रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
काठमाडौँ । भारतीय क्रिकेट टोलीका प्रभावशाली ब्याट्सम्यान विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । कोहलीले इङ्ल्यान्ड भ्रमणभन्दा ठिकअघि सोमबार टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका हुन् ।
केही दिनअघि भारतका अर्का प्रभावशाली ब्याट्सम्यान रोहित शर्माले पनि टेस्ट क्रिकेटबाट सन्न्यास लिएका थिए । रोहित भारतीय टेस्ट टोलीका कप्तान पनि थिए । विराट भने भारतीय टोलीका पूर्वकप्तान हुन् । यी दुबै प्रभावशाली ब्याट्सम्यानले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटबाट भने यसअघि नै सन्न्यास लिइसकेका थिए ।
यसैबीच हाल इन्डियन प्रिमियर लिग (आईपीएल) को १८औँ संस्करणमा विराटले उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् ।
‘राष्ट्रको जर्सी लगाएर टेस्ट खेल्न मैदानमा ओर्लिएको पनि १४ वर्ष बितिसकेछ । पहिलो पटक टेस्ट खेल्न मैदानमा ओर्लँदा क्रिकेटको यो ढाँचाले मलाई कहाँ पुर्याउँछ भन्नेसम्म थाहा थिएन । साँच्चै भन्नु पर्दा क्रिकेटको यो ढाँचाले मेरो ठुलै परीक्षा लियो । कहिले मलाई चुनौती दियो भने कहिले अपार माया पनि दियो,’ सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत सन्न्यासको घोषणा गर्दै विराटले भनेका छन् ।
विराटले भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) लाई यसअघि नै सन्न्यासको बारेमा जानकारी गराएका थिए । तर, बीसीसीआई भने निकट भविष्यमा हुने इङ्ल्यान्ड भ्रमणपछि मात्र उनले सन्न्यास लिउन् भन्ने चाहनामा थियो ।
‘टेस्ट क्रिकेटबाट सन्न्यास लिने निर्णय गर्नु मेरा लागि सहज थिएन । किनभने क्रिकेटको यो ढाँचाले मलाई धेरै कुरा दिएको छ । तर, एक दिन त रोकिनै पर्छ । मेरो विचारमा सन्न्यास लिने यो नै उपयुक्त समय हो । अहिलेसम्म मलाई साथ र सहयोग पुर्याउने सबैप्रति आभारी छु,’ उनले भनेका छन् ।
३६ वर्षीय विराट कोहलीले एक सय २३ टेस्टको दुई सय १० पालीमा भारतका लागि कुल नौ हजार दुई सय ३० रन बनाएका छन् । उनी १० हजार टेस्ट रनको कोशेढुङ्गाबाट केवल सात सय ७० रन टाढा थिए । त्यसैले धेरै समर्थकले १० हजार रन पूरा गरेपछि मात्र उनले टेस्ट क्रिकेटबाट सन्न्यास लिने अनुमान गरेका थिए । टेस्ट क्रिकेटमा विराटले ३० शतक र ३१ अर्धशतक पनि बनाएका छन् । टेस्ट क्रिकेटमा उनको उच्च स्कोर भने अविजित दुई सय ५४ रन हो ।
सन् २०११ को जुन २० तारिखमा किङ्सटनमा सुरु भएको वेस्ट इन्डिजविरुद्धको खेलमार्फत विराटले टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेका थिए । उनले आफ्नो अन्तिम टेस्ट भने सन् २०२५ को जनवरीमा अस्ट्रेलियाविरुद्ध सिड्नीमा खेलेका थिए । विश्व क्रिकेटमा विराटको नाममा थुप्रै कीर्तिमान छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण