शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

व्यक्तिको आचरण सुधारका लागि संस्कार समाजको अभियान

बिहीबार, १३ पुस २०७४, ११ : ५६
बिहीबार, १३ पुस २०७४

काठमाडौं–सामान्य नागरिकदेखि उच्च तहमा कार्यरत व्यक्तिहरुबाट सहजै निस्कने वाक्य छ –‘सरकारले गरेन ।’ 

सरकारले त आफ्नो दायित्व पुरा गर्न सकेन वा क्षमताले भ्याएन । तर तिनै नागरिकले आफूले सक्ने चाहिँ किन नगरेका ? यहि विषयले पशुपति गुरुङलाई सोच्न बाध्य बनायो । मनमा पलाएको जाँगरलाई आम नेपालीको आचरणमा सुधार गर्ने अभियान शुरु गर्ने उनले निधो गरिन् ।

नागरिकको भावनामा सकरात्मक विकास नगरिकन देशमा विकास पनि सम्भव नहुने ऊनिलाई लाग्यो । आम नागरिकको संस्कारमा अभिवृद्धि गर्नका लागि उनले आधार तयार गरिन् । संस्कार समाज नेपाल नामक संस्थाको गठन गरि सम्पुर्ण नेपालीलाई सकरात्मक भावना जागृत गराउन उनले पहल  गरिन् । सात सदस्यीय समितीमा सबै पदाधिकारी महिला छन् । 

गुरुङले संस्थाको लागि आफ्नै खर्चमा कार्यालयको व्यवस्था गरेकी छन् । सात सदस्यीय महिलाहरु प्रत्येक शनिबार हातमा कुचो लिएर सडकमा निस्कन्छन् । बाटोमा फालिएर फोहोर संकलन गर्दछन् । घरधनीहरुलाई विनम्र भाषामा फोहोर बाटोमा नफाल्न आग्रह गर्दछन् । आचरण एक पटकमा नसुध्रिने हुँदा एक स्थानमा तीन पटकसम्म पुग्ने गरेको उनले बताइन् । तिन पटक अनुरोध गरेपछि सकरात्मक बानीको विकास हुने गुरुङको अनुभव छ । केहि  नागरिकले ‘हामीले गरेर कहाँहुन्छ? भन्दै निरुत्साहित पार्ने गरेको उनको अनुभव छ । 

संस्कार समाजले एकै समयमा सबैको मनोभावना परिर्वतन हुने लक्ष्य लिएको छैन । ‘एकसय जनामा एक जनालाई बुझाउन सकियो भने बाँकी ९९ जना हुन्छन् । त्यसबाट पनि एक÷एक गरि घटाउदै जाने हो ।’ उनले सुनाइन् । सार्वजनिक सवारी साधनमा अपशब्द बोलेको अवस्थामा यात्रु, चालक वा सहचालक भेटिएमा विनम्र तरिकाले उनीहरुले सम्झाउँछन् । 

१० वर्ष जापान र १२ वर्ष दक्षिण कोरिया विताएकी गुरुङले नागरिकको आनी बानीमा सुधार भए  विकासले गति लिने धारणा राख्छिन् । नैतिक शिक्षाको कमीले व्यक्तिहरु अविवेकी बनेको उनले बताइन् । 

कितावी ज्ञानले मात्रै बच्चाहरुको सर्वागिंण विकास नहुने जनाउँदै संस्थाले उपत्यकाका  विद्यालयहरुमा नैतिक शिक्षाको कक्षा पनि सञ्चालन गर्ने भएको छ । 
असभ्य बानी हटाउनका लागि उमेर पुगेका व्यक्तिको बोलीमा सुधार ल्याउन पनि संस्थाले प्रयास गरेको छ । शालिन शैलीमा व्यक्तिलाई असभ्य बोली बन्द गर्न आग्रह गरिने गुरुङले बताइन् ।  विनम्र भावमा ‘तपाईहरु यस्तो बोल्नुभयो भने बालबालिकाले के सिक्छन ? कृपया यस्तो बोली नगर्नु’ भनेपछि व्यक्तिले गल्ती महसुस गर्ने उनले बताइन् ।

देश भौतिक रुपमा सम्पन्न नभएपनि व्यक्तिको आचरणले गर्दा भित्रिने पर्यटकहरुको संख्या बढ्ने संस्थाको दाबी छ । बस तथा ट्याक्सी चालकको बोली र व्यवहारमा परिवर्तन ल्याउन संस्थाले सचेतनामुलक कार्य गर्ने जनाएको छ । 

ट्राफिक व्यवस्थालाई सहज बनाउनका लागि लाईनमा बस्न आग्रह गरिएको स्ट्याण्ड बोर्डराखि ट्राफिक प्रहरीलाई सहयोग पुर्याउने संस्थाले जनाएको छ । 
निस्वार्थ सामाजिक कार्यमा लागेको संस्थामा भएको खर्च पदाधिकारीले नै बेहोर्ने गरेका छन् । 

हरेक विषयमा सरकारसँग  भर पर्ने र दोष पनि सुकारमा थोपर्ने कार्य नगर्न संस्थाको आग्रह छ । अन्तराष्ट्रिय विमानस्थलदेखि सवारी चालक, घर धनि र विद्यालयहरुमा आचरण सिकाउने संस्थाको दीर्घकालीन लक्ष्य छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लिलु डुम्रे
लिलु डुम्रे

लिलु डुम्रे रातोपाटीका संवाददाता हुन् ।

लेखकबाट थप