बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

रामराजा प्रसाद सिंह यस कारण बन्न सकेनन् पहिलो राष्ट्रपति

सोमबार, २७ भदौ २०७९, १६ : ३२
सोमबार, २७ भदौ २०७९

‘उपेन्द्र यादवजीले गलत निर्णय गर्नुभयो । यस घटनाले मधेसी जनअधिकार फोरम नेपालले आफ्ना एक संस्थापक, मुलुककै पहिलो गणतन्त्रवादी नेताका प्रति खुला घात गरेको छ । मतदानका लागि ह्वीप जारी गरिनु हुँदैन ।’

२०६५ साउन ६ गते तत्कालीन मधेसी जनअधिकार फोरम नेपालको संसदीय दलको बैठकमा जेपी गुप्ताले लेखेको ‘नोट अफ डिसेन्ट’ हो यो । राष्ट्रपतिमा कसलाई मतदान गर्ने भन्ने विषयमा निर्णय गर्न फोरमको संसदीय दलको बैठक बसेको थियो । सो बैठकले राष्ट्रपतिमा कांग्रेसका डा.रामवरण यादवलाई मतदान गर्ने निर्णयसहित ह्वीप पनि जारी गरेको थियो । तर, संसदीय दलमा एक मत हुन सकेको थिएन ।

त्यसको विरोधमा जेपी गुप्ताले नोट अफ डिसेन्ट लेखेका थिए । जेपी गुप्ताले त्यतिबेला रामराजा प्रसाद सिंहलाई मतदान गर्न पार्टीका सांसदहरुलाई आग्रह गरेका थिए । त्यतिबेला फोरमको ह्वीपको विरोध गर्दै जेपी गुप्ता, विजयकुमार गच्छदारसहित १९ जना फोरमका सांसदले रामराजा प्रसाद सिंहलाई मतदान गरेका थिए । तर उनीहरुको मत काम लागेन र रामराजा प्रसाद सिंह राष्ट्रपतिमा पराजित भए ।

आज उनै रामराजा प्रसाद सिंहको १०औं स्मृति मनाइँदैछ । रामराजा प्रसाद सिंहलाई नेपालको प्रथम गणतन्त्रवादी नेता मानिन्छ । तर, उनले गणतन्त्रको प्रथम राष्ट्रपति बन्ने सौभाग्य पाएनन् ।

माओवादी केन्द्रले राष्ट्रपतिमा रामराजा प्रसाद सिंहलाई उम्मेदवार बनाएको थियो । तर, कांग्रेसका डा. रामवरण यादव राष्ट्रपतिमा निर्वाचित भए ।

गुप्ता भन्छन्, ‘माओवादी केन्द्र र तत्कालीन फोरमबीच राष्ट्रपतिमा रामराजा प्रसाद सिंहलाई उम्मेदवार बनाउने सहमति भएको थियो तर प्रचण्डले उपराष्ट्रपतिमा शान्ता श्रेष्ठलाई अघि सार्नुभयो । त्यसमा हाम्रो आपत्ति थियो ।’

माओवादीबाट राष्ट्रपति र उपराष्ट्रपतिको उम्मेदवार हुनु हुँदैन भन्ने फोरमको धारणा थियो । त्यतिबेला फोरमको तर्फबाट उपराष्ट्रपति सीतानन्दन रायलाई उम्मेदवार बनाउने कुरा भयो तर माओवादीका अध्यक्ष प्रचण्डले त्यसलाई स्वीकार गरेनन् । गुप्ताका अनुसार अध्यक्ष प्रचण्डले राष्ट्रपति र उपराष्ट्रपति दुवैजना मधेसी हुँदैन, यसले राम्रो सन्देश जाँदैन, एक जना महिला, त्यो पनि काठमाडौंको नेवार भएपछि यसले राम्रो सन्देश जाने भएकाले राष्ट्रपतिमा रामराजा र उपराष्ट्रपतिमा शान्ता श्रेष्ठ राखौं भन्ने अडान राखेका थिए ।

त्यसमा फोरम पनि लगभग सहमत भइसकेको तर पछि कांग्रेसबाट डा.रामवरण यादव, एमालेबाट रामपृत पासवानको नाम राष्ट्रपतिमा आएपछि सबै कुरा बिग्रेको गुप्ताको बुझाई छ । गुप्ता भन्छन्, ‘भारतीय दूतावासले अमरेश कुमार सिंहलाई खटाएर राष्ट्रपति चुनावमा सिधै हस्तक्षेप गरेको थियो र रातारात सबै कुरा बिग्रियो, अन्ततः डा.रामवरण यादव राष्ट्रपति हुनुभयो ।’

राष्ट्रपतिका लागि मतदान हुनुअघि एमालेको संसदीय दलको कार्यालयमा कांग्रेसका नेता रामचन्द्र पौडेल, एमालेका तत्कालीन नेता झलनाथ खनाल र तत्कालीन फोरमका अध्यक्ष उपेन्द्र यादवबीच बैठक बस्यो र सोही बैठकको परिणामस्वरुप रामराजा प्रसाद सिंह पराजित हुन पुगे ।

वरिष्ठ पत्रकार सीताराम अग्रहरी भन्छन्, ‘उपेन्द्र यादवको डर्टी गेमले गर्दा मधेसका सबभन्दा महान् क्रान्तिकारी सुपुत्र पराजित भए । रामराजा जातिवादका भेट चढे ।’

रामराजा साधारण हस्ती थिएनन् । उनले गणतन्त्रका लागि आजीवन दुःख र दुःखमात्रै पाएको बताउँदै पत्रकार अग्रहरीले आफ्नै बन्धुहरु शक्तिमा आउँदा उनले धोका पाएको बताए । उनले भने, ‘उपेन्द्र यादवका कारण रामराजा प्रसाद सिंह  राष्ट्रपति बन्न सक्नु भएन, यो कुरा जगजाहेर छ ।’

रामराजा प्रसाद सिंहप्रति भारत  सकारात्मक थिएन । डा. रामवरण यादव राष्ट्रपति बन्नुमा भारतका साथै उपेन्द्र यादव मुख्य फ्याक्टर रहेको उनको बुझाई छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप