad
x
स्वास्थ्य

किन जरुरी छ पिसाब परीक्षण ?

person explore access_timeजेठ १२, २०७९ chat_bubble_outline0

पिसाब जाँच एक सर्वसुलभ परीक्षण हो । कुनै ठूलो खर्चविना गर्न सकिने यो परीक्षणको महत्त्व आम सर्वसाधारण र स्वास्थ्यकर्मीमा हुन अत्यन्त जरुरी छ । मानव शरीरमा मूत्र प्रणालीबाट निस्किने पिसाबको दैनिक मात्रा सदरदरमा ६ सय मिलि भन्दा बढी हुने गर्दछ । दैनिक खानपान, शारीरिक गतिविधिअनुसार पिसाबको मात्रा फरक हुन सक्दछ । तसर्थ सामान्य खानपानमा पनि पिसाबको मात्रा दैनिक ४ सय मिलिभन्दा कम वा २ हजार मिलिभन्दा धेरै भएमा चिकित्सकको सम्पर्कमा रहनु पर्दछ । 


दीर्घरोगीहरू जस्तै मधुमेह, उच्च रक्तचाप, मुटुका रोगीहरू, दैनिक औषधी सेवन गर्ने व्यक्तिहरूले वर्षको १ देखि २ पटक नियमित पिसाब जाँच गराउनु पर्छ । पिसाबको नियमित जाँचबाट निम्न कुराहरू पत्ता लगाउन सकिन्छ:



१) रङ्ग: सामान्यतया पिसाबको रङ्ग लेमन यलो हुन्छ । पिसाबको रङ्ग क्षयरोगको औषधीले रातो, कमलपित्तमा गाढा पहेँलो, हात्तीपाइलेमा दूधजस्तो सेतो हुन सक्छ । 



२) पिएच: सामान्य पिसाबको पिएच– ४.५ देखि ८ सम्म रहन्छ । ४.५ भन्दा मुनिको पिसाबमा अम्लीयपना ज्यादा हुन्छ र कुनै कुनै प्रकारको पत्थरी हुने सम्भावना बढ्छ । अम्लीयपना कम भएको पिसाबका केही जीवाणुको सङ्क्रमण ज्यादा हुन्छ ।



३) स्पेसिफिक ग्राभिटि: (१.००१–१.०३५) यो जाँचले पिसाबको बाक्लोपना वा पातलोपना देखाउँछ । ग्लुकोज, प्रोटिन, एन्टीबायोटिक्स आदिले पिसाबको स्पेसिफिक ग्राभिटी बढी हुन्छ भने मृगौलाको दीर्घरोगमा यो घटेको हुन्छ । 



४) सेता रक्तकोषहरू: यो प्रशस्त देखिएमा पिसाबको सङ्क्रमण वा ‘ग्लोमेरुलोने फ्राइटिस’को समस्या हुन सक्छ ।



५) राता रक्तकोषहरू: मूत्र प्रणाली (मृगौला, मुत्रनली, मुत्रथैली) मा पत्थरी वा पिसाबको सङ्क्रमण वा मुत्रथैलीमा क्यान्सर, मृगौलामा क्षयरोग आदि भएको अवस्थामा पिसाबमा राता रक्तकोषहरू देखिन सक्दछन् ।

६) प्रोटिन: ज्वरो, पिसाबको सङ्क्रमण, कठोर शारीरिक व्यायाम गर्दा मात्र पनि पिसाबमा प्रोटिन देखिन्छ । मधुमेहका बिरामीको पिसाबमा प्रोटिन देखिनु मिर्गौलामा दीर्घकालीन असर सुरु हुनुको प्रमाण हो । प्रोटिनको मात्रा पिसाबबाट धेरै खेर गएमा शरीर सुनिन थाल्छ । 

मधुमेहका रोगीमा पिसाबमा प्रोटिन (एल्बुमिन) नदेखिएमा वार्षिक रूपमा माइक्रो एल्बुमिनको परीक्षण गर्नुपर्दछ । यदि माइक्रो एल्बुमिन देखिएमा चिकित्सकले विभिन्न औषधीहरू दिएर मिर्गौलामा हुने क्षति न्यूनीकरण गर्न सक्दछन् । 

७) ग्लुकोज: रगतमा ग्लुकोजको मात्रा १८० मिलीग्राम प्रतिशतभन्दा बढी भएमा पिसाबमा सुगर देखिन्छ । जसको कारणले पिसाबमा सङ्क्रमण बढ्दछ । त्यस्ता व्यक्तिहरूमा मधुमेह छ कि भनेर रगतमा ग्लुकोज जँचाउनु पर्दछ । 

८) मणिभ: क्याल्सियम, फस्फोरस, युरिक एसिडका ‘सिस्टल्स’ प्रशस्त देखिएको पिसाबमा पत्थरी हुने सम्भावना ज्यादा हुन्छ । 

माथि उल्लेखित पिसाबको नियमित परीक्षणबाहेक केही विशेष परीक्षण पनि यहाँ उल्लेख गर्न वान्छनीय देखिन्छः

क) महिलाहरू गर्भवती भएको अवस्था पत्ता लगाउन पिसाबमा एसीजी परीक्षण गरिन्छ । कुनै कुनै यौन अंगका क्यान्सरहरूमा यो एसीजीको मात्रा अत्यधिक हुने हुँदा पुरुषहरूमा पनि पिसाबमा एसीजी परीक्षण गर्न सकिन्छ ।

ख) पिसाबमा Acetone​ देखिएका मधुमेहका बिरामीहरूलाई सघन उपचार कक्षको उपचार चाहिन सक्छ । 

ग) पिसाबमा Chyle भएमा दूधजस्तो सेतो देखिन्छ र यस्ता बिरामीहरूमा हात्तीपाइले, छाती वा पेटको क्यान्सर हुन सक्दछ ।

घ) पिसाबको Cytology​ (कोषिकाहरूको अध्ययन) बाट मुत्रथैलीको क्यान्सर, क्यान्सरको उपचारमा प्रयोग गरिने विकिरण÷औषधीहरूको असर पत्ता लगाउन सकिन्छ । 

ङ) विभिन्न लागु औषधहरू पिसाबबाट बाहिर निस्कने हुँदा लागु औषध दुव्र्यसनीहरूको Toxicology Screen ​ गर्नका लागि पिसाब परीक्षण गरिन्छ । 

च) भूकम्प, सडक दुर्घटना, लगातारको पौडी खेल, लामो दुरीको हिँडाइमा शरीरको मांसपेशी पग्लेर पिसाबमा Myoglobin​ देखिन्छ । 

छ) रक्तनलीभित्र राता रक्तकोषहरू फुट्ने रोगहरू जस्तै मलेरियामा, पिसाबममा हेमोग्लोबिन देखिन्छ ।

लेखक वरिष्ठ  कन्सल्टेन्ट फिजिसियन तथा भरतपुर अस्पतालका प्रवक्ता हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।