धेरै बोनस पाएर खुसी थिए कर्मचारी, महिना दिन नबित्दै कम्पनीले भन्याे – फिर्ता गर...

person explore access_timeअसोज ७, २०७९ chat_bubble_outline0

कुनै पनि कर्मचारीमा बोनसका लागि विशेष उत्साह रहन्छ र उनीहरु यसको व्यग्र प्रतीक्षामा पनि हुन्छन् । तर एकपटक सोच्नुहोस् त, राम्रो बोनस पाइयो तर यसको खुसी मनाउनु अघि नै कम्पनीले फिर्ता माग्यो भने के होला ? यस्तै भएको छ जापानी कार निर्माता कम्पनी होन्डाका कर्मचारीमाथि । कम्पनीले पहिला उनीहरुलाई बोनस दिएर खुसी बनायो र अब उनीहरुलाई पैसा फिर्ता गर्न निर्देशन दिएको छ । आखिर के हो त घटना ? त्यसबारे जानकारी लिऔँ ।


खातामा हालियो बढी बोनस



अमेरिकाको ओहायो राज्यको मेरिसभिल शहरमा भएको होन्डाको कारखानामा काम गर्नेहरुलाई कम्पनीले बोनस रकम फिर्ता गर्न भनेको हो । कम्पनीले कर्मचारीलाई हालै एउटा मेमो पठाएको छ । यसमा ‘तपाईंलाई ओभरपेड बोनस पठाइएको छ र अतिरिक्त रकम फिर्ता गर्नुपर्ने हुन्छ’ भनेर लेखिएको थियो । अर्थात् यी कर्मचारीले जति बोनस पाउनुपर्ने थियो त्योभन्दा बढी रकम उनीहरुको खातामा पठाइएको थियो ।



कम्पनीले कर्मचारीलाई दियो कडा निर्देशन

बिजनेस टुडेमा एनबीसीफोरलाई उद्धृत गर्दै छापिएको रिपोर्टमा भनिएको छ – यो मेमो पाएपछि होन्डाको यो कारखानामा काम गर्ने कर्मचारीहरु अलमलमा परेका छन् । होन्डाको तर्फबाट कर्मचारीलाई उक्त अतिरिक्त बोनसलाई छिटोभन्दा छिटो फिर्ता गर्नुपर्ने कडा निर्देशन दिएको छ । यसमा भनिएको छ, ‘यदि मेमोलाई नजरअन्दाज गरियो वा यसको जवाफ दिइएन भने मासिक तलबबाट बोनसको अतिरिक्त रकम स्वतः काटिनेछ ।’

यस्तो नगर्ने कर्मचारीविरुद्ध कम्पनीले कानुनी उपचारसमेत गर्ने विज्ञको मान्यता छ ।

कम्पनीले आफ्ना कर्मचारीलाई २२ सेप्टेम्बरसम्म रकम भुक्तानीबारे सोच्न समय दिएको थियो । अतिरिक्त बोनसलाई तत्काल भुक्तानी गर्ने कि मासिक तलबबाट कट्टा गर्ने हो भनेर कर्मचारीले छान्न सक्नेछन् ।

यसबारे थप जानकारी प्राप्त गर्न होन्डासँग सम्पर्क गर्न खोज्दा उक्त कार निर्माता कम्पनीले आफूले केही कर्मचारीलाई अतिरिक्त बोनस फिर्ता गर्न भनिरहेको र यो कानुन सम्मत भएको बताएको छ । यद्यपि, कम्पनीले बोनसमा अतिरिक्त रकम कति गयो र कतिजनाले यो फिर्ता दिनुपर्ने भन्ने कुनै पनि जानकारी दिन अस्वीकार गरेको छ ।

‘यस महिनाको सुरुमा होन्डाले आफ्ना कर्मचारीलाई बोनस बाँडेको थियो । कतिलाई प्राप्त बोनसभन्दा बढीसमेत भयो । क्षतीपूर्तिसँग सम्बन्धित मुद्दाहरु संवेदनशील विषय हो र हामी हाम्रा सहयोगीलाई कुनै पनि सम्भावित प्रभावलाई कम गर्न यस विषयमा द्रुत गतिमा काम गरिरहेका छौँ । यो एक नीजि विषय भएकोले यसबारे थप जानकारी प्रदान गर्न हामी असमर्थ छौँ,’ कम्पनीले एक वक्तव्यमा भनेको छ ।

यद्यपि, कर्मचारीले पैसा फिर्ता गर्नु आफ्नो परिवारका लागि गाह्रो हुनसक्ने बताएका छन् ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

नाम *:
इमेल *:
प्रतिक्रिया *:

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।