शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

राप्रपामा अर्को ‘विद्रोह’को तयारी, राणालाई पर्खिँदै असन्तुष्ट समूह !

शनिबार, २५ असार २०७९, १७ : ०४
शनिबार, २५ असार २०७९

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा फेरि खटपट सुरु भएको छ । पूर्व अध्यक्ष कमल थापाले पार्टी परित्याग गरेसँगै क्षति पुगेको राप्रपामा पुनः अर्को समूहले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै विद्रोहको तयारी गरेको हो ।

अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई गति दिनुभन्दा पनि अनिर्णयको बन्दी बनाएको आरोप असन्तुष्ट समूहको छ । नेतृत्वको कार्यशैलीलाई लिएर उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री कुन्ती शाहीसहित कतिपय केन्द्रीय सदस्यहरू छलफलमा जुटेका छन् । यस्तै पार्टीका नेताहरू दिलनाथ गिरी, दिलविकास राजभण्डारी, श्याम तिमल्सिना, रामकुमार सुब्बा, दमन बस्नेत, राजाराम श्रेष्ठ, केशव श्रेष्ठ, भरत पाठकलगायतका नेताहरू पनि कसरी अघि बढ्ने भन्नेमा निरन्तर छलफलमा रहेका छन् ।

नेता दमन बस्नेतले नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै खेलकुद विभागको प्रमुखबाट राजीनामा दिएका थिए । वैकल्पिक राष्ट्रवादी शक्ति निर्माणका लागि आफूहरूले गत महाधिवेशनमा राजेन्द्र लिङ्देनलाई रोजेको भए पनि अपेक्षाअनुरूप पार्टी अघि बढ्न नसकेको बस्नेतले बताए ।  ‘नयाँ नेतृत्वमा विश्वास भए पनि जन्मिँदै निरङ्कुश जस्तो र सबैको स्वीकार्य हुन सकेन’, बस्नेतले भने, ‘हामीले चाहेको कमल थापादेखि सबै अटाउने राप्रपा हो । तर, महाधिवेशन भएको ७ महिनामा पनि कुनै स्पष्ट सङ्केत देखिएन ।’

असन्तुष्ट समूहका गिरिसहितका नेताहरूले केही दिनअघि पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनी लगायतसँग छलफल गरेका छन् । छलफलमा उनीहरूले अध्यक्षले सबैलाई समेट्न नसकेको गुनासो पोखेका थिए । काभ्रेलगायतका जिल्लाका सार्वजनिक कार्यक्रममा अध्यक्षले आफूहरूको अपमान गर्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीहरूले पार्टीमा बस्न सक्ने अवस्था नरहेको बताएका थिए । केही पुराना नेताहरूको मानमर्दन हुने गरी लिङ्देनले उनीहरू पार्टीमा नभए पनि केही फरक नपर्ने भन्ने सन्देश दिएको गुनासो असन्तुष्टहरूले लोहनीसँग पोखेका थियो । लोहनीले भने असन्तुष्टहरूलाई थुमथुम्याउँदै छलफलबाट समस्या समाधान गर्न आफूले पहल गर्ने भन्दै तत्काल कुनै निर्णय नलिन आग्रह गरेका थिए ।

राणाको पर्खाइमा असन्तुष्ट समूह

पटक पटक टुटफुट र विभाजन हुँदै आएको राप्रपामा राजेन्द्र लिङ्देन नेतृत्वमा आएसँगै पार्टीको अवस्था सुधार हुने अपेक्षा आम कार्यकर्तामा थियो । तर, अपेक्षाअनुसार पार्टी अघि बढ्न नसकेको असन्तुष्टहरूको विश्लेषण छ । गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले पनि नतिजा खासै सुधारिएको नदेखिएको उनीहरूको दाबी छ । स्मरणीय त के छ भने २०७४ सालमा पनि स्थानीय तह निर्वाचनपछि पशुपति शमशेर राणाले राप्रपा फुटाएका थिए । अहिले राणा मौन छन् तर असन्तुष्टहरूको नजर राणातिरै परेको छ । हाल दिल्लीमा रहेका राणा एक सातापछि नेपाल फर्किने र त्यसपछि उनीसँग छलफल गरेर आगामी यात्रा तय गरिने असन्तुष्ट मध्येका एक दिलनाथ गिरीले जानकारी दिए । 

‘हामी अहिले आन्तरिक छलफलमा छौँ, राजेन्द्र लिङ्देनको नेतृत्वमा पार्टी बन्न सक्दैन भन्ने हाम्रो ठहर छ । कसरी अघि बढ्ने पशुपति राजासा’प दिल्लीबाट फर्किएपछि छलफल हुन्छ’, उनले भने । पार्टीलाई गति दिनका लागि आफूहरूले अध्यक्षलाई पटक पटक ध्यानाकर्षण गराए पनि सफल हुन नसकेको उनको दाबी छ । ‘नेतृत्व नसच्चिए पार्टीमा थप क्षति हुने निश्चित छ’, उनले भने, ‘आगामी चुनावमा प्रत्यक्षमा जित्न नसके समानुपातिक पनि गुम्छ । गठबन्धन भएको तथा अरू पार्टीलाई चोर भनेकाले प्रचण्ड, केपी ओली, देउवाले उहाँसँग (अध्यक्ष) सहकार्य गर्न पनि गाह्रो छ । उहाँ कच्चा खेलाडी हुनुभयो ।’

विगतमा राप्रपाको नेतृत्व परिवर्तन अभियानमा लामो समय आफू लागि परेपनि लक्ष्यअनुसार वर्तमान नेतृत्वबाट नतिजा आउन नसकेको उनको जिकिर छ ।

असन्तुष्टको झुकाव कमल थापातिर !

नेता गिरी लिङ्देन साँघुरो घेराभित्र रहेकाले आफूहरू धेरै समय पर्खिन सक्ने स्थितिमा नरहेको बताउँछन् । उनले कमल थापातिर लाग्न सक्ने सङ्केत गरे । ‘राजनीतिमा असम्भव भन्ने केही हुँदैन । कोही स्थायी मित्र र शत्रु पनि हुँदैन । राजेन्द्र लिङ्देनलाई साथ दिएकै हो तर कमल थापाले गम्भीर अपराध भने गरेको होइन’, उनले भने, ‘कमल थापातिर जाने सम्भावना पनि रहन सक्छ । अहिले भने हामी छलफलमै छौँ ।’ असन्तुष्ट अन्य नेताहरूले पनि आफूहरू लिङ्देनको पार्टी छाड्ने स्थिति बनेमा कमल थापाको पार्टी एक विकल्प हुन सक्ने बताए । त्यसका लागि उनीहरूले थापासँग केही चरण छलफल समेत गरेको बताइएको छ । 

राप्रपाका प्रवक्ता सगुन लावती भने पार्टीमा त्यस्तै कुनै विवाद नभएको दाबी गरे ।  ‘पार्टी जीवनमा सबै खुसी नै हुन्छन् भन्ने हुँदैन । तर, पार्टीमा कुनै समस्या छैन’, उनले भने ।

पूर्वपञ्चहरुको बाहुल्य रहेको पार्टी राप्रपाभित्र चुनाव नजिकिँदै गर्दा असन्तुष्टि देखिएको हो । राजेन्द्र लिङ्देन निकट एक नेताले भने असन्तुष्ट भएका भनिएकाहरूको जनाधार कमजोर रहेकाले उनीहरूको पार्टीमा रहे पनि नरहे पनि कुनै फरक नपर्ने दाबी गरे । लिङ्देन नेतृत्वमा आएसँगै राप्रपाले गति लिएको विभिन्न आमसभाहरूमा देखिएको जनलहरले स्पष्ट हुने उनको जिकिर छ ।

यसैबीच नेता गिरीलाई तपाईंहरुको असन्तुष्टि किन भनेर सोधेका थियौँ, उनको भनाइ यस्तो छ–

व्यक्तिगत रूपमा मेरो केही पनि असन्तुष्टि छैन । पहिले पनि जो नेतृत्वमा हुनुहुन्थ्यो मैले उहाँलाई भनेको थिएँ–‘हामी नयाँ पुस्ताको नेतृत्व स्थापित गर्ने अभियानमा जुटेका हौँ ।’  व्यक्तिगत रूपमा भन्ने हो भने म दुई दुई पटक मन्त्री भइसकेँ । मलाई अब कुनै पदप्रति आशक्ति पनि छैन । तर, हामी अर्थात् हाम्रो पार्टीले जुन लक्ष्य र एजेण्डा बोकेको छ, त्यसलाई अघि बढाउनका निमित्त नेतृत्व अगाडि जान सकेन । नयाँ नेतृत्व स्थापित गरेर अघि बढ्दा पार्टी बन्छ कि भन्ने नै म लगायतका साथीहरूको विश्वास थियो । अहिलेको स्थितिमा नेतृत्वसँग सबै दलहरू बिच्किएका छन् । राजेन्द्रजीले जानेर नजानेर जुन ढङ्गले नेपाली काँग्रेसको महाधिवेशनमा प्रस्तुत हुनुभयो र सबैलाई चोर हो भनेर भनिसकेपछि अब राप्रपा एक प्रकारको अछुतोजस्तो राष्ट्रिय पार्टीहरूबाट देखिएको छ । यो गम्भीर समस्या हो । यो समस्याको निराकरण गर्न नेतृत्व चुकेको छ । यसले भावी निर्वाचनमा पनि पार्टीलाई गम्भीर असर पुर्‍याउने देखिन्छ । आगामी निर्वाचनमा कमल थापा, रवीन्द्र मिश्रहरूलाई पनि अटाउने गरी फरक दायरा बनाएर पार्टी अगाडि बढाउनुपर्छ भन्ने हो । आम कार्यकर्ता र जनताको धारणा पनि यही हो तर यो नदेखिएकाले पार्टी गम्भीर दुर्घटनामा पर्ने देखिन्छ ।

पार्टीमा अधिकांश कमल थापा निकटका नेताहरू निर्वाचित भएका छन् । उहाँहरू योग्य र सफल पनि हुनुहुन्छ । ती सबैलाई सन्तुलित कायम गरेर नेतृत्व अघि बढेको छैन । राजेन्द्रजीले जानेर नजानेर पुराना पिँढीका मान्छेहरूलाई निषेध गरेर नयाँ पिँढीका मान्छेहरूलाई लिएर अघि बढ्ने भनेर ठाउँठाउँका कार्यक्रमहरूमा उद्घोष गर्नुभएको सुनिएको छ । त्यो गम्भीर हो । पार्टीमा सबैको महत्त्व छ, पुरानाबाट पार्टी चल्दैन भनेर नै हामी नयाँमा गएको हो । तर, पुरानालाई समाप्तै पार्नु खोज्नु त भएन नि । अहिले त्यो विषयले पनि विश्वासको सङ्कट देखा पर्न थाल्यो भन्ने गुनासो सुन्नमा आएको छ । यही ढङ्गबाट पार्टी अघि बढ्दैन । हेर्दै जानुहोला पार्टीमा गम्भीर दुर्घटना हुने सङ्केत आइसकेको छ ।

राजनीतिमा असम्भव भन्ने केही हुँदैन । कोही स्थायी मित्र र शत्रु पनि हुँदैन । राजेन्द्र लिङ्देनलाई साथ दिएकै हो तर कमल थापाले गम्भीर अपराध भने गरेको होइन । कमल थापातिर जाने सम्भावना पनि रहन सक्छ । अहिले भने हामी छलफलमै छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप