आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

कसलाई गर्ने मतदान ?

आइतबार, २० कात्तिक २०७९, १० : ००
आइतबार, २० कात्तिक २०७९

विगत साक्षी छ, नियम, कानून, नीति तथा कार्यक्रमहरु जति राम्रा भएपनि जनताले सरकारवाट के कति सेवा र सुविधा पाउने भन्ने कुरा ती कार्यान्वयन गर्ने व्यक्तिहरुको चेतना, क्षमता, योग्यता र चाहनामा भर पर्दछ । यदि जिम्मेवार व्यक्तिहरु नै असक्षम, अज्ञानी, लोभी, पक्षपाती भए भने जनताको विकासको चाहना कदापी पुरा हुँदैन ।

सक्षम, इमान्दार र कर्मठ जनप्रतिधि हुनु भनेको त्यस क्षेत्रको आर्थिक तथा सामाजिक विकासमा कायाकल्प हुनु हो । त्यसैले, एक भोट हाल्नु भन्दा पहिला हजारौ पटक सोच्नु आवश्यक छ ।

निर्वाचनमा मतदान गर्नु भनेको केवल ५ वर्षका लागि मात्र होइन । यो त आफू र आफ्ना सन्ततिको भविष्य सम्मको लागि जोडिएको कुरा हो । खास गरी नेपाल जस्तो वहुदलीय व्यवस्था भएको देशमा प्रायः जनता कुनै न कुनै पार्टीमा आवद्ध भएकै हुन्छन् र जनताको त्यही आवद्धताको आधारमा राजनीतिक पार्टीहरु आफ्नो क्षमताको आकलन गर्दछन् ।

अहिले यहाँका पार्टीहरुको नीति, कार्यक्रम र सत्ता प्राप्ती पश्चातका उनीहरुको व्यवहारलाई सूक्ष्म तरिकाले अध्ययन गर्ने हो भने उनीहरुमा कुनै पनि तात्विक फरक देखिदैन । कुनै नेताले सकारात्मक काम कुनै पार्टी विशेषको कारणले होइन कि व्यक्तिको व्यक्तिगत चाहना, जनताप्रतिको उत्तरदायित्व, कर्तव्य र निष्ठाको कारण भएका हुन् । त्यसैले, राज्यका निकायमा जनशक्ति, श्रोत र साधनको सीमितता हुने भएको हुँदा हामीले मतदान गरेर पठाउने व्यक्तिको योग्यता, क्षमता, ज्ञान, निष्ठा र कर्तव्यवोध जस्ता पक्ष निकै नै महत्वपूर्ण हुन्छन् ।

अहिले हामीकहाँ पाको पुस्ता जो अहिलेको राजनीति, कर्मचारीतन्त्र र नागरिक समाजको नेतृत्व गरिरहेको छन्, उनीहरु शीतयुद्धकालीन औद्योगिक क्रान्तिको चेतनाको स्तरमा छन् । पाको पुस्ता विज्ञान, सूचना तथा प्रविधिबारे खास जानकार छैन । विडम्वना अहिले देशको हरेक क्षेत्रमा यही पुस्ताको वर्चश्व छ । अहिलेको निर्वाचनमा पनि अधिक क्षेत्रमा यही पुस्ताको उमेद्वारी छ ।

यसको ठीक विपरीत आधुनिक संसारसँग प्रतिस्पर्धा गरेर अग्रभागमा आफ्नो स्थान सुरक्षित गर्न सक्ने उदीयमान युवा पुस्ता जो राजनीति, कर्मचारीतन्त्र, व्यवसाय, नागरिक समाज सबै ठाउँमा आफ्नो स्थान वनाउन संघर्षरत छन् र देशका विभिन्न क्षेत्रमा उदाहरणीय काम गरेर संसारलाइ चकित वनाउँदै छन् ।

युवा पुस्ता स्थानीय तहदेखि केन्द्रसम्म उपयुक्त वातावरणको अभावमा तीव्र रुपमा विदेश पलायन भइरहेको छ । त्यहाँ अत्यन्तै दक्षतापूर्वक हरेक क्षेत्रमा जिम्मेवारी निर्वाह गरिरहेको छ । उनिहरुले विदेशवाट पठाएको विप्रेषणमा नै यहाँको पाको पुस्ताले हालीमुहाली गरिरहेको छ ।

अहिले हुन गइरहेको निर्वाचन यथास्थितिमा क्रमभंग गरेर युवा शक्तिलाई नेपाली राजनीतिमा स्थापित गराउन नयाँ परिस्थिति निर्माण गर्ने अमूल्य अवसर हो । निर्वाचनको पूर्वसन्ध्यामा आज सबैले एकपटक आफ्नो जात, पार्टी, व्यवसाय र धर्मभन्दा माथि उठेर सोच्नु पर्दछ । आफ्नो भोट सक्षम, योग्य, इमान्दार र कर्मठ व्यक्तिलाई हाल्न सक्नु पर्दछ ।

एकजना नेता इमान्दार, दक्ष र कर्तव्यनिष्ठ भयो भने त्यो ठाउँको विकासमा के कस्तो प्रभाव पर्दछ भन्ने कुरा सिंगापुर, मलेशिया, दक्षिण कोरिया, थाइल्याण्ड, भियतनाम, कम्वोडिया जस्ता देश तथा छिमेकी देशको विहार र राजस्थानको विकासबाट प्रमाणित हुन्छ ।

अहिले विद्यमान हाम्रो निर्वाचन प्रणालीअनुसार जब हामी प्रत्येक निर्वाचन क्षेत्रबाट सक्षम, योग्य, इमान्दार र कर्मठ नेतृत्व छान्ने अभ्यास गर्दछौ, तब मात्रै हामीले केन्द्रमा शिक्षित, कर्मठ र इमान्दार नेतृत्व पाउनेछौँ । र, निकै छोटो समयमा देशलाइ रुपान्तरण गर्न पनि सक्नेछौं ।

हामीले मनन गर्न पर्ने कुरा के हो भने विगतमा हामीले सक्षम, इमान्दार योग्य नेतृत्व चयन गर्न नसक्दा, हाम्रो शैक्षिक प्रणाली वैज्ञानिक र प्रतिस्पर्धी हुन सकेन । यसले राजनीतिक रुपमा हाम्रो नतृत्व कुशासन, भ्रष्टाचार, अक्षम र अयोग्य त छँदै थियो, कर्मचारीतन्त्र पनि त्यस्तै बन्न पुग्यो ।

विगतमा विकास बजेटको ८० प्रतिशत रकम पनि खर्च गर्न नसक्ने नेतृत्वलाई हामीले चुनेर पठायौँ । त्यसैले, बेला हुँदै हामीले ठण्डा दिमागले सोचेर सही निर्णय गर्न सक्यौँ भने हाम्रो एक भोटले देश विकासमा ठुलो योगदान दिन सक्नेछ ।

देशका सवै मतदानयोग्य नागरिकले यो वुझनु पर्दछ कि २१ औँ शताब्दीमा समृद्धि भनेको शारीरिक परिश्रमवाट होइन । यो त सोच, दक्षता र प्रविधिको विकासवाट हुने कुरा हो । जवसम्म हामीले वैज्ञानिक आविष्कार गरेर नयाँ नयाँ कुराहरुको सिर्जना गर्न सक्दैनौ, तवसम्म हाम्रो विकास संभव छैन ।

एकछिन अनुमान गरौं त, के हुन्थ्यो होला यदि हरेक १० जना युवाहरुमा ७ जना वैज्ञानिक हुने र संसारको निकै महत्वपूर्ण प्रविधिको पेटेन्ट राइट हाम्रा वैज्ञानिकहरुसँग हुन्थ्यो भने । यस्तोमा विदेशमा काम गर्ने हरेक नेपाली नागरिकलाई उच्चसम्मान र आदरको साथ व्यवहार गर्ने थिए ।

त्यसैले, हामीले के बुझ्न जरुरी छ भने हाम्रो देशलाई अरु कसैले गरीब बनाएको हुँदै हैन । हरेक निर्वाचनमा हामीले जात, पार्टी, क्षेत्र, लिंग आदिको नाममा अत्यन्तै असक्षमहरुलाई वारम्वार छानेर पठाएर नै हामी आजसम्म दरिद्र देशको रुपमा चित्रित भएका हौँ । त्यसकारण गरीब हुनमा दोष अरुलाई नदिऊँ । गहिरिएर सोचौँ, एक पटक हैन हजार पटक सोचौँ, फेरि यसपटक पनि छनौट हाम्रै हो । निर्वाचनको मिति टाढा छैन । पार्टी, जात, नाता र क्षेत्रको सीमित घेरामा रमाउने कि योग्य, सक्षम र दक्ष उमेदवार रोज्ने ?

वारम्वार हाम्रो अवस्था जहाँको त्यही राख्ने अक्षम, यथास्थितिमा रमाउने पुरानै पुस्ता वा संसारका जो सुकैसँग प्रतिस्पर्धा गर्न सक्ने र जस्तोसुकै परिस्थितिसँग पनि जुध्न सक्ने पुस्तालाई छान्ने ? रोजाइ हाम्रै हातमा छ ।

यो समय भावनामा वगेर म यो पार्टीको कर्मठ र प्रतिवद्ध कार्यकर्ता हुँ भनेर जस्तोसुकै उमेदवारलाई भोट हाल्ने समय होइन । यो त घरमा भएका जवान छोराछोरी, भर्खर जन्मेका नाति नातिनी, वुढेसकालका वृद्ध बाआमा, भरे भोलि भएका हजुरबा हजुरआमा सबैको लागि हित गर्न सक्ने समाज, देश र जनताको हितको रक्षा गर्न सक्ने कर्मठ, इमान्दार र योग्य उमेदवारलाई एक भोट हाल्ने साहास देखाउने वेला हो । याद गर्नुहोस्, यदि यस्तो गर्न सकियो भने मात्रै हामीले हाम्रो देशको सार्वभौमिकताको रक्षा गर्न सक्दछौ । परिवारको दुई छाक टार्न र नांगो शरीर ढाक्न खाडीमा हाडछाला घोटेर काम गर्ने दाजुभाई, दिदीवहिनीहरुलाई ससम्मान देशमा वोलाएर रोजगारको व्यवस्था गर्न सक्दछौ । निर्णय हाम्रै हो, हाम्रालाई कि राम्रालाई ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दिवस खनिया
दिवस खनिया
लेखकबाट थप