विदेश मोहको बढ्दो बेथिति

विदेश जान दाजु र बहिनीबीच समेत नक्कली विवाह

नक्कली बिहे गराइदिने ‘म्यारिज ब्युरो’ सक्रिय

person explore access_timeअसार २८, २०७९ chat_bubble_outline0

विद्यार्थी भिसामा विदेश जानेको संख्या बढ्दै गएपछि अहिले नक्कली बिहेको लहर नै चलेको छ । अमेरिका, अष्ट्रेलिया लगायत युरोपजस्ता देशमा गएर काम गर्दै पढ्न पाउने भएपछि यस्ता नक्कली बिहेमा अभिभावकको समेत सहमति भएको पाइन्छ । 


काठमाडौंको गुहेश्वरी मन्दिरमा २० वर्षदेखि पुजारी कर्म गरिरहेका नरेन्द्र उपाध्याय (नाम परिवर्तन) ले सहोदर बाबु–छोरीबीच समेत नक्कली विवाह गरिदिएको बताउँछन् । उनका अनुसार सबैभन्दा धेरै नक्कली बिहे दाजु र बहिनीबीच हुने गरेको छ । त्यस्तै आफ्नै फुपाजु, भिनाजुसँग पनि नक्कली विवाह गर्ने गरेका छन् ।



उपाध्याय भन्छन्, ‘मन्दिरमा बिहे गर्न आउनेलाई नआऊ भन्न मिल्दैन ।’ यो गलत संस्कृतिलाई नमान्ने भनेपनि उनीहरुले आग्रह गरेपछि आफ्नो कर्तव्य पालना विवश भएको पुजारीको भनाइ छ । ‘उनीहरु आफै पनि मन खिन्न पार्छन् । रहरले होइन, भविष्यको लागि बाध्य छौँ भन्छन्,’ उनले भने । आफ्नै देशमा राम्रो अवसर भए यस्तो नक्कली काम गर्नुपर्ने थिएन भनेर दुःख देखाउने गरेको उपाध्यायले बताए । एक्ला–एक्लै जाँदा धेरै पैसा लाग्ने तर जोडी जाँदा त्यति नै पैसाले पुग्ने भएपछि लागत जोगाउनको लागि नक्कली बिहे गर्ने गरेको उनको बुझाइ छ । 



त्यस्तै, मैतीदेवी मन्दिरका पुजारी पण्डित रामप्रसाद सुवेदीले वर्षमा २० भन्दा धेरै जोडीको नक्कली बिहे गराइदिएको बताउँछन् । सक्कली बिहे गर्न ५÷६ घन्टा लाग्छ तर नक्कली बिहे उनले एक घण्टामै सक्ने बताए । भन्छन्, ‘फोटो खिच्नका लागि मात्रै यस्तो बिहे गरिएको हुन्छ ।’ औँठी लगाउँदा पनि औँलामा लगाइदिए जस्तो गर्ने हो । सिन्दुर पनि हालेको जस्तो गर्ने र पछि दुलही आफैले राम्रोसँग लगाएर फोटो खिच्छन् । फोटोमा नक्कलीजस्तो नदेखिन धेरै संस्कार साँच्चिकै बिहे सरह नै रसम पुरा गर्नुपर्ने उनले बताए । 

मनले नक्कली बिहे मानेपछि नक्कली नै हुन्छ तर यति रसम पुर्याएपछि धार्मिक विधिअनुसार त्यो वास्तविक बिहे हुने पण्डितले बताए । पहिले पहिले झुट बोलेर नक्कली बिहे गर्थे तर अहिलेको नयाँ पुस्ता विदेश जानको लागि मात्रै बिहे गर्न लागिएको हो भनेर प्रस्ट बताउँछन् । २०७० सालदेखि नक्कली बिहे गर्नेको संख्या अत्यधिक बढेको उनको अनुभव छ । 

विदेश जानकै लागि वार्षिक रूपमा कति जोडीले नक्कली बिहे गर्छन् भन्ने कुराको आधिकारिक तथ्याङ्क कतै छैन । पुजारीहरूको अनुसार महिनामा करिब एक सय भन्दा धेरै जोडीले मन्दिरमा नक्कली विवाह गर्छन् । नक्कली बिहे गरेर केहीले त्यसैलाई साँच्चिकै बिहेमा परिणत गरेको अनुभव पनि पण्डितहरूसँग छ । समय बित्दै जाँदा विवाह वास्तविकतामा बदलिएको पाइयो । तर धेरै नक्कली बिहे गर्नेहरु झमेलामा फसेको सुनेको उनीहरुले बताए । 

नक्कली बिहे गराइदिने ‘म्यारिज ब्युरो’

विदेशप्रतिको बढ्दो मोहसँगै नक्कली बिहे गर्ने गिरोह नेपालमा सक्रिय छ । नक्कली बिहे गराइदिने ‘म्यारिज ब्युरो’ राजधानीमै यत्रतत्र छन् । कार्यालय नै खोलेर नक्कली विवाह गराइएका छन् । ब्युरोले नक्कली बिहे गराएर दक्षिण कोरिया, अमेरिका, अस्ट्रेलिया, बेलायतलगायत देशमा पठाउने गरेको पाइएको छ । नक्कली बिहे गराउने गिरोहलाई प्रहरीले पटक–पटक पक्राउ गरेपनि रोकिएको छैन । नेपालसहित तेस्रो मुलुकबाट नक्कली बिहे गरेर अमेरिका जानेको संख्या बढेपछि तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पाँच वर्ष कैद र दुई लाख ५० हजार डलर जरिवानासमेत गर्ने व्यवस्था गरेको थियो । 

अध्ययन वा रोजगारीका लागि विदेशिने युवाको संख्या बढिरहँदा नक्कली विवाह गर्ने क्रम पनि बढेको हो । केही वर्षयता यस्ता घटना प्रहरीमा आउने क्रम पनि बढेको कालीमाटी प्रहरी वृत्त महिला सेलकी इञ्चार्ज प्रहरी निरीक्षक सपना खड्का बताउँछिन् । ‘पहिले विदेश जानको लागि नक्कली बिहे गर्छन्, पछि भिसा नलागेपछि केटीले सम्पत्ति माग्छन् ।’ कानुनी रुपले बिहे गरेको देखिएपछि हामीले अदालत पठाउने गरेका छौं । यस्ता घटनामा धेरै पुरुषहरु पीडित भएका छन्’ उनले भनिन् ।

नक्कली बिहे बढ्दै गएपछि नेपाल सरकारले २०७३ सालमा नागरिकता लिएकै ठाउँमा विवाह दर्ता गर्नुपर्ने प्रावधान ल्याएको थियो । तर, हाल देखिएको बढ्दो नक्कली बिहेले सरकारको कदम प्रभावकारी नभएको देखाउँछ । सरकारसँग नक्कली बिहे रोक्ने कुनै संयन्त्र छैन । कानुनी रुपमा बिहे गर्न तीनपुस्ते देखाउनु पर्ने हुन्छ । कोर्ट म्यारिज गर्नको लागि पनि वडाबाट सिफारिस चाहिन्छ । कानुनी रुपमा यो खालको बिहे सम्भव नभएको अधिवक्ता लोकेन्द्र वली बताउँछन् । 

के भन्छन् समाजशास्त्री ? 

सुन्दर र व्यवस्थित परिवारको लागि विवाहको परिकल्पना गरिएको हो । तर समय सँगसँगै समाजमा धेरै किसिमको बद्लाव देखिएको समाजशास्त्री निर्मला ढकाल बताउँछिन् । परिमार्जित समयको माग भएपनि विवाह जस्तो पवित्र सम्बन्ध आजकाल बजारीकरण भएको छ । बढ्दो नक्कली बिहेलाई सामान्य घटनाका रूपमा लिन नहुने उनको भनाइ छ । ‘समाजको यो सत्य घटना सरोकारवालाको नजरमा परेको छैन । यो घटनाको कारण र परिणाम समयमै खोतल्नुपर्छ,’ उनले भनिन्, ‘नक्कली बिहेलाई समाज व्यवस्थासँग जोडेर अध्ययन गर्नुपर्छ ।’ । 

नक्कली विवाहको सम्बन्ध पुँजीवादसँग जोडिएको छ । पुँजीवादले निर्माण गर्न खोजेको विवाह परम्पराबीच अन्तरविरोध भइरहेको छ । नक्कली बिहे त्यही अन्तरविरोधको प्रतिबिम्ब भएको समाजशास्त्री ढकालको बुझाइ छ । 

केही सांस्कृतिक मूल्य–मान्यतालाई बाध्यताले बोक्दै मुलुक पुँजीवादतिर लम्किरहेको अवस्थामा मान्छेले आफ्नो सामाजिक र सांस्कृति दायरा बिर्सिएको आरोप शिक्षाविद् सुरेशराज शर्माको रहेको छ । उनी भन्छन्, ‘नक्कली विवाह पुँजीवादी अर्थ व्यवस्थासँग जोडिएको छ ।’ पुँजीवादी अर्थव्यवस्थाका कारण परम्परागत विवाह संस्थाको धरातलीय बनोटमा संकट आएको उनको भनाइ छ । यो आधुनिकीकरण, विदेश पलायन हुने र पश्चिमी संस्कृतिसँग जोडिएको छ । ‘नेपालमा परिश्रम नगर्ने र विदेशमा सबथोक देख्ने संस्कृतिसँग सम्बन्धित छ’ उनले भने । हाडनातामा समेत विवाह गरेर विदेश पलायन हुनुले अत्यन्तै खराब संस्कारको विकास गरिरहेको उनको टिप्पणी छ । विवाहको आधारभूत तत्वलाई नक्कली बिहेले चुनौती दिएको शर्माले बताए ।

त्यस्तै, नक्कली बिहे बजारीकरणको ज्वलन्त नमुना भएको समाजशास्त्री ढकाल र शिक्षाविद् शर्मा दुवैको मत छ । पुँजीवादी समाजमा सबैथोक मूल्यमा निर्धारण भएपछि विवाह पनि मूल्यमा सूचीकृत भएको उनीहरुको बुझाइ छ । यस्तो प्रवृत्तिले विवाह प्रथालाई नाफा र नोक्सानसँग जोडेको छ । नाफा हुनेबित्तिकै अनमेल विवाह गर्न तयार हुनुले सामाजिक विघटनको संकेत गरेको उनीहरुको भनाइ छ । बजार र परम्पराबीच सम्मिश्रण हुँदा मान्छे जे गर्न पनि तयार भएको छ । विवाहलाई ‘सक्कली’ र ‘नक्कली’ भनेर छुटिने बित्तिकै  बजार स्वतः जोडिन्छ । बजारसँग जोडिएको सम्बन्धमा सामिप्यता, समर्पण, समन्वयजस्ता संवेगात्मक पक्ष रहन्न । यसरी नै समाजका हरेक संस्था वस्तुकरण हुँदै जाँदा सामाजिक संस्था धराशयी बन्ने उनीहरुको बुझाइ छ । 

नक्कली विवाहलाई रोक्न राज्यले उचित कदम चाल्न सकेको देखिदैन । राज्यले डिपेन्डेन्ट भिसा स्वीकार गरेपछि यो बाटो खुलेको हो । राज्यकै ‘बाइप्रोडक्ट’ भएकाले यसलाई बन्द गर्न गाह्रो पर्छ । नक्कली बिहे रोक्न राज्यले पहिले नागरिकलाई रोजगारीको अवसर दिलाउनुपर्छ । राष्ट्रिय योजना आयोगले राम्रो योजना बनाएर रोजगार, तालिम साथै चेतनाको व्यवस्था गर्न नसक्दासम्म यस्ता काम भइरहन्छन् ।  

सन् १९९० को दशकपछि नेपालले नवउदारवादी आर्थिक नीतिलाई अवलम्बन गर्यो । कृषिमा आश्रित  अर्थतन्त्र धराशयी बन्दै गएपछि नीतिकरण मौलायो । त्यसपछि युवाहरु खाडी मुलुक जान थाले । विदेशप्रतिको त्यही अवधिबाट आकर्षण र स्वदेशप्रतिको विकर्षण बढ्दै गयो । श्रम गर्न जानेहरु कतिपयले विदेशतिरै घरजम गरेर बस्न थाले । यसरी नेपाली समाजमा नक्कली विवाहको विकृत परम्परा सुरु भयो । 

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।