शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलबारी नगरपालिका : जनप्रतिनिधिलाई साडी र झोला वितरण

सोमबार, १३ असार २०७९, १८ : १४
सोमबार, १३ असार २०७९

नवनिर्वाचित महिला जनप्रतिनिधिलाई मोरङको बेलबारी नगरपालिकाले १ लाख ७४ हजारको साडी वितरण गरेको छ । जनताको सेवामा लाग्ने प्रतिवद्धताका साथ निर्वाचन जितेका जनप्रतिनिधिले आफैंलाई साडी वितरण गर्न थालेपछि कतिपयले त्यसको आलोचना गरेका छन् । 

बेलबारी नगरसभामा पोशाकका रूपमा महिला जनप्रतिनिधिहरूलाई साडी वितरण गरिएको हो । गत असार ९ गते बसेको नगर कार्यपालिकाको बैठकबाट निर्णय गराएर महिला जनप्रतिनिधिहरूलाई साडी दिएको बताइएको छ । ६ हजार मूल्य बराबरको साडी महिलाहरूलाई दिएको नगरपालिका स्रोतले बताएको छ । उपमेयर निता थापा कोइरालाले नै महिला जनप्रतिनिधिका लागि साडी खरिद गरेर ल्याएकी थिइन् । 

नगरपालिकाको लेखा शाखाले उनीहरुकै बैंक खातामा उक्त रकम पठाउने तयारी गरेको छ । ‘कार्यतालिकाको निर्णय कार्यान्वयन गर्ने हाम्रो कर्तव्य हो,’ लेखा शाखाका एक कर्मचारीले भने । उक्त साडीको मूल्य भने भ्याटसहित ६ हजार रहेको छ । कार्यालयले ६ हजार रुपैयाँ नगरपालिकाले खातामा हालिदिएपछि सो रकम उपप्रमुखलाई बुझाउने एक महिला जनप्रतिनिधिले बताइन् । तर, ६ हजारमा ल्याइएको भनिएको साडीको मूल्य ६ हजार पर्ने खालको नभएको उनको भनाइ छ । 

उपमेयरसहित २४ जना जनताबाट निर्वाचित जनप्रतिनिधि हुन् भने ५ जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ‘२९ जनालाई ६ हजारका दरले साडी वितरण गर्दा १ लाख ७४ हजार नगरपालिकालाई भार परेको छ’, एक कर्मचारीले भने ।  

यस्तै पुरुष जनप्रतिनिधिलाई भने नगर सभामा कागजपत्रहरू हाल्न भन्दै ३५ सय रुपैयाँ पर्ने झोला वितरण गरिएको छ । नगरपालिकाका जिन्सी शाखाका प्रमुख चतुर भुज माझीका अनुसार उनीहरूलाई झोला वितरण गरिएको हो । मेयरसहित ३३ जना निर्वाचित जनप्रतिनिधि हुन भने तीन जना कार्यपालिकाबाट निर्वाचित भएका हुन् । ३७  जनालाई झोला वितरण गर्दा १ लाख २९ हजार पाँच सय रुपैयाँ राज्यलाई भार परेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप