मनास्लु आधार शिविरमा हिमपहिरो, १२ जना घाइते
गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । पर्यटन विभागका महानिर्देशक होमप्रसाद लुइँटेलले मनास्लु आधारशिविरमा हिमपहिरो गएको र सो घटनामा १२ जना घाइते भएको जानकारी दिए ।
घाइतेमध्ये तीनजनाको अवस्था गम्भिर रहेको र ६ जना सामान्य घाइते भएको उनले बताए । मनास्लु हिमाल आरोहण गरेर फर्कने क्रममा एक विदेशी नागरिक सम्पर्कविहीन भएको पनि उनले जानकारी दिए । हिमपहिरोमा परेकाको उद्धारका लागि काठमाडौंबाट तीनवटा हेलिकोप्टर पठाइएको छ । यद्यपि, मौसम खराबीका कारण घटनास्थलमा अवतरण हुन नसकेको र हेलिकोप्टर गोरखाको सामागाउँमा अवतरण गरेको जनाइएको छ ।
मनास्लु हिमपहिरोमा परेकाको उद्धारका लागि गएका मिङ्मा शेर्पाले मौसम खराबीका कारण उद्धारमा कठिनाइ भएको जानकारी दिए । गोरखाको सामागाउँमा तीन वटा हेलिकोप्टरसहित शेर्पा टोली तयारी अवस्थामा रहेको उनले जानकारी दिए । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो गएको बताइएको छ ।
मनास्लु हिमाल आरोहण गर्न गएका विदेशी र उनीहरुका सहयोगी नेपाली आधार शिविरमा छन् । सेभेन समिट ट्रेकलगायत विभिन्न कम्पनीबाट आरोही मनास्लु गएका हुन् । पर्यटन विभाग पर्वतारोहण शाखाका अनुसार शरद ऋतुको मनास्लु हिमाल आरोहणका लागि ३८ आरोही समूहका चार सय चार आरोहीले आरोहण अनुमति लिएका छन् । यो सिजनमा सगरमाथा, मनास्लुसहितका १५ हिमाल तथा चुलि आरोहणका लागि जम्मा ५८ आरोही समूहका पाँच सय ६ जनाले आरोहण अनुमति लिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्थानीय र पश्चिमी वायुको आंशिक प्रभाव, यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
हृदयाघातबाट दैनिक १० हजार युरोपेलीको मृत्यु
-
मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु
-
धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सक्दो सहयोग गर्छु : मन्त्री जोशी
-
जगदुल्ला जलविद्युत् आयोजनामा जुट्यो रु १६ अर्ब लगानी