शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

नरदेवी अस्पतालका निर्देशकको तजबिजमा ‘प्रोत्साहन भत्ता’ वितरण

बुधबार, ०८ असार २०७९, १५ : ५७
बुधबार, ०८ असार २०७९

आयुर्वेद चिकित्सालय (अस्पताल) नरदेवीका निर्देशक डा.प्रदीप केसीले आफ्नै तजबिजमा प्रोत्साहन भत्ता वितरण गर्दै आएको पाइएको छ । निःशुल्क उपचार व्यवस्था भनिएको अस्पतालमा विभिन्न शीर्षकमा बिरामीसँग शुल्क असुल्दै निर्देशक केसीले आफू निकट कर्मचारीलाई प्रोत्साहन भत्ताको नाममा रकम बाँडेको पाइएको हो ।

प्रोत्साहन भत्ता वितरण गर्ने कुनै प्रावधान सो अस्पतालले नबनाए पनि करिब एक वर्षदेखि यसरी रकम वितरण हुँदै आएको कर्मचारीहरु बताउँछन् । २०७८ भदौ २९ गतेदेखि हालसम्म ६ पटक त्यस्तो रकम वितरण भइसकेको छ ।

अस्पतालले जेठ ६ गते १०१ जना कर्मचारीलाई प्रोत्साहन भत्ताबापत १२ लाख १५ हजार ५०० रुपैयाँ वितरण गरेको विवरण रातोपाटीले प्राप्त गरेको छ । प्रोत्साहन भत्ता पाउनेलाई उनीहरुको खातामै रकम पठाइएको छ ।

यसरी रकम वितरण गर्ने कुनै मापदण्ड, कानुन वा नियमावली अस्पतालमा छैन । यसका बाबजुद निर्देशक केसीले ३९ हजार १०० रुपैयाँ प्रोत्साहन भत्ताबापत आफैले लिएका छन् । प्रोत्साहन भत्ता सबैभन्दा बढी पाउनेमा अकुपञ्चर तथा मर्म चिकित्सा विभागका विभागीय प्रमुख एवं वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ डा.काशी खतिवडा र अर्का वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ डा.जया सत्याल हुन् । उनीहरुले ५८ हजार २२५ रुपैयाँ भत्ता प्राप्त गरेका छन् । डा.सत्याल निर्देशक केसीकी श्रीमती हुन् ।

यसरी सरकारी रकम प्रोत्साहन भत्ताको रुपमा वितरण गर्न मिल्छ त भन्ने रातोपाटीको प्रश्नमा निर्देशक केसीले भने, ‘यो सरकारी रकम होइन, यो रकम हामीले कमाएका हौं र जसले जति काम गरेका छन्, त्यसको आधारमा बाँडेर लिएका हौं ।’

प्रोत्साहन भत्ता वितरण गर्ने कुनै नियम तथा मापदण्ड नभए पनि खटिने डाक्टर तथा कर्मचारीले अलिअलि बाँडेर लिएको उनले बताए । सो अस्पतालमा कार्यरत थुप्रै वरिष्ठ चिकित्सक तथा कर्मचारीले भने प्रोत्साहन भत्ता पाएका छैनन् । डा. केसीका अनुसार जसले जति काम गरेका छन्, त्यस आधारमा प्रोत्साहन भत्ता दिइएको हो, काम नगरेकालाई प्रोत्साहन भत्ता दिइएको छैन ।

अस्पतालका लेखा अधिकृत हरेराम पुडासैनीका अनुसार अस्पतालबाट उठ्ने विभिन्न शुल्कको जम्मा रकममध्ये ५० प्रतिशत नरदेवी आयुर्वेद विकास समितिमा जम्मा हुन्छ । बाँकी ५० प्रतिशत रकमलाई १०० प्रतिशत कामय गरी त्यसमध्ये सम्बन्धित शाखा (जुन शाखामा रकम उठेको हुन्छ) प्रमुखको सिफारिसमा ७० प्रतिशत सोही शाखाका कर्मचारीलाई वितरण गरिने र बाँकी ३० प्रतिशत रकम अन्य शाखाका कर्मचारीलाई वितरण गर्ने मापदण्ड बनाइएको उनले बताए ।

यो मापदण्ड नरदेवी आयुर्वेद अस्पतालको कुनै नियमावली वा नियम कानुनमा उल्लेख भने छैन । लेखा अधिकृत पुडासैनीका अनुसार यस्तो मापदण्ड अस्पतालले नै बनाएको हो । उनले भने, ‘मापदण्ड अस्पतालले नै बनाएको हो, अरु कुरा मलाई थाहा छैन । अरु थप जानकारी लिनु छ भने यहाँ आएर सम्बन्धित व्यक्तिलाई भेटेर लिनु होला ।’

विभागीय प्रमुख एवं वरिष्ठ कन्सल्टेन्ट आयुर्वेद विज्ञ डा.काशी खतिवडा र अर्का वरिष्ठ कन्सलटेन्ट आयुर्वेद विज्ञ डा.जया सत्यालले सर्वाधिक प्रोत्साहन भत्ता पाउँदा अन्य चारजना वरिष्ठ चिकित्सक तथा कर्मचारीले भने निकै न्यून भत्ता पाएका छन् । सो अस्पतालको पटक पटक निर्देशकसमेत भइसकेका डा.रामदेव यादवले नौ हजार ३५० रुपैयाँ, डा.रामकामेश्वर ठाकुरले १४ हजार ४५०, डा.शोभाराम सुवेदीले २८ हजार ९०० सय र डा.बुद्धिप्रसाद पौडेलले २६ हजार ७७५ रुपैयाँमात्र प्रोत्साहन भत्ता पाएका छन् । जबकि डा.खतिवडा र डा.सत्यालभन्दा यी चारै जना सिनियर हुन् ।

डा.यादवले आफूलाई भत्ताको बारेमा केही थाहा नभएको प्रतिक्रिया दिए । आफूलाई थाहा नभएको विषयमा बोल्न उचित नहुने उनको भनाइ थियो ।

डा.पौडेलले बैंक खातामा रकम आएको तर यस्तो रकम किन र कसरी आयो भन्नेबारे आफूलाई थाहा नभएको बताए । उनले भने, ‘यो कुरा अस्पतालको प्रशासनलाई सोध्नुपर्छ ।’ प्रोत्साहन भत्ताको कुरा आफूले सुनेको तर किन र केका लागि दिइरहेको छ भन्ने आफूलाई थाहा नभएको उनले बताए ।

रातोपाटीलाई प्राप्त विवरण अनुसार नरदेवी अस्पतालमा कार्यरत ११७ जना कर्मचारीमध्ये १९ जनाले यस्तो भत्ता पाएका छैनन् । केही महिनामै अवकाश पाउन लागेका डा.छत्रपति दाहाल प्रोत्साहन भत्ताबाट वञ्चित भएका छन् । ‘मलाई किन दिइएन थाह भएन, नदिँदा पनि मलाई कुनै गुनासो छैन,’ उनले भने, ‘अब म दुई महिनापछि अवकाश पाउँदैछु, जाने बेलामा किन चित्त दुखाउनु ?’

अस्पतालको ल्याबमा कार्यरत निशा गिरी, रेडियोलोजिष्ट प्रजित कुमार श्रेष्ठ, कविराज समिर पोखरेलले पनि भत्ता पाएका छैनन् । उनीहरु पनि कस्तो भत्ता वितरण भइरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताउँछन् । तर, काज सरुवा भएर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा गएका डा.महारुद्र कुमार ठाकुरले समेत प्रोत्साहन भत्ता प्राप्त गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप