बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

काठमाडौं–४ मा गगन-राजनबीच विरासत भत्काउने र जोगाउने प्रतिस्पर्धा ! (भिडियोसहित )

मङ्गलबार, २२ कात्तिक २०७९, १५ : ५१
मङ्गलबार, २२ कात्तिक २०७९

काठमाडौं निर्वाचन क्षेत्र नम्बर–४ मा प्रतिनिधिसभा सदस्यतर्फ १७ राजनीतिक दल र १४ स्वतन्त्र गरी ३१ जना उम्मेदवार छन् । यति धेरै उम्मेदवारका बीच पनि मुख्यतया दुई उम्मेदवारप्रति आम चासो देखिन्छ । गठबन्धनको समर्थन पाएका कांग्रेसका महामन्त्री गगन थापा र एमालेका विदेश विभाग प्रमुख राजन भट्टराई दोस्रो पटक यसै क्षेत्रबाट आपसमा प्रतिस्पर्धा गरिरहेका कारण पनि यी दुवैप्रति आम चासो बढेको हो ।

प्रायः काठमाडौं बाहिरबाट आएर बसोबास गरेका मतदाताहरू रहेको काठमाडौं–४ मा काठमाडौं महानगरका चारवटा वडा र बूढानीलकण्ठ नगरपालिकाका ८ वटा वडा पर्छन् । काठमाडौं महानगरका वडा नं. १, ७, ८, ३० र बूढानीलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२, १३ वडा रहेको यो क्षेत्रमा २०७४ मा गगन र भट्टराईबीच नै कडा प्रतिस्पर्धा भएको थियो ।

दुवै जना मुलुकको केन्द्रीय राजनीतिमा समेत हस्तक्षेपकारी भूमिका निर्वाह गर्न सक्ने हैसियत भएकाले पनि यो क्षेत्रको बढी चर्चा र चासो हुने गरेको स्थानीय मतदाता बताउँछन् । मतदान गर्ने दिन आउन १२ दिनमात्रै बाँकी रहँदा थापा र भट्टराई दुवै आक्रामक चुनावी प्रचार अभियानमा जुटेका छन् । घरदैलोमा पुगिरहेका थापा र भट्टराई आ–आफ्नै ढंगले मतदाताको मन बुझेर आन्तरिक हिसावकिताव गरिरहेका छन् । 

थापा काठमाडौं ४ बाट तेस्रो पटक चुनाव जितेर इतिहास रच्ने प्रयासमा छन् भने भट्टराई उनलाई रोकेर पहिलो पटक संसद छिर्ने कसरतमा छन् । चुनाव प्रचारका क्रममा दुवैले स्थानीय समस्याहरूलाई अघि सारेर मत मागिरहेका छन् । सडक, ढल, खानेपानी, स्वास्थ्य, शिक्षा नै उनीहरूका प्राथमिकतामा छन् ।

आशासँगै डर पनि

महानगर र नगरपालिका गरेर १२ वडा रहेको यो क्षेत्रमा गत निर्वाचनमा कांग्रेसले तीन वडाध्यक्ष जितेको थियो भने एमालेले बाँकी नौ वटा वडामा जित निकालेको थियो । यसरी हेर्दा एमालेको वर्चस्व देखिए पनि २०७४ मा त्यहीँका जनताले थापालाई विजयी गराएका थिए । जसले गर्दा आसन्न निर्वाचनको नतिजा यही आउँछ भन्नेमा दुवै उम्मेदवार ढुक्क हुने अवस्थामा छैनन् ।

हामीसँगको कुराकानीमा थापा र भट्टराई दुवैले आफ्नो विजयप्रति शंका नगर्न आग्रह गरे पनि मतदाताको मन बदलिरहनेमा दुवै जानकार देखिएका छन् । ‘अहिले म संख्या भन्दिनँ तर सहज हिसावले विजयी हुन्छु’, एमाले उम्मेदवार भट्टराई भन्छन्, ‘सकारात्मक प्रतिकृया पाएको छु । यहाँका मतदाताहरु विगतको भन्दा फरक ढंगले मतदान गर्ने पक्षमा हुनुहुन्छ ।’

थापा आफ्नो क्षेत्रका मतदाता परिवर्तनको पक्षमा रहेको र आफूले सोही मुद्दा उठाएकाले आफूले साथ पाउने विश्वास व्यक्त गर्छन् । भन्छन्, ‘सवैमा देशको राजनीतिमा ठुलो परिवर्तन आओस् भन्ने चाहना छ । साथै यो भन्दा अघिको ५ वर्षको अवधि खेर गयो भन्ने सवैतिरको धारणा छ । अबचाहिँ यो अवधि खेर नजाओस् र परिणाम निस्कियोस् भन्ने ठाउँमा पु¥याउनुपर्छ भन्ने भाव मतदातामा पाएको छु ।’

यस क्षेत्र अन्तर्गतका स्थानीय तहमा एमालेको वर्चस्व रहे पनि संसदीय निर्वाचनमा अवस्था फरक हुने थापाको विश्लेषण छ । ‘मतदातासँग यति ठुलो तागत छ कि उनीहरुले जे पनि गरिदिन सक्छन् । अहिले मत दिन्छु भनिरहेको मतदाताको मन बदलिन पनि सक्छ । त्यसैले मतदातालाई त्यसरी नै राख्नुपर्छ भन्ने ठान्छु’, थापाको ठहर छ ।

विगतको हिसाबले गर्ला काम ?

वैशाखमा सम्पन्न स्थानीय तहको मतको आधार लिँदा काठमाडौं–४ मा गठबन्धनकै उम्मेदवारको अवस्था केही बलियो देखिन्छ । काठमाडौं–४ का वडाहरूमा एमालेले पाएको कुल मत १६ हजार ९८१ छ भने कांग्रेसले १६ हजार ८४ मत पाएको छ ।

यहाँ गठबन्धनका तर्फबाट एकीकृत समाजवादीलाई प्रदेशसभा ‘ख’ क्षेत्र छुट्याइएकाले गठबन्धनलाई मत ‘ट्रान्सफर’ मा समस्या नहुने नेताहरु बताउँछन् । स्थानीय तहमा एकीकृत समाजवादीले २ हजार ६८८ र माओवादी केन्द्रले ८७३ मत पाएको देखिन्छ । यो क्षेत्रमा सत्ता गठबन्धनमा रहेका तीन दलले पाएको कुल मत १९ हजार ६४५ छ ।

२०७४ को निर्वाचनमा यही क्षेत्रमा एमाले र माओवादी केन्द्रको गठबन्धन हुँदा कांग्रेसका थापाले २१ हजार ५५८ मत प्राप्त गर्दै जित हासिल गर्दा भट्टराईको पक्षमा १८ हजार १४० मत परेको थियो । त्यतिबेला यी दुई उम्मेदवारबीचको मतान्तर ३ हजार ४१८ थियो ।

अघिल्लो निर्वाचनमा वाम गठबन्धनका बाबजुद तीन हजारभन्दा बढी मतान्तरले जितेका थापा अहिले माओवादी केन्द्रको साथ आफूले पाएको र एमालेसमेत विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको समेत समर्थनमा आफू थप मजबुत भएको तर्क गर्दछन् ।

उता, एमालेका भट्टराई भने अघिल्लो कार्यकालमा जनताका आकांक्षा पूरा नभएको भन्दै जनताले परिवर्तन खोजेका कारण आफ्नो जित निश्चित रहेको दाबी गर्दछन् ।

चुनाव प्रचारको चटारोकै बीच कांग्रेस उम्मेदवार गगन थापा र एमालेका उम्मेदवार राजन भट्टराईसँग रातोपाटीले संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीहरुसँग गरिएको कुराकानीको सम्पादित अंश–

मतदाताले मलाई त्यो ठाउँमा पुग्नुपर्छ भन्नुभएको छ : गगन थापा

मत माग्न चुनावी घरदैलोमा व्यस्त हुनुहुन्छ । मतदाताको घरदैलोमा जाँदा कस्तो प्रतिकृया पाइरहनुभएको छ ?

म झुक्किएको हो भने थाहा छैन । मैले यो भन्दा अगाडिको निर्वाचनमा जस्तो सद्भाव र सहयोगी भावनासहितको उत्साह बढाउने प्रतिकृया पाएको थिएँ, अहिले पनि त्यसैगरी मतदाताहरुले सहयोग गर्नुभएको छ, आशीर्वाद दिनुभएको छ र माया प्रकट गर्नुभएको छ । त्यसमा उहाँहरुको दुई खालको प्रतिकृया पनि छ । एउटा देशको राजनीतिप्रति ठाउँठाउँमा गुनासो छ । जस्तो अब पनि तिमीहरु बदलिएनौ भने अब हामी थप माया गर्दैनौं । अर्थात् तिमीहरु बदलिनुपर्छ । यो पार्टी, त्यो पार्टी नभनी मतदातामा एकदम ठुलो छटपटी देखिन्छ एउटा ।

अर्को, म यहाँको निरन्तर एउटा सांसद भइरहेको हुनाले स्वाभाविक रुपमा स्थानीय बाटो, ढल, पानीको समस्या राख्नुभएको छ । त्यो फेरि उहाँहरुका लागि पनि नयाँ होइन, मेरा लागि पनि । किनभने यो भन्दा पहिला आउँदा पनि भनिरहनुभएको हो । त्यो सम्झाउनुभएको छ, गुनासो राख्नुभएको छ । त्यो गुनासोहरु राख्दा पनि मैले अन्तिममा के पाएको छु भने सबैमा देशको राजनीतिमा ठुलो परिवर्तन आओस् भन्ने चाहना छ । साथै यो भन्दा अघिको ५ वर्षको अवधि खेर गयो भन्ने सबैतिरको धारणा छ । अबचाहिँ यो अवधि खेर नजाओस् र परिणाम निस्कियोस् भन्ने ठाउँमा पु¥याउनुपर्छ भन्ने भाव मतदातामा पाएको छु ।

५ वर्षअघि यो क्षेत्रमा तपाई मत माग्न आउदा कांग्रेसको सामान्य नेता हुनुहुन्थ्यो भने अहिले महामन्त्री पनि हुनुहुन्छ । साथै तपाईले केही समय अघि ‘अब ड्राइभिङ सिटमा बस्ने हो’ भन्नुभएको थियो । जनतासँगको भेटघाटका क्रममा उनीहरुले तपाईलाई अब कुन रुपमा हेर्न चाहेको पाउनुभयो ?

मलाई सबैभन्दा बढी त्यही कुराले उत्साहित बनाएको छ । आम जनतालाई नेपालको राजनीतिमा ठुलो परिवर्तनको चाहना छ । त्यो परिवर्तनका निम्ति मुख्य कर्ता हुन्छ । त्यहाँभित्र त्यो पंक्तिमा वर्षौंवर्षदेखि एउटा तहको नेताहरुको निरन्तर रुपमा प्रवाह र नियन्त्रण छ, त्यसमा बदलाव आओस् भन्ने छ । त्यो क्रममा कोही नजिक नजिक पुगेको छ भने नेपाली कांग्रेस पार्टीभित्रको महामन्त्री पनि भएकाले र जिम्मेवारीमा पुगेकाले र मैले आफूले त्यो संकल्प पनि गरेकाले म प्रयत्न गर्छु । मलाई थाहा छैन, परिणाम के आउँछ तर प्रयत्न गर्छु भनेर म मतदातामाझ जाँदै गर्दा त्यसले उहाँहरुलाई पनि उत्साहित गराएको छ । जो आउनुभएको छ, बोल्नुभएको छ, उहाँहरुले मलाई त्यो ठाउँमा पुग्नुपर्छ, गर्नुपर्छ भन्नुभएको छ र शुभकामना दिनुभएको छ ।

मुख्य प्रतिस्पर्धी पुरानै अनुहार र केही स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् । कस्तो महसुुस हुँदैछ ?

मैले निर्वाचनलाई र प्रतिस्पर्धीलाई कहिल्यै पनि कमजोर ठानेको छैन । साथै मतदाताको मनलाई यो मेरो किल्ला, आधार र यस्तो हुन्छ भनेर ठानेको छैन । मतदातासँग यति ठुलो तागत छ कि उनीहरुले जे पनि गरिदिन सक्छन् । अहिले मत दिन्छु भनिरहेको मतदाताको मन बदलिन पनि सक्छ । त्यसैले मतदातालाई त्यसरी नै राख्नुपर्छ भन्ने ठान्छु । म मतदातामाझ आउँदैगर्दा मैले यतिबेलासम्म हेर्ने भनेको आम मतदाताको प्रतिकृया हो । त्यसैले म ०७० मा पनि र ०७४ मा पनि यही क्षेत्रमा लडेको हुनाले पहिलेको भन्दा फरक पाएको छैन ।

जनताका अपेक्षा एकातिर राखेर हेर्दा तपाई आफूले चाहिँ यो क्षेत्रबाट निर्वाचित भएपछि मुलुकका लागि के गर्छु भन्ने दृढ संकल्प गर्नुभएको छ ?

निर्वाचन क्षेत्रका सन्दर्भमा पूर्वाधारहरु समयमा सम्पन्न भएको छैन । खासगरी सबैभन्दा ठुलो मुद्दा खानेपानीको छ । तर यो यहाँको मात्र होइन, सिङ्गो काठमाडौंकै समस्या हो । म घरबाट निस्कने बेला आफ्नै घरको पनि यही समस्या छ । काठमाडौंमा खानेपानीको मुद्दा ठुलो छ । यी मुद्दाहरुका बारेमा त स्वाभाविक रुपमा चासो हुने भइहाल्यो । युवासँग कुरा गरे रोजागारीको मुद्दा छ । तर त्यो भन्दा पनि मुख्य कुरा मैले मेरा मतदातालाई झुक्याउने कुरा गरेको छैन । यहाँको ढल, खानेपानीलगायतका मुद्दा पनि हेर्ने हो । तर यो सबै ठिक पार्न देशको राजनीतिको मुहान ठिक हुन जरुरी छ । मतलब मुहान सफा गर्न जान खोजेको हो । त्यसैले मुहान सफा गर्नका लागि तपाईहरुको सहयोग चाहिएको छ भनेर मैले भनिरहेको छु । त्यो कुरालाई उहाँहरुले सकारात्मक लिएको पाएको छु ।

राजनीतिको मुहान गठबन्धनबाटै सफा गर्न सकिएला ?

यो गठबन्धनले बहुमत दिन्छ, बहुमतले स्थिरता दिन्छ । त्यो स्थिरतालाई हामीले सदुपयोग गर्नुपर्छ । यो भन्दा अघिल्लो पटक पनि गठबन्धन थियो, बहुमत थियो । तर बहुमतको सदुपयोग भएन, यो पटक सदुपयोग हुन्छ । ​

संख्या भन्दिनँ तर, सहज हिसावले विजयी हुन्छु : राजन भट्टराई

चुनाव प्रचार प्रसारलाई तीव्र पार्नुभएको छ । मतदाताको प्रतिकृयाचाहिँ कस्तो मिलेको छ ?

मैले सकारात्मक प्रतिकृया पाएको छु । यहाँका मतदाताहरु विगतको भन्दा फरक ढंगले मतदान गर्ने पक्षमा हुनुहुन्छ ।

तपाईको मुख्य प्रतिस्पर्धी गगन थापा हुनुहुन्छ । विगतमा उहाँले तपाईलाई हराएको चुनावी इतिहास छ, यसपटक उहाँलाई रोक्ने के कस्ता रणनीति छन् र तपाईको त्यो प्रयास कति सफल होला ?

मैले विगत ५ वर्षदेखि जनताका बीचमा गएर गरेका कामहरु बताउने कुरा जो यहाँका मतदाताहरुले नै देखिरहनुभएको छ । त्यसैगरी मतदाताहरुलाई गएर अनुरोध गरेर यसपटक परिवर्तनका पक्षमा, काम गर्ने व्यक्तिका पक्षमा भोट दिनुस् भन्ने हो । अब कुराले चिउरा भिज्दैन, चिउरा भिजाउन कि दही चाहिन्छ, कि दुध नै चाहिन्छ । त्यो पनि पाइएन भने पानीले भिजाए पनि हुन्छ भनेर मेरो नेता मदन भण्डारीले भन्नुभएको थियो, मेरो पनि कुरा त्यही हो । अब कुराले जनताले पत्याउनेवाला छैनन् । जनता परिणाम खोज्नेवाला छन् । यो मुलुकमा परिणाम दिने पार्टी नेकपा एमाले हो । परिणाम दिलाउनसक्ने नेता कार्यकर्ता पनि एमालेसँगै छन् भन्ने कुरा अन्तका भन्दा बढी काठमाडांै–४ का जनताले राम्रोसँग बुझेका छन् । त्यसो भएकाले हामीले धेरै मेहनत गर्नुपर्ने स्थिति पनि छैन, हाम्रा कामहरु नै साक्षी छन् । हामीले टोलटोलमा गरेका कामले बाटाघाटामा जे फरकपना आएको छ, खानेपानी आयोजनाहरु जुन हिसावले लिएर आएका छौं, ढल व्यवस्थापनका लागि हामीले जुन प्रयास ग¥यौं, सार्वजनिक जग्गा संरक्षणको कुरा, शिक्षा क्षेत्रमा विद्यालय र क्याम्पस भवन निर्माण, अस्पताल भवन निर्माणलगायत सबै हिसावले जनजीवनसँग जोडिएका पक्षलाई समेटेर विगतमा पनि स्थानीय तहमा अगाडि बढायौं र सँगसँगै राष्ट्रिय राजनीतिमा पनि उल्लेख्य भूमिका खेलेका छौं ।

तपाईले यति धेरै काम गरेका छौं भन्दै गर्दा कपन क्षेत्रमा सानो पानी पर्दा पनि डुबान समस्या हुन्छ, खानेपानीको त्यस्तै समस्या छ भन्ने जनताको गुनासो छ नि ?

यसको वास्तविकता तपाईहरुले पनि बुझ्नुपर्छ । कपनमा जाने बाढी नियन्त्रण गर्न मैले गरेका प्रयासहरु के के छन्, कृपया त्यहाँ गएर बुझिदिनुस् भन्न चाहन्छु । आनी गुम्बा क्षेत्रमा डुबान भइराख्थ्यो, त्यहाँ हामीले १३÷१४ करोड बजेट छुट्याएर बक्स कल्भर्ट बनाएर समस्या समाधान गरेका छौं । आनी गुम्बादेखि तल तरकारी बजारसम्म पनि ४५ करोड बजेट छुट्याएर २९÷३० करोडको आयोजना टेण्डर लागेर काम सुरु भएको छ गत पुसबाट । गत असार÷साउनमा त्यो कम्प्लिट हुनुपर्थ्यो तर ठेकेदारको बदमासीले ढिला भएको छ । अब हामी निर्वाचन सकिने बित्तिकै त्यसलाई तदारुकता दिएर आउने बर्खायामसम्म सम्पन्न गरिसक्छौं । तरकारीबजारदेखि सात तलेसम्म पनि २८÷३० करोडको टेण्डर लागिसकेको छ, निकट भविष्यमै काम सुरु हुन्छ र आउने बर्खा त्यहाँका जनताको सहज जीवन बिताउने कुरामा हाम्रो प्रतिवद्धता छ । खानेपानीको सवालमा तत्काल देखिएको समस्याका बारेमा पनि समाधानको प्रयास गरेका छौं ।

अघिल्लो निर्वाचनमा तपाईहरुसँग गठबन्धन गरेको माओवादी अहिले अर्को गठबन्धनमा पुगेको छ र एमालेसमेत चोइटिएको अवस्थामा परिणाम तपाईको पक्षमा आउन त निकै मेहनत गर्नुपर्ने ठान्नुभएको छैन ?

तपाईले २०७४ को जनमतको कुरा गर्नुभयो । त्यसभन्दा पछि हामीले स्थानीय चुनाव नै गरिसक्यौं । स्थानीय चुनावमा परिणामका हिसावले यहाँ एमाले पहिलो पार्टी हो । दोस्रो, हामीले गरेका कामका हिसावले र तेस्रो, कुरा होइन काम जनताको रोजाइमा छ । त्यसो हुँदा पुराना जनमतका परिणामहरु कुनै पनि काम लाग्नेवाला छैनन् । यहाँ नयाँ किसिमको परिणाम आउँछ । ऐतिहासिक परिणाम आउँछ । तीनवटै सिटमा सूर्यको जित र विजय निश्चित छ ।

एमालेलाई नै जनताले भोट दिनुपर्ने कारण के छ ?

नेकपा एमालेबाहेक अर्को कुन पार्टी छ, जसले यो मुलुकको राष्ट्रहितको आवाज उठाउँछ र राष्ट्रहितको पक्षमा अडान राख्छ ? संविधान जारी गर्ने बेलामा होस् वा नाकाबन्दीका बेलामा होस्, नक्सा जारी गर्ने कुरामा नै किन नहोस् ? हाम्रो भूभागमा रहेका विदेशी सेना फर्कनुपर्छ भन्न सक्ने आँट भएको, त्यो हैसियत र अडान लिनसक्ने नेता अरु कुन पार्टीमा छ ? त्यसो हुँदा यो राष्ट्रको संरक्षण र विकासका लागि नेकपा एमाले । दोस्रो, कुनै पार्टी चाहिन्छ भने त्यससँग स्पस्ट भिजन हुनुपर्छ । भिजन बिनाको पार्टीमा न कार्यक्रम हुनसक्छ न कार्यक्रम लागु गर्नसक्ने क्षमता नै हुन्छ । भिजन, मिसन र कार्यक्रमसहित क्षमता भएको पार्टीमध्येमा राम्रो पार्टी एमाले मात्रै हो । विगत ४१ महिना हामी सरकारमा हुँदा चौतर्फी विकासका आयोजना अगाडि बढायौं । चाहे त्यो सडक, विद्युत, खानेपानी, सिंचाई, औद्योगिकीकरण, पर्यटन, शिक्षा, स्वास्थ्यजस्ता सवै क्षेत्रमा हामीले बढाएको कुराले नै जनताले के बुझिसकेका छन् भने यो गठबन्धन भनेको सत्ता टिकाउन गरिएको गठजोड हो, पद प्राप्ति र स्वार्थी नेताका स्वार्थ पूरा गर्न गरिएको हो । न यसले राष्ट्रियताको जगेर्ना गर्छ, न दार्चुलामा छिमेकीबाट नेपाली मारिन्छ तर सरकार बोल्न सक्दैन । तुइन काटेर दिउँसै मान्छे जानाजान बेपत्ता हुन्छन्, त्यसका बारेमा बोल्न सक्दैन । कालापानी, लिपुलेक र लिम्पियाधुराका बारेमा हामीले नक्सा जारी गरेर भारतसँग वार्ताका लागि त्यत्रो पहल ग¥यौं, पछि गठबन्धनबाट प्रधानमन्त्रीको पटकपटक भेट भयो, तर उहाँले कुनै दिन ती कुरा उठाउनुभयो ? भएन । परराष्ट्रमन्त्री, परराष्ट्र सचिवको तहमा यो कुरा उठ्यो ? उठेन । उहाँहरुबाट न त राष्ट्रिय हितको जगेर्ना हुन्छ न सीमा समस्या समाधान हुन्छ न यो आजको आवश्यकता बनेको मुलुकको चौतर्फी विकास र समृद्धिको गति नै पाउँछ ।

यी कुनै पनि कुरा नहुने भएकाले गठबन्धनको पक्षमा जनमत छैन, रहँदैन । हिजो मत दिएका आधारमा गठबन्धनले आफूले जित्छु भनेर ४ गतेसम्म सपना देख्न पाइन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप