वाक् स्वतन्त्रता र वाक् मर्यादा एक सिक्काका दुई पाटा

person explore access_timeअसार ९, २०७९ chat_bubble_outline0

वाक् स्वतन्त्रतालाई लोकतन्त्रको प्राणवायु मानिन्छ । स्वतन्त्रताको महत्त्व त्यसको उपयोग गर्न नपाएका मानिसले व्यक्त गर्ने पीडामा भेटिन्छ । मेरो कलम नभाँच, मेरो बोल्ने मुख नथुन, मेरो हात गोडामा नेल नठोक भन्ने बीपी कोइरालाका समकालीन सबै कम्युनिस्ट, काँग्रेस र २०४६ सम्मको स्थिति बेहोर्ने आम मान्छेलाई थाहा छ, स्वतन्त्रताको वास्तविक अर्थ । 


उत्तरको छिमेकी मुलुक चीन, उत्तर कोरिया, लाओस, भियतनाम, क्युबा जस्ता कम्युनिस्ट शासन चलेका मुलुकका जनता र तिनको उकुसमुकुस र छटपटीमा वाक् स्वतन्त्रताको तिर्खा व्यापक छ । हाम्रै छिमेकी मुलुक भुटानमा पनि राजनीतिक स्वतन्त्रताको हक कुण्ठित छ । त्यसको पीडा एक लाखभन्दा बढी भुटानी शरणार्थीलाई आश्रय दिँदा हामीलाई थाहा भएकै कुरा हो, प्रजातन्त्रको मौलिक हक हो स्वतन्त्रता । 



नेपालमा २००७,  २०३६, २०४६, २०५२, २०६२÷०६३ लगायत थुप्रै आन्दोलन भएका छन् । यस क्रममा सशस्त्र, निःशस्त्र, सत्याग्रह, जनयुद्ध, मधेस, थरुहट आन्दोलन आदिमा भएको प्रदर्शन, पोखिएको रगत, सुम्पिएको जीवनको अभीष्ट हरेक तह र तप्का हरेक भूगोलका मान्छेहरूको प्रजातान्त्रिक स्वतन्त्रता सुनिश्चित गर्नकै लागि हो । 



प्रेस स्वतन्त्रता लोकतान्त्रिक व्यवस्थाको मेरुदण्ड मानिन्छ । कसैको हस्तक्षेप, नियन्त्रण र नियोजनबिना स्वतन्त्र तवरले कार्य गर्ने लेख्ने, बोल्ने, सङ्घ सङ्गठन खोल्न पाउने वा निर्वाध रूपमा आफ्ना गतिविधि गर्न पाउने अवरोधरहित अवस्थाको प्रावधान हो । लोकतान्त्रिक मर्यादा, मूल्य र अस्मिताको जीवन्तता र गतिशीलता वाक् स्वतन्त्रताको परिधिका रूपमा व्याख्या विश्लेषण गरिन्छ । विचार अभिव्यक्तिको स्वतन्त्रताले खुला समाजको वृद्धि र विकासमा मदत पुर्याइरहेको हुन्छ । विचार प्रवाह गर्ने, आफ्नो धारणा सम्प्रेषण गर्ने स्वतन्त्रताले नागरिकलाई बलियो बनाउन र अन्यायविरुद्ध प्रथम प्रतिरोध गर्न बल प्रदान गर्दछ । स्वतन्त्र र निष्पक्ष ढङ्गले गर्ने टिप्पणी आलोचना र विरोधले गलत प्रवृत्तिलाई सचेत गराउन र केही हदसम्म नियन्त्रण गर्ने काम गर्छ । 

अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्न नजान्दा र मर्यादा उल्लङ्घन गर्दा आम मान्छे नेतागण र पत्रकारलगायत धेरै मान्छे बारम्बार चुकेका छन् । आधुनिक सूचना प्रविधिले अधिकांश मान्छेको हातमा सञ्चार माध्यमका थरिथरि साधन छन् । तिनको एक क्लिकमा कुनै पनि अभिव्यक्ति तत्काल विश्वव्यापीकरण हुन्छ । फलतः जुनसुकै घटना पनि सामाजिक सञ्जालमा पुग्छ र टिप्पणी प्रतिटिप्पणी हुन थाल्छ । यसले निर्दाेष मान्छे गलत नियतवश प्रचारको सिकार हुन सक्छ । अनाहकमा ऊ बदनाम हुन्छ । उसको सामाजिक प्रतिष्ठाको क्षय र क्षतिको शोधभर्ना हुन सक्तैन । त्यसैले सञ्चार अत्यन्तै संवेदनशील क्षेत्र र विषय भएको भुल्नु हुँदैन । वाक् स्वतन्त्रताको नाममा बोलिने छाडा बोली, प्रदर्शन गरिने अश्लील हर्कत, असभ्य टिप्पणीले यसको मूल मर्मलाई घात गर्छ । 

गलत र कतिपय संवेदनशील विषयका सन्देश प्रवाह गर्दा हुने दीर्घकालीन असर, व्यक्तिगत चरित्र हत्यालाई संवैधानिक बन्दोबस्तीको आडमा बचाउन सकिँदैन । त्यसैले सचेतता अत्यन्तै जरुरी हुन्छ । लोकतन्त्र बलियो बनाउन हरेक विषयमा जनमतको  छलफलले दिने राय, सचेत खबरदारी अनि अभिमतको खाँचो र पारदर्शिता हुन्छ । तर सबै विषयमा पारदर्शिताको माग गर्दै स्वतन्त्रताको कुरा गर्नु कर्तव्यप्रति आँखा चिम्लनु हो । सार्वजनिक अधिकारी लोक रिझाइमा पोख्त हुनुपर्छ । उसको नियन्त्रणमा लोक होइन, ऊ लोक नियन्त्रित हुनुपर्छ । लोकको मर्यादाको हेक्का राख्ने र जनमतद्वारा नियन्त्रित बन्न स्वीकार गर्ने चरित्रको विकास हुनुपर्छ । तब मात्र वाक स्वतन्त्रता र मर्यादाको अर्थ सान्दर्भिक बन्छ । 

स्वच्छ आलोचना, स्वस्थ निर्देशन र सैद्धान्तिक टिप्पणी, सैद्धान्तिक प्रतिटिप्पणीले सरकारी नीतिहरू  दिशाहीन बन्दैनन् । वाक् तथा अभिव्यक्ति स्वतन्त्रता आजको समाजको अभिन्न पक्ष हो । पृथक् पृथक् विचार सैद्धान्तिक मान्यता, दर्शन अनि व्यवहार भएको बहुल समाजमा सबैको एकै विचार मान्यता र विश्वास पाइन्न । त्यसैले कतिपय अभिव्यक्ति अलि असहज र अस्वाभाविक तवरका साथ आउँछन् । त्यसलाई दमनको हतियारले तह लगाउने नभएर उत्कृष्ट नैतिक दबाबसहित मर्यादा र सीमामा बसेर प्रतिरोध गर्नुपर्छ । लोकतन्त्रको आधारभूत तत्त्व अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चितता नै हो । तर यो मर्यादित, अनुशासित र अनुकरणीय हुनुपर्छ । 

नेताहरूको बोलीमा लगाम जरुरी 
वाक् क्षमताका धनी ओली जति सम्प्रेषण क्षमतामा अब्बल छन्, त्यति नै छुद्र बोलीमा पनि माहिर छन् । उनले दुई वर्षअघि माधव नेपालको स्वास्थ्य लाभलाई फर्काएको जबाफ र हालै माधव नेपालको नाम लिएपछि मुख कुल्ला गर्छु भन्ने भनाइ र विभिन्न सार्वजनिक मञ्चमार्फत आफ्ना विरोधीलाई गरेको आलोचनाले उनको सांस्कृतिक स्तरलाई जनाउँछ । प्रधानमन्त्रीको कुर्सीमा बसेर या नबसेर ओलीले जति तुच्छ शब्दवाण छोडछन्, ती सार्वजनिक यातायातका सहचालकले यात्रु लक्षित बोलीसँग नै तुलनीय छन् । भलै ओलीको बोलीमा प्रत्यक्ष अश्लीलता देखिन्न तर अन्तर्यमा फोहोरी र दुर्गन्धित भाव र लक्ष्य अनुभूत हुन्छ । ओलीको कतिपय बोलीलाई प्राज्ञिक दृष्टिले अत्यन्तै तल्लो स्तरको देख्छ । केही समय अघिको गालीगलौजको भिडियो र अहिले संस्कृति तथा पर्यटन मन्त्री प्रेम आलेको भाइरल भएको अडियो र कुटपिट काण्डले पनि नेपालीहरू कस्ता मान्छेबाट शासित छन् भन्ने प्रतिनिधि उदाहरण देखाउँछ । 
प्रचण्ड पनि बोलीमा संयम अपनाउन नसक्ने नेता हुन् । भावावेशमा बोली हाल्ने, जे पनि गरी हाल्छु भन्ने तर कार्यान्वयनमा ध्यान नदिने नेता हुन् उनी । वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा पनि अराजक र मर्यादाहीन हाउभाउ र भाव–भङ्गीमा प्रस्तुत हुने सार्वजनिक व्यक्ति र प्रधानमन्त्री हुन् । उनको व्यञ्जित, वाचित र आङ्गिक प्रस्तुति खेदजनक र अशोभनीय देखिन्छ । नेपाल टेलिभिजनको एक कार्यकर्ममा विगतमा स्वर्गीय मदन भण्डारी लक्षित भनाइ होस् या आफ्ना कार्यकर्तादेखि सार्वजनिक रूपमा प्रश्न सोध्नेलाई आवेश, आक्रोशमा जबाफ फर्काउनु अश्लीलताको एक हद हो । 

अश्लील दुर्वाच्यमा मात्रै सीमित हुँदैन । त्यो हाउभाउ सङ्केत, सन्दर्भ र बडी ल्याङ्वेजमा पनि प्रकट हुन्छ । बोलीमा असन्तुलन गडबडी सामान्य मानवीय कमजोरी र स्कुलिङको पनि दोष हो । पूर्वमन्त्री योगेश भट्टराईले पनि सत्याग्रही डा गोविन्द केसीलाई दुर्वाच्य बोल्दै आफ्नो मर्यादा र हैसियत भुलेर निर्वस्त्र उत्रिएको धेरै भएको छैन । बोल्न ढङ्ग नपुग्दा र आफ्नो स्थान विशेषको हेक्का नराख्दा पूर्वकानुन मन्त्री शेरबहादुर तामाङ पनि मन्त्री छोड्न बाध्य भएका थिए । 

उता पूर्वसञ्चारमन्त्री गोकुल बास्कोटाको ७० करोडवाला भिडियो टेपमा पनि कर्मचारी लक्षित सिधै अश्लील बोलेको सुनिएको थियो । जसको कारण उनी पनि पद गुमाउन पुगे । केशव स्थापित पनि मुख्यमन्त्री डोरमणि पौडेललाई क्याबिनेटमा अपशब्द बोल्दा गलत्याइएका प्रदेशमन्त्री हुन् । आजकल गगन थापाका भाषणमा पनि अनियन्त्रित स्वतन्त्रताको स्वच्छन्दता प्रकट हुने क्रम बढ्दो छ । आफ्नो आक्रोश, आक्रमण र आवेगलाई नियन्त्रण गर्न सकेनन् भने गगनको सम्भावित उदयलाई आफ्नो बोलीले अमर्यादाले छेक्ने निश्चित छ । समग्रमा भन्नुपर्दा बोलीमा संयमता राख्न नसकी बोल्ने र त्यसको जवाफदेही नहुने नेताहरू एक हदको छाडा बोलीका मसिहा नै हुन् । 

उच्च पदस्तको नियन्त्रित स्वतन्त्रता  

सामान्य मान्छेको अश्लील बोलीको सामान्य प्रभाव तर पहुँचमा पुगेका बसेका र बस्ने सम्भावना भएका मान्छेको प्रभाव देशव्यापी हुने गर्छ । ठूलाले बोलेको कुरा अनुकरणीय बन्ने हुनाले सार्वजनिक पद धारण गरेका व्यक्तिले अपनाउनुपर्ने संयमता अपनाउन नसक्दा आवेगको बोली महँगो र भारी पर्ने गरेको छ । सार्वजनिक व्यक्तित्वको बोलीमा नियन्त्रण जरुरी देखिन्छ । वाक् स्वतन्त्रता मर्यादासहितको विशिष्ट संस्कृति पनि हो । 

नेता र विशिष्ट व्यक्तिसँग पनि हाँसो, खुशी, रिस, राग, रोमान्स दुःख पीडा सबै हुन्छ । त्यो मानवीय स्वभाव पनि हो । यद्यपि विशिष्ट हुनुको अर्थमा नैतिकता, सीमा, मर्यादा, पद र सार्वजनिक व्यक्तित्व हुनुको अतिरिक्त भार र भाव पनि वहन गर्ने अवस्था रहन्छ । तसर्थ खुलेर हाँस्न, बोल्न, रुन, दुःख प्रकट गर्न केही बार र बन्देज आवश्यक भएको हो । 

निजी जिन्दगी कम र सार्वजनिक जिन्दगी बढी हुनाले गोपनीयताका लागि सेवा, सुरक्षा र मर्यादाको व्यवस्था गरिएको हुन्छ । सामान्य मान्छेझैँ हरेक दुःख, सुख, रिस र आवेगमा प्रकट हुन सहजानुभूति हुँदैन । अधिकार खोज्ने स्वतन्त्र हुने नाममा अराजक र मर्यादाहीन बन्न पटक्कै सुहाउन्न । प्रोटोकल ख्याल गर्नुपर्ने राजकीय नियम उसै बनेको कहाँ हो र ? 

त्यसैले वाक् स्वतन्त्रताको जति महत्त्व र अर्थ छ, त्यति नै वाक् मर्यादाको पनि मूल्य र अस्तित्व छ । मूल्यहीन हुनु भनेको जथाभावी बोल्ने र बोलेको कुराको स्वामित्व नलिने, उत्तरदायी नबन्ने कारण नै बोलीको गरिमा गिरेको र बोली अर्थहीन बन्न पुगेको हो । निर्वाध वाक् स्वतन्त्रताको माग गर्ने अधिकार सम्झनेले वाक् मर्यादाको पक्ष भुल्न र बिर्सन मिल्दैन । 

वाक् स्वतन्त्रताबारे संवैधानिक व्यवस्था 
नेपालको संविधान २०७२ को धारा १७ ले विचार तथा अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ । धारा १७ (२) (क) मा प्रत्येक नागरिकलाई ‘विचार र अभिव्यक्तिको स्वतन्त्रता हुने’ उल्लेख गरेको छ । प्रतिबन्धात्मक वाक्यांशमा त्यस्तो अधिकार भए पनि त्यस व्यवस्थाले ‘नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनता वा सङ्घीय एकाइ वा विभिन्न जात, जाति, धर्म सम्प्रदायबीचको सुसम्बन्ध खलल पार्ने, जातीय भेदभाव वा छुवाछूतलाई दुरुत्साहन गर्ने, श्रमप्रति अवहेलना गर्ने, गाली बेइज्जती, अदालतको अवहेलना हुने अपराध गर्न दुरुत्साहन गर्ने वा सार्वजनिक शिष्टाचार वा नैतिकताको प्रतिकूल हुने कार्यमा प्रतिबन्ध लगाउने गरी ऐन बनाउन रोक लगाएको मानिने छैन” भनी उल्लेख गरिएको  छ । प्रस्तुत संवैधानिक प्रवन्धमा वाक् स्वतन्त्रतालाई वाक् मर्यादाको अभिन्न तत्त्व भनेर परिभाषित गरिएको छ । 

अधिकारसँग कर्तव्यजस्तै वाक् स्वतन्त्रतासँग वाक् मर्यादा वाक् सीमा र वाक् कर्तव्यका पाटा र पक्षहरू अन्योन्याश्रित भएर रहेका हुन्छन् । एक सिक्काका दुई पाटाझैँ हो वाक् स्वतन्त्रता र वाक् मर्यादा । जसरी सिक्काको दुई पाटोबिना सिक्का खोटो हुन्छ, त्यसै गरी वाक् मर्यादा र वाक स्वतन्त्रताबिना सभ्य र संस्कृत बन्ने समाज खोटो हुन्छ । स्वतन्त्रतामा अनुशासन अन्तर्निहित हुन्छ । वाक् स्वतन्त्रता अनुशासित र मर्यादित भए मात्र सभ्य समाज र संस्कृति निर्माण सहज हुन्छ । ‘जिब्रोको गरिमा मीठो बोलीमा’ भनेझैं नीति नैतिकता र नियमको परिधान पनि हो वाक् मर्यादा र वाक् स्वतन्त्रता । वाक् मर्यादाको सवाल वाक् स्वतन्त्रताको सङ्कुचन नभएर कर्तव्य र अधिकारलाई सँगसँगै बुझ्ने कडीका रूपमा लिनु पर्दछ ।

लेखक कार्की त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका अनुसन्धाता एमफिल–पिएचडी हुन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।