शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

शिवानी राणा, जसले चित्रकलामा यसरी गाई–बाच्छाको ममता उतार्छिन् (भिडियोसहित)

मङ्गलबार, ०८ कात्तिक २०७९, १२ : १२
मङ्गलबार, ०८ कात्तिक २०७९

उनलाई कहिल्यै आफ्नो गोठमा गाई पालेको अनुभव छैन । न त उनलाई कहिल्यै गाई चराएको अनुभव छ । न त गाईको भकारो सोहोर्दा वा घाँसको भारी बोक्दाको दुःखको अनुभूति नै थाहा छ । 

राणा परिवारमा जन्मी–हुर्किएकी उनले गाईका लागि दुःख गर्नु नपरेपनि उनी गाईको ममता र मातृत्वसँग यति धेरै नजिक र परिचित लाग्छिन्, जुन उनको चित्रकलामार्फत प्रकट हुन्छ ।

स्कुले जीवनदेखि नै भगवान्, प्रकृति, फूल, जनावर, मानिस लगायतका विभिन्न विषयमा चित्र कोर्दै आएकी शिवानी राणा तिमिल्सिनाले गाई–बाच्छाको मातृत्व र ममता थिममा चित्रकला कोर्न थालेको धेरै भने भएको छैन ।  

कोरोना महामारीपछि भएको लकडाउनका बेलादेखि उनले सिसा कलम र तेल रंगमा गाई र बाच्छाबीचको मातृत्व र ममता क्यानभासमा उतार्दै आएकी छिन् । 

गाईप्रतिको भावनात्मक र संवेगात्मक सम्बन्धका कारण गाई–बाच्छाको मातृत्व झल्काउने पेन्टिङ बनाउन लागिपरेको उनले बताइन् । उनले गाई बाच्छाको सम्बन्धका २५ भन्दा बढी प्रकारका पेन्टिङ बनाएकी छिन् । 

शिवानीले आफ्नो स्कूले जीवन भारतको देहारादुनमा पूरा गरेकी थिइन् । कक्षा ९ मा ऐच्छिक विषयका रुपमा आफूलाई इच्छा लागेको विषय छान्न पाइन्थ्यो । त्यतिबेला उनले चित्रकला छानिन् । 

त्यतिबेला अरु विषयमा राम्रो नम्बर नल्याउनेले मात्रै चित्रकला विषय लिने चलन थियो । तर सबै विषयको पढाईमा अब्बल राणाले चित्रकला विषय रोजिन् । त्यो बेला चित्रकार भएर के गर्ने ? पैसा कमाउन सकिँदैन भन्ने मान्यता थियो । सन् १९७५ मा स्कूल तहको पढाई सकेपछि लखनउ गएर उनले २ बर्ष ‘फाइन आर्ट’ इन्टरमिडियट लेभलको अध्ययन पूरा गरिन् । 

उनले बनाएको चित्र र प्रदर्शनी हेरेर साथीहरुले चित्रकलाको क्षेत्रमा जान प्रेरित गर्दथे । 

उनी चित्रकलामा पूर्णरुपमा लागिपरेको परिवारका सदस्यले पनि सुरुमा मन पराएनन् । कुनै अर्कै पेशामा लागे हुन्थ्यो भनेर उनलाई शिक्षण पेशामा पनि लगाइदिए तर उनी सो पेशामा धेरै समय टिक्न सकिनन् । 
सन् २०१२ मा अमेरिका गएर बोस्टनस्थित ‘स्कूल अफ म्युजियम फाइन आर्टस’ मा झन्डै डेढ बर्ष स्टुडियोडिप्लोमा कोर्षको प्रयोगात्मक चित्रकला अभ्यास गरिन्। साथै नेपाली चित्रकार उत्तम नेपालीको कक्षा पनि लिइन् । 

धार्मिक स्वभावको भएको हुनाले उनले लामो समय गणेश भगवान्का विभिन्न स्वरुपका पेन्टिङ गरिन् । उनले गरेको प्रर्दशनीमा गणेशका धेरै चित्र मानिसले रुचाए । केही पेन्टिङ विक्रीपनि भयो ।  गणेशको मात्रै धेरै पेन्टिङ देखेपछि ए उहाँ त गणेशको मात्रै पेन्टिङ बनाउने भन्ने बुझाई मानिसमा पर्न थाल्यो । त्यसपछि उनले आफू अरु पनि विषयमा बनाउन सक्छु भनेर पोर्टेट लगायत विभिन्न थिममा चित्र बनाउन थालिन् ।

उनी भन्छिन्–‘चित्रकारहरुलाई एउटा थिममा चित्र बनाइसकेपछि अर्को कुन थिममा बनाउने भन्ने कुराले झक्झकाउँदो रहेछ । गणेशको ३ पटक प्रदर्शनी गरिसकें, अब के को चित्र बनाउने भन्ने तनाव भयो ।’
यसै क्रममा उनलाई एकजना साथीले तिमी जुन धार्मिक किताब पढ्छौ, त्यसकै भावमा चित्र बनाउ भनेर प्रेरित गरे । त्यसपछि उनले रामायणको सुन्दर काण्डको भावका विभिन्न चित्र, हनुमानका चित्रका साथै मानिस, जनावरका पोर्टेट, धार्मिक गुरुहरुको पोर्टेट बनाए ।

कोरोना भाइरसको प्रकोपअघि उनी भारतको हरिद्वारमा डेढ बर्ष बसेर धार्मिक स्थल तथा गुरुहरुको पोर्टेट गरेकी थिइन् । १५ वटा पेन्टिङ बनाई त्यही बुझाएर नेपाल फर्किएकी थिइन् ।

उनले साना क्यानभासमा चित्र बनाउने गरेकोमा हरिद्वारमा चार बाई तीन फिट साइजमा ठूल्ठूला पेन्टिङ गरेर चित्रकलामा नयाँ चुनौती र अनुभव हासिल गरिन् । उनले कोभिडका बेला लकडाउनमा मन्दिर सुनसान भएको, ढोकामा ताला लागेको जस्ता थिममा कलात्मक चित्र कोरेकी थिइन् । 

बाल्यकालमा जनकपुरको बटेश्वरमा आफ्नो जिजुआमाको घरमा आसपासमा उनले धेरै गाई देखेकी थिइन् । त्यस बेलादेखि नै उनमा गाईप्रति नजिकको भावना गाँसिन पुगेको थियो ।  भारतको हरिद्वारमा दूधधारी बाबाले सञ्चालन गरेको दूधधारी बर्फानी आश्रममा झन्डै ४ सय गाईपालन गरिएको गौशाला छ । उनी त्यही गएर गाईको सेवा गर्ने र गाईसँग भावनात्मक रुपमा अझै नजिक हुँदैछिन् । आश्रमका बाबाले आग्रह गरेअनुसार त्यहाँ गएर विभिन्न जनावरको केही पेन्टिङ बनाएर नेपाल फर्किने उनको योजना छ । 

तिहारलगतै घरमा बिरामी अवस्थामा रहेकी ९० बर्षीया आमालाई छोडेर केही दिनका लागि भारतको हरिद्वारमा गुरुको आश्रम र गौशालामा जाने तयारी छ उनको ।  हालसम्म ७ वटा एकल चित्रकला प्रर्दशनी गरेकी उनले संयुक्त रुपमा धेरै चित्रकला प्रदर्शनी गरेकी छिन् । सुरुमा परिवारका सदस्यले उनको कामलाई समर्थन गर्न नसकेपनि अहिले सफल चित्रकार भएपछि आफन्त र परिवारले उनको कलात्मक क्षमताको प्रशंशा गर्ने गरेका छन् ।   

हालसम्म ३ सय हाराहारी पेन्टिङ बनाइसकेकी चित्रकार शिवानी राणा क्यानभासमा रंग मार्फत् आफ्नो हृदयका भाव अभिव्यक्त गर्ने कर्ममा निरन्तर लागेकी छिन् । काठमाडौंको कपनस्थित उनको स्टुडियोमा धेरै पेन्टिङ दर्शकका आँखा कुरेर बसेका छन् । खाली क्यानभासहरु उनका विभिन्न कला अभिव्यक्त हुने पर्खाइमा छन् । 

हालै टर्की भ्रमणका बेला उनले त्यहाँबाट महँगा केही रंग र कुची किनेर ल्याएकी छिन् । उनका हातबाट अझै अनेक खाली क्यानभासमा नयाँ नयाँ सिर्जना कुँदिने पक्का छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप