शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

‘भारतलाई २५ वर्षमा विकसित मुलुक बनाउनेछौँ’

मङ्गलबार, ३१ साउन २०७९, १२ : ०१
मङ्गलबार, ३१ साउन २०७९

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो देशलाई २५ वर्षमा विकसित मुलुक बनाउने लक्ष लिएको बताए । यसका लागि आफूहरूले ऊर्जा, प्रतिरक्षा र डिजिटल प्रविधिहरू देशभित्र विकास गर्ने नीति लिने प्रधानमन्त्री मोदीले भने ।  

मोदीले सोमबार भारत बेलायती शासनबाट स्वतन्त्र भएको ७५ औँ वार्षिकोत्सवका क्रममा लाल किलाबाट सम्बोधन गर्ने क्रममा यो लक्ष उजागर गरेका थिए । मोदीले १७ औँ शताब्दीमा मुगल शासकहरूले निर्माण गरेको लाल किलामा उभिएर सम्बोधन गरेका थिए । 

‘भारतलाई हाम्रै जीवनकालमा विकसित मुलुक बनाउनेछौँ । आगामी २५ वर्षमा विकसित मुलुकमा बदल्नुपर्छ । यो ठूलो प्रतिबद्धता हो तर यसलाई साकार बनाउन हामीले सम्पूर्ण शक्ति लगाउनुपर्छ,’ ७१ वर्षीय मोदीले भने । 

७५ मिनेट लामो सम्बोधनमा मोदीले विश्वमा भारतको प्रतिष्ठा बढेको बताउँदै अहिले कयौँ वैश्विक मुद्दा समाधानको लागि संसारले भारतको साथ खोज्ने बताए । ‘भारतले विज्ञान तथा प्रविधिमा उत्कृष्टता हासिल गर्न, उद्योग निर्माण गर्न र खाद्य तथा ऊर्जा सुरक्षा हासिल गर्न आगामी दिनमा आत्मनिर्भर तथा अन्तराष्ट्रिय साझेदारीको सिद्धान्त अङ्गीकार गर्नेछ ,’ मोदीले बताए ।  

अहिले भारतमा अर्बौँ डलर वैदेशिक भित्रिरहेको र यसले भारत उत्पादनको हबमा बदलिँदै गएको पनि उनले बताए ।भारतको लामो लगानीको प्रतिफल स्वरुप सूचना प्रविधि(आईटी), औषधी उत्पादन, अन्तरिक्ष विज्ञान र आणविक ऊर्जाको क्षेत्रमा विश्वमै अग्रणी मुलुक बनिसकेको छ ।  

तथापि विश्व बैकको वर्गीकरण अनुसार भारत अझै विश्वका न्यून मध्य आय अर्थतन्त्रमै रहेको छ । यो वर्गीकरणका मुलुकको प्रति व्यक्ति राष्ट्रिय आय १०८६ डलरदेखि ४२५५ डलरबीचमा हुन्छ । जबकि उच्च आययुक्त मुलुकमा पर्न उसको प्रतिव्यक्ति आय १३२०५ डलरभन्दा बढी हुनुपर्छ । 

कुल ग्राहस्थ उत्पादनका हिसाबले भने भारत अहिले विश्वको छैटौँ ठूलो मुलुक हो र मार्च २०२३ मा अन्त्य हुने वर्तमान आर्थिक वर्षको वृद्धि दर ७ प्रतिशत हुने प्रक्षेपण छ, जुन ठूला अर्थतन्त्रहरुमध्ये सबैभन्दा धेरैमध्येमा पर्छ । 

केही विज्ञले भारतको अर्थतन्त्र सन् २०५० सम्ममा चीन र अमेरिकापछि तेस्रो हुने प्रक्षेपण गरेका छन् । त्यस स्थानमा पुग्न पुग्न उसले उभन्दा अघि रहेका जापान, जर्मनी र बेलायतलाई उछिन्नेछ । 

कुल ग्राहस्थ उत्पादनका हिसाबमा तेस्रो स्थानमा पुगेपछि उसको प्रति व्यक्ति आय भने तुलनात्मक रूपमा कम नै रहने बताइन्छ । 

अमेरिकाले भारतलाई चीनको बढ्दो प्रभुत्वलाई चुनौती दिन सक्ने एसियाली शक्तिको रूपमा हेर्न थालिसकेको छ । 

अल–जजिराबाट

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप