शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नाटक ‘साबिती’ मञ्चन गर्दै थिएटर भिलेज

सोमबार, १३ असार २०७९, ०८ : ४७
सोमबार, १३ असार २०७९

साहित्यकार जगदीश घिमिरेको कथा ‘साबिती’ नाटकमा मञ्चन हुने भएको छ । थिएटर भिलेजले यसलाई नाटकको रुवमा मञ्चन गर्न लागेको हो । विमल सुवेदीको डिजाइन र डिरेक्सन अनि जेनी सुनुवारको सहायक निर्देशनमा नाटक १७ देखि १९ असारसम्म मञ्चन हुन लागेको हो ।

नाटकको प्रमुख भूमिका निभाउनको लागि चर्चित भारतीय रङ्गकर्मी अनुराधा मजुमदार, जो नेपाली रंगमञ्चकी एक प्रत्यक्ष सारथी समेत हुन् जसले खुमा तथा बाँकी उज्यालो जस्ता उत्कृष्ट नाटकमा अभिनय गरिसकेकी छिन् । उनी अहिले काठमाडौमा आइसकेको थिएटर भिलेजले जनाएको छ ।

साबिती नाटक थिएटर भिलेजले पहिलो पल्ट गर्न लागेको भने हैन । सन् २०१३ (बि सं २०७०) मा थिएटर भिलेजले मञ्चन थालेको थियो । तर शो समय प्राविधिक कारणले उक्त नाटक पहिलो सो नसकिँदै रोकिएको थियो । त्यसपछि सन् २०१९ मा यही नाटक नयाँ दिल्लीस्थित नेपाली राजदूतावाससँगको सहकार्यमा साउथ एसियन युनिभर्सिटीमा मञ्चन भएको थियो । त्यही वर्ष भारतकै जम्बूमा भएको अन्तर्राष्ट्रिय नाट्य महोत्सवमा पनि यसले सहभागिता जनाएको थियो ।

हिन्दी भाषामा रूपान्तरण भएको उक्त नाटकलाई वर्तमान नेपाली समयअनुकुल हुने गरी पुनः रूपान्तरण गरेर प्रस्तुत गर्न लागिएको हो । यो संस्करणको नेपाली रूपान्तरण विमल सुवेदी र सुरज सुवेदीले गरेका हुन् ।

धेरै पहिले लेखिएको भएपनि ‘साबिती’ कथाले समाजमा विद्यमान विविध विसङ्गतिको असली स्वरूप देखाउने यसका निर्देशक विमल सुवेदी बताउँछन् । उनका अनुसार यो कथा नाटकमा प्रस्तुत भएको हेर्ने जगदीश घिमिरेको ठुलो धोको थियो । तर पहिलो प्रस्तुति रोकिएपछि पुनः यसको प्रस्तुति हुनुभन्दा पहिला नै उहाँ बितेपछि आफ्नो मनमा गहिरो चोट बसेको उनी बताउँछन् ।

अभिनयको लागि हाल नेपालमा रहेकी चर्चित रङ्गकर्मी तथा हरियाणास्थित स्टेट युनिभर्सिटी अफ पर्फर्मिङ एण्ड भिज्युअल आर्ट्सको अभिनय विभाग प्रमुख अनुराधा मजुमदार यस कथाले अनेकौँ आयातित वाद र विश्वव्यापीकरणमा अडेस लागेका ती स्वरूप अनि त्यसकै आडमा रहेका पितृसत्ता, सामाजिक विभेद, राजनैतिक विसङ्गति, अनि शिक्षा र स्वास्थ्यको संवेदनाहीन कालो व्यापारिकरणलाई उदाङ्गो पारेको बताउँछिन् ।

मूल कथा पुरुष पात्रको पक्षबाट लेखिएको भएपनि नाटकले महिला पात्रलाई केन्द्रमा राखी महिला पात्रहरू कसरी असमान सामाजिक संरचनाको कठघरामा उभ्याएको छ भन्ने देखाउनेछ । अनुराधाका साथै यस नाटकमा सुजन वली र साजन कुमार सुनुवारको पनि अभिनय रहनेछ । थिएटर भिलेजले भर्खरै नारायण वाग्लेको चर्चित उपन्यासमाथि आधारित नाटक ‘पल्पसा क्याफे’ मञ्चन सकाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप