शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

ब्याटलग्राउण्ड सिन्धुपाल्चोक २ : एकअर्कालाई प्रतिस्पर्धी नै मान्दैनन् बस्नेत र तामाङ (भिडियोसहित)

शुक्रबार, २५ कात्तिक २०७९, १२ : ३०
शुक्रबार, २५ कात्तिक २०७९

सिन्धुपाल्चोक क्षेत्र नम्बर १ लाई आफ्नो आधारभूमि बनाएर निरन्तर खटिइरहेका नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री मोहन बस्नेत सत्ता गठबन्धनमा आन्तरिक समीकरण मिलाउन क्षेत्र नम्बर २ तिर सर्नुपर्यो । मंसिर ४ गते हुने निर्वाचनमा क्षेत्र नम्बर २ बाट गठबन्धनका साझा उम्मेदवार बस्नेत अहिले आफ्नो पक्षमा माहोल बनाउन निरन्तर खटिरहेका छन् ।

निर्वाचन क्षेत्र अन्तर्गतका विभिन्न गाउँबस्तीमा बिहान ६ बजेदेखि रातिसम्म बस्नेतले सक्रियताका साथ घरदैलो गरिरहेका छन् । नयाँ भूगोल र नयाँ क्षेत्रमा आफ्नो राजनीतिक शक्ति परीक्षण गर्न लागेका बस्नेतका अगाडि एमालेका उम्मेदवार एवम् पूर्वमन्त्री शेरबहादुर तामाङ चुनौतीका रुपमा देखा परेका छन् । उसो त तामाङलाई पनि बस्नेतको आवागमन उस्तै चुनौतीको विषय बनेको छ ।

क्षेत्र नम्बर २ मा बस्नेत जत्तिको ‘हाइट’ भएका कांग्रेस नेता नहुँदा तामाङलाई चुनाव लड्न जति सजिलो हुन्थ्यो बस्नेत आएपछि उनलाई निश्चित रुपमा चुनौती थपिएको छ । तर, तामाङ आफूलाई कुनै चुनौती नरहेको दाबी गर्छन् ।सिन्धुपाल्चोकको बन्देउ भन्ने स्थानमा चुनावमा प्रचारका क्रममा भेटिएका तामाङले कांग्रेसका उम्मेदवार बस्नेत आफ्नो प्रतिस्पर्धी नै नभएको दावी गरे ।

उता बस्नेत पनि तामाङलाई आफ्नो प्रतिस्पर्धी उम्मेदवार मान्न तयार छैनन् । विगतमा २ पटक यही क्षेत्रबाट चुनाव जितेर पनि तामाङले केही गर्न नसकेको भन्दै बस्नेतले उनलाई भोट माग्न लाज लाग्नुपर्ने जिकिर गरे । नयाँ क्षेत्रबाट चुनाव लड्न लागेपछि आफू विजयी हुने उनको दाबी छ । माओवादीसँग कांग्रेसको गठबन्धन भएपनि सिन्धुपाल्चोक १ नछोड्ने अडान लिएका बस्नेत अन्तिम समयमा २ मा चुनाव लड्न राजी भएर मैदानमा उत्रिएका हुन् । 

चुनाव प्रचार र बसोबासको लागि मेलम्ची बजारमा एउटा होटल नै बुक गरेर बसेका बस्नेतले भोट माग्नलाई आक्रामक प्रचार गरिरहेका छन् । यता एमाले उम्मेदवार तामाङले पनि भोट माग्न उस्तै सक्रिय छन् । एमालेको भोट माग्ने टोलीले भने विभिन्न स्थानमा घरदैलो गर्दै जाने क्रममा जहाँ पुगिन्छ त्यही होटल व्यवस्था गरेर बस्ने गरेको छ । उनीहरुले पनि मेलम्ची बजारमा चुनाव प्रचारको मुख्य केन्द्र बनाएर विभिन्न पालिकाहरुमा फैलिने गरेका छन् ।

तामाङले विगतकाझै गाँजा खेतीलाई नियमन गर्ने कानुन बनाउने, दोलालघाटमा इन्द्रावती नदी थुनेर ड्याम बनाई त्यहाँबाट बहुउदेश्यीय विकास निर्माणका काम गर्ने, बाटोघाटो, खानेपानीलगायतका विभिन्न एजेण्डा प्रस्तुत गर्दै गाउँटोलमा गएर भोट माग्ने गरेका छन् ।

शेरबहादुरलाई साह्रो, मोहनलाई महँगो

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का ५ पालिका मध्ये शेरबहादुर तामाङले ४ पालिकामा घरदैलो सकेका छन् । अव उनी हेलम्बु गाउँपालिकाका विभिन्न ७ वटा वडाहरुमा घरदैलो गर्दैछन् ।

गत स्थानीय तहको निर्वाचनमा एमालेले २ पालिका इन्द्रवती र पाँचपोखरी गाउँपालिकामा प्रमुख र उपप्रमुख जितेको थियो भने मेलम्ची नगरपालिकामा उप्रमुख जितेको थियो । यस्तै कांग्रेसले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा कांग्रेस विजयी भएको थियो । यस्तै चौतारा साँगाचोकगढी नगरपालिकामा माओवादी केन्द्र विजयी भएको थियो । क्षेत्र नम्बर २ मा चौतारा साँगाचोकगढीका १, , , , ८ ११, १२, १३ र १४ वडाहरु पर्छन् ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ का एमाले चुनावी परिचालन टोलीका कमाण्डर डम्बर अर्यालले हिजोको तुलनामा कांग्रेसको जनमत केही बढेको देखिएको स्वीकार गरे । प्रतिस्पर्धी उम्मेदवारलाई पराजित गरेर जाने शक्ति एमालेसँग भएको उनको दाबी छ । उनले भने, ‘पार्टी फुटको केही प्रभाव नै पर्दैन भन्ने हैन । एकीकृत समाजवादीका कार्यकर्ताले भोट नहाल्लान् तर जनताले भोट एमालेलाई भोट हाल्छन् । चुनाव जित्ने कुरामा हामी आशावादी छौँ ।’

चुनाव क्षेत्र परिवर्तन गर्नुपरेका कारण मोहन बस्नेतलाई नयाँ क्षेत्रमा सबै कुरा मिलाएर जान बढी दुःख गर्नुपरेको छ । तर यसलाई अवसरमा लिएको बस्नेतले बताएका छन् ।​ रातोपाटीसँगको कुराकानीमा बस्नेतले भने, ‘मान्छेलाई एउटा डेरा सर्न त गाह्रो हुन्छ । खाट एकातिर हुन्छ, भाँडा अर्कोतिर हुन्छ । सबै मिलाएर हिँड्नुपर्ने हुन्छ । मैले सधैँ चुनाव जितेको, पार्टीको संगठन बलियो भएको स्थान र अन्य पार्टी सबै गठबन्धन भएको समयमा पनि कांग्रेस एक्लै लड्दा ५४ मा ३२ स्थान जितेको ठाउँ मैले खोज्नु स्वभाविक हो । गठबन्धनले मेरो आवश्यकता यो ठाउँमा देखेर पठाएको हो । म काम गर्ने मानिस हो । काम गर्नेले जहाँ पनि चुनाव जित्छ भनेर पठाएका पनि होलान् ।’

बस्नेतले अगाडि भने, ‘मलाई कमजोर ठाउँमा पठाएर र जित्ने ठाउँमा गठबन्धनका अरु उम्मेदवार उठाउँदा दुवै ठाउँ जित्न सकिन्छ भन्ने हो । मलाई यो ठाउँका जनताले मत दिन्छन्, घरदैलोमा पुग्छु भनेर म आएको थिए । यहाँका मानिसले २०४८ सालदेखि  खोजेको तपाईंजस्तो मानिस हो, बल्ल आउनु भो हामी भोट दिन्छौ भनेर स्वागत गरिरहेका छन् । म उत्साहित छु । यो ठाउँमा चुनाव जित्दा राष्ट्रिय राजनीतिमा मेरो व्यक्तित्व अझै बढ्छ भन्ने महसुस गरेको छु । यो मेरो लागि मौका हो र यहाँका मतदाताले मलाई जिताउनु हुन्छ ।’

बिहीबार पाँचपोखरी थाङपालधाप वडा नम्बर १ र २ को बरुवा र बाँसखर्कमा घरदैलो गरेका बस्नेतले शुक्रबार भोताङ, याङ्ग्री, गुन्सा र धापमा घरदैलो गर्र्दैछन् । शनिबार पाँचपोखरी थाङपाल गाउँपालिकामा घरदैलो सकेपछि उनले हेलम्बु क्षेत्रमा घरदैलो गर्नेछन् । कार्तिक २८ गते आराम गर्ने र ३० गतेसम्म सबै क्षेत्रमा घरदैलो सक्नेगरी बस्नेत चुनावी मैदानमा खटिएका छन् ।

दुवै एक अर्कोलाई स्वीकार्दैनन् आफ्नो प्रतिस्पर्धी

कांग्रेस उम्मेदवार बस्नेत र एमाले उम्मेदवार तामाङ पहिलो पटक एक अर्काबीच पहिलोपटक निर्वाचनमा आमने सामने भएका हुन् । दुबै पूर्वमन्त्री हुन् भने सिन्धुपाल्चोकका लागि दुवै नेता नयाँ अनुहार पनि हैनन् । जिल्लामा मतभार हेर्ने हो भने कांग्रेस र एमालेबीच खासै ठूलो अन्तर छैन । तरपनि यी दुवै नेता एक अर्कालाई आफ्नो प्रतिस्पर्धी स्वीकार गर्न तयार छैनन् ।

तामाङले भने, ‘मैले उहाँलाई प्रतिस्पर्धी नै ठान्दिनँ । म असफल भएँ वा राम्रो एजेन्डा बोक्न सकिनँ भने मेरो प्रतिस्पर्धी म आफै हो । उहाँलाई किन प्रतिस्पर्धी ठान्ने ? मैले राम्रो काम गरेँ भने कोही प्रतिस्पर्धी हुँदैन । आफैले राम्रो काम गर्न सक्नुपर्छ । जनतासँग भिज्न सक्नुपर्छ ।’

बस्नेत पनि तामाङलाई आफ्नो प्रतिस्पर्धी स्वीर्कान तयार छैनन् । उनले तामाङले पटक पटक निर्वाचित भएर पनि सो क्षेत्रलाई केही गर्न नसकेको भन्दै आलोचना गरे । बस्नेतले भने, ‘म कुनैपनि हिसावले उहाँलाई प्रतिस्पर्धी ठान्दिनँ । किनभने लोकतान्त्रिक गठबन्धनको भोट एमालेको भन्दा १६ हजार  ७ सय भन्दा बढी छ । गठबन्धनका सबै टिम इमान्दारीपूर्वक भोट मागिरहेको अवस्था छ । अर्काे कुरो क्षेत्र नम्बर १ मा चुनाव लड्दा पनि मैले कांग्रेसले पाएको समानुपातिकतर्फको मतभन्दा ८ हजार बढी मत पाएर जितेको थिएँ । यो पटक पनि म ८ देखि १० हजार बढी पपुलर मत ल्याएर म जित्छु ।’

बस्नेतले तामाङको आलोचना गर्दै भने, ‘उहाँ मुखमा आएको जे पनि बोल्नुहुन्छ । बंगलादेशमा पढिरहेका हाम्रा चेलिबेटी विद्यार्थीलाई पनि मुख छाड्नुभयो । जथाभाबी बोलेको कारणले राजीनामा गर्छुपर्छ भनेर श्रीमती साक्षी राखेर टेलिभिजनमा रुनु भयो । जथाभाबी बोल्ने र परिणाम थेग्न नसक्ने मानिस हो उहाँ । उहाँले ४ गतेसम्म बोल्न पाउनुहुन्छ । ४ गते यहाँका मतदाताले दश वर्ष चुनाव जिताएर पनि सिन्को नभाचेको बदला लिन्छन् ।’

यस्तो छ स्थानीय चुनावको नतिजा

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ अन्तर्गत रहेका पालिकाहरुका वडाहरुमा पाएको मतका आधारमा सत्ता गठबन्धन दल अगाडि रहेको छ । दलगत आधारमा हेर्दा कांग्रेस भन्दा एमाले झन्डै २ हजार ५०० मतले अगाडि छ ।

एमालेका वडाध्यक्षहरुले ३१ हजार ७७६ मत पाउँदा कांग्रेसका वडाध्यक्षहरुले २९ हजार ३०२ मत पाएका थिए । तेस्रो शक्तिका रुपमा रहेको नेकपा माओवादी केन्द्रले १६ हजार ७९ मत पाएको थियो भने चौथो स्थानमा राप्रपाले ५ हजार ९३२ र नेकपा एकीकृत समाजवादीले १ हजार ६६३ मत पाएको थियो ।

यहाँ सत्ता गठबन्धन दलको मत मिसाउँदा ४७ हजार ४४ मत हुन्छ जुन एमालेले पाएको मतभन्दा १५ हजार २६८ हुन्छ । यदि सहज रुपमा गठबन्धन दलले पाएको मत आफ्नो उम्मेदवारलाई ट्रान्सफर हुने हो भने तामाङलाई कठिन पर्ने देखिन्छ । तर सिन्धुपाल्चोकमा कांग्रेस र माओवादी केन्द्रबीचको सम्बन्ध विगतदेखिनै तितो रहेका कारण दुबै क्षेत्रमा पूर्ण रुपमा मत ट्रान्सफर हुन कठिन छ । विगतको सम्बन्धलाई सुधार गर्न बस्नेतलाई पनि चुनौती छ । एमालेले प्रदेश ‘ख’मा अमानसिंह तामाङलाई उम्मेदवार बनाएको छ जो पूर्व माओवादी नेता हुन् । उनीपछि मात्र एमाले प्रवेश गरेका थिए । उनले पनि माओवादी मतदाताको केही भोट तान्न सक्ने एमाले स्थानीय नेताहरुको विश्लेषण छ ।

बस्नेत र तामाङको यसअघिको संसदीय चुनावको इतिहास हेर्ने हो भने बस्नेत २०४८ सालको आम चुनावमा सिन्धुपाल्चोक–१ मा एमालेका अमृतकुमार बोहरासँग पराजित भएका थिए । २०५१ सालमा टिकट नपाएका उनले २०५६ सालमा एमालेका बोहरालाई पराजित गरेर पहिलो पटक सांसद बनेका थिए ।

यस्तै २०६४ सालको चुनावमा पराजित भएका बस्नेत २०७० सालमा भने विजयी भएका थिए भने २०७४ सालको चुनावमा भने पराजित भएका थिए ।

यता एमाले तामाङले पनि दुई चुनाव हारेका छन् भने दुई चुनाव जितेका छन् । २०५६ सालमा नेकपा मालेबाट सिन्धुपाल्चोक ३ बाट उम्मेदवार बनेका उनी पराजित भए भने २०६४ सालमा  एमालेबाट उम्मेदवार बनेका उनले पराजय भोग्नुपरेको थियो ।

तामाङले २०७० सालमा क्षेत्र नम्बर ३ बाट निर्वाचित भए भने निर्वाचन क्षेत्र घटेपछि २०७४ सालमा क्षेत्र नम्बर २ बाट विजयी भएका थिए ।

८ देखि १० हजार बढी पपुलर मत ल्याएर म जित्छु : मोहनबहादुर बस्नेत

चुनावी अभियानमा हुनुहुन्छ, जनताले के भनिरहेका छन् ?

पालिकास्तरीय घरदैलो सकाएर, वडागत रुपमा टोल टोलमा पुगिरहेका छौ । काम गर्ने, अनुभवी र क्षेत्र न १ मा विकास धेरै गरेर प्रमाणित भएको र हाम्रो पनि प्राकृतिक विपत र विभिन्न विकासमा सहयोग गर्दै आएका ब्यक्ति हाम्रो उम्मेदवार भएर आउनु भएको छ । हामी यो पार्टी र त्यो पार्टी नभनी तपाईंलाई स्वागत गर्छाै मतदाताहरुले भनिरहेका छन् ।

आफ्नो क्षेत्रमा के कस्ता एजेन्डा राख्नु भएको छ ?

एजेन्डाको रुपमा सैद्धान्तिक र वैचारिक कुराभन्दा पनि जनताले चाहेको र गर्नैपर्ने विकास निर्माण, प्राकृतिक विपत्ति भूकम्प, बाढी, पहिरो लगायतबाट सिर्जित असरमा गर्नुपर्ने काम छ । बाढी, पहिरोबाट यो स्थानमा धेरै मानवीय क्षति, खर्बौको भौतिक क्षति, पुल, सडक भत्किएका, घर डुबानमा परेका र वस्ती विस्थापित भएका छन् ।विपत्तिले आक्रान्त भएको ठाउँमा एउटा सशक्त व्यक्तिले अर्बाैँका मेघा प्रोक्जेट ल्याएर यो ठाउँमा काम गर्नुपर्ने हुन्छ ।

हिजो यो ठाउँबाट सांसद, मन्त्री भएकाले केही नगरेको अवस्थामा मलाई यो ठाउँको जिम्मेवारी धेरै ठुलो छ । सिन्धुपाल्चोक–१ मा चुनाव जितेपछि राज्यको पदमा भएको समय होस् वा नभएको समय मैले एकैदिन ३ अर्व ८९ करोडका ७ वटा आयोजना ल्याएको थिएँ । एउटै सडकमा मैले ७० करोड भन्दा बढी रकम हालेको थिएँ ।

यो स्थानमा चुनाव जितेका साथीहरुले दुई तीन करोड सडकमा हालेको देखाउनुस् भन्दा हेर्न पाइने रहनेछ । समग्रमा भन्नुपर्दा यो २ नम्बर क्षेत्रमा सडक, खानेपानी, सिँचाई, पर्यटन प्रवद्र्धन, कृषिको क्षेत्रमा मल, बीउबिजन नपाएको अवस्था छ । नगदेबाली, कृषि फसल उत्पादनलाई आधुनिकीकरण गर्नुपर्नेछ । जडिबुटीको भण्डारको रुपमा रहेको यो क्षेत्रमा प्रशोधन केन्द्र खोल्दै अन्य जडिबुटीको उत्पादन गरेर स्वरोजगार बढाउनु पर्नेछ ।

त्यस्तै, शिक्षाको क्षेत्रमा धेरै काम गर्नुपर्नेछ । एसएलसीसम्म निःशुल्क हुनुपर्छ भन्ने अभियान नेपालमा सिन्धुपाल्चोकबाट छेडिएको हो । त्यो भयो । अहिले १२ कक्षासम्म निशुल्क अध्ययन अभियान सुरु भएको छ । अवको तीन वर्षमा जिल्लाभरि नै १२ कक्षासम्म निःशुल्क गर्छाै । देशभरि नै यो अभियान ल्याउने छौँ । व्यावसायिक शिक्षामा प्राथमिकता दिन्छौ ।

२१ वर्ष अगाडि स्वास्थ्य राज्यमन्त्री हुँदा मेलम्ची अस्पताल मैले बनाएको थिए । दीर्घ रोगको निःशुल्क उपचारदेखि यहाँको विभिन्न स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्नुछ । एमालेबाट १० वर्ष सांसद भएकाले यो काम गरेको पाइन । अन्य पार्टीबाट चुनाव जितेकाले बरु केही गर्नु भएको छ ।

पशुपालनमा भेडा, चौंरी, बाख्रा, गाईभैंसी उन्नत जातका पाल्न व्यवस्थापन गरेर कृषकको स्तर उन्नतिका लागि योजना बनाएका छौँ ।

पहिले २ नम्बर क्षेत्रको सफल योजना के सम्झिनु हुन्छ ? त्यो यस क्षेत्रमा पनि लागु गर्ने कुनै योजना छ त ?

मैले पहिले चुनाव जितेको स्थानमा बत्ती नभएको घर नै छैन । यो क्षेत्रमा केही ठाउँमा बत्ती रहेनछ । त्यसैले, २ वर्षभित्र बत्ती पुर्याउने योजना छ । काठको पोल भएको स्थानमा फलामको पोल परिवर्तन गर्नुछ ।

प्रविधिको विकास नभएसम्म देशको विकास सम्भव छैन भनेर मैले बुझेको हिसावले मैले मन्त्री भएको समय २०२७ लाई डिजिटल वर्ष घोषणाको योजना अगाडि सारेको थिएँ । सबै जिल्लाको सरकारी विद्यालयमा कम्प्युटर शिक्षा दिने योजना अगाडि सारेको थिएँ । म मन्त्रीबाट हटेपछि त्यो हरायो ।

मन्त्री हुँदा पशुपतिनाथ, स्वयम्भुनाथ, पद्यकन्या क्याम्पस, सगरमाथा र अन्नपूर्ण हिमालको वरपर वाइफाइ फ्रि जोन गर्दिएको थिएँ । मैले दीर्घकालीन भिजन राखेर काम गर्ने भएकोले सिन्धुपाल्चोकका सबै क्षेत्रमा वाइफाइ फ्री गर्ने मेरो योजना छ । निर्वाचन सकिने बित्तिकै यो कुरोमा म लाग्छु ।

त्यसैले, सबै खालको क्षेत्रमा मेरो अनुभव भएको र काम गर्दै विकास गर्दै आएको कारणले यहाँका मतदाताले मप्रति विश्वास गरेर सबै पार्टीका व्यक्तिले तपाईंलाई हामी भोट दिन्छौ भनेका छन् । उहाँहरूको कुराले मलाई अझै काम गर्ने जोश जाँगर बढेको छ ।

दुई पटक यसै क्षेत्रबाट निर्वाचित भएका एमालेका उम्मेदवारसँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । चुनौती कतिको महसुस गर्नु भएको छ ?

अहिले म सिन्धुपाल्चोक–१ बाट २ मा आएको छु । काम गर्ने मानिस हो भनेर चिनिएको छु । यो क्षेत्रबाट दुई पटक चुनाव जितेका व्यक्तिले केही काम गर्नु भएन । त्यसैले, मलाई कुनै चुनौती छैन ।

एमालेका उम्मेदवारले तपाईंलाई मेरो प्रतिस्पर्धी होइन भन्नु भएको छ नि ?

त्यो त मंसिर ४ गते भोट हालेपछि देखिन्छ । उहाँ त जे पनि बोल्नुहुन्छ । बंगलादेशमा पढिरहेका हाम्रा चेलिबेटी बिद्यार्थीलाई पनि मुख छाड्नुभयो । जथाभाबी बोलेको कारणले मन्त्रीबाट राजीनामा दिने बाध्यता आइलाग्यो । जथाभाबी बोल्ने र परिणाम थेग्न नसक्ने मानिस हो उहाँ । ४ गते यहाँका मतदाताले दश वर्ष चुनाव जिताएर पनि सिन्को नभाँचेको बदला लिन्छन् ।

तपाईं उहाँलाई प्रतिस्पर्धी ठान्नुहुन्छ कि ?

म कुनैपनि हिसावले उहाँलाई प्रतिस्पर्धी ठान्दिन । किनभने लोकतान्त्रिक गठबन्धनको भोट एमालेको भन्दा १६ हजार  ७ सय भन्दा बढी छ । गठबन्धनका सबै टिम इमान्दारीपूर्वक भोट मागिरहेको अवस्था छ । ८ देखि १० हजार बढी पपुलर मत ल्याएर म जित्छु ।

अरु पार्टीको मत गठबन्धनमा ट्रान्सफर होला त ?

भोट कुनै पार्टीले कसैलाई अनुदान दिने होइन । मलाई जित्न काँग्रेसले माओवादीको भोट लिने हो । माओवादीलाई जित्न हामीले काँग्रेसको भोट दिने हो । यो भोट गठबन्धनका उम्मेदवार जित्न साट्ने हो । यो पटक लोकतान्त्रिक गठबन्धनले जितेन भने केपी ओलीको फेरि टाउको उँचो हुने अवस्था आउन सक्छ । समाजवादीको यहाँ उम्मेदवार नभएपनि उहाँहरु इमानदारीका साथ लागि रहनु भएको छ । राप्रपा, एमाले लगायतका पार्टीका कार्यकर्ताले समेत मलाई भोट दिन्छु भन्नु भएको छ । म सजिलै जित्छु ।

माओवादी र काँग्रेसको बिगतको तिक्तता दुबैले अझै भुल्न नसकेको कतै कतै देखिन्छ नि ?

गठबन्धनको विरोधी एमालेले यो कुरो बढी प्रचार गरेको छ । गठबन्धनको भोट अन्त जाँदैन । नेपाली काँग्रेसले तीनपटक यो जिल्लामा गठबन्धन गर्दा तीनै पटक इमान्दारीपूर्वक काम गरेको छ । त्यसैले दाँयाबाँया हुने कुरो छैन ।

पहिलेको जनयुद्धको कुरा गरेर अहिले केही हुँदैन । अहिलेको यो गठबन्धन संविधान जोगाउन, संघीय लोकतान्त्रिक गठबन्धन संस्थागत गर्न, देश विकास गर्न र प्रजातन्त्र रक्षा गर्नका लागि हो । केपी ओलीले दुई तिहाईको सरकार भएको समय पनि आफ्नो पार्टीका नेताहरुलाई सिध्याउन खोज्नुभयो । त्यसकारण लोकतान्त्रिक गठबन्धन बनेको हो । यसमा सबै दलको इमान्दारिता रहन्छ भन्नेमा दुईमत छैन ।

तपाईंले धेरै दुःख गरेको, विकास गरेको क्षेत्र नं १ का जनताले तपाईलाईं मिस गरिरहेका छन् । तपाईंलाई भोट हाल्नेले अर्काे चिन्नमा भोट हाल्छन् त ?

उहाँहरुले मलाई फोनमार्फत् दिनैपिच्छे भोट केमा हाल्ने भनेर सोध्नुहुन्छ । मैले गठबन्धनमा भन्ने गरेको छु । मैले संयुक्त भएको आमसभामा पनि गठबन्धको पक्षमा सम्बोधन गरेको थिएँ । पार्टीका सबै तहका कार्यकर्तालाई पनि गठबन्धनबाट बाहिर नरहन निर्देशन गरिसकेको छु । गठबन्धन बाहिर भोट जाँदैन ।

सिन्धुपाल्चोबाट प्रतिनिधिसभा दुई र प्रदेशसभा ४ गरेर ६ वटै सिट गठबन्धनले जित्छ । त्यो अनुसार मिहिनेत भएको छ । हाम्रो कमकमजोरी केही भए, त्यो हटाएर अगाडि बढ्छौ ।

क्षेत्र–१ बाट  २मा आउँदा खुसी हुनुहुन्न भनिन्छ नि ?

एउटा डेरा सर्न त गाह्रो हुन्छ । मैले सधैं चुनाव जितेको, पार्टीको संगठन बलियो भएको स्थान र अन्य पार्टी सबै गठबन्धन भएको समयमा पनि काँग्रेस एक्लै लड्दा ५४ मा ३२ स्थान जितेको ठाउँ मैले खोज्नु स्वाभाविक हो ।

गठबन्धनले मेरो आवश्यकता यो ठाउँमा देखेर पठाएको हो । म काम गर्ने मानिस हो । काम गर्नेले जहाँ पनि चुनाव जित्छ भनेर पठाएका पनि होलान् । मलाई कमजोर ठाउँमा पठाएर जित्ने ठाउँमा गठबन्धनका उम्मेदवार उठाउँदा दुवै ठाउँ जित्न सकिन्छ भन्ने हो । त्यो ठाउँ छोडेर यो ठाउँमा चुनाव जित्दा राष्ट्रिय राजनीतिमा मेरो व्यक्तित्व अझै बढ्नेछ । त्यो कुरो मैले महसुस गरेको छु । यो मेरो लागि मौका हो । एक नम्बरमा गरेको भन्दा मैले बढी काम यो क्षेत्रमा गर्नुपर्ने हुन्छ, गर्छु र गर्नसक्छु भन्ने छ । मतदातामा पनि यो कुरोको विश्वास छ । त्यसैले मलाई असहज महसुस भएको छैन ।

व्यस्ततामा तपाईंको चुनावी रुटिन कस्तो छ ?

म ४ घन्टा सुते पुग्ने र अन्य समय काम गर्न सक्ने मानिस हो । त्यहीअनुसार म मिहिनेत गरिरहेको छु । जगिङ गर्दा खुट्टाको लिगामेन्ट भाँचिएर डाक्टरले ४ हप्ता रेष्ट गर्नुपर्छ भनेको समय त कोरोना सुरु भयो भनेर रेष्ट नगरी ५ लाख सिटामोल, मास्क लगायत सामान झिकाएर जनताको सेवामा लागें ।

मलाई आराम चाहिएको छैन । बिहान ५ बजे उठेर हिँडेको म राति बाह्र एक बजेसम्म सक्रिय हुन्छु । म काममा रमाउने मानिस, जनताको सेवा गर्ने मानिस, थकाइ लाग्दै लाग्दैन । सबैले मलाई खोजेका छन् ।

सांसद भनेको कानुन नीति नियम बनाउने हो । यहाँका मतदाताको चाहना धेरै छन् । सांसदको सीमा सानो छ । जनताको चाहना पुरा गर्न सक्नुहोला त ?

विधायक भनेको कानुन, नीति नियम निर्माण गर्ने नै हो । नेपाली जनतालाई चाहिने, उनीहरूको हित हुने, देश विकास र स्वाभिमानका लागि आवश्यक कानुन, नीति निर्माण गर्ने स्थान संसद हो । म त्यो ठाउँमा जाँदैछु । मेरो प्रमुख दायित्व नेपाली जनता र राष्ट्रका लागि चाहिने कानुन बनाउने नै हो । संविधान बनाउने बिषयमा महत्वपूर्ण समितिमा बसेर काम गरेको अनुभवी मानिस पनि हुँ म ।

अर्काे कुरो नेपाल जस्तो विकासोन्मुख देशमा म सांसद हो, विकासको काम गर्दिनँ भनेर मिल्दैन । जनतासँग सरोकार राख्ने समस्याको बारेमा हामीले काम गर्नुपर्छ । त्यो भित्र भौतिक संरचना, प्राकृतिक विपत्ति, रोजगारी र अन्य सुविधामुलक काम समेत पर्छ ।

यी सबै विषयमा लामो समयदेखि काम गरेर, भोक्तभोगी भएर जनता खुसी पार्दै आएको मानिस हो म । अनुभवी र काम गर्दै आएको हिसाबले पनि यो जिम्मेवारी जनतालाई खुसी राख्ने र मुलुकप्रतिको दायित्व निर्वाह गर्ने हिसाबले म यो काम गर्न सक्छु, गरिआएको पनि हुँ ।

हेर्नुहोस् भिडियो 

मेरो प्रतिस्पर्धी कोही पनि छैन : शेरबहादुर तामाङ

जनताको घरदैलोमा पुग्नु भएको छ । जनताले तपाईंसँग कस्तो अपेक्षा राखेका छन् ?

हामीसँग राष्ट्रिय मुद्दा धेरै छन् । जनताको अपेक्षा भने स्थानीय तहको विकास निर्माणसँग जोडिएको छ । संविधानतः संघीय सांसदले नीति निर्माण गर्ने हो । तर स्थानीय विकाससँग पनि जोडिएका हुन्छन् । जनताको चाहना बाटो, खानेपानी लगायतका विकास हुने गर्छ । राष्ट्रिय मुद्दाले के गर्छ भन्ने कुरो जनता सुसूचित नहुने भएकोले हामीले स्थानीय विकासको मुद्दासँग त्यतिकै सामीप्यमा रहेर काम गर्नुपर्ने आवश्यकता छ ।

जनताले पहिले पनि तपाईंलाई परीक्षण गरिसकेकोले यो पटक के नयाँ एजेन्डा अगाडि सार्नु भएको छ ?

मैले जम्मा ७ एजेन्डा अगाडि सारेको छु । सिन्धुपाल्चोकको समग्र विकास । यसमा आर्थिक, भौतिक र अन्य विकाससमेत जोडेको छु । मैले जितेदेखि यहाँको विकास निर्माण तीब्र ढंगले अगाडि बढेको छ । हामी जुन ठाउँमा उभिएर कुराकानी गरिरहेका छौ । यो बनदेउ क्षेत्र हो । मैले २०७० सालमा निर्वाचन जित्दै गर्दा यही क्षेत्रमा मध्यपहाडी पुष्पलाल लोकमार्ग सिन्धुपाल्चोक भएर ल्याउन सफल भयौ ।

सुनकोशी थर्डको जलाशयमा ६ सय ९० मेगावाटको विद्युतीय आयोजना बन्दैछ । जुन हामीले २०७४ को निर्वाचन जितेपछि ल्याएका हौ । यो यहाँको विकासका लागि गेम चेन्जरको रुपमा लिएका छौ । उर्जाको विकास गरेर नेपाली जनतालाई निःशुल्क बिजुली यो हाम्रो दोस्रो एजेन्डा हो । यसबारे पार्टीले राष्ट्रिय रुपमा पनि उठाएको छ ।

तेस्रो एजेन्डाको रुपमा स्वास्थ्य बीमा विकास गरेर प्रविधिसँग जोडेर सतप्रतिसत बीमाको माध्यमबाट नेपाली जनताको निःशुल्क उपचार गर्ने रहेको छ ।​ चौथो एजेन्डाको रुपमा नेपाली किसानलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अवधारणाभित्र ल्याएर उनीहरूलाई कोषबाट पेन्सनको सुविधा दिनुपर्छ भन्ने छ ।

पाँचौ एजेन्डाको रुपमा गाँजालगायत जडिबुटीलाई लिगल गरौँ र खेती गर्ने व्यवस्था गरौँ, यसो गर्दा नेपाली कृषक विदेशमा गएर श्रम गर्नुपर्दैन । उनीहरूले नेपालभित्रै दस बीस लाख कमाउन सक्छन् भन्ने छ । त्योसँगै कृषिमा नयाँ क्रान्ति अवधारणा अगाडि बढाएका छौ ।

छैठौंम एजेन्डामा नेपाली उत्पादनको ब्राण्डिङ गरौँ र अन्तर्राष्ट्रिय बजारमा बेचौँ र धेरै पैसा हामीले कमाउन सक्छौ भन्ने छ । कोदोको रक्सीलगायत हाम्रो धेरै उत्पादन अन्तर्राष्ट्रिय बजारमा लाँदा आर्थिक लाभ लिन सकिन्छ भन्ने छ ।

सातौँमा कस्तुरीपालन र हिमालमा रोजगारी भन्ने विषय अगाडि सारेको छु । यो भयो भने हिमाली भेगका मानिस कोही पनि विदेश जानुपर्दैन । करोडौं यही कमाउन सकिन्छ ।

अन्य कुरो पर्यटनको विकास, रक्तचन्दनको खेतीलगायत छन् । मेरो यो एजेन्डा नेपाली जनताले मन पराएका छन् । सिन्धुपाल्चोकका जनताले मन पराउँछन् भन्ने छ ।

तपाईंका कतिपय एजेन्डा अघिल्लो कार्यकालमा पनि थिए । जुन पुरा गर्न सक्नु भएन । गाँजा विधेयक ५ वर्षमा संसदमा प्रवेश गराउन त सक्नु भएन भने अहिले अगाडि सारेको कुरा पुरा हुन्छ भनेर जनताले पत्याउलान् त ?

जनताले पत्याउँछन् । जलाशय आयोजनाको बिषयमा म कानुनमन्त्री भएको समय बजेटमार्फत् ५५ करोड छुट्याएर सम्बोधन गरेका थियौ । अहिले अध्ययन सुरु भएको छ । यो विद्युत किन्न बंगलादेश तयार छ, यो छिट्टै प्रोसेस हुन्छ । यसले यो जिल्लाको विकासमा गेम चेन्ज गर्छ । लोकल कोदोको रक्सीको कुरो एक नम्बरमा प्रदेश अगाडि बढेको छ । यो विषयमा पब्लिकको नकारात्मक धारणा छैन ।

नेपाली काँग्रेसका नेता मोहन बस्नेत अहिले क्षेत्र नं १ बाट २ मा आउनु भएको छ । कतिको चुनौती महसुस गर्नु भएको छ ?

मैले उहाँलाई प्रतिस्पर्धी नै ठान्दिन । म असफल भए, राम्रो एजेन्डा बोक्न सकिन भने मेरो प्रतिस्पर्धी म आफै हो । उहाँलाई किन प्रतिस्पर्धी ठान्ने ? मैले राम्रो काम गरे भने कोही प्रतिस्पर्धी हुँदैन । आफैले राम्रो काम गर्न सक्नुपर्छ । जनतासँग भिज्न सक्नुपर्छ ।

त्यसो भए उहाँ प्रतिस्पर्धी होइन त ?

अहिलेको व्यवस्थाको हिसावले उहाँ उठ्न पाउनुभयो । उहाँ गठबन्धनको एउटा उम्मेदवार भएर आउनु भएको छ । उहाँ कुन क्षेत्रको, के भनेर म किन टिप्पणी गर्नु । मेरो एजेन्डा एमालेको एजेन्डा हो । जनताले एमाले रुचाए भने उहाँ प्रतिस्पर्धी होइन ।

एकातर्फ एमाले चोइटिएको छ, अर्काे सत्तागठबन्धन बलियो भएर आएको छ । यसरी त चुनौती नै छ नि ?

म सत्ता गठबन्धनसँग डराएको छैन । एमाले एक्लै प्रतिस्पर्धामा छ । केही केही ठाउँमा हामीले चुनावी तालमेल गरेका छौ । एमाले एक्लैको बहुमत आएपनि उहाँहरुलाई हामीसँग तालमेल भएको कारण सरकारमा साथै लिएर जान्छौ । एमाले मुलतः एक्लै चुनावी प्रतिस्पर्धामा छ । एमालेसँग डराएर उहाँहरु गठबन्धन गरेर आएको हो । डर नभएको भए सिंगल आउनुपर्थ्यो ।

तपाईंहरु पनि डराएर राप्रपालगायत केही दलसँग तालमेल गर्नु भएको छ । पार्टी चोइटिएको छ । त्यसको पनि असर पर्ला नि ?

पार्टीमा धेरै साथीहरु फर्किनु भएको छ । एमालेले जनताको नराम्रो, नचाँहिदो केही गरेको छैन । राष्ट्रियता, सम्बृद्धि, विकासको अगुवाइ गर्दै आएको छ । सामाजिक सुरक्षाको अवधारणाभित्र आम नेपाली महिला, एकल नागरिक, अपाङ्ग, बालबालिकादेखि सबैको सुरक्षा यो पार्टीले गर्दै आएको छ । एमालेबाट बाहिर गएका साथीहरू मतदानको दिनसम्म फर्किनुहुन्छ । यसमा कन्फ्युजन देखिन्न ।

तपाईंको जित्ने आधार के छ, ५ वर्षमा के गर्नुभयो सिन्धुपाल्चोकबासीका लागि ?

२०७० को निर्वाचन संविधानसभा सदस्यको रुपमा जितेको थिएँ । त्यो समय मस्यौदा कमिटीमा बसेर संविधान लेख्ने मुल दायित्व र जिम्मेवारी निर्वाह गरेँ ।

भूकम्प पछिको यहाँको पुनर्निर्माणमा हामीले धेरै राम्रो काम गरेका छौ । धेरै राम्रा विद्यालय भवन, आवास, धेरै बाटो बनेका छन् । सिन्धुपाल्चोक जिल्लाभरिका कतिपय सडक बनिसकेको, कतिपय बन्दै गरेको र कतिपय डिपिआर भएको अवस्थामा छ ।

त्यस्तै, हामीले सतप्रतिशत बिजुली जिल्ला पुर्याउन सफल भएका छौँ । ८० प्रतिशत जनतालाई स्वच्छ खानेपानी पुर्याउन सफल भएको छौ । सिँचाइको लागि काम गरिरहेको छौ । हामीलाई यहाँका जनताले राम्रो मानेका छन् । २०७४ सालमा म कानुन मन्त्री भएको समय ५२ वटा नयाँ कानुन बनाएर सयौ वटा कानुन बनाउने क्रमको अगुवाइ गरेको हो ।

सांसदले नीति निर्माणसँगै जिल्लाको विकासमा पनि त्यत्तिकै जोडिनुपर्छ । स्थानीय तह कानुन बेगर चल्न सक्ने अवस्था थिएन, संविधान कार्यान्वयनको कानुन बनाउने कार्यको अगुवाई गरेको हो ।

बीचमा १९ दिन मात्र स्वास्थ्य मन्त्री हुँदा खोप ल्याउने कामको अगुवाइ गरें । तर यहाँ त २ लाख, ५ लाखको बजेट हाल्यो कि हालेन भनेर टिप्पणी गर्ने साथीहरू पाएको छु । संघीय सांसदले के गर्ने, प्रदेशले के गर्ने र पालिकाले के गर्ने भन्ने जानकारी समेत नराख्ने साथीहरू मसँग प्रतिस्पर्धामा छन् ।

हेर्नुहोस् भिडियो 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप