शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

महराले मैदान छोडेपछि गठबन्धनभित्र दाङ–२ तानातानमा

शंकर पोखरेलसँग कसले गर्ला प्रतिस्पर्धा ?
सोमबार, १० असोज २०७९, ०६ : ३०
सोमबार, १० असोज २०७९

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम् प्रवक्ता कृष्णबहादुर महराले प्रत्यक्ष निर्वाचन नलड्ने भएपछि उनको क्षेत्र ‘दाङ–२’ सत्तारुढ गठबन्धनभित्रै तानातानमा परेको छ । उपाध्यक्ष महरा समानुपातिकमा गएपछि नेपाली कांग्रेसले गठबन्धनभित्र सो क्षेत्रमा आफ्नो सशक्त दाबी राखेको छ ।

अघिल्लो निर्वाचनमा जितेकै आधारमा महरालाई नेपाली कांग्रेसले दाङ क्षेत्र नम्बर २ छोड्ने तयारी गरेको थियो । तर, महराले मैदान छोडेपछि कांग्रेसका नेता राजु खनालले दाबी गरेको नेपाली कांग्रेसका जिल्ला सभापति शंकर डाँगीले बताए ।

‘महरा सर लड्ने अवस्थामा हामी दाबी गर्ने पक्षमा थिएनौं तर उहाँले प्रत्यक्षतर्फ चुनाव नलड्ने निर्णयमा पुगेर समानुपातिकमा जानुभयो । त्यसपछि हाम्रो पार्टीबाट राजु खनालले दाबी गर्नुभयो,’ रातोपाटीसँग खनालले भने, ‘महराबाहेक माओवादी अरु नेता चुनाव लड्दा हार्ने स्थिति हुन्छ । त्यसैले कांग्रेसको दाबी छ ।’

सो निर्वाचन क्षेत्रमा नेकपा एमालेबाट महासचिव शंकर पोखरेल उम्मेदवार बन्दैछन् । उनीसँग प्रतिस्पर्धामा सशक्त उम्मेदवार आवश्यक पर्ने भन्दै कांग्रेसले दाबी गरेको छ । कांग्रेसले माओवादीलाई दाङबाट प्रदेशसभामा तीन सिट दिएर भए पनि प्रतिनिधिसभातर्फ दुई सिट लिने तयारी गरेको छ ।

माओवादी केन्द्रले भने महराले मैदान छोडेपछि दाङ–२ मा स्थायी समिति सदस्य रेखा शर्मालाई अघि सारेको छ । पोलिटब्यूरो सदस्य निर्मल आचार्य प्रदेशमा चुनाव लड्न तयार भएपछि शर्माले प्रतिनिधिसभामा अवसर पाएकी हुन् ।

गठबन्धनबाट दाङ–२ माओवादी केन्द्रको भागमा परेमा आफू उम्मेदवार बन्न तयार रहेको शर्माले बताइन् । ‘गठबन्धनबाट औपचारिक रूपमा सिट टुङ्गिन बाँकी छ । सिट टुङ्गो लाग्यो र दाङ क्षेत्र नम्बर २ हाम्रो भागमा परेर पार्टीले उम्मेदवार बनायो भने प्रत्यक्षमा मेरो उम्मेदवारी हुनेछ,’ शर्माले भनिन् ।

पार्टीले समेत जिल्लाबाट आफ्नो नाम सिफारिस गरिसकेको भन्दै उनले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आफू तयार रहेको बताइन् । उनले भनिन्, ‘गठबन्धनबाट यो क्षेत्र माओवादी केन्द्रको भागमा पर्नु प¥यो । पार्टीले टिकट दिनु प¥यो । म चुनाव लड्न तयार छु ।’

एमालेबाट महासचिव पोखरेल उम्मेदवार बन्ने लगभग छिनोफानो भइसके पनि गठबन्धनबाट कसलाई उम्मेदवार बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । यद्यपि माओवादी केन्द्रकी शर्माले पार्टीबाट आफ्नो टिकट पक्काजस्तै भइसकेको दाबी गरेकी छन् । तर पछिल्लो समय कांग्रेसले पनि दाबी गरेपछि गठबन्धनमा दाङ–२ तानानानमा पर्ने देखिएको हो ।

एमालेले प्रदेशको राजधानी दाङमा ल्याउन तत्कालीन मुख्यमन्त्री पोखरेलले निर्वाह गरेको भूमिका, महराले मैदान छाडेकोजस्ता विषयलाई मुद्दा बनाएको छ ।

तर गठबन्धनले एमालेका उम्मेदवार पोखरेल अन्तरमुखी भएका कारण आफूहरुले त्यसको फाइदा उठाउन सक्ने आकलन गरेका छन् ।

स्थानीय चुनावको अंकगणितमा एमाले र गठबन्धन बराबर 

दाङ क्षेत्र नम्बर २ भित्र तीन स्थानीय तह छन् । जसमा घोराही उपमहानगरका १९ वडामध्ये १, २, ३, ५ बाहेक सबै वडा यस निर्वाचन क्षेत्रमा पर्छन् । तुलसीपुर उपमहानगरका १६, १७, १८, १९ वडामात्रै यो निर्वाचन क्षेत्रमा पर्छन् । बंगलाचुली गाउँपालिका पनि क्षेत्र नम्बर २ मै पर्छ ।

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा बंगलाचुली गाउँपालिका प्रमुख माओवादीले जितेको छ भने उपप्रमुख कांग्रेसले जितेको छ । यो पालिकाको एउटा पनि वडामा एमाले विजयी हुन सकेन । ८ वडा रहेको यो पालिकामा अध्यक्षसहित ४ वडा माओवादीले र उपाध्यक्षसहित ४ वडा कांग्रेसले जितेको छ ।

यस्तै एमालेले घोराहीको प्रमुख र उपप्रमुख सहित क्षेत्र नम्बर २ मा पर्ने १५ मध्ये १० वडा जितेको छ । कांग्रेसले सो पालिकाको ४ वडा र माओवादीले एउटा मात्रै वडा जितेको छ ।

यस्तै तुलसीपुरको प्रमुख र उप्रमुखसहित क्षेत्र नम्बर २ मा पर्ने चार वडामध्ये एमालेले २ वडा जितेको छ । एउटा वडा स्वतन्त्र र एउटा कांग्रेसले जितेको छ ।

गत वैशाख ३० गतेको स्थानीय तहको अंकगणितलाई केलाउँदा दाङ–२ मा एमाले र गठबन्धनको मत बराबरीजस्तै छ । स्थानीय तहको वडा अध्यक्षको मत गणना गर्दा एमाले एक्लैको ३६ हजार २६१ मत छ । यस्तै, कांग्रेसको २२ हजार ७६९, माओवादीको १० हजार ४७८ मत र एकीकृत समाजवादीको २ हजार ९४२ मत छ । एमालेको एक्लैको ३६ हजार २६१ मत हुँदा गठबन्धनको कुल ३६ हजार १८९ मत देखिन्छ ।

गठबन्धनले सशक्त उम्मेदवार उठाउने हो र गठबन्धन घटक एक ढिक्का हुने हो भने यो क्षेत्रमा एमालेलाई निकै ठुलो चुनौती हुन सक्ने जानकारहरु बताउँछन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गिरिराज नेपाली
गिरिराज नेपाली
लेखकबाट थप