अन्तरवार्ता

‘हिन्दी भाषाको डबिङ साँच्चै ‘पर्फेक्ट’ लाग्यो’

बलिउडका प्रख्यात प्राविधिकहरूको संग्लग्नताले ‘प्रेम गीत–३’ गौरव गर्न लायक चलचित्र बनेको छ : सन्तोष सेन, निर्देशक

person explore access_timeभदौ ४, २०७९ chat_bubble_outline0

नेपाली चलचित्र ‘प्रेम गीत–३’ भारतका सयौं थिएटरसहित थुप्रै ओटिटी प्लेटफर्म मार्फत प्रदर्शनको तयारीमा छ । पछिल्लो दिन यता विश्वकै ठूलो चलचित्र बजारका लागि चिनियाँ भाषामा समेत डब हुने चर्चाले यसको संभावनाको आधार अझ वृहत्तर बन्दै गएको छ । 


चलचित्रको प्रचार प्रसारका लागि बहिरिएका पोस्टर र टिजरले दर्शकमाझ ठूलो अपेक्षा देखिन्छ भने नेपाली चलचत्रिकर्मीहरूमा पनि नयाँ उर्जा थपिएको छ ।



माथिको प्रसंगबारे कुरा गर्दै गर्दा वरिष्ठ चलचित्रकर्मी नीर शाह भन्छन्, ‘‘चलचित्र प्रेम गीत–३’ले प्राप्त गरिरहेको क्यानभास नेपाली राष्ट्रिय चलचित्र उद्योगका लागि एउटा अभूतपूर्व उपलब्धि हो, विश्व बजारमा नेपाली चलचित्रप्रतिको नयाँ आशा र संभावनाको प्रारम्भिक आधार हो ।’ 



पछिल्लो वर्ष चलचित्र बजारले तीन ठूला महत्वपूर्ण उपलब्धि हासिल गरेको शाहको ठम्याइ छ । उनी भन्छन्, ‘यस वर्ष नेपाली चलचित्र क्षेत्रका लागि असाध्य महत्वपूर्ण वर्ष रह्यो । ‘कबड्डी–४’को बक्स अफिस कलेक्सन, कान्समा नेपाली चलचित्र ‘लोरी’को  अवार्ड उपलब्धि र ‘प्रेम गीत–३’ हिन्दी भाषामा डव गरेर ‘अल इन्डिया’ रिलिजको तयारी । यी तीनवटै विषय राष्ट्रिय चलचित्र उद्योगका लागि ठूला र महत्वपूर्ण उपलब्धि हुन् ।’ 

वरिष्ठ चलचित्रकर्मी शाह थप्छन्, ‘यदि प्रेम गीत–३ तारिफयोग्य भयो भने यसका लेखक, निर्देशक, कलाकार, प्राविधिक सबै सफल बन्नेछन् । अर्काेतर्फ हामीले हाम्रो भाषाका कृतिलाई अरुका भाषामा नचलाएसम्म विश्व बजारसम्म जानै सक्दैनौं । त्यसैले प्रेम गीत–३ को प्रयास प्रारम्भिक हो । तर, प्रारम्भिक चरण नै अत्यन्तै प्रभावकारी देखिन्छ । यसमा हामी चलचित्रकर्मीहरूले गर्व गर्नुपर्छ ।’ 

त्यसो त वरिष्ठ चलचित्रकर्मी शाहले यस्तो दावी गर्दै गर्दा ‘कालोपोथी’, ‘सेतो सूर्य’ लगायतका चलचित्रले यस अघि नै विश्व चलचित्र बजारको भ्रमण प्रारम्भ गरिसकेका छन् । 

नाम नखुलाउने सर्तमा एक जना नेपाली चलचित्र निर्देशक भन्छन्, ‘हिन्दीमा डब गरेर भारतका केही थिएटर अनि नेपाली थिएटरमा नेपाली चलचित्र नै हिन्दी भाषामा प्रदर्शनमा आउनुले विश्व बजारमा नेपाली चलचित्रको उपस्थिति बलियो बनाउने कुराको आधार पस्कन सक्दैन ।’ उनका अनुसार  भारतका ठूला सहरमा ठूला विज्ञापन बोर्डहरूमा पैसा तिरेर पोस्टर लगाउँदैमा पनि नेपाली चलचित्रको ओझ विश्व बजारमा पुग्छ भन्न मिल्दैन ।

नेपाली चलचित्रले नेपाली भाषामै बलियो उपस्थिति राख्छ भने त्यसको मूल्याङ्कन गर्विलो हुने उनको तर्क छ । तर, दर्शकको ‘भोल्युम’ र व्यावसायिक सफलतासँग जोड्ने हो भने प्रेम गीत–३ को फरक अभ्यास सह्रानीय मान्छन् उनी ।

प्रेम गीत–३ लाई लिएर बजारले आ–आफ्नै हिसाबले तर्क–वितर्क गरिरहँदा चलचित्रका निर्देशक तथा निर्माताको मनोविज्ञान चाँहि कसरी चलिरहेको छ ? करोडौंको लगानीमा चलचित्र निर्माण गर्दै गर्दा कोभिड–१९ को चपेटामा पिरिलिएका निर्माताको मनोविज्ञान कसरी भारतीय बजारसम्म हान्नियो ? भारतका ठूला–ठूला सहरमा नेपाली चलचित्रका पोस्टर सार्वजनिकदेखि हिन्दी डबमा आएका प्रचार सामग्रीले एउटा निर्देशक र निर्माताको मनोविज्ञानमा के चलिरहेको छ त ? प्रस्तुत छ, यिनै विषयमा केन्द्रीत रहेर चलचित्रका निर्देशक, निर्माता तथा कलाकार सन्तोष सेनसँग गरिएको विशेष कुराकानीः

तपाईंको चलचित्रमाथि दर्शकको अपेक्षा बढ्दो छ, पूरा गर्ला त ?

चलचित्रको सबै काम सकियो । नेपाली भर्सनका लागि चलचित्रको कपी मेरो हातमा परिसक्यो । सँगै हामीले नेपालसँगै भारतमा पनि यसको प्रचार प्रसार सुरु गरिसक्यौं । दर्शकले जुन अपेक्षा गर्नु भएको छ, त्यो अपेक्षा अनुसारको चलचित्र बनेको छ । 

मुम्बईमा चलचित्र तयार भइसकेपछि त्यहाँका ठूला ठूला वितरक, स्याटेलाइट बिक्रेताहरूका लागि स्क्रिनिङ गर्ने प्रचलन रहेछ । त्यसमा पनि एउटा कम्पनीको कम्तिमा पनि ८ देखि १० जनासम्मले हेर्ने चलन रहेछ । कसैले मेकरका रुपमा र कतिपयले दर्शककै दृष्टिकोणबाट हेर्ने रहेछन् । उनीहरूले चलचित्रले दर्शकलाई होल्ड गरेर राख्न सक्छ कि सक्दैन भन्ने पार्टलाई नै प्राथमिकतामा राख्ने रहेछन् । त्यसैले अपेक्षाको हिसाबमा हामी त्यो परीक्षाबाट उत्तीर्ण भइसक्यौं । अर्काेतर्फ हिन्दी भाषामा विश्वभर प्रदर्शनको जिम्मा पाएको कम्पनी र भारत वितरण गर्ने गरी दुवै कम्पनीले हाम्रो चलचित्र लिइसकेकाले पनि दर्शकको अपेक्षा पूरा गर्ने विषयमा हामी पास भइसकेका छौं । 

अब नेपाली दर्शकका विषयमा कुरा गर्दा यो नेपाली दर्शकका लागि उपहार नै हो । कारण, भारतका उत्कृष्ट प्राविधिकहरूबाट काम भएको चलचित्र हो यो । हामीले हाम्रो कथा र कलाकारको कलालाई पस्केको मात्र थियौं । र, यसको पूर्णता भने बलिउडका जानेमानेका प्राविधिकहरूले दिनुभएको छ । त्यसैले पनि भन्छु यो चलचित्र नेपाली दर्शकले गौरव गर्न लायक चलचित्र बनेको छ ।

प्रेम गीत–३ चलचित्रको कथा र यसको थिम के हो ?

चलचित्र प्रेम गीत–२ मा जस्तो प्रेम कथा देख्न सकिन्थ्यो, त्यो भन्दा गहन र पृथक कथा ‘प्रेम कथा–३’मा हेर्न पाउनु हुनेछ । यो एउटा टिपिकल प्रेम कथा हो । यो एक प्रकारले ‘वारियर स्टोरी’ पनि हो । सँगै प्रेम गीत–३  राजनीति र राज्य सत्ताको खेल पनि हो । एउटा ऐतिहासिक कथा, जहाँ राजाका दुई छोराबीचको द्वन्द्व हेर्न सकिन्छ । 

यो मुख्य पात्रको दरवार प्रतिको वितृष्णा र राजाले गाउँ समाजमाथि गरिरहेको क्रुररतामाथि तयार प्रेम र युद्धबीचको लडाईंको कथा पनि हो । प्रजाकी छोरीसँग राजकुमार प्रेममा परेपछि निम्तिएको युद्धको कथा हो प्रेम गीत–३ ।

बाइसे चौबिसे राज्य व्यवस्था हुँदाको त्यो समय अनि हिमालको वरिपरि छेकिएका सात वटा गाउँका राजाको रणनीतिक कौशल, थ्रिल, एक्सन अनि मीठो प्रेम कथाको प्याकेज पनि हो चलचित्र प्रेम गीत–३ । त्यसैले प्याकेजमा भन्दा एउटा उत्कृष्ट ‘पिरियड ड्रामा’ हो प्रेम गीत–३’ । 

नेपाल पिरियड ड्रामा न्यारेसन गर्न वा यस्ता कथा भन्न कति सहज रहेछ ?

हामीले विद्युत नभएको कालखण्डको परिकल्पना गरेर त्यही कथामाथि काम गर्यौं । कथा बाचन गर्न हामीले आगो र राँकोमा काम गर्यौं । हतियारमा पनि बारुद भरेर सिसा हालेर छर्राले गोली पड्काउनु पर्ने समयलाई देखाउनु पर्यो । त्यो कालखण्डमा गाउँलेले उब्जाएको अनाज, फापर, कोदो तिब्बतमा बेचेर गोलाबारुद खरिद गर्नुपर्ने समयको थियो । हरेक जनताले उब्जनी होस् या नहोस् राजालाई अन्न दिनै पर्ने समय । अथवा राजासँग जनता आजित भएको समयको कथा न्यारेट गर्न सहज पक्कै थिएन । तर, यी सबै विषयलाई अनेकौं चुनौतीको सामना गर्दै पार लगायौं । सकेसम्म हामीले सुनेको इतिहासलाई समेट्ने प्रयास गरेका छौं । लाग्छ हामी हाम्रो पिरियड ड्रामाको कथा भन्न केही हदसम्म सफल भयौं कि ! 

नेपाली निर्माता निर्देशक भएर पनि बलिउड जस्तो ठूलो क्यानभासमा पुगेर हिन्दी डबमा चलचित्र प्रदर्शनको तयारी गरिरहनु भएको छ । कसरी तय भयो त बलिउड यात्रा ?

बलिउडका थिएटरमा चलचित्र रिलिज गर्ने मैले सोचेको थिइन । त्यहाँ सय करोडका फिल्म पनि पत्तासाफ भएको उदाहरण नदेखेको होइन । यसले गर्दा हाम्रो सानो माछाजत्रो चलचित्र विशाल समुद्रमा प्रदर्शन गर्छु भनेर सोच्ने कुरै थिएन । 

लकडाउनमा घरमा बसिरहँदा जी टिभी, सोनी टिभी हेर्दा साउथका चलचित्र हिन्दीमा डब भएर आइरहन्थे । धेरै दिनको घर बसाइँ र टेलिभिजनमा देखिने चलचित्रले नयाँ योजना बनाउन हौस्यायो । लाग्यो, हाम्रो नेपालमा पनि त क्वालिटीको चलचित्र बनिरहेका छन् । हाम्रा चलचित्र पनि त त्यहाँका सेटलाइटमा रिलिज गर्न सकिएला ! एक पटक म चाँहि प्रयास गर्छु भन्ने मनसुवा बनाइयो । अनि प्रेम गीत–३ को १६ मिनेट लामो ‘शो रिल’ र अभिनेता प्रदीप खड्कालाई साथमा लिएर दिल्ली निस्किएको हुँ ।

मुम्बई गएर मैले बुझ्दै नबुझेको बजारमा करोडौं भारतीय रकम खर्चिने सम्भावना थिएन । सिक्दै गरेको मान्छे उठाएर मेरो फिल्ममाथि काम लगाउने कुरा पनि भएन । त्यहाँ त स्टुडियो पनि नराम्रो पर्यो भने  भोजपुरीको श्रेणीको चलचित्र भन्ने रहेछन् । त्यसो गर्न पनि हुँदैनथ्यो । 

तपाईंले मुम्बई जाउँ भन्दा अभिनेता खड्काले सहजै स्विकार्नु भयो त ?

प्रदीपलाई स्टुडियोमै बोलाएर योजना सुनाएर सल्लाह गरेका हौं । मेरो कुरामा उ पनि कन्भिन्स भयो र अंग्रेजीमा चलचित्रको ‘वान लाइन’ स्टोरी तयार गर्न पनि प्रदीपले सहयोग गरेको हो । सुरुमा त सेटल्याइटको मात्र योजना थियो । नेपाली चलचित्र पनि भारतमा हेरियोस् । यस्ता–यस्ता ठाउँमा आयो है भनेर हामीले पनि गर्व गर्न पाइयोस भनेर नै त्यो कदम चालिएको थियो । लाग्छ कहिलेकाँही फुर्सदमा बसेर टिभीको रिमोट चलाउँदै जाँदा पनि नयाँ योजना बन्दो रहेछ । त्यसले मूर्त रुप लिने रहेछ ।

बलिउडका चिलचित्रकर्मीहरूसँग जोडिन चाँहि कति सहज/असहज भयो ?

मुम्बई मेरा लागि नयाँ थियो, मुम्बईका लागि म पनि । सोच चाँहि त्यहाँका वितरक र टेलिभिजनसम्म पुगेर हाम्रो चलचित्रको स्क्रिनिङको माहोल मिलाउने । अरु कसैलाई लगानी गर्न आग्रह भन्दा पनि आफूले बनाइसकेको चलचित्र यदि उहाँहरूलाई मनपर्छ भने टिभीमा चलाइदिनुहोस् भन्ने मात्र योजना थियो । यहाँसम्म कि, डविङ खर्च म आफै गर्न तयार थिएँ । 

तर, मुम्बई पुगेपछि थुप्रैसँग भेटघाट भयो । चलचित्रको शो पिस धेरैलाई देखाइयो । आफ्ना कुरा राखियो तर, परिणाम आइसकेको थिएन । धेरैले हाम्रो चलचित्र मनपराए तर, प्रदर्शनका लागि आँट गर्न सकेनन् । उल्टै खर्च बढी हुन्छ भनेर डर देखाएर हिँड्थे, लगानी गर्नु हुन्छ भने हामी गोल्ड माइन, ओटिटीमा वा टेलिभिजनमा चाँहि रिजिल गर्दिन्छौं भन्थे । पछि, ‘कञ्चना’ भन्ने तेलेगु चलचित्रको एसोसिएट डाइरेक्टर हेड एस मनि वर्मा सँगको भेट नै हाम्रो लागि सुखद बन्यो । उहाँसँगको भेटले नै आजसम्मको यात्रा तय भइरहेको छ ।

एस मनि वर्मा सँगको बसाइँ र उहाँलाई कन्भिस गराउन चाँहि कति सहज थियो ?

मुम्बई गएर मैले बुझ्दै नबुझेको बजारमा करोडौं भारतीय रकम खर्चिने सम्भावना थिएन । सिक्दै गरेको मान्छे उठाएर मेरो फिल्ममाथि काम लगाउने कुरा पनि भएन । त्यहाँ त स्टुडियो पनि नराम्रो पर्यो भने  भोजपुरीको श्रेणीको चलचित्र भन्ने रहेछन् । त्यसो गर्न पनि हुँदैनथ्यो । 

यहाँसम्म कि, फिल्म हेरेर कसैले राम्रो भन्यो भने फुलेर ठूलो हुने फेरि ७० लाख/एक करोड लगानी गर्नुभयो भने चलचित्र रिलिज गरिदिन्छौं भन्ने कुराले फुस्स । यस्ता अनेक कुराले दिल्लीबाट हरेस खाएर हामी नेपाल फर्किने अन्तिम तयारीमा थियौं । बरु नेपालमै बबाल गरौं भन्ने मुडमा पुगेका थियौं । कञ्चनाको एसोसिएट डाइरेक्टरलाई पनि हामीले विश्वास गरेका थिएनौं । 

तर, कुरा गर्दै जाँदा उहाँले साउथ चलचित्र सबै ल्याएर बेच्ने ठाउँमा लगेर स्क्रिनिङ गर्ने कुराले हामी उत्साहित भयौं । पूरा २६ मिनेटको चलचित्र हेरेपछि उहाँले हामीसँग धेरै प्रश्न गर्नुभयो । चलचित्रको लगानी,  विषय वस्तु, छायांकन अवधिलगायतका प्रश्न सबै गर्नुभयो । मुख्यतः बजेटमा उहाँको गहन प्रश्न थियो ।

तर, मलाई बजेटको कुरा भन्न भने डर लागिरहेको थियो ।  पहिले नै एक ठाउँमा १५ करोड भनेपछि एउटा  बिचौलियाले मान्छे बिच्किएको थियो ।  त्यसले मैले केही संवेदनशील भएर ४ करोड लगानी भएको सुनाएँ । एसले फेरि प्रश्न गर्यो कि, ४ करोडमा यत्रो चलचित्र कसरी बन्यो भनेर । खर्च डिटेल पनि माग्यो । मिलाएर खर्च विवरण पेश गरेपछि उहाँले पनि प्रेम गीत–३ चलचित्र रिलिज गर्ने आश्वासन दिनुभयो । 

हामी पनि नेपाल आएर सबै फुटेज लगेर नेपाली भाषामा तयार चलचित्र देखायौं । यहाँको सम्पादकले तयार गरेको ३ घन्टाको पूरा चलचित्र नै देखाएपछि मात्र उहाँ कन्भिन्स हुनुभयो । सुरुमा दिल्लीमा खान बस्न भनेर २० लाख एड्भान्स दिनुभयो भने अन्य प्राविधिक कामका लागि १ करोड २० लाख गरि कुल १ करोड ४० लाख रकम उहाँलै नै खर्च गर्नुभयो । र, बाँकी रकम चाँही ओटिटीमा रिलिज हुने समय सम्ममा दिने सहमति नै गरेका छौं । आज सम्झँदा हामीलाई यो सबैभन्दा कठिन समय थियो । एउटा ठूलो परीक्षा थियो भन्ने लाग्छ । 

सिकाइ भन्दा पनि व्यवहारिक रुपमा धेरै कुराको अनुभव गर्न पाइयो । सिस्टममा बसेर काम गर्नुपर्छ भन्ने त्यहाँका महत्वपूर्ण सिकाइ रह्यो । जबकि हामीकहाँ सिस्टममा काम नै हुँदैन । बाँकी स्क्रिन प्ले, लेखन अनि पोष्ट प्रडक्सनमा आएर कस्तो चलचित्रलाई कस्तोसम्म बनाउन सकिन्छ भन्ने पनि धेरथोर ज्ञान पाइयो । 

भारतबाट फर्किएपछि चलचित्रको पटकथा, सम्पादन र प्रस्तुतीकरणका लागि चाँहि कतिको गृहकार्य भयो ?

फर्किएपछि भन्दा पनि भारतमै धेरै गृहकार्य भयो । हाम्रो कथामाथि रहेर गरेको मेहनत र गृहकार्यले नै  चलचित्र नेपाली र हिन्दी गरी दुई भर्सनबाट आउँदैछ । चिनियाँ भाषाका लागि पनि गृहकार्य भइरहेको छ । हामीले जसरी स्क्रिप्ट तयार पारेका थियौं त्यो अनुसार नेपाली भर्सन रिलिज गर्नेछौं । अनि, हिन्दी भर्सन चाँहि नेपालीभन्दा अथवा स्क्रिप्टको फरम्याटभन्दा केही भिन्न आउनेछ । समग्रमा हिन्दी र नेपाली भर्सनमा करिब १४ मिनेटको स्क्रिन प्ले भिन्न देख्न सकिनेछ । 

अझ भन्ने हो भने हिन्दी भर्सन नन–लिनियर प्रस्तुतिमा आउने छ भने, नेपाली लिनियर प्रस्तुतिमा रहने छ । हिजो दिल दिमागले नेपाली अडियन्सलाई नै टार्गेट गरेर तयार पारिएको स्क्रिप्ट नेपाली भर्सनमा तयार गर्नै पर्यो । अनि, बलिउडको लागि हिरोइजम देखिने, अलि बलिउड फ्लेभर दिनका लागि सोही किसिमकै काम गरेका छौं । यसरी दुई वर्षसम्म दिल्लीमा बसेर हामीले फिल्मकै लागि होमवर्क गरयौं । त्यसैले यो अवधिमा चलचित्रलाई तिखारेर, माझेर नै यो अवस्थामा ल्याइ पुर्‍याएका हौं । हामीले पोस्ट प्रोडक्सनको कुरा गर्दा खाली डिसिएन सर्भरमा इनकोड गर्ने काम मात्र नेपालमा गरेका हौं, बाँकी सबै काम भारतमै गरेका छौं ।  

यति लामो समय भारतमा बसेर चलचित्रको प्रोष्ट प्रोडक्सनमा काम गर्नुभयो, समग्रमा सिकाइ के–के भयो ?

सिकाइ भन्दा पनि व्यवहारिक रुपमा धेरै कुराको अनुभव गर्न पाइयो । सिस्टममा बसेर काम गर्नुपर्छ भन्ने त्यहाँका महत्वपूर्ण सिकाइ रह्यो । जबकि हामीकहाँ सिस्टममा काम नै हुँदैन । बाँकी स्क्रिन प्ले, लेखन अनि पोष्ट प्रडक्सनमा आएर कस्तो चलचित्रलाई कस्तोसम्म बनाउन सकिन्छ भन्ने पनि धेरथोर ज्ञान पाइयो । 

उदाहरण नै दिउँ, एउटा क्यारेक्टरले लगाएको जुत्ताको आवाज (साउन्ड) का लागि पनि हाम्रो टिम नेपाल आएर जुत्ता बोकेर दिल्ली पुग्नु परेको छ । यसको अर्थ उनीहरू एकदमै गहन र डिटेलमा काम गर्ने रहेछन् । यहाँ हामी अनलाइनबाट लिएर साउन्ड प्रयोग गर्छौँ । तर, त्यहाँ एउटा सिसाको ग्लासको छ भने पनि त्यहीँ आवाज निकाले काम गर्ने रहेछन् । यसरी काम गर्ने तरिका हामीले छुटाइरहेका थियौँ/छौँ । 

छायांकन स्थलको वातावरण, त्यहाँ पाइने चरा, किरा फट्याङ्ग्रा सबैको मसिनो अध्ययन गरेर मात्र काम हुने रहेछ । कलरमा, मास्किङमा जसरी लेयर लेयरमा काम हुन्छ, त्यसमा पनि हामीले केही त छुटाइरहेका छौं । यतिमात्र नभएर अन्य ‘इक्युपमेन्ट’को प्रयोगमा पनि हामी कमजोर रहेछौं  । हामीसँग आवश्यक जेन्युन सफ्टवेर वा हार्डवेर पनि छैन । यसले चलचित्रको गुणस्तरीय उत्पादनमा हामी सम्झौता गर्दै आउनु परेको छ । 

हामीकहाँ निकै धेरै पक्षमा चलचित्र मेकरले अध्ययन गर्न जरुरी छ । हो, हामीसँग बजेट सीमित छ । तथापि, दुई वर्ष लामो भारत बसाइँ, फिल्म क्षेत्रका अनेकौं मान्छेहरूसँगको उठबसले हामीमा भएका धेरै कमी कमजोरीहरू थाहा पाउने मौका पाएको छु ।

नेपालमा विशेष गरी चलचित्रको कथा, पटकथा नै झुर भयो भन्ने गरिन्छ । यस विषयमा पनि त केही ज्ञान पाउनु भयो होला नि ?

म आफू खासै क्रिएटिभ मान्छे होइन । सधैँ भन्ने गरेको छु कि, मैले कसैको आइडियालाई विकास गर्ने हो र त्यसलाई एउटा क्यानभासमा उतार्ने हो । म आफूले आफैलाई भयंकर क्रिएटिभ मान्छे मान्दिनँ र भन्दिनँ पनि । कसैले नयाँ आइडिया लिएर आउँछ भने त्यसलाई नयाँ आकृतिमा, कुनै क्यानभासमा लगेर पस्कने क्षमता भने पक्कै राख्छु । 

कसैले दिएको आइडियालाई क्याप्टेनसीप गर्न सक्छु । त्यसैले सिक्ने कुरामा प्राविधिका कुरा, काम गर्ने पद्दतिका कुरा अनि, व्यवस्थापनका कुरा सिक्ने मौका भने बढी पाएँ कि जस्तो लाग्छ । म नेपाली मेकर भएर हलिउड बलिउडको जस्तो खोजेर पनि हुँदैन । तर, हामी अझै प्रोफेसनल हुन बाँकी भने पक्कै छ । 

स्क्रिप्टको पाटोमा कुरा गर्दा मैले कोहीबाट पनि छलफल वा आइडिया सेयरिङ पाइनँ । तर, यति थाहा भयो कि, हामीकहाँ जस्तो स्क्रिप्टमा त्यहाँ ख्याल ठट्टा हुँदै हुन्न । हामी स्क्रिप्टलाई यति दिन छुट्ट्याउँ भनेर फिल्डमा जान्छौं । तर, उनीहरू महिनौ, वर्षौसम्म पनि त्यसमै घोटिएर काम गरिरहने रहेछन् । 

त्यहाँको एउटा निर्माणको तयारमा रहेको ‘गरुड’ भन्ने चलचित्रको टिमसँगको कुराकानीमा उनीहरू भन्दै थिए, ‘हामीले चलचित्रमाथि काम सुरु गरेको ९ महिना भयो । अहिलेसम्म ‘फस्ट ड्राफ्ट’ पनि आएको छैन ।’ अथवा उनीहरू सबै विषयमा पूर्ण भएर मात्र काम सुरु गर्छन् । लोकेसनको, पात्र अनि पात्रले निर्वाह गर्नुपर्ने चरित्र सबै विषयको सुक्ष्म अध्ययन गर्नुपर्ने रहेछ ।  

हाम्रो यताको जस्तो सोच्ने, घरमा गयो डायरीमा लेख्ने उता हुँदैन । चलचित्र फिक्सन होस् वा वास्तविक घटना, त्यसको प्रकृतिलाई हेरेर लेखक स्वयंले त्यसको अनुभूत गरेर मात्र कथा लेखिने रहेछ । चलचित्रलाई जीवन्त र ज्वलन्त बनाउन उनीहरू स्वंयम् घटनाको यथार्थसम्म जाने रहेछन् । अथवा, चलचित्रको मेरुदण्ड नै स्क्रिप्ट हो भन्ने कुरामा उनीहरू केही कसर बाँकी राख्दैनन् । 

हरेक चलचित्र उद्योगका मेकरहरूको उद्देश्य भनेको राम्रो चलचित्र पस्किने नै हो । तर, समग्रमा नेपाली र भारतीय चलचित्र बजारबीचको अन्तर वा खाडल भने के–के पाउनु भयो ?

पक्कै पनि सबै उद्योगको सोच एउटै हो कि राम्रो काम गरेर राम्रो चलचित्र बनाऊँ । तर, मुख्य विषय बजेट वा लगानीमा गएर अड्किने रहेछ । हामीले अघि नै स्क्रिप्टमाथि उनीहरूले गर्ने मेहनत, त्यसमाथिको ‘डेडिकेसन’को कुरा गर्‍यौं । ‘इक्युप्मेन्ट’को, काम गर्ने ‘वेल सिस्टम’को कुरा गर्‍यौं । यी सबै विषयमा बजेटको पाटो प्रत्यक्ष अप्रत्यक्ष जोडिन्छ ।  

छायांकनका लागि क्यामेराको कुरा गर्दा बलिउडका लागि थोत्रो भइसकेको क्यामेरा यहाँ बल्ल आइपुग्छ । अनि त्यो सामानको प्रयोगबाट हामी क्वालिटी खोजिरहेका हुन्छौं । उनीहरूले छोडेको भर्सन हामी नयाँ मानेर प्रयोग गरिरहेका हुन्छौं । यसको अर्थ प्रविधिमा हामी पछाडि छौं । 

अर्को पक्ष परिश्रम सबैले गर्ने हो । तर, हामी बजेटको सीमिततामा रुमलिरहेका छौं । सिनेमेटो ग्राफरलाई १० दिनको समय सीमा दिन्छौं र त्यसमध्येको उत्कृष्टको माग गर्छौ । यदि हामीसँग बजेट पुग्दो हुँदो हो त,  १० दिन लागोस् वा सय दिन मलाई क्वालिटी चाहियो भन्ने हो भने पक्कै गुणस्तरीय उत्पादन हुन्छ । 

पहिलो कुरा त भाषा नै हो कि !  दोस्रो चाँहि हामी नेपाली कलाकारहरूमा आवाजसँग खेल्ने खुवी नै नभएर पनि होला । नेपाली कलाकारहरूमा पनि कति जनाको त आवाजमा दम छ ।  तर, कोही कोहीमा आवाजको लागि आवश्यक अभ्यास नपुगेकै हो । भाषामा सुनिने लवजसँगै स्वर ‘क्वालिटी’मा हामी कँहि न कँहि कमजोर नै छौं । हामीले साउन्डमा पनि उत्तिकै मेहनत गर्न बाँकी छ ।

हामीकहाँ ५/७ लाख दिएर १८/२० दिनमा चलचित्र सक्ने योजना बोकेर छायांकनमा निस्कन्छौं अनि गुणस्तरीयताको प्रश्न पनि उठाउँछौँ । लाइटिङ्मा, भिएफएक्समा उनीहरू कयौं दिन मेहनत गर्छन् । तर, हामीलाई हाम्रै बजेटले प्रश्न उठाइरहेको हुन्छ । 

अब, मैले यसो भन्दै गर्दा चलचित्र क्वालिटीको बनाएन भन्ने पनि धेरै हुनुहुन्छ । हलिउड/बलिउडको क्वालिटीमा चलचित्र आयो भने त हेरिहाल्छौ नि भन्ने पनि हुनुहुन्छ । तर, एउटै चलचित्रका लागि १०/१५ करोड खर्च गरेर त्यो जोखिम मोल्न सक्ने किसिमको ‘फ्लो’ त नेपाली दर्शकको छैन । यो विषय पनि उत्तिकै गहन बन्छ । त्यसैले हाम्रो अडियन्स यही नै हुन्, हाम्रो मार्केट नै सानो छ । हाम्रो बजार र उनीहरूको बजारलाई नजिकबाट हेर्दा भूगोल, भाषा, जनसंख्या, बजेट, आफ्नो चलचित्र उद्योगप्रतिको दर्शकको साथ सहयोग र जोखिम बहन गर्न सक्ने क्षमता सबै कुराले असर गरिरहेको छ ।

चलचित्रको टिजर नेपाली र हिन्दी भाषा दुवैमा आइसकेको छ, अन्य प्रमोसनल सामग्री आउन बाँकी नै छ । तर नेपाली भन्दा हिन्दी भाषाको टिजर बढी दमदार भएको प्रतिक्रिया आइरहेको छ । खास के हो ? 

मलाइ पनि हिन्दी भाषा नै दमदार लाग्यो । खासमा हामीले हिन्दी भाषाको डविङमा निकै मेहनत पनि गरेका छौं । डविङमा पुरै ‘ए लेभल’को काम गर्ने प्रयास गरेको छौं । त्यसैले दर्शकलाई लाग्ला कि, नेपाली भन्दा हिन्दी नै ठिक भन्ने । अर्को कामको सन्दर्भमा उनीहरूको डविङ साँच्चै ‘पर्फेक्ट’ लाग्यो । एकै पटकमा फाइनल आवाज दिने । कथावस्तुलाई भित्रैबाट आत्मसाथ गरेर दिएको आवाज निकै दमदार नै सुनिने रहेछ । 

यद्यपि नेपाली भर्सनका लागि पनि हामीले कम मेहनत गरेका छैनौं । तर, नेपालीमा डबिङ गर्दा १० पटकमा पनि त्यो फिल आइरहेको हुँदैन । कतिपय अवस्थामा हाम्रै कलाकारहरूलाई थप अभ्यास गरेर आउन भनेर डविङबाट फर्काएका दिन पनि छन् । 

तपाईंले भनेको ‘फिल’ अथवा त्यो पात्र अनुसारको आवाजमा हुनुपर्ने क्वालिटी (दम) नेपाली भाषामा किन नभएको हो त ? नेपाली कलाकारको आवाजमा दम नभएकै हो र ? 

पहिलो कुरा त भाषा नै हो कि !  दोस्रो चाँहि हामी नेपाली कलाकारहरूमा आवाजसँग खेल्ने खुवी नै नभएर पनि होला । नेपाली कलाकारहरूमा पनि कति जनाको त आवाजमा दम छ ।  तर, कोही कोहीमा आवाजको लागि आवश्यक अभ्यास नपुगेकै हो । भाषामा सुनिने लवजसँगै स्वर ‘क्वालिटी’मा हामी कँहि न कँहि कमजोर नै छौं । हामीले साउन्डमा पनि उत्तिकै मेहनत गर्न बाँकी छ ।

तपाईंको चलचित्र प्रदर्शनमा नआउँदै निर्देशक छेतेन गुरूङलाई हामीले गुमाउनु पर्‍यो । काम गर्दै गर्दा उहाँको अभाव कतिको खड्किएको छ ?

छेतेन दाइ वित्नु ‘प्रेम गीत–३’ वा मेरो मात्र घाटा नभइ सिंगो नेपाली चलचित्र उद्योगकै घाटा हो । अझ यस प्रोजेक्टमा त हामी नङ र मासु झै थियौं । अब आफै सोच्नुहोस् कि, मासुबाट नङ उक्किँदा कति पीडा हुन्छ। उहाँको एउटा सपना थियो कि ‘पिरियड ड्रामा’ बनाउने ।  यो प्रोजेक्टलाई पूर्ण रूप दिएर नेपाली अडियन्समाझ केही नयाँ पस्कने । तर, उहाँ हामीमाझ रहनु भएन । तथापि प्रोजेक्ट उहाँले सोचेको भन्दा पनि ‘नेक्स्ट लेभल’मा पुगेको छ । 

अझै पनि लाग्छ छेतेन दाई हुनु भएको भए हामी सँगै बसेर नयाँ–नयाँ आइडियामा बसेर काम गथ्यौं होला ! उहाँको सल्लाह सुझावमा रहेर काम गर्दा कति खुसी भइन्थ्यो होला ! स्टुडियोमा, मार्केटिङमा जता पनि आफै दौडिनु परेको छ ।  यदि उहाँ हुनुहुँदो हो त, एउटा डिपार्ट सम्हाल्नु हुनेथियो ।

अन्त्यमा, चलचित्रका लेखक अनि निर्देशक छेतेन गुरुङलाई गुमाएसँगै  निर्माता, निर्देशक र कलाकारका रूपमा समेत देखिएको सन्तोष सेनमा आइपरेका चुनौती के रहे ? 

विशेष गरेर छेतेन दाइ हुँदा पनि चलचित्रलाई लिएर हामी माझ थुप्रै चुनौती थिए । लोमान्थाङको विष्टको दरबारलाई हाम्रो सेटमा जस्ताको तस्तै उतारेर छायांकन गर्नुदेखि, राँको र पुल्ठो बालेर त्यसकै प्रकाशमा चलचित्रको कथा बाँध्न झनै चुनौती थियो।

उता मनाङमा सुख्खा मौसम र हिउँसहितको ‘आइस फलिङ’को दृष्य भेटाउन पनि उस्तै सकस थियो । तर, हामी भाग्यमानी रहेछौं कि, सात दिन सुट गरेपछि २ फिटसम्म हिउँ पर्‍यो । प्रकृतिले पनि साथ दियो । छेतेन दाइ र मैलेमात्र नभएर सिंगो टिमले नै अनेकौं चुनौतीलाई पार लगाउँदै यहाँसम्म आइपुग्यौं । त्यसमा थपियो कोभिड–१९ को पिरलो । तथापि कोभिडकै कारण हामीले बलिउडसम्मको क्यानभासमा पुग्ने अवसर पायौं । 

अहिले पनि लाग्छ चलचित्रलाई सफल बनाएर छेतेन दाइको कन्सेप्टलाई न्याय गरौं । त्यसका लागि हामी आज पनि देश विदेशमा अनवरत खटिइरहेका छौं । जसले छेतेन दाइको कन्सेप्टमात्र नभएर सिंगो नेपाली चलचित्र उद्योगलाई नै सफलता उन्मुख बनाउन सकोस् । 

अब, आज आएर लागिरहेको छ कि, म आफैलाई निर्देशकको रुपमा स्थापित हुनु पर्ने चुनौती छ । अझ भन्ने हो भने म निर्देशकका रूपमा जम्नु छ । सन्तोष सेन आफैमा ‘प्रुफ’ हुनु छ । चलचित्रमा लगानी त जसले पनि गर्न सक्ला । तर, निर्देशकीय पाटोबाट मेरो कामलाई विश्वभरका नेपाली र प्रेम गीत–३ का दर्शकमाझ प्रमाणित पनि गर्नुछ । साथै चलचित्रप्रति म आफैमा पनि कौतुहलता र उत्सुकता पनि छ । आम अडियन्सको रेस्पोन्सप्रतिको डर पनि उत्तिकै छ । 

आजसम्मको योजनाअनुसार ओभरसिजमा ३ सय बढी थियटर र भारतमा मात्रै ५ देखि ६ सय थियटरमा चलचित्र स्क्रिनिङ हुनेछ । थियटर त पक्कै पाउँछ तर, दर्शक कति पाउने हो त्यो भने निर्माता निर्देशकसहित आमदर्शकका लागि कौतुहलताको विषय बनेको छ । र, मलाई थाहा छ असोज ७ गतेपछि हरेक नेपालीले प्रेम गीत–३ हल हलमा पुगेर पक्कै हेर्नु हुनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।