सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
राजावादी समूहकाे बैठक

राजावादीको बैठकमा दुर्गा प्रसाईं समूहलाई बेवास्ता ?

आइतबार, २८ वैशाख २०८२, २१ : ०७
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । माथिको तस्बिर हेर्नुभयो ? प्रस्तुत तस्बिरमा केही राजावादी नेताहरूको अगाडि निकै महत्त्व दिएर नेमप्लेट राखिएको छ । जुन नेमप्लेटमा नेता जनाउने गरी राप्रपा, राप्रपा नेपाल, नेपाली कांग्रेस बीपी, विश्व हिन्दु महासङ्घ र संयुक्त जनआन्दोलन समिति लेखिएको देखिन्छ । 

यो तस्बिर वर्तमान व्यवस्था विरोधी राजावादीहरूको समूह ‘संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’को आइतबार बसेको बैठकको हो । 

संयोजक नवराज सुवेदीको अध्यक्षतामा संयुक्त जनआन्दोलन समितिमा आबद्ध राजनीतिक दल, सङ्घसंस्था तथा अभियन्ताहरूको संयुक्त बैठक राजधानीमा बसेको थियो । 

उक्त बैठकमा ३५ भन्दा बढी राजावादी सङ्घ सङ्गठनका प्रतिनिधिको सहभागिता रहेकामा केही नेताहरूलाई मात्रै महत्त्व दिएर नेमप्लेट लगाइएको भनेर सहभागी केही राजावादीले नै असन्तुष्टि पोखेका छन् ।

विशेष गरी राजावादीको समूहमध्ये दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का प्रतिनिधिले बैठकको सुरुमै धेरै गुनासो पोखेका थिए । प्रसाईं हाल तीनकुने घटनामा हिंसा भड्काएको आरोपमा जिल्ला प्रहरी परिसरको हिरासतमा रहेपछि उनका दुई जना प्रतिनिधि बैठकमा सहभागी भएको समिति स्रोतले बताएको छ । 

आन्दोलनमा केही भीड ल्याउन सक्ने हैसियत भएको प्रसाईंको समूहलाई बैठकमा महत्त्व नदिएको र नेमप्लेट समेत नराखी अपमान गर्ने काम भएको गुनासो प्रसाईंको प्रतिनिधिको रहेको समितिका ती नेताको भनाइ छ । यस्तै अन्य सहभागीले समेत काखा र पाखा गर्ने काम भएको भन्दै असन्तुष्टि पोखेको उनले बताए । 

उसो त पछिल्लो समय राजावादीहरूको प्राथमिकतामा दुर्गा प्रसाईं परेको देखिँदैन । मेडिकल व्यवसायी समेत रहेका उनलाई राप्रपा नेपालको आयोजनामा केही दिन पहिले राजधानीमा भएको कार्यक्रममा समेत नेताहरूले सम्बोधनका क्रममा खासै वास्ता गरेका थिएनन् । 

सोही असन्तुष्टि सुनिएपछि बैठकले सुवेदीले सबैलाई खुसी पार्ने प्रयास गरे । उनले चैत्र ४ गते गठन गरिएको संयुक्त जनआन्दोलन समितिमा आज उपस्थित सबै दल, सङ्घसंस्था र अभियन्ताहरू समावेश गरिएको बताए ।  नेवार समुदाय, आदिवासी जनजाति तथा तराइ मधेसबाट केही व्यक्तिहरू समितिमा थप गरिने उनको भनाइ थियो । 

सोही बैठकले जेठ १५ देखिको आन्दोलनको तयारीलाई तीव्रता दिने गरी विभिन्न निर्णय गरेको बैठकपछि सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप