सन्दर्भः वीपी स्मृति दिवस

वीपी कोइराला : नेपाली आख्यानमा मनोविश्लेषण भित्र्याउने पहिलो आख्यानकार

person explore access_timeसाउन ६, २०७९ chat_bubble_outline0

विश्वेश्वरप्रसाद कोइराला अर्थात् वीपी कोइराला नेपाली राजनीति र साहित्य दुबैमा प्रसिद्धि कमाएका मूद्र्धन्य व्यक्तित्व हुन् । उनले नेपाली साहित्यमा खास गरी मनोविश्लेषणत्मक धाराको सुरुवात गरी शिखरमा पुर्याउने काम गरे ।


सुरु सुरुमा वीपीले हिन्दी भाषामा कथाहरू लेखे । डा. दुर्गाबहादुर घर्तीका अनुसार हिन्दीका शान्तिप्रसाद  द्विवेदीका प्रेरणामा कथा लेख्न सुरु गरेका कोइरालाले हाई स्कुल अध्ययनकै समयमा लेखेका छोटाछोटा कथा लेख्थे । ती कथा भारतीय उपन्यासकार मुन्सी प्रेमचन्दले अलि अलि सम्पादन गरेर हंश भन्ने आफ्नै प्रकाशनमा छापीदिन्थे । मुन्सी प्रेमचन्दबाट कोइराला निकै प्रभावित थिए ।



बीएल गरेका वीपी वकालती पेसाका सिलसिलामा बनारसबाट दार्जिलिङ गएका थिए । दार्जिलिङमा सूर्यविक्रम ज्ञावालीले नेपाली भएपछि हामीले नेपाली भाषामा पो साहित्य लेख्नुपर्छ भनेर सुझाव दिएपछि उनले नेपालीमा लेख्न थालेको बताउँछन् डा. घर्ती ।



वीपीको पहिलो प्रकाशित नेपाली कथा ‘चन्द्रवदन’ हो । विसं १९९२ मा शारदा पत्रिकाको कात्तिक–मङ्सिर अङ्कमा उक्त कथा प्रकाशित भएको थियो । त्यो कथा नै नेपाली साहित्यको पहिलो मनोविश्लेषणात्मक कथा बनेको छ ।

दार्जिलिङमा वकालती पेसा गरेर बस्दा उनले १६÷१७ वटा कथा लेखे । ती कथाहरूको सङ्ग्रह नै पछि ‘दोषी चश्मा’ (२००६) मा आयो ।

त्यसपछि दार्जिलिङकै सूर्यविक्रम ज्ञवालीले गुरुप्रसाद मैनाली, बालकृष्ण सम, पुष्कर समशेर, विश्वेश्वर प्रसाद कोइरालाका कथाहरू सम्पादन गरेर ‘कथा कुसुम’ (१९९५) प्रकाशित गरे । त्यसमा कोइरालाका सिपाहीलगायत तीनवटा कथा प्रकाशित छन् ।

नेपाली साहित्यमा आधुनिक कथा सुरुवातकर्ता गुरुप्रसाद मैनालीले विसं १९९२ मा शारदाको वैशाख–जेठ अङ्कमा नासो कथा प्रकाशित गरेका थिए । यही मितिबाट नेपाली साहित्यमा जादु, टुनामुना, स्वर्ग, नर्कमा विश्वास गरेर लेखिने कथाहरु त्यागेर मानव जीवनका भोगाइ र अनुभूतिहरुलाई विषयवस्तु बनाइ कथा लेखनको प्रारम्भ भयो । तिलस्मी, ऐयारी विषयवस्तुका कथाहरु हट्दै गए ।

यसरी मैनालीले नेपाली साहित्यमा सामाजिक यथार्थवादी कथा धाराको सुरुवात गरे भने त्यसको छ महिनापछि विश्वेश्वरको चन्द्रवदन कथा छापिएपछि मनोविश्लेषणात्मक धाराको सुरुवात भयो । यही वर्ष अर्थात् १९९२ देखि नेपाली साहित्यमा दुईवटा धारा सुरु भयो ।

विश्वेश्वरप्रसाद कोइरालाका सबै कथाहरू कुनै न कुनै रूपमा पात्रको मनोविश्लेषणले भरिएका छन् । १९९२ मा शारदा पत्रिकामा चन्द्रवदन कथा प्रकाशित गरी नेपाली साहित्यमा प्रवेश गरेका उनका दोषी चश्मा (२००६), श्वेतभैरवी (२०४४), विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) हुन् भने तीन घुम्ती (२०२५), नरेन्द्र दाइ (२०२७), सुम्निमा (२०२७), मोदिआइन (२०३६), हिटलर र यहुदी (२०४२), बाबु, आमा र छोरा (२०४५) उपन्यास हुन् । यसै गरी संस्मरणहरूमा आफ्नो कथा (२०४०), जेल जर्नल (२०५४), विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त (२०५५) हुन् भने कविता सङ्ग्रहमा विश्वेश्वरप्रसाद कोइरालाका कविता (२०५९) प्रकाशित छ ।

उनका अधिकांश आख्यानमा मनोविश्लेषणको प्रयोग छ । ‘मधेसतिर’ कथामा एक नारी पात्रको मनोविश्लेषण छ । पतिको मृत्युपछि देवर र ससुराको फोस्रो मायालाई बेवास्ता गर्दै अलिकति सुनका गरगहना लिएर राति नै घर छोडेर हिँडेको देखाइएको छ । कथाकी मूल पात्र मधेसतिर गएर विवाह गरी तिनै गरगहना बेचेर घरजम गरी बस्ने उद्देश्यले घर छोडेर हिँडेकी छ । गाँसबासकै लागि केही कमाउन सकिन्छ कि भनेर मधेसतिर हिँडेका भरियाहरुसँग उसको भेट हुन्छ । तीमध्ये खाइलाग्दो गोरेप्रति आकर्षित हुन्छे, उसलाई खानपान र थकानमा विशेष ख्याल गर्छे, जसबाट गोरे आफूतिर आकर्षित होस् भन्न चाहना उसमा हुन्छ । ऊसँगै घरबार बसाउने सपना पनि बुन्छे । रात परेपछि सुनकोसीको गड्तिरमा सबै जान सुत्छन् । बिहान उठ्दा उसका गरगहना चोरेर गोरे राति नै फरार हुन्छ । गहना चोरी भएसँगै विधवाका इच्छा पूरा नहुने ठानेर रुन्छे ।

यसैगरी ‘कर्णेलको घोडा’ कथामा पनि नारी मनको विश्लेषण छ । यस कथामा कर्णेलकी श्रीमती घोडाप्रति कामवासनाको नजरले हेरेको प्रसङ्ग उल्लेख छ । जवान कर्णेलनीले घोडालाई स्याहार सुसार गर्छे, घोडा पनि उप्रति बफादार बन्छ तर बूढो कर्णेलबाट भने बिच्किन्छ । घोडाको यो व्यवहार देखेर ईष्र्याले कर्णेलले घोडालाई मारिदिन्छ ।

उनका कथामा मात्र होइन, उपन्यासमा पनि मनोविश्लेषण गरेका छन् । ‘तीन घुम्ती’ उपन्यासमा इन्द्रमाया भन्ने पात्रलाई उभ्याएर नारीका तीनवटा रूप प्रेमिका, पत्नी र आमाको चित्रण छ । एउटी नारीको तीनवटा छुट्टाछट्टै निर्णय बाबु आमाको इच्छाविपरीत प्रेम विवाह, पतिको अनुपस्थितिमा परपुरुषसँग यौनतृप्ति र सन्तान प्राप्ति, पतिबाट अस्वीकृत भएपछि छोरी लिएर एक्लै बस्ने निर्णयमा आधारित उपन्यास हो यो । यी तीनवटै निर्णयमा आफ्नो अस्तित्व जोगाउन एउटी नारीले गरेको सङ्घर्षको कथा हो तीन घुम्ती ।

यसैगरी ‘सुम्निमा’ उनको अर्को चर्चित उपन्यास हो । यसमा दुई भिन्न संस्कृतिको समन्वय, सम्मिश्रण पाइन्छ । आर्य संस्कृतिमा आबद्ध सोमदत्त र पुलोमा पुत्र प्राप्तिका निम्ति शास्त्रसम्मत अनुष्ठान गरेर यौनसम्पर्क राख्छन् । तर प्रेमबिनाको जर्बजस्ती यौनसम्बन्धले गर्भ नरहने कुरा थाहा हुन्छ । यसले मानिसमा कुण्ठा र विकृतिको विकास हुने तथ्य पनि यस उपन्यासमा देखाइएको छ । पूजापाठ एवं आध्यात्मिक आचरणको परिपालन गर्ने आडम्बरले भौतिक सुख सुविधा विर्सन खोज्दा सुख शान्ति नमिल्ने कुराको चित्रण यसमा छ ।

स्वतन्त्र रूपमा घुमिहिँड्ने किरात पुत्री सुम्निमा सधैँ खुसी हुन्छे । सधैँ आनन्दमा रमाउँछे । शारीरिक रूपले टाढा भए पनि प्रेमले मानिसलाई  मानसिक रूपले नजिक भएको अनुभव गराउँछ भन्ने यो उपन्यासको सार हो । त्यसो त सुम्निमा उपन्यासको विषयबसतुबारे किरात धर्मावलम्बीहरूले विरोध पनि गरेका थिए । किनभने सुम्निमा तथा पारोहाङ किरात धर्मका देवता हुन् । आफ्ना देवतालाई उपन्यासको पात्र बनाएर अपमान गरेको उनीहरुको आरोप छ ।

विश्वेश्वरप्रसाद कोइरालाको अर्को चर्चित उपन्यास हो– ‘नरेन्द्र दाइ’ । यो पनि मनोविश्लेणात्मक उपन्यास नै हो । एउटा पुरुषका पत्नी र प्रेमिका दुई छुट्टा छुट्टै सम्बन्धका दुई स्त्रीहरूबीचको कथा हो यो । उपन्यासका नायक नरेन्द्रले पत्नी गौरी र प्रेमिका मुनरियाले समान अधिकारसाथ सेवा गरेका छन् । दुवैको आआफ्ना ठाउँमा स्वतन्त्र अस्तित्व छ । पतिको प्रेम नपाए पनि पतिसेवामा अटल रहने आदर्श पत्नी र सामाजिक ग्रार्हस्थ सम्बन्धमा नअटाएर पनि प्रेम र सद्भावले गर्दा प्रेममा लीन रहने प्रेमिका ( दुई भिन्न चरित्रका नारीको जीवन्त गाथा यस उपन्यासमा  छ ।

उनको अन्तिम उपन्यास हो ‘बाबु, आमा र छोरा’ । बाबु, आमा र छोराको सम्बन्धका बारेको चित्रण यसमा गरिएको छ । यी तीनवटै पात्रहरूको मानसिक द्वन्द्व र यौनमनोविश्लेषणको चित्रण छ । नेपाली समाजमा नपच्ने विचित्र कथा शृङ्खला भएको यस उपन्यासमा आफ्नै छोराकी गर्भवती प्रेमिकासँग बाबुको दोस्रो बिहे गरेको देखाइएको छ । छोराकी प्रेमिका नै बाबुकी पत्नी बन्न पुग्छे । त्रिकोणात्मक प्रेमसँगै यौन समस्याको चिरफार गर्ने कार्य भए पनि यस प्रकारको प्रस्तुति नेपाली समाजमा मात्र होइन, युरोपेली समाजमा पनि असहज हुने खालको छ ।

नेपाली राजनीतिक इतिहासमा वीपी कोइरालाको जति उचाइ छ, त्यो भन्दा बढी उचाइ साहित्यिक क्षेत्रमा छ । कोइराला नेपाली साहित्यमा यौनमनोविश्लेषणात्मक कथा लेख्ने र त्यसलाई शिखरमा पुर्याउने विशिष्ट साहित्यकार बन्न पुगेका छन् । विसं २९७१ भदौ २४ मा जन्मिएका कोइरालाको २०३९ साउन ६ गते निधन भएको थियो ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।