शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अलैंचीको घरेलु खपत न्यून भएकामा चिन्ता

शुक्रबार, ०३ भदौ २०७९, १४ : ३२
शुक्रबार, ०३ भदौ २०७९

‘वाह अलैंची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ मास्टर सेफ सन्तोष साहले स्वदेशमै उत्पादित बहुउपयोगी अलैंचीको घरेलु उपभोग र बजार प्रवद्र्धन हुन नसकेकामा चिन्ता व्यक्त गरेका छन् । पूर्वी नेपालको पहाडी जिल्ला इलाम, पाँचथर, ताप्लेजुङलगायत दर्जनौँ जिल्लामा अलैंचीको उत्पादन हुँदै आएको छ । खानेकुरालाई स्वस्थ र स्वादिलो बनाउन अलैंचीको विश्वभर व्यापक प्रयोग भइरहे तापनि उद्गमथलो नेपालमै यसको उपभोग न्यून भएको उनले बताए ।

विश्वचर्चित ‘बिबिसी मास्टर सेफ प्रतियोगिता’का विजेता साह अलैंचीको घरेलु खपत बढाउने अभियानका क्रममा झापा र इलामका अलैँची कृषक, व्यवसायी र होटलका कुकहरूसँग भेटघाट र अलैंचीखेती अवलोकनका लागि शुक्रबार झापा आइपुगेका हुन् । नेपाल अलैँची व्यवसायी महासङ्घले होटल एसोसिएसन अफ नेपाल, कृषि मन्त्रालय र स्वीस विकास सहयोग (एसडिसी) सँगको सहकार्यमा गत साउनदेखि ‘वाह अलैंची’ अभियान सुरु गरेको छ । मास्टर सेफ साह यो अभियानको ब्रान्ड एम्बेसडर हुन् ।

“विदेशमा रहँदा अलैंचीको खुबै प्रयोग हुन्थ्यो, तर मलाई ती अलैँची आफ्नै देशको उत्पादन हो भनेर थाहा थिएन”, जिल्लाका धुलाबारीमा व्यवसायीसँगको भेटघाटमा उनले भने, “जब मैले बिबिसी मास्टर सेफमा भाग लिएँ । त्यहाँ अलैंचीको नाम आयो । अनि मात्र थाहा पाएँ कि अलैँची त हाम्रै देशको उत्पादन पो रहेछ ।” विदेशबाट आयातित वस्तुको उपभोगमा न्यूनीकरण गरेर स्वदेशी अलैंचीको उपभोगका लागि जनचेतना बढाउन आवश्यक रहेको र आफू त्यसैमा लागिरहेको उनले बताए । नेपालमा विदेशबाट आयातित सुकुमेल हरेक खानेकुरामा प्रयोग हुने गरेको र अलैँची उपेक्षामा परेको उनको भनाइ छ ।
    
चिया, खाना, तरकारी, मासु, माछालगायत भान्साका हरेक वस्तुमा अलैंचीको प्रयोग गर्न सकिने हुँदा घरेलु बजार प्रवद्र्धनका लागि वाह अलैँची नामक किताब प्रकाशन गर्ने, अलैँची प्रयोग गरिएको खानेकुरा प्रदर्शनी गर्ने र होटलका कुकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम अघि बढाएको उनले जानकारी दिए ।

पाँच प्रतिशत मात्र घरेलु खपत

नेपालमा उत्पादित अलैंचीको पाँच प्रतिशत मात्र घरेलु बजारमा खपत हुने गरेको र बाँकी सामान भारत निकासी हुँदै आएको नेपाल अलैँची व्यवसायी महासङ्घका कार्यकारी अधिकृत अनिल ढुङ्गानाले बताए । सिधै तेस्रो मुलुकमा निकासीका लागि सकस हुँदा नेपाली व्यवसायीले भारतीय बजारमा अलैँची बेच्न बाध्य भइरहेको जनाउँदै उनले घरेलु बजारको आयतन बढाउन सक्दा कृषक र व्यवसायी दुवै पक्षलाई फाइदा पुग्ने बताए ।  

महासङ्घको तथ्याङ्कअनुसार नेपालमा १८ हजार हेक्टरमा अलैंचीखेती हुने गरेको छ । जसअनुसार वार्षिक १३ हजार ४४ मेट्रिकटन उत्पादन हुन्छ । नेपालबाट वार्षिक रु सात अर्ब बराबरको अलैँची निर्यात हुँदै आएको छ । अरबी मुलुकमा मासुमाछामा मसलाका रुपमा अलैंचीको उपभोग हुने गरे तापनि नेपालमा सिलौटामा पिसेर चिया मसलाका रुपमा न्यून प्रयोग हुने गरेको छ । अलैंचीलाई औषधीय गुण भएको मसला मानिन्छ ।

घरेलु उपभोग र बजार प्रवद्र्धनका लागि मास्टर सेफ सन्तोष साहलाई ‘वाह अलैँची’ अभियानका ‘ब्रान्ड एम्बेसडर’ घोषणा गरिएपछि स्वदेशी खपत बढ्ने महासङ्घको अपेक्षा रहेको कार्यकारी अधिकृत ढुङ्गानाले बताए । ‘ब्रान्ड एम्बेसडर’ साहले आजै इलामको रोङ गाउँपालिकास्थित जिर्मलेमा अलैँची खेतीको अवलोकन गर्ने र त्यहाँका कृषकसँग अन्तक्र्रिया गर्ने कार्यक्रम रहेको ढुङ्गानाले जानकारी दिए । अवलोकनमा दातृ संस्था स्वीस विकास सहयोग (एसडिसी) र अलैँची व्यवसायी महासङ्घका प्रतिनिधिसमेत सहभागी हुने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप